महासचिव किम जोङ उनद्वारा चिनियाँ पार्टी र सरकारी प्रतिनिधिमण्डलसँग भेटघाट
- श्रावण १, २०८३
नर्सले पहिले त्यसलाई आँखानिर लगेर गडेर हेरी अनि अलि टाढा लगेर एकटक हेरिरही । अचानक मन्द चित्कारसहित उसले फोटो खसाली, ओछ्यानबाट जुरुक्क उठी र पछिल्तिर चकित आँखाले हेर्न थाली ।
“खुब राम्री केटी छ !” मेपलको रूखपछाडिबाट एउटा धोद्रो व्यङ्ग्यपूर्ण स्वर आयो ।
मेतचिकले नजरलाई उतै घुमायो र एउटा विचित्रै परिचित अनुहार देख्यो । आगन्तुकको टोपीभित्रबाट एउटा अल्लारे लर्कन लत्रिरहेको थियो । उसका हरिया आँखाको भाव कुनै बेला अत्यन्त भिन्न थियो भन्ने मेतचिकले सम्झियो ।
“किन, किन डरायौ ?” धोद्रो र खस्रो आवाजसितको व्यक्ति एकसुरले बोल्दै गयो, “तिमीलाई होइन, तिम्रो त्यो तस्बिरलाई भनेको हो । धेरै आइमाईसित म सुतिसकेको छु, तर कसैले पनि मलाई आफ्नो तस्बिर दिएनन् । कुनै दिन तिमीले दिन्छ्यौ कि ।”
भार्या सम्हालिई र खित्का छोडेर हाँसी ।
“तिमीले मलाई तर्साइदियौ ¤” एक निपुण पत्नीको जस्तो स्वरमा उसले भनी । यो उसको स्वरभन्दा एकदम भिन्न थियो, “एक्कासि हामफाल्यो त बाँदर ?” अनि मेतचिकतिर फर्केर भनी, “यी मोरोजका हुन्, मेरा लोग्ने । ठट्यौला छन्, साँच्चिकै… ।”
“ए, हामीले एकअर्कालाई चिन्छौँ… अलिअलि,” अर्दलीले सुस्त भन्यो । ‘अलिअलि’ को उच्चारणमा व्यङ्ग्य मिसिएको थियो ।
दुःखी र लज्जित मेतचिक पराजितजस्तो भइरह्यो । उसको बक फुटिरहेको थिएन । भार्याले फोटोको कुरा बिर्सिसकेकी थिई र लोग्नेसित कुरा गर्ने बेला उसको पाइला फोटोमाथि प¥यो । उसलाई फोटो उठाइदिन भन्न मेतचिकलाई लाज लागिरह्यो ।
त्यो जोडी ताइगामा पसेपछि ऊ उठ्यो । उसको पाइतला चस्किरहेको थियो । आफ्ना दाँत किट्दै र लङ्गडो चाल मार्दै ऊ कुल्चिएको तस्बिरतिर गयो र त्यसलाई च्यातचुत पारिदियो ।
दिव्य–दृष्टि
मोरोजका र भार्या थाकेका र ओल्यास्स परेका थिए । एकअर्काको नजरबाट जोगिँदै दिउँसोपख उनीहरू फर्के ।
मोरोजका मैदानमा निस्कियो । उसको अनुहार डाँकाहरूको जस्तो थियो । मुखभित्र दुई औँला हालेर उसले तीनचोटि चर्को सिट्टी बजायो । र, परीकथाहरूमा जस्तै जङ्गलबाट आफ्ना खुर बजार्दै एउटा बाक्लो जगरसितको घोडा हुत्तिँदै आयो । अनि यी दुवैलाई आफूले कतै देखेको मेतचिकले सम्झियो ।
“मिश्का, मेरो साथी, कुकुर्नीको छाउरो, धेरै कुर्नुप¥यो हैन ?” अर्दलीले स्नेही पाराले धोद्रो स्वरमा भन्यो ।
घोडामा चढेर मेतचिकनिर पुग्दा उसको अनुहारमा एउटा चलाख हाँसो छचल्किरहेको थियो । पछि हरिया घाटीहरूका भीरपाखामा उक्लिँदै र ओर्लिँदै गर्दा पनि मोरोजकाको ध्यान पटकपटक मेतचिकतिर नै जान्थ्यो । “यस्ता मान्छेहरू बेफ्वाँकमा किन हामीसित मिसिन्छन् ?” उसले रिसिँदै र पिरिँदै सोच्यो, “हामीले काम सुरु गर्दा कोही पनि देखिन्नथे र कामको सिलसिला चलेपछि यी सबै मिसिन चाहन्छन् ।”
उसलाई लाग्यो, उनीहरूसँग मिसिनुभन्दा पहिले मेतचिकले मानौँ ‘कहिले सिलसिला सुरु होला’ भनी पर्खिरहेको थियो । साँच्चै भन्ने हो भने उनीहरूले अझै एउटा लामो र कठिन बाटो छिचोल्नु थियो । “ओठ निचोरे दूध आउनेहरू टुप्लुक्क आउँछन्, अनि भुइँमा पछारिन पुग्छन् र मूल्य हामीले चुकाउनुपर्छ… । मेरी त्यो बेकुफ आइमाईले त्यसमा के देखी कुन्नि ?”
उसको दिमागमा यस्तो विचार आयो– जिन्दगी जटिल बन्दै छ, सुचानका पुराना बाटाहरू मेटिँदै छन् र उसले आफ्नो लागि नयाँ गोरेटो खन्नुपर्छ ।
मोरोजका आफ्ना बोझिला विचारहरूमा कति डुब्यो भने उसले आफू मैदानमा उत्रिसकेको चालै पाएन । गाउँलेहरू दिउँसोको कडा श्रममा जुटिरहेका थिए । बासनादार बाक्लो आँख्ले घाँसमा र घुँगुरिका तीनपाते घाँसमा चलिरहेका तिनका हँसियाहरू झन्झनाइरहेका थिए । तीनपाते घाँसजस्तै घुँगुरिएको दाह्री पालेका र पसिनाले भिजेका होर्लोङे लबेदा लगाएका मानिसहरू आफ्ना पाउतिर झुकेर नापेजस्ता पाइला सार्दै थिए । उनीहरू अघि बढ्दै जाँदा लहलहाउँदा बासनादार घाँस उनीहरूको खुट्टानिर स्यार्रस्यार्र काटिएर खस्दै जान्थे ।
हतियारबन्द घोडसवारलाई देखेर उनीहरूले बिस्तारै आफ्नो काम रोके र हत्केलाले आफ्ना आँखामा छायाँ पार्र्दै धेरै बेरसम्म उसलाई हेरिरहे ।
“ठ्याक्कै मैनबत्तीको लप्काजस्तो देखिन्छ !” उनीहरूले मोरोजकाको चाललाई प्रशंसायुक्त नजरले हेर्दै भने । ऊ रिकाबमा अलि उठेपछि काठीमा अघिल्तिर अलिकति झुक्दै मैनबत्तीको लप्काजस्तै मच्चिँदै, डुल्की चालले आफ्नो घोडालाई त्यताबाट दौडाउँदै गयो ।
नदीको एउटा मोडभन्दा अगाडि गाउँको प्रधान होमा रियाबेत्सको खरबुजाको खेतनिर मोरोजकाले आफ्नो घोडाको लगाम तान्यो । खेत रेखदेख गर्ने कोही नभएजस्तो देखियो । किसान सामूहिक कार्यमा तल्लीन हुँदा खरबुजाको खेतमा झारहरू पलाउँछन् । उसको जिजुबाको झुप्रोको झिँगटी र भित्ताको अत्तोपत्तो हुन्न । मगमगी बसाउने चिराइतोबीच भुँडीसितका खरबुजा बिस्तारै पाक्छन् । र, चराहरूलाई तर्साउने बुख्याँचाहरू मरेका चराचुरुङ्गीजस्तो खिङ्ग्रिङ्ग देखिन्छन् ।
यताउता अपराधीले जस्तै आँखा दौडाएपछि मोरोजकाले आफ्नो घोडालाई बिग्रेभत्केको झुप्रो भएतिर घुमायो । उसले सावधानीपूर्वक झुप्रोभित्र निकाल्यो । झुप्रो खाली थियो । घरको भुइँमा झुत्राझुत्री, खिया लागेको र भाँचिएको हँसिया, खरबुजा र काँक्राका सुकेका बोक्रा छितरिएका थिए । काठीबाट एउटा खाली बोरा लिएर मोरोजका तल हामफाल्यो र खलोमा घुम्न थाल्यो । धमाधम सुवासिला खरबुजाहरू टिपेर उसले आफ्नो बोरा भर्न थाल्यो । केही खरबुजा त उसले त्यहीँ बसीबसी, आफ्नो घुँडामा फुटाएर खायो ।
आफ्नो पुच्छर हल्लाउँदै मिश्काले आफ्नो मालिकलाई चङ्ख आँखाले हेरिरहेको थियो, मानौँ उसले सबथोक जानेको छ । एउटा शङ्कास्पद आवाज सुनेर उसले आफ्नो बाक्लो कपालले ढाकेका कान उठायो र आफ्नो खजमजिएको मुन्टो एकै झट्कामा नदीतिर घुमायो । निगालोको झ्याङबाट लाइननको पाइन्ट र मसिनो फेल्टको टोपी लगाएको लामो दाह्रीसितको दुब्लो पातलो बुढो बाहिर निस्कियो र नदीको तीरमा देखियो । एक हातले उसले जाल समातेको थियो । जालमा एउटा ठूलो माछा छटपटाउँदै मरिरहेको थियो । त्यसको चिसो, पानी मिसिएको रगत पाइन्टमाथि चुहिँदै थियो । यसले गर्दा पाइन्टमा राता टाटा पर्दै थिए ।
होमा रियाबेत्सको झुकेको आकृतिमा मिश्काले ठूलो पछाडसितकी सेती घोडीको मालिक ठम्याइहाल्यो । त्यही घोडीसित काठका पटेराको भित्ताले अलग्याइएको एउटा तबेलामा उसलाई हुर्काइएको र सुताइएको थियो । त्यो घोडीतिर ऊ बिछट्टै आकर्षित थियो । उसका कान सलामी दिन लागेझैँ तन्किए । उसले आफ्नो मुन्टो उठायो र रमाउँदै भद्दा तरिकाले हिनहिनायो ।
बोरालाई दुवै हातले समातेर मोरोजका हडबडाउँदै जुरुक्क उठ्यो ।
“के गर्दै छौ त्यहाँ ?” रियाबेत्सले काम्दो र चोटिलो स्वरमा सोध्यो र सहनै नसकिने कठोर गुनासोमिश्रित आँखा मोरोजकामाथि गाड्यो । जोडले झट्किरहेको जाललाई उसले खुकुलो पारेन । छटपटाइरहेको माछा उसको खुट्टानिर त्यत्तिकै जोडजोडले उफ्रिरहेको थियो जति जोडले उसको चिढिएको हृदय धड्किरहेको थियो ।
मोरोजकाले बोरा त्यहीँ छोड्यो र टाउको झुकाएर मिश्कातिर हुत्तियो । घोडाको पिठ्यूँमा चढेपछि मात्र उसलाई खरबुजा त्यही छोडेर बोरा लिएर आउनुपर्दो रहेछ भन्ने लाग्यो । त्यसो गरेको भए सबुत कसैको हात पर्ने थिएन । तर, यस्तो गर्ने समय घर्किसकेको बुझेर उसले घोडाको शरीरमा आफ्ना पाइतला गाड्यो । र, घोडालाई बौलाहा, सर्पट चालले दौडाउँदै र धुलो उडाउँदै तीरजस्तै सडकमा निस्कियो ।
“रोक्की केटा ¤ तैँले साटो फेर्नुपर्छ ¤ यसको मूल्य चुकाउनैपर्छ !” अन्तिम वाक्य दोहो¥याउँदै रियाबेत्स चिच्यायो । उसलाई एक महिनासम्म आफ्नो छोरालाई जस्तै खानपिन गराएको व्यक्तिले नै आफ्नो खरबुजा चोर्ने कोसिस गर्नसक्छ भन्ने कुरामा पत्यार लागिरहेको थिएन । त्यो पनि कस्तो बेलामा भने समग्र गाउँको सेवामा खटिरहेको हुनाले उसको आफ्नो खेतमा जङ्गली घाँस झाङ्गिरहेको थियो ।
रियाबेत्सको सानो बगैँचाको सिँयालमा लेभिनसन एउटा सानो र गोलो टेबलमा पुरानो नक्सा फैलाएर भर्खरै फर्केको एकजना गुप्तचरसँग प्रश्न सोधिरहेको थियो ।
किसानको ओभरकोट र काठको जुत्ता लगाएको गुप्तचर जापानीहरूको मोर्चाबन्दीभित्र परसम्म पुगेर फर्केको थियो । उसको गोलो र घामको रापले डढेको रातो अनुहार अनेक खतराहरू छिचोलेर ठीकठाक घर फर्केको व्यक्तिको जस्तै आनन्द भावले धप्धपाइरहेको थियो ।
गुप्तचरको सुराकअनुसार जापानीहरूको छाउनी याकोभलेभ्कामा थियो । दुई कम्पनी सेना स्पास्क–प्राइमोस्र्कबाट सान्दागोउ पुगेका थिए । अर्कोतिर, स्वियागिनो पर्वतमाला खाली गरिएको थियो । यसले गर्दा ती गुप्तचर शाल्दिबाको कम्पनीका दुईजना सशस्त्र छापामारहरूसँगै शाबानोभ्स्की झरनाहरूसम्म रेलमा जानुपरेको थियो ।
“शाल्दिबाले पछाडि हटेर कहाँ अड्डा जमाएको छ ?”
“कोरियाली फार्महरूमा ।”
गुप्तचरले नक्सामा खेतहरू खोज्न चाह्यो । तर, यो काम उसको लागि सजिलो थिएन । आफू अनपढ नदेखिनलाई उसले छिमेकको एउटा जिल्लातिर यत्तिकै औँला तेर्सायो ।
“क्रिलोभ्कामा उनले खुब पिटाइ खाए,” नाके स्वरमा उसले आफ्नै सुरमा भन्दै गयो, “अब उनका आधा सैनिकहरू गाउँ फर्केका छन् र शाल्दिबाले कोरियाली फार्ममा हिउँद बिताइरहेका छन् र चुमिजा पिइरहेका छन् । उनले खुब पिउँछन् रे । बड्डाको बुद्धि खुस्केजस्तो छ ।”
लेभिनसनले यी नयाँ सूचनाहरू एक दिनअघि स्तिर्कशा नाउँको पाकेटमारले दिएका सूचनासँग दाँज्यो । सहरबाट ती सूचना त्यस चोरकहाँ पुगेका थिए । कतै न कतै गडबडी थियो । यस्तो मामिलामा लेभिनसन अभ्यस्त थियो । अँध्यारोमा चमेराजस्तै मानौँ कुनै दिव्य दृष्टिले ऊ युक्त थियो ।
सहकारीका प्रधान यी दुई हप्तामा स्पासकोएबाट फर्केर नआउनु, अस्तिमात्र घरको सम्झनाले अत्यासिन थालेका सान्दागोउका धेरै किसानहरू अचानक भाग्नु र अन्तमा उबोर्काको कम्पनीसँगै भाग्ने मन बनाइसकेको ली फू नाउँको लङ्गडो चोरले अज्ञात कारणवश मोडिएर फुदजिन नदीको उँभोतिर सुइँकुच्चा ठोक्नु, यी सबैका पछाडि निश्चय नै गडबडी थियो ।
लेभिनसनले बारम्बार प्रश्न सोधिरह्यो र यसबीच तारन्तार आफ्नो नक्सामा ध्यान दिएर हेरिरह्यो । उसमा अद्भूत धैर्य र लगन थियो । ऊ ताइगाको त्यो बुढो ब्वाँसोजस्तो थियो जसले आफ्ना अनेक दाँतहरू गुमाइसकेपछि केवल बितेका पिढीहरूबाट विरासतमा पाएको सुझबुझको भरमा सम्पूर्ण दललाई आफ्नो नेतृत्व स्वीकार गर्न बाध्य पार्छ ।
“जेहोस्, के तिमीले सेरोफेरोबाट कुनै विशेष सुराक पाएनौ ?”
गुप्तचरले उसको कुरा बुझ्न सकेन र उसलाई एकटक हेरिरह्यो ।
“आफ्नो नाकले केही सुँघेनौ ?” लेभिनसनले आफ्ना दुई औँला आफ्नो नाकनिर लग्दै चिच्याएर भन्यो ।
“अहँ, मैले केही सुँघ्न सकिँन, साँच्चै भनेको,” गुप्तचरले अपराधीले जस्तो अनुहार बनाएर भन्यो । “म कुकुर हुँ र ?” झिँजो मान्दै र आत्तिँदै उसले सोच्यो । उसको अनुहार तत्काल तमतमायो र सान्दागोउको बजारमा बस्ने माझीकी स्वास्नीको जस्तै कुरूप देखियो ।
“ठीक छ, अब जाऊ,” लेभिनसनले आफ्नो हात हल्लाउँदै र गहिलो सरोवरसरि निला आँखामा अलिकति ख्यालठट्टा भरेर तेस्रा आँखाले उसलाई हेर्दै भन्यो ।
गुप्तचर गएपछि ऊ सोचमग्न अवस्थामा बगैँचामा टहलिरह्यो । एउटा स्याउको रूखनिर रोकिएर उसले केहीबेर एउटा ठूलो टाउकोसितको खैरो कीरालाई रूखको बोक्रामा प्वाल पारिरहेको हेरिरह्यो । र, कुनै रहस्यपूर्ण विचारको लहरो समातेर समय छँदै केही गरिएन भने हाम्रो कम्पनीलाई जापानीहरूले नष्ट गर्नेछन् भन्ने निष्कर्षमा पुग्यो ।
आँगनमा रियाबेत्स र आफ्नो सहायक बाक्लानोभसँग लेभिनसनको जम्का भेट भयो । उसको सहायक बर्दी लगाएको, उनन्तीस वर्षको बलियो युवक थियो । उसको पटुकामा झुन्डिएको पेस्तोल कहिल्यै लामो समयसम्म बेकार रहँदैनथ्यो ।
“मोरोजकालाई हामीले कसरी तह लगाउने हो ?” बाक्लानोभले भेट्नेबित्तिकै लेभिनसनमाथि तीर फाल्यो । उसले आफ्नो आँखीभौँ कसेर खुम्च्याएको थियो र उसका आँखा कोइलाजस्तै बलिरहेका थिए । “उसले रियाबेत्सको खेतबाट खरबुजा चोरिरहेको थियो । कुरा कस्तो लाग्यो ?”
उसले नुहेर आफ्ना हात लेभिनसनतिरबाट रियाबेत्सतिर यसरी घुमायो मानौँ दुवैबीच परिचय गराउँदै छ । लेभिनसनले आफ्नो सहायकले लामो समयदेखि यस्तो उत्तेजित अवस्थामा देखेको थिएन ।
“ल ल, अब चिच्याउन बन्द गर !” उसले मत्थर पार्ने स्वरमा भन्यो, “चिच्याउनु पर्दैन । भएको के हो ?”
काम्दा हातले रियाबेत्सले त्यस बोरालाई अगाडि बढायो जसले आफ्नो कथा आफै भनिरहेको थियो ।
“उसले मेरो आधा खेत तहसनहस गर्दियो कमान्डर कामरेड । भगवान कसम, उसले मेरो आधा खेत बर्बाद पा¥यो ! कुरा के भने धेरै दिनपछि पाएको मौका छोपेर म आफ्नो जाल हेर्न गएको थिएँ… म निगालोघारीबाट बाहिर निस्केँ… ।”
आफ्नो विषय राख्दै ऊ बोल्दै गयो । खासगरी उसले सामूहिक काममा लाग्नाले आफूले खेतमा ध्यान दिन नसकेको तथ्यमा जोड दिइरह्यो ।
“तपाईँलाई थाहै छ, मेरो घरका छोरीचेलीहरूले आफ्नो खरबुजाको खेतमा घाँस उखेल्नुको साटो सामूहिक खेतहरूमा कम्मर भाँचेर काम गर्छन् ।”
उसको कुरा एकदम धीर भई सुनेपछि लेभिनसनले मोरोजकालाई बोलाउन पठायो ।
आफ्नो टोपी टाउकोपछाडि छड्के पारेर तुजुक देखाउने पारामा हल्लिँदै मोरोजका अगाडि आएर उभियो । आफू दोषी भएको थाहा पाएको तर झूटो बोलेर पार पाउने ठानेको बेला उसको यस्तो दम्भी र टेढिँदो मुखमुद्रा देखिने गथ्र्यो ।
“के यो तेरो बोरा हो ?” मोरोजकालाई आफ्ना तीखा आँखाले टाँग्दै कमान्डरले सोध्यो ।
“हो, मेरो हो ।”
“बाक्लानोभ, यसको रिभोल्भर खोस !”
“के भन्यौ ? के यो तिमीले मलाई दिएका हौ ?”
मोरोजका उफ्रेर अछट्टै उभियो । उसको हात थैलीको बटन खोलेर रिभोल्भरमा पुग्यो ।
“नचाहिँदो नगर, सुनिस् ।” बाक्लानोभले कठोर र ओजिलो स्वरमा कड्केर भन्यो । उसका आँखीभौँ खुम्चिए ।
रिभोल्भर खोस्नेबित्तिकै मोरोजकाको सबै हाडखोर र हिम्मत खस्कियो ।
“ल ल, मैले कति खरबुजा लिएँ, भन त ? किन यति कराउनुप¥यो रियाबेत्स ? भगवानको कसम खाएर भन्छु, यो कुरा त झिक्न पनि लायक छैन… ।”
धैर्यले शिर झुकाएर उभिएको रियाबेत्सले धुलोमा लतपतिएका खुट्टाका औँलाहरू खेलाउन थाल्यो ।
लेभिनसनले मोरोजकाका कर्तुतहरूबारे जाँचबुझ गर्न साँझपख कम्पनीसँगै गाउँँसमितिको एउटा बैठक राख्नुपर्ने आदेश दियो ।
“सबैले उसको उपद्रोबारे सुन्नुपर्छ ।”
“ओसिप अब्रामिच,” मोरोजका खोक्रो र निराशाजनक स्वरमा भुतभुतायो । “कम्पनीसामु कुरा राख्नु ठिक्कै हो, तर किसानलाई त्यसमा किन बोलाउने ?”
“सुन मेरा साथी,” लेभिनसनले मोरोजकातिर ध्यानै नदिइकन रियाबेत्ससँग भन्यो, “तिमीसित केही विशेष कुरा गर्नु छ… ।”
गाउँको प्रधानलाई कुम समातेर उसले अलग्गै लग्यो र दुई दिनभित्र गाउँमा दस पुड खँदिला बिस्कुट बनाउन चाहिने रोटी जम्मा गर्न भन्यो ।
“तर कसैले पनि यस्तो किन र केका लागि गरिँदै छ भन्ने कुरा चाल नपाओस् ।”
मोरोजकाले अब त्यहाँ आफ्नो खाँचो छैन भन्ने बुझ्यो । ऊ झपारिएको कुकुरले जस्तो मुख झुन्ड्याएर गरुङ्गा पाइला चाल्दै चौकीदारको कक्षतिर गयो ।
बाक्लानोभसँग एक्लै भएपछि लेभिनसनले भोलिपल्ट घोडाहरूको दाना दुईगुना बढाउन आदेश दियो ।
“प्रत्येक घोडालाई बाल्टीभरि दाना दिनू भनी क्वाटर–मास्टरलाई अह्राउनू ।”
Leave a Reply