भर्खरै :

किन हरेक वर्ष भक्तपुर काण्डको भत्र्सना गर्न आवश्यक छ ?

हरेक वर्ष भक्तपुर काण्ड मनाउने सन्दर्भमा धेरैको जिज्ञासा हुने गर्छ । हिजो भर्खरै एक युवाको गुनासो सुने, ‘भक्तपुर काण्डबारे कति सुन्नु ? फेरि वर्षमा एक पटक सम्झ्यो ! आँखामा आँसु झा¥यो ! सक्यो !’ सरल प्रश्न थियो त्यो, तर अत्यन्त गम्भीर ।
भक्तपुर काण्डमा जेलको क्रूर यातना भोगेका एकजना बुबासँग भलाकुसारी भयो । उहाँले खुट्टा दुखेर हिँड्न गा¥हो भइरहेको कुरा बताउनुभयो । उहाँले जिज्ञासा राख्नुभयो, “भक्तपुर काण्डको पिटाइले गर्दा दुखेको हो कि !” मैले भनेँ, “नहोला भन्न सकिन्न ।”
यी दुई सन्दर्भ एक भुक्तभोगी र आजको पुस्ताको सोचाइ हो । भक्तपुर काण्डमा परेका हाम्रा अग्रज दाइहरूको घाउ अझै आलो छ । शत्रुले दिएको घाउ अझै ताजै छ । तर, यसको वास्तविकता र यथार्थबारे अझै नयाँ पुस्ताहरूबीचमा पु¥याउन बाँकी छ । भक्तपुर काण्ड मनाउनुको सान्दर्भिकताका कारणहरू बताउँदा बढी फलदायी होला । ‘भक्तपुर काण्ड’ नभएको भए हामी के हुन्थ्यौँ होला र सो घटना घट्दा हाम्रो समाज र नेमकिपालाई के सकारात्मक र नकारात्मक असर प¥यो भन्नेबारे पहिले ९ भाद्रको घटना नसुन्नेहरूले इतिहासको एक झलक थाहा पाउने थिए र सुनिसकेकाहरूले त्यस घटनाहरूबाट हाम्रा कमजोरी र बलिया पक्षहरू थाहा पाउनेछन् ।
हामीमध्ये कोही जन्मेका पनि थिएनौँ सायद या हामी धेरै साना–साना थियौँ, वि.सं २०४५ मा । आजभन्दा ठीक ३३ वर्ष अगाडि देश र जनताको निःस्वार्थ सेवा गर्ने एकमात्र सच्चा कम्युनिस्ट पार्टी नेमकिपालाई सिध्याउन तत्कालीन मरिचमान सिंहको सरकार र स्थानीय पञ्चायती प्रतिक्रियावादी तत्वहरू मिलेर राष्ट्रिय स्तरको षड्यन्त्र रचिएको थियो । तर, ‘पाप धुरीबाट कराउँछ’ भनेझैँ भाद्र ९ अर्थात् कालो दिनको षड्यन्त्र समयक्रमसँगै उदाङ्गिएको छ ।
हरेक वर्ष विरोध गर्दै आएको ‘भक्तपुर काण्ड’ तत्कालीन समयका विद्यार्थी, नेमकिपाका नेता तथा कार्यकर्ता, किसानलगायत भुक्तभोगीहरूको लागि ज्यादै दुःखदायी थियो । त्यो घटना एक खालको तीतो र पीडादायक यथार्थ थियो । रापस कर्ण ह्योजूको हत्याको आरोपमा भक्तपुरलगायत अन्य जिल्लाका कैयौँ नेता, कार्यकर्ता, जनता तथा किसानहरूले कष्टदायी जीवन भोग्नुप¥यो । झूटा आरोपमा पक्राउ परेका सबैले असह्य जेल यातना भोगे । मतियार प्रहरीहरूले मरणासन्न हुने गरी शारीरिक पीडा दिए । विनागल्तीको सजाय भोग्न परेको थियो भक्तपुरलगायत अन्य जिल्लाका नेमकिपाका नेता तथा कार्यकर्ताहरूले ।
अझ भक्तपुरका महिलाका लागि सा¥है निर्दयी र क्रूर थिए– ती दिनहरू । सामाजिकरूपमा महिलाहरूले धेरै–धेरै अपमान सहनु परेको थियो । मुद्दामा परेका हरेक घरका सदस्यले आँसु नझारेको रात थिएन । धेरै रातहरू अनिँदो हुन्थ्यो । श्मशानजस्तै सुनसान र डरलाग्दा थिए ती रातहरू । तर, प्रतिक्रियावादी तत्वहरूले लगाएका ती झूटा आरोपहरू धेरै समय टिक्न सकेनन् ।
इतिहास जिउँदो छ । भक्तपुर काण्डका भुक्तभोगीहरू, हाम्रा अग्रज नेता तथा कार्यकर्ता, महिला दिदीबहिनीहरू साक्षी छन् । त्यो घटना सम्झँदा, हामीलाई माया गर्ने आमाहरूको मन रुन्छ, आँखा रसाउँछ, दाजुभाइ र दिदीबहिनीहरूको शरीर काँप्छ, किसान बुबाहरूको रगत उम्लिन्छ, पार्टी नेता र कार्यकर्ताको मन आक्रोशित हुन्छ ।
वर्तमान समयमा पनि प्रतिक्रियावादी तथा पुँजीवादी पार्टीहरूले इतिहासलाई बङ्ग्याउने काम गरिरहेका छन् । “ह्योजूलाई नारायणमान बिजुक्छेंले छाताले घोची घोची मारेको हो ।”, “रोहित हत्यारा हो ।” आदि प्रचारबाजी गर्दै छन् । कतिपय पुस्तकहरूमा यसबारे चर्चा परिचर्चा गरिएबाट बौद्धिक जगतमा भ्रम फैलिरहेको छ । यस्ता गलत बुझाइ तथा प्रचारको चिरफार गर्नु आजभोलिको पुस्तालाई साँचो बताउने काम पुरानो पुस्ताको कर्तव्य र जिम्मेवारी हो । भक्तपुर काण्ड स्मरण गर्नुको अर्थ व्यापक जनतासामु प्रतिक्रियावादी तत्व र सिँगो पुँजीवादी व्यवस्थालाई नङ्ग्याउनु हो ।
वि.सं २०४५ सालको भूकम्पमा कति क्षति भयो ? भूकम्पछि के–कस्ता घटनाहरू भए र सरकारले षड्यन्त्र सफल बनाउन के–कस्ता कार्य गरे ? नेमकिपाले के–कस्ता कठिनाइको सामना गर्नुप¥यो भन्ने विषयमा आजको पुस्ताले जानकारी लिन आवश्यक छ । भक्तपुर काण्डका भुक्तभोगीहरूको चाखलाग्दो बयान र अनुभवहरूले प्रतिक्रियावादीहरू र सामन्ती व्यवस्था कति क्रूर, निरङ्कुश र अत्याचारी थिए भन्ने कुरा प्रस्ट हुन्छ । आजसम्म पनि नेमकिपाविरुद्ध उनीहरूले षड्यन्त्र जारी राखेका छन् । पञ्चायत व्यवस्था ढल्यो तर नेमकिपाविरोधी प्रतिक्रियावादी व्यवस्था अहिलेसम्म ढलेको छैन । ‘सर्प मर्छ तर पुच्छर हलिरहन्छ’ भनेजस्तै पञ्चायत व्यवस्था ढले पनि उनीहरूको प्रवृत्ति, विचार र व्यवहारमा कुनै परिवर्तन आएको छैन ।
‘भक्तपुर काण्ड’ लाई एउटा घटनामा मात्र सीमित राख्न मिल्दैन । कालो दिवसले आँसु र वेदनामात्र दिएको छैन । भविष्यको लागि अनुभव प्रदान गरेको छ । भक्तपुर काण्ड सिँगो नेमकिपा र भक्तपुरका जनताको लागि एक खालको अग्नि परीक्षा पनि थियो । यसको वास्तविकताबारे आज नेपालका विभिन्न भाग र सम्पूर्ण कामदार वर्गबीच पु¥याउने काम निरन्तर भइरहेछ ।
राजनीति भनेको निःस्वार्थरूपमा देश र जनताको सेवा गर्नु हो । व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरूको कहिल्यै भलो हुँदैन । असल राजनीतिज्ञले जीवनमा थुप्रै समस्या तथा चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अनेक हण्डरका बीचमा पनि देश र जनताको सेवामा समर्पित हुनुपर्छ । यद्यपि, राजनीति गुलाफको ओछ्यान होइन वा सरल रेखा होइन भनी का. रोहित बरोबर भन्नुहुन्छ । भक्तपुर काण्डको सन्दर्भलाई लिएर उहाँले रचना गर्नुभएको पुस्तक ‘जेलका चिठीहरू’मा उद्धृत एक अंश यहाँ दोहो¥याउनु उपयुक्त देख्छु, “एक राजनीतिक कार्यकर्ता स्वयम् एक जिम्मेवार अगुवा मानिस भएको हुँदा उसको मन पनि दुख्छ, रुन्छ तर शत्रु हाँस्ने हुँदा उसले आँसु बगाउने गर्दैन ।”
‘भक्तपुर काण्ड’मा नेमकिपाका नेता, कार्यकर्तालगायत अन्य सोझा किसानहरू पनि जालमा परेका थिए । राजनीतिले सबैलाई प्रभाव पार्छ । आज पनि ‘राजनीति फोहोर खेल हो, मलाई राजनीति मन पर्दैन’ भनी विचार राख्नेहरूको कमी छैन । हामीलाई थाहा छ, जालझेल र षड्यन्त्रको इतिहास पढ्दा राजनीतिबाट घृणा उत्पन्न हुनु स्वाभाविक हो तर हामीमध्ये कसैले राजनीतिबाट सन्न्यास लिए पनि राजनीतिले समाजबाट सन्न्यास लिनेछैन भन्ने वास्तविकतालाई भाद्र ९ को घटनाले सिकाएको छ ।
त्यतिबेला नेमकिपाका नेता तथा कार्यकर्ताहरूले पार्टीले दिएको निर्देशनअनुसार काम गरे । धेरै पीडा र यातनाका बीचमा पनि इमानदारीपूर्वक आ–आफ्नो ठाउँमा सङ्घर्ष चालु राखे । सिद्धान्तबाट विचलित भएर केही पार्टी कार्यकर्ताहरू विश्वासघाती भएर पनि निस्के । कसैले त पश्चाताप पनि गरे । कोही पार्टीविरोधी भएर निस्के र पार्टीलाई धोखा दिए । त्यसैले का. रोहित भन्नुहुन्छ, “राजनीतिमा देश र जनताको सेवा गर्नु पहाडकै यात्राजस्तै हो । कोही अगाडि, कोही बीच र कोही पछाडि पर्छन् । पछाडि पर्नेहरू यात्रा छोडेर साथीहरूबाट टाढा जान्छन् ।” भक्तपुर काण्डले धोकेबाजहरूसँग सतर्क हुन सिकाएको छ ।
एउटा उखान प्रचलित छ – ‘कि पढेर जानिन्छ, कि परेर ।’ २०४५ सालमा भक्तपुरका महिलाहरूको शैक्षिक अवस्था दयनीय थियो । घरको चुलोचौका र खेतीपातीमा सीमित रहनुपर्ने बाध्यता थियो । राजनीतिक क्षेत्र त झन् परको कुरा । तर, भक्तपुर काण्डले भक्तपुरका महिलाहरूलाई सङ्गठित बनायो । महिलाहरू मसाल जुलुसलगायत पर्चा, पम्पलेट टाँस्ने कार्यजस्ता गतिविधिहरूमा सहभागी भए । राजनीतिबारे धेरै कुरा नबुझे पनि गलत कुराको विरोध गर्नुपर्ने कुराको ज्ञान पाए । भूमिगतरूपमा काम गर्न सिके । भक्तपुर काण्डको परिणामस्वरूप भक्तपुरमा प्रौढ कक्षाहरू सञ्चालनमा तीव्रता आयो । टोल–टोल, वडा–वडामा राजनीतिक कक्षाहरू सञ्चालन भए । देश विदेशका घटनाक्रमहरूबारे बुझ्न थाले, जसले गर्दा भक्तपुरका महिलाहरूमा राजनीतिक चेतनाको बीजारोपण भयो । प्रौढ कक्षाको परिणामस्वरूप नै आज भक्तपुरका प्रत्येक घरमा स्नातकोत्तर अध्ययन गरेका छोराछोरीहरू छन् । अझ अहिले त अगाडिको पङ्क्तिमा आएका विद्यार्थीहरूमा छात्राहरू नै बढी छन् ।
अतः वर्ग शत्रुलाई चिन्न जरुरी छ । आज पनि नेमकिपाका कार्यकर्ता र समर्थकहरूलाई लोभलालच देखाएर प्रतिक्रियावादी तथा पुँजीवादीहरूले भड्काउने प्रयास गर्दै छन् । छोटोमा शत्रुहरूले तर्साएर, दमन गरेर, लोभ देखाएर, कुटाइपिटाइ, जेलको यातना र सजाय गरेर वा साथीहरूको बीचमा झगडा लगाएर जनतालाई हराउन खोज्ने छन् । साम, दाम, दण्ड र भेदको नीतिको उपयोग गर्दै उनीहरू नेमकिपाको सङ्गठन भाँड्दै छन् । हाम्रा असल मित्र कामदार वर्ग हुन् र हाम्रा मुख्य शत्रु प्रतिक्रियावादी र पुँजीवादी हुन् ।
भक्तपुर काण्डबाट सिक्नुपर्ने पाठहरू धेरै छन् । यससँग सम्बन्धित पुस्तकहरू थुप्रै प्रकाशित भइसकेको छ । प्रकाशित पुस्तकको अध्ययनबाट भक्तपुर काण्डको बारेमा अझ स्पष्ट बुझ्न सजिलो हुनेछ ।
(बाल–विकास माध्यमिक विद्यालयमा मनाइएको ९ भाद्रको कालो दिवसको कार्यक्रममा शिक्षिका सुलोचना छ्वाजूले व्यक्त गर्नुभएको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *