भर्खरै :

चिकपाको १०० वर्षको मेहनतबाट आजको समृद्धि

भक्तपुर, २३ असार । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिक स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाज, केन्द्रीय समितिले बुधबार अनलाइन प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले आजको चीनको समृद्धि चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्षको मेहनतको परिणाम हो भन्नुभयो । उहाँले चिनियाँहरूको निम्ति पनि माक्र्सवाद विदेशी एवम् नयाँ दर्शन थियो तर चिनियाँ विद्यार्थीहरूले युरोपसम्म पुगेर माक्र्सवादको अध्ययन गरेर स्वदेश फर्की क्रान्ति गरेको विचार राख्नुभयो ।
अध्यक्ष रोहितले चिनियाँ क्रान्तिमा क्यानाडाका डाक्टर नर्मन बेथुन, भारतका डाक्टर कोटनिस, अमेरिकाका पत्रकार अन्ना लाउस्ट्रङजस्ता अन्तर्राष्ट्रवादीहरूको सहयोग रहेको उल्लेख गर्दै त्यसको बदलामा चिनियाँ कम्युनिस्ट पार्टीले आज अफ्रिका, ल्याटिन अमेरिकालगायतका विश्वका जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले विश्वका विभिन्न भाषाको अध्ययन गर्न प्राध्यापकहरूलाई उत्साहित गर्दै ती देशको जनताको सेवा गर्ने भावना राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा नेप्रासका अध्यक्ष सरोजराज गोसाईले कोभिड – १९ को महामारीमा चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारको तर्फबाट नेपाली जनतालाई प्राप्त सहयोग तथा सद्भाव असल मित्रताको परिचायक भएको भन्दै नेपालको पूर्वाधार तथा औद्योगिक विकासको निम्ति चीनले गरेको सहयोग नेपाली जनताले सम्झिरहेको धारणा राख्नुभयो ।
विश्वभरका पार्टीहरूसँग भाइचारा सम्बन्ध कायम गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार असार २२ गते मङ्गलबार चिकपाको आयोजनामा सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलनले न्यायप्रेमी तथा साम्राज्यवादविरोधी विश्वलाई उत्साहित पारेको विचार राख्नुभयो ।
नेप्रासका केन्द्रीय उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङले विकास केही मुलुकको विशेषाधिकार नभएको भन्नुभएको भन्दै चीनले विश्वलाई नै विकासको मार्गमा डो¥याउन खोजेको भनाइ राख्नुभयो । उहाँले एउटाले गुमाउने र अर्कोले पाउने परिस्थिति रहेको हालको विश्व अर्थतन्त्रको ठाउँमा चीनले सबैसँगको साझेदारीमा विश्वको आर्थिक प्रगति गर्न खोजेको धारणा राख्नुभयो ।
नेप्रासका सहसचिव सुजन माकले ‘गरिबी निवारणमा चिकपाको १०० वर्ष’ बारे प्रस्तुति राख्दै विश्वमा करिब ७० करोड जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै २०२१ को अन्त्यसम्ममा त्यसमा १५ करोड थपिने उल्लेख गर्नुभयो । उहाँले सन् २०२१ फेब्रुअरी २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरिबीविरुद्धको युद्धमा चीनले पूर्ण जीत हासिल गरेको तथा अति विपन्नता उन्मूलन गर्ने कठिन कार्य पूरा गरेको भन्दै चीनको सफलता विशिष्ट र ऐतिहासिक रहेको विचार राख्नुभयो ।
नेप्रासका केन्द्रीय सदस्य सुनिल दुवालले कोभिड–१९ महामारीपछि कम्युनिस्ट पार्टीप्रति युवाहरूको आकर्षण झन् बढेको बताउनुभयो । उहाँले जनतालाई प्राथमिकतामा राख्ने चिकपाको नीतिको कारण युवाहरू चिकपाको सदस्य बन्न उत्साहित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेप्रासका कोषाध्यक्ष सुशिला कर्माचार्यले स्वागत मन्तव्य राख्दै चीनले शिक्षा क्षेत्रमा गरेको प्रगतिकै कारण आजको समृद्धि हासिल गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *