ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
नेपालमा सम्भवतः राज्य व्यवस्थाविरुद्ध, राज्यको अत्याचार, शोषणविरुद्धको राजनीतिक सङ्घर्षमा व्यापक महिलाहरूको सहभागिता भएको पहिलो घटना भक्तपुर काण्ड हो । भक्तपुर काण्ड राजनीतिक अधिकारको लागि महिलाहरू पनि जागेको ऐतिहासिक समय हो । ‘भक्तपुर काण्ड’ वर्गसङ्घर्षकै सिलसिला हो भनेर हामी बुझ्न सक्छौँ । वर्गीय भावनाले ओतप्रोत भएमा कुटो–कोदालो, हँसिया बोक्ने हातहरूले वर्ग शत्रुविरुद्ध मसाल पनि बोक्न सक्छ भन्ने प्रमाणित ग¥यो । डोको, नाम्लो भारी बोक्ने महिलाहरूले निरङ्कुश पञ्चायतको प्रहरी राज्य आतङ्कविरुद्ध पर्चा, पम्प्लेट छर्ने र टाँस्नेजस्ता साहसिक काम गरे । आफ्ना परिवार, छरछिमेकमा दाजुभाइ तथा युवाहरू जो कोहीलाई राज्यले गिरफ्तार गर्दा परिवार र छिमेकको मात्र होइन सिङ्गो समाजकै रक्षक बनेर उभिएका थिए महिलाहरू । पार्टीले चलाएको रात्रि कक्षा, प्रौढ कक्षामा सहभागी महिला दिदीबहिनीहरूले नै सङ्घर्षको नेतृत्व गर्नुभएको थियो ।
भाद्र ९ गते राति १२ बजे हाम्रा काका जनकलाल सुवाललाई पनि प्रहरीको एक समूहले पक्राउ गरेको थियो । हामीले दाइहरूलाई फोन गरेर सोध्दा पार्टी कार्यकर्ता आशाकाजी बासुकला, ज्ञानबहादुर न्याईच्याईलगायतलाई ‘मिटिङ्ग’ छ’ भनी लगेको थाहा पायौँ । भोलिपल्ट बिहान सबेरै ७ बजे हामी प्रहरी कार्यालय गयौँ, सोध्यौँ तर अनुहार पनि देखाइएन । फेरि खाना लिएर हामी १० बजे गयौँ । हामीलाई भेट्न दिइएन, प्रहरीमार्फत खाना लगियो । हामीलाई भेट्न दिने त के, देख्ला भनेर गेटको अगाडिसमेत बस्न दिइएन । घरमा बाजेबज्यै र काकीले सा¥है पिर गर्दै हुनुहुन्थ्यो । बिहान करिब ११ः३० बजे पञ्चायतले बलिको बोको बनाएको कर्ण ह्योजूको ‘शव ¥याली’ ल्याइयो । ¥यालीमा ‘रोहितलाई फाँसी दे’ भनी नारा लगाइएको थियो । जुलुसमा प्रधानमन्त्री मरिचमान श्रेष्ठ, मन्त्रीहरू र पञ्चायत सरकारका मण्डलेहरूको भिड थियो । ‘हत्यारालाई फाँसी दे’ भनी उफ्री उफ्री नारा लगाइएको थियो । त्यस्तो उपद्रो देखेपछि अब भक्तपुरका जनताले दुःख पाउने भए भन्ने मनमा लाग्यो । सायद यो सङ्केत धेरैले महसुस गरे ।
त्यस दिनदेखि रातिराति घरघरमा गएर प्रहरीले आतङ्क मच्चायो । भक्तपुरका जनता राति घरमा सुत्न सक्दैनथे वा पाउँदैनथे भने दिउँसो भोक प्यास हराउँथ्यो । प्रहरीको अत्याचारले सीमा नाघ्दै थियो । त्यसको प्रतिकार गर्न टोलटोलमा महिलाहरू जाग्राम बस्थे, पहरेदार बन्थे । प्रहरीले कुनै वडामा वा कसैको घरमा तोडफोड गरेको सुइँको पाउनासाथ हामी हुल बाँधेर जान्थ्यौँ, प्रतिकार गथ्र्यौँ । हामीले बरोबर चोछेँ, ब्यासी, गोल्मढी, सूर्यमढीमा गस्ती पनि गर्यौँ ।
हिरासतमा रहनुभएका काका र दाइहरूलाई दिएको अमानवीय यातना सुन्दा हाम्रो मन दुख्थ्यो, आँखाबाट आँसु थामिँदैनथ्यो । ‘जेलभित्रै मर्छन्’ भन्ने प्रचार वा हल्लाले घरपरिवारमा रुवावासी चल्थ्यो । तर, सङ्घर्षको विकल्प थिएन किनभने घरबाहिर पञ्चको राज थियो ।
केही दिनपछि काठमाडौँ हनुमानढोकामा काकालाई खाना पु¥याउन जाँदा ‘ज्यानमारा’, ‘ज्यापू’ आदि अपमानका शब्द सुन्नुपथ्र्यो । हनुमानढोकासम्म पनि एक्लै जान सकिँदैनथ्यो । दुई तीनजना भाउजू र काकीहरू सँगसँगै जान्थ्यौँ । त्यहीबेलादेखि आदरणीय शोभा प्रधान, राजेश्वरी प्रजापति भाउजूहरूसँग चिनजान भयो । त्यहाँ गएपछि पनि हामीलाई गेटबाहिर नै राखिन्थ्यो । दाइहरूको झिनो आवाज सुनिन्थ्यो र अनुहार झुलुक्कमात्र देखिन्थ्यो ।
वकिलहरूको सल्लाहअनुसार बन्दी प्रत्यक्षीकरण गर्न वा दाइहरूको बयान लिन विशेष अदालत सिंहदरबारभित्र लगियो । त्यसबेला हामी पनि गयौँ । त्यहाँ सत्यतथ्य बोल्न नदिएर उनीहरूले तयार गरेको नक्कली बयानको कागजमा सही गराउन खोजे । तर, काकाहरूले सही गर्नुभएन । त्यसपछि झन् प्रस्ट भयो– नक्कली बयानमा सही गर्न लगाएर पार्टीका नेता कार्यकर्तालाई फसाउन खोजिएकै हो ।
केही दिनदेखि भक्तपुरको दरबार स्क्वाएर क्षेत्रमा सरजमिन हुन्छ भनी हल्ला चलाइयो । फेरि असोज १ गते शनिबार सरकारी बिदाको दिन सरजमिन गराइयो । सरजमिन स्थल हनुमानघाटमा १०० मिटरको दूरीसम्म प्रहरी घेरा थियो । सत्यतथ्य बोल्न कैयौँ महिलाहरू जम्मा भए तर हाम्रा साथीहरूलाई केही बोल्न दिइएन । ह्योजूका नातागोता र मण्डलेहरूको एकतर्फी बयानमात्र लिइयो । त्यसको विरोधमा प्रहरी भ्यानमा राखिनुभएका दाइहरूले पनि ठुल–ठुलो स्वरले विरोध जनाउनुभयो । हामीले प्रहरीको घेरा तोड्न खोज्यौँ तर सकेनौँ । यद्यपि, प्रहरी घेरालाई ठेलेर हामीले १०÷१५ मिटर भित्र धकेल्यौँ । पछि प्रहरीसँग मुठभेड भयो । प्रहरीको लाठीबाट महिला साथी रत्नकेशरी घाइते हुनुभयो । यसरी एकतर्फी सरजमिनको विरोधमा सङ्घर्ष अझ अगाडि बढ्यो । सरजमिनको विरोधमा महिलाहरूले जुलुसको नेतृत्व गरे । ‘धाँधलीपूर्ण सरजमिन मुर्दावाद’, ‘एकतर्फी सरजमिन रद्द गर’, ‘जाली मुद्दा खारेज गर’ आदि नारा लगाउँदै जुलुस अगाडि बढ्यो । चोक–चोकमा सभाहरू भए ।
पञ्चायतविरुद्ध भक्तपुरका किसानहरूबाट सुरु भएको सङ्घर्ष अन्ततः देशभर फैलियो । अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने डरले अन्य राजनीतिक दलहरू पनि सङ्घर्षमा लागे । नेमकिपालाई जरैदेखि उखेल्न लागिपरेको बुढो र मक्किसकेको रुख अर्थात् पञ्चायती व्यवस्था जनआन्दोलनको एक धक्काले ग्वार्लाम्म ढल्यो । त्यसबेला पार्टी सङ्गठनको लागि र समाजकै लागि योगदान पु¥याउने कानुन व्यवसायी, पत्रकार, बुद्धिजीवी, राजनैतिक दलका नेता तथा कार्यकर्ता एवम् मानव अधिकारवादी आदि सबै महानुभावहरूलाई यस कार्यक्रममार्फत धन्यवाद दिन चाहन्छु ।
(नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा भदौ ९ गते आयोजित अनलाइन कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवालले दिनुभएको मन्तव्य)
Leave a Reply