भर्खरै :

हातमा सीप नभएका युवा भविष्यमा दुःखी

भक्तपुर, २४ असार । सीटीईभीटीबाट मान्यता प्राप्त निओ फ्युजन स्कूल अफ कम्युटरको ११ औं प्रमाण–पत्र, प्रशंसा–पत्र वितरण तथा साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमप्राप्त प्रशिक्षार्थीलाई आफ्नो सीप सही ठाउँमा सदुपयोग गर्न आग्रह गर्दै हातमा सीप नभएका युवाहरुले भविष्यमा दुःख पाउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले युवालाई रोजगार बनाउन आगामी बजेटमा विभिन्न तालिम सञ्चालन गर्ने प्रस्ताव ल्याउने तयारी गरिरहेको जानकारी दिंदै उहाँले आफूसँग भएको सीप र क्षमता देश र समाजको प्रगतिको लागि खर्चिनुपर्ने विचार राख्नुभयो ।
“युवाहरू विदेश पलायन हुनुमा मुख्य भूमिका पनि सीपको अभाव भएरै हो, सीप भयो भने आफ्नै देशमा केही काम पाउँछन् । ”उहाँले बताउनुभयो ।
संविधानमा रोजगारीको सुनिश्चितता हुनुपर्ने विचार राख्दै प्रमुख प्रजापतिले हरेक युवाको योग्यताको आधारमा काम दिनु राज्यको दायित्व भएकोमा जोड दिनुभयो । उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन नयाँ पुस्तालाई विभिन्न अन्तर्राष्ट्रिय भाषा सिकाउन आवश्यक भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले राजनीतिमा युवाको सक्रियताले मात्र समाज अघि बढ्ने बताउनुभयो । उहाँले उज्ज्वल भविष्यको सपना पूरा गर्न हरेक काममा अल्छी नमानी मिहिनेत गर्न युवाहरु तल्लीन हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजुले युवा उमेरले भन्दा विचार र लक्ष्यले निर्धारण हुने चर्चा गर्दै सही राजनीतिक नेतृत्व भए देश विकास हुन धेरै समय नलाग्ने बताउनुभयो ।
उहाँले समाजको लथालिङ अवस्था देखेर परिवर्तनको भावना नपलाउने मानिस उमेरले युवा भए पनि वास्तवमा युवा नहुनेमा जोड दिनुभयो ।
निओ फ्युजनका निर्देशक बालकृष्ण वनमालाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले विभिन्न तालिमप्राप्त झण्डै २ सय प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा सौन्दर्यकलाका प्रशिक्षक सुनिता बोहजु, नृत्यका प्रशिक्षक सनम बोहजु, रोजिना बनमाला, मनिषा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रदर्शन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *