भर्खरै :

महिला मुक्ति नारा होइन उद्देश्य हो !

ढोल, शूद्र, गंवार, पशु, नारी
यो सब ताडनका अधिकारी
हिन्दु माथिल्ला वर्ग अर्थात् शासक वर्गमा सा¥है प्रचलित श्लोकमध्ये एक हो यो । “ढोलक, दास, नोकर वा तल्लो जात, गाउँले वा मूर्ख, चारखुट्टे र महिला यी सब पिटाइ वा यातना भोग्नैको लागि जन्मिएका हुन् ।”
दासयुग र सामन्ती समाजमा कामगरी खाने, मजदुर, किसान, गरिब र तल्लोस्तरका तथा जातका जनता मूर्ख ठानिन्छन् । तिनीहरू असभ्य तथा पशुजस्तो ठानिन्छन् । महिला, आइमाई वा स्वास्नीमानिसहरू पनि पिटाइखाने वा सास्ती गरिने प्राणीमा गनिन्छन् । दमाहा, ढोलक वा छालाको बजाउने बाजा जस्तै !
भारतले बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको ७० वर्ष अर्थात् दुई पुस्तापछि पनि मजदुर, किसान, दलित, महिला तथा आदिवासीहरूमाथिको कट्टर हिन्दुवादी संस्था र सरकारको व्यवहारमा खास परिवर्तन आएको छैन । नेपालमा पनि भारतमा जस्तै दासयुगीन तथा सामन्ती संस्कार जनस्तरमै खचाखच भरिएको छ । (भारतमा जस्तै नेपालमा पनि गणतान्त्रिक शासन व्यवस्था भएपनि दासयुगीन एवम् सामन्ती संस्कार बाँकी छन् ।)
घरघरमा माथिल्लोमात्र होइन, मध्यम र निम्न पुँजीपति वर्गमा समेत छोरा र छोरी, छोरी र बुहारी, लोग्ने र स्वास्नीको बीचमा भेदभाव छ । छोरालाई महँगो विद्यालयमा पढाउने र छोरीलाई कमजोर, सस्तो तथा सरकारी विद्यालयमा पढाउने, छोराहरू कार्यालय वा विद्यालयबाट घर फर्किँदा खाजाको तुरुन्त बन्दोवस्त हुन्छ भने बुहारीले आफै चिया पकाएर केटाकेटी स्याहार्नुपर्ने स्थिति छ । लोग्नेमानिस घरका मालिक हुन् र बुहारी घरका नोकर्नी र पराइ हुन् भन्ने भावना आज पनि जिउँदै छ ।
अमेरिकाबाट फर्किएका पुरुष र केटाहरूमा समेत स्वास्नी कुट्ने खराब बानी छ । टोलटोलमा राती कहिलेकाहीँ महिलाको चित्कार तथा रुवावासी सुनिन्छ । छरछिमेकमा महिला उत्पीडनको घटना बरोबर सुनिन्छ । आफ्नै प्रेमिका तथा श्रीमतीसमेत भारतमा लगेर बेचेका घटना जिल्लाजिल्लामा छरपस्ट छन् । प्रशासन, राजनीतिक नेता एवम् मन्त्रीहरूले नै अहिले पनि जिउ मास्ने वा चेलिबेटी बेचविखन गरेको, महिला हिंसामा पक्षपात गरेको वा अपराधीहरूको पक्ष लिएको सम्बन्धित व्यक्तिहरू नै बताउँछन् ।
नेवारलाई नेवारले, तामाङलाई तामाङले, क्षेत्रीबाहुनलाई क्षेत्रीबाहुनले नै, किसानले किसानका छोराछोरीसँग कुनै न कुनै म्यानपावर कम्पनीका एजेन्टले लाखौँ रुपियाँ र घरखेत लिएर विदेशमा कामदारको रूपमा तथा छात्रवृत्तिको नाममा पठाएर महिनाको २५–२५ हजार रुपियाँ लिएका घटना छन् । शासक दलकै आ–आफ्ना म्यानपावर कम्पनी भएको हुँदा कानुनी शोषण तथा ‘कानुनी डकैती’ चल्दै छ, नैतिकता एवम् मूल्यमान्यता पुँजीवादी समाजमा पुरानो भएको सम्झिइँदै छ ।
भारत र नेपालका गाउँ र सहरमा दलित र आदिवासीलाई हुलले कुटीकुटी मारेका (लिचिङ) घटना छन् । नेपालमा भारतमा जस्तै दाइजो वा अन्य कारणले महिला हिंसा भइरहेका छन् । हरेक दिन भारतका ठूला वा साना समाचारपत्रमा महिला हिंसाका समाचार छापिन्छन् भने नेपालमा खासगरी तराईका घटना छापामा देखिन्छन् ।
उपत्यकामा तल्लो वर्ग र जातिमाथि शासक वर्गको अत्याचारबारे एउटा कहावत छ – कर्कलो काट्न तरवार चाहिँदैन, गरिब किसान (ज्यापू) तर्साउन निहुँ चाहिँदैन । हिजो कुनै नेवार केटोले क्षेत्री बाहुनकी छोरी भगाएमा प्रहरीको सहारा लिएर झ्यालढोका फोरेर छोरी फिर्ता लगी केटोलाई प्रहरीले अर्काे मुद्दामा फसाई थुनेका घटना छन् । त्यस्तै, कुनै मुसलमानले नेवारकी छोरी भगाउँदा दुवैलाई जेल सजाय भएको थियो भने सजाय भोगी आएका श्रीमान् श्रीमती सँगै बस्दा पुनः पक्राउमा परेको घटना पनि छ । ‘अपराध’ को सजाय भोगिसक्दा पनि पुनः पक्राउ गरी (सम्भवतः समाजमा त्यस्ता उदाहरण नहोस् भनी) अन्तै टाढै गएर बस्न प्रशासनले पठाएको चर्चा पनि चलेको थियो ।
तर, व्यवहारमा बुहारी कुट्ने र स्वास्नी कुट्ने वा ‘महिला हिंसा’ उपत्यकाका विभिन्न जातिहरूमा पनि चालु छ । तर, गरिबी, भाषा र शिक्षाको अभावको कारणले तत्काल उजुरी गर्ने र ‘महिला हिंसा’ को खबरलाई सम्बन्धित प्रहरी युनिटमा पु¥याउने काममा तत्परता देखिएको छैन । वर्षाैँसम्म पारपाचुके मुद्दा झेलतान गरेर पीडित महिलालाई थप दुःख दिइएकोबारे किसान महिला कार्यकर्तालाई थाहा छ ।
जातीय संस्कार बाँकी रहेको समाजमा आ–आफ्ना नातागोताको विरोधमा उजुरी गराउन कानुन व्यवसायीसमेत व्यवहारले तयार देखिँदैनन् । बर्बर समाजमा कुनै गाउँ वा जातिका व्यक्तिलाई कुटपिट गरेमा ‘अपराधी’ नबताउने हुँदा त्यस गाउँ र जातिका हरेक व्यक्तिमाथि हमला भई वर्षाैँसम्म साम्प्रदायिक झगडा भइरहन्थ्यो । यसकारण, कानुनमा ‘अपराध गर्ने व्यक्ति मात्रै सजायको भागी’ बनाउने कानुनी व्यवस्थाको विकास भयो ।
धेरै पढालेखा भए पनि र जग्गाको मूल्य बढेर वा घरजग्गा खरिदबिक्रीबाट एक दुई वर्षमै करोडपति भएको परिवारको सांस्कृतिक स्तर (नागरिक भावना, सदाचार, बोलीव्यवहारमा परिष्कार हुने) २–४ वर्षभित्रै माथि उठ्ने होइन । यसबारे समाजका जिम्मेवार व्यक्ति, सामाजिक संस्था, शैक्षिक संस्था (स्कूल, कलेज, पुस्तकालय, वाचनालय, टीम, क्लब), निर्वाचित वडाध्यक्ष र सदस्यहरू आदिमार्फत समाजमा छलफल, वादविवाद, साहित्यिक गतिविधि, नाटक प्रदर्शनी सांस्कृतिक गतिविधि गरी समाजका व्यापक जनताको चेतना तथा सांस्कृतिक स्तरलाई विकास गर्नु आवश्यक छ ।
भारतमा राजा राममोहन रायहरूले ‘बालविवाह’ को विरोधमा बालिकाको विवाह हुने वा छोरी दिने घर वा ठाउँमा गएर धर्ना दिनेजस्तो कार्यक्रम र गतिविधि गरेर समाजलाई पुराना विकृतिहरूबाट मुक्त गर्ने कार्यहरू गरेका थिए । त्यस्तै, युरोपका विभिन्न देशमा जनप्रतिनिधिले नै अफ्रिकी हब्सीहरूको व्यापारको विरोधमा अनेक सामाजिक र प्रचारात्मक गतिविधि गरेका थिए । र, संसद्मा त्यस्तो व्यापारलाई गैरकानुनी घोषणा गराउन प्रश्नोत्तर तथा ध्यानाकर्षण गरे, दास व्यवस्थाविरुद्ध विधेयक ल्याउन अनेक राजनैतिक गतिविधि गर्थे ।
प्रहरी र प्रशासनको धाक देखाउने एवम् सेनालाई समेत घूस दिएर आफ्नो काम फत्ते गरेको बडप्पन देखाउनेजस्ता आपराधिक मानसिकतालाई उदाङ्ग्याउने र निन्दा गर्ने गतिविधि नगर्दा धेरै कालसम्म समाजका यस्ता फोहर सफा गर्न नसकिने प्रस्ट छ ।
निजी कानुन व्यवसायीको ‘ल फर्म’ एक प्रकारले ‘कानुनी सल्लाह दिने’ व्यापारीको पसल वा ‘ब्यूटी पार्लर’ र ‘डाक्टरको उपचार सेवा दिने क्लिनिक’ जस्तै हो । त्यो परोपकारी संस्था होइन । यसकारण, गरीब जनतालाई कानुनी सेवा दिन र सहयोग गर्न जिम्मेवार राजनैतिक दलहरूले नै अलग्ग बन्दोवस्त गर्नु आवश्यक छ, जसरी किसान सङ्गठन र महिला सङ्गठन छन् । ती संस्थाहरूले आ–आफ्नो पेशा र सदस्यहरूको सेवा गर्नु आवश्यक छ । नत्र, क्रान्तिकारी र परिवर्तनवादी भनिने राजनैतिक र सम्बन्धित वर्गीय संस्थाहरू बिस्तारै पुँजीवादी दलमा परिवर्तन हुने खतराबाट सचेत हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *