भर्खरै :

नगर प्रमुख प्रजापति र कोभिड १९ वरियर्स समूहबीच अन्तरक्रिया

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा कोभिड १९ वरियर्स समूह बनेपाको आयोजनामा बुधबार गुगल मिटबाट अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सङ्कट वा महामारीको समयमा सतर्क र सचेत हुन सकेनौँ भने ठुलो दुर्भाग्य भोग्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्ट सञ्चालन गरी जनतालाई सहजरूपमा अक्सिजन आपूर्ति गर्न सक्षम र सफल रहेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा महामारीविरुद्ध लड्ने शक्ति प्राप्त हुने बताउनुभयो ।
कोभिड १९ रोगलाई बेवास्ता गरेको देशका जनताले अनाहकमा यस रोगबाट ज्यान गुमाउनुपरेको बताउँदै उहाँले विश्वमा कोभिडबाट कामदार वर्ग बढी पीडित बनेको प्रस्ट पार्नुभयो । भाइरसविरुद्धको खोप नै कोभिडविरुद्ध लड्ने महत्वपूर्ण उपाय भएको बताउँदै उहाँले पुँजीवादी व्यवस्थामा गरिब जनताको जीवन मूल्यहीन हुने यथार्थलाई यस महामारीले प्रस्ट्याएको छ भन्नुभयो ।
उहाँले नागरिकको जीवन रक्षा गर्ने उद्देश्यले नगरपालिकाले २५ बेडको एचडीयूसहितको ७५ बेडको ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरी धेरै जनताको सेवा गरिसकेको बताउनुभयो ।
भक्तपुर नपाले जनचेतनामूलक कार्यक्रममा जोड दिँदै कोभिडबाट बच्ने उपायबारे माइकिङ, टोलटोलमा साबुन पानी व्यवस्था र घर घरमा मास्क र हात धुने साबुन वितरण गरेको बताउँदै उहाँले महामारीको समयमा भक्तपुर नपाका जनप्रतिनिधि जनताको साथमा रही काम गरेको अनुभव सुनाउनुभयो ।
काठमाडौँ उपत्यकामा स्मार्ट सिटीको औचित्यता नरहेको प्रस्ट पार्दै उहाँले भन्नुभयो, हामीसँग भएका पुरातात्विक र सांस्कृतिक महत्व भएका सम्पदा संरक्षण, संवद्र्धन गर्नु नै महत्वको विषय भएको बताउनुभयो । विदेशीको भरमा देशको समृद्धि गर्ने सोच गलत भएको बताउँदै उहाँले भक्तपुर नपालाई आत्मनिर्भर बनाउने प्रयासलाई जोड दिँदै अगाडि बढिरहेको बताउनुभयो ।
नगरपालिकाले रञ्जना लिपिका कक्षा, विभिन्न सीपमूलक तालिमलाई सञ्चालन गर्दै नगरभित्रका सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कृष्णकुमार वैद्य र कोभिड १९ वरियर्स समूहका संयोजक रोजन न्हुछेप्रधानले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *