भर्खरै :

अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन

अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन

भक्तपुर, १ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बाल विकास इङलिस सेकेन्डरी स्कूलको आयोजनामा चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको शुक्रबार एक विशेष समारोहबिच विमोचन गर्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेँले पुस्तकबारे चर्चा गर्दै भन्नुभयो, “यस चिठीको चिनियाँ भाषाको अनुवादले साधारण चिनियाँ जनताले तत्कालीन नेपालका कला–संस्कृति, नेपाली जनताका सुख–दुःख र समाजबारे प्रत्यक्ष देखेको अनुभव गर्नेछन् । चिनियाँ जनताले आफ्नै भाषामा वर्तमान नेपालबारे लेखिएका पुस्तकहरू कमै होलान् भन्ने म ठान्छु । यस चिठीबाट चीनको नयाँ पुस्तालाई पनि नेपालबारे मात्र होइन आफ्नै देशको हिजोको सुख–दुःखबारे पनि जिज्ञासा राख्ने सम्भावना छ । यसले नेपाली र चिनियाँ जनतामा आपसको सामाजिक र राजनीतिक विषयमा प्रत्यक्ष जानकारी हुनेबारे कुनै दुविधा हुनेछैन ।”
अध्यक्ष बिजुक्छेँले आफ्नो नयाँ पुस्तक प्रकाशनबारे भन्नुभयो, “‘भियतनाम परिचय’ मा आजको भियतनाम, होचि मिन्ह र संसारको प्रथम महिला सेना नेतृबारे तथा अन्य विषय पनि गाँसेर प्रकाशित गर्ने विचारमा छु । त्यसमा भियतनाम, लाओस र कम्बोडियाबारे पनि जानकारी दिने मनमा राख्दै आएको छु । समयले साथ दिएमा त्यसबाट पनि नेपाली भाषाको सेवा हुने भन्ठान्छु ।”
रूसी लेखक तोल्स्टाएको निर्दाेष व्यक्तिहरू हत्याको मुद्दामा लामो समयसम्म अमानवीय सजाय भोगिरहेका कथाहरूबाट प्रभावित भएको चर्चा गर्दै उहाँले आफू जेलमा बस्दा सोझा बन्दीहरूलाई पढाउने काम गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सन् १९७० देखि १९८० सम्म सङ्गठनको निर्णयअनुसार भारत प्रवासमा गई नेपाली जनताको सेवामा लागँे । प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक स्पष्टताको निम्ति काम गरेँ† ‘जनताको साहित्य’ साहित्यिक प्रकाशन चालू राखेँ; ‘जनताको साहित्य र साहित्यकार’ एक सरल पुस्तक लेखेँ र समयमै प्रकाशित भयो । नेपाल र भारतको सीमाको निम्ति केही भारतीय प्रगतिशील र साथीहरूसँग मिलेर हिन्दीमा ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’ र ‘नेपाल तराई’ हिन्दी भाषामा प्रकाशित गरियो । पछि ‘आधार’ नेपाली भाषामा प्रकाशित गरियो । नेपालमा बस्दा आफ्ना नामबाट पुस्तक प्रकाशित गर्न नमिल्ने हुँदा ‘हरिबहादुर श्रेष्ठ’ को नाम प्रयोग गरेँ । प्रवासमा बस्दा केन्द्रीय समितिमा ‘रोहित’ को नामबाट काम गर्थेँ । त्यस्तै ‘रामबहादुर ज्यापू’ र अन्य उपनामहरू पनि प्रयोग गर्ने गर्थेँ । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’
(मुख्य शत्रुको पहिचान र आन्दोलनबारे अवसरवादको विरोधमा) ‘रुसी–संशोधनवाद सामाजिक – साम्राज्यवादमा पतन’, ‘नेपाल भारत सम्बन्ध र भारत’, ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’, ‘नेपालको तराईको किसान आन्दोलनबारे (ऐतिहासिक किसान आन्दोलन एक अध्ययन (बारा, रौतहट) धनुषा, सिराहा र सप्तरी ),’ समाज विकासको एक झलक (१५–२० वर्षपछि मात्र यो पुस्तक नेपालमा प्रकाशित भयो ।) लेखेँ ।”
“भारत प्रवासको अन्तिम समयमा पार्टी (नेमकिपा) भित्र घुसेका त्रोत्स्कीवादी र आतङ्कवादीहरूको गोली प्रहारमा परेँ र बाँचेँ”, उहाँले भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले ‘जेलका चिठीहरू’ सामान्य पाठकदेखि प्रबुद्ध व्यक्तित्वहरूले रूचाएको पुस्तक भएको र उक्त पुस्तकबाट कला–संस्कृति, सभ्यता, इतिहास, समाज र जीवन दर्शनबारे बुझ्न पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली भाषाबाट ‘जेलका चिठीहरू’ प्रकाशित भएको १२ वर्षपछि अङ्ग्रेजी भाषामा प्रकाशित भयो । यी चिठीहरूले थप चमक पाएका धेरैले अनुभव गरे । यो पुस्तकबाट चिनियाँ मित्रहरूका निम्ति नेपाल र नेपाली संस्कृति एवम् समाज हेर्ने एउटा आँझीझ्याल बन्ने पूर्ण विश्वास छ । यो पुस्तक नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण हुने विश्वास छ ।”
डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो, “नारायणमान बिजुक्छेँको सन् २०१२ मा प्रकाशित ‘जेलका चिठीहरू’ पुस्तकको चिनियाँ अनुवाद प्रकाशित भएको छ; म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु । पुस्तकका अनुवादकद्वय श्रीमती चाङ होङवेइ र प्रणय चित्रकारलाई पनि हार्दिक बधाई दिन चाहन्छु ।”
उहाँले थप्नुभयो, “अहिले चीन र नेपाल सरकारबिच २५–२५ वटा शास्त्रीय ग्रन्थको एक अर्काको भाषामा अनुवाद गरी प्रकाशित गर्ने परियोजना चलिरहेको छ । उक्त अनुवाद परियोजनाको नेपाल पक्षको विज्ञ समूहमा म चिनियाँ भाषा विशेषज्ञको रूपमा रहेको छु । मैले उक्त परियोजनालाई नेपाली पुस्तकलाई चिनियाँ अनुवाद गरी चिनियाँ बजारमा पु¥याउने दुर्लभ अवसरको रूपमा लिएको छु ।”
उहाँले भनुभयो, “चिनियाँ भाषा र नेपाली भाषा दुई धेरै फरक भाषा परिवार पर्ने भाषा भएको हुँदा तिनीहरूको वाक्य संरचना, शब्द निर्माण आदिमा कुनै समानता छैन, यसले गर्दा यी दुई भाषाबिचको अनुवाद कार्य असामान्य रूपले कठिन छ । यस पुस्तकका दुई अनुवादक दुई अलग मातृभाषाका भएका विद्वान हुन् । तसर्थ, दुईजनाको संयुक्त प्रयासले अनुवादले पूर्णता पाएको छ ।”
चिनियाँ प्राध्यापक गु झिकाओले जेलको चिठीको मर्मबारे चर्चा गर्दै भन्नुभयो, “सानो जेलले भौतिक शरीरलाई सीमित गर्न सक्छ तर मानवताको भाग्यको बारेमा सोच्ने महान् मनलाई सीमित गर्न सक्दैन ।”
उहाँले भन्नुभयो, “अध्यक्ष रोहितले भन्नुभएझैँ हामीसँग मेहनती, कामदार र सिपाहीहरूको कमी छैन । लाखौँ नेपालीहरू शारीरिक श्रम गरेर जीविकोपार्जन गर्न विदेश गएका छन् तर ‘बौद्धिक कामदार’ धेरै कम छन् ।”
पुस्तकका अनुवादक चाङ होङवेइले भन्नुभयो, “मैले यो पुस्तक अनुवाद गर्ने जिम्मेवारी स्वीकार गरेको क्षणदेखि नै आफ्नो काँधमा ठुलो जिम्मेवारी आएको महसुस गरेको थिएँ। मेरो लागि यो अनुवाद भाषाको परिवर्तन मात्र थिएन† यो त एक प्रकारको लामो, शान्त तर निरन्तर मन छुने आत्मिक संवाद थियो । जब मैले पहिलोपटक जेलका चार पर्खालभित्र लेखिएका यी पत्रहरू एक–एक शब्द पढ्न थालेँ† मैले सबैभन्दा पहिले जेल–जीवनको अँध्यारो र कठिनाइ होइन, बरू कागजका प्रत्येक पानाबाट देखिने जीवनको बलियो ऊर्जा महसुस गरेँ।”
उहाँले भन्नुभयो, “यी पत्रहरूले रोहितज्यूले जेलभित्र न्याय, लोकतन्त्र र समाजका लागि गरेको सङ्घर्ष, उहाँका विचार, दृढ सङ्कल्प र आत्मविश्वासलाई इमानदारीपूर्वक देखाउँछन् । तर, पुस्तकभरि कतै पनि गुनासो छैन, निराशामा हार मानेको भावना छैन । प्रत्येक हरफमा परिवारप्रतिको गहिरो माया, जीवनप्रतिको साँचो सोच र कठिन परिस्थितिमा पनि आफ्नो आत्मा, मानवता, नेपाली संस्कृति तथा वास्तुकलाप्रतिको स्पष्ट सोच र आशाको भावना देखिन्छ । यस पुस्तकले पति–पत्नीबिचको प्रेममात्र होइन, राजनीतिक सीमालाई पनि पार गर्दै जीवन, समाज र आशाबारेको गहिरो मानवीय भाव प्रस्तुत गर्दछ ।”
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले विद्यालयले शिक्षाको क्षेत्रबाट मात्र होइन साहित्यिक तथा सामाजिक गतिविधिमार्फत देशको सेवा गरिरहेको उल्लेख गर्दै पुस्तकको प्रकाशनसँगै साहित्यमार्फत अन्तर्राष्ट्रिय समुदायको सेवातर्फ पाइला बढेको अनुभव हुन्छ भन्नुभयो ।
सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कन्फुसियस सेन्टरका डाइरेक्टर एवं डा. लि., पुस्तक अनुवादक प्रणय चित्रकारले पनि प्रकाशित पुस्तकबारे बोल्नुभएको थियो ।
सृष्टि प्रधान र सोफियाले पुस्तक विमोचन र प्रकाशनको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *