ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
राणाकालीन समयमै निरङ्कुश राणा शासनको विरोधमा सर्वसाधारण जनतालाई सचेत गराउने उद्देश्यले प्रकाशन थालिएको ‘शारदा’ पत्रिका २०७१ सालदेखि मासिकको रूपमा प्रकाशित हुँदै आएको छ । विसं २०७३ कार्तिकमा प्रकाशित शारदा मासिकको वर्ष – ३, अङ्क – ७, पूर्णाङ्क – ३१ पढ्ने अवसर मिल्यो ।
६० पृष्ठमा विस्तारित नेपालभाषाका अनुवाद कविताको सँगालो यस पूर्णाङ्कमा ६ जना महिला साहित्यकारको समेत गरी ३९ जना साहित्यकारका कविता समेटिएका छन् । साहित्यकार चित्तधर ‘हृदय’ को सुरुआती कविता ‘श्रद्धाञ्जली’ भने नेपालभाषामै रचिएको हस्तलिखित साहित्य हो । नेपाल संवत् १०९८ को शहीद दिवसको दिन रचना गरिएको यस कवितामार्फत आफ्नो भाषालाई माया गर्ने, देशलाई माया गर्ने र देशकै निम्ति शहीद हुनेहरूलाई सम्मान गरिएको छ भने बाँकी सम्पूर्ण कविता नेपालभाषाबाट नेपालीमा अनुवाद गरिएका छन् ।
घाम, प्रचण्ड गर्मी, धुलो, हावाबाट मुक्त गराउन वर्षाको आवश्यकता भएझैँ अन्यायपूर्ण समाज र त्यसका दुष्प्रभावबाट समाजलाई बचाउन विद्रोह र क्रान्ति वा आमूल परिवर्तनको आवश्यकता बोध गराउँछ कवि सिद्धिचरणका ‘वर्षा’ शीर्षक कविताले । साहित्यमार्फत क्रान्तिचेत भर्न सफल कवि सिद्धिचरण श्रेष्ठलाई ‘युगकवि’ को सम्मान न्यायोचित नै लाग्छ ।
कवि केदारमान व्यथितले ‘समानता’ कवितामा एक कविको जीवनमार्फत समाजको वर्गीय असमानतालाई उजागर गरेका छन् । जसरी एक सिकर्मीले रन्डा (काठको सतह मिलाउन र मसिन्याउन प्रयोग गरिने औजार) को प्रयोग गरी सुन्दर संरचनाको निर्माण गर्छ, त्यसरी नै साहित्यकारले पनि समाजको वर्गीय खाडल सम्याउन आफ्नो कलम प्रयोग गर्न सक्छन् भन्ने सन्देश कवि व्यथितले आफ्नो साहित्यमार्फत दिएका छन् ।
‘बत्ती बलिरहेकै छ’ शीर्षक कवितामा वरिष्ठ साहित्यकार चितरञ्जन ‘नेपाली’ ले आफ्नै स्वार्थमा चलिरहने शासन सत्ता र त्यस सत्ताको विरुद्ध वा त्यसको रक्षामा आफूलाई बलिदान गरिरहने जनताको वास्तविकता उजागर गर्न खोजेको अनुभूति हुन्छ । बत्तीलाई शासन सत्ता र त्यसमा परेर जल्ने पुतलीलाई जनताको संज्ञा दिँदै कवि ‘नेपाली’ कैयौँ जनताको बलिदान, सङ्घर्ष वा समर्पणले पनि देश बलियो हुन नसकेको तर त्यसले जनताको बलिदान पनि लिन नछोडेको भाव व्यक्त गर्छन् –
सयौँ वर्षदेखि
बत्ती बलिरहेको छ,
लाखौँ–लाख पुतली जलिरहेछन्
तर, लाखौँ–लाख पुतलीको बलिदानले पनि
बत्तीको उज्यालो तेजिलो भएन,
न त किञ्चित धारिलो भएर गएको छ ।
तर, एकदिन त्यस्तो अर्थहीन शासन व्यवस्था आफै ढल्ने वा त्यसको निमित्त बलिदान हुनेहरू अमर हुने र तिनले सङ्घर्षको भावना जगाइरहने विश्वास गर्छन् कवि चितरञ्जन । यद्यपि, जनताको बलिदानीमै रमाइरहने शासक र व्यवस्थालाई फाल्ने विकल्प भनेकै सङ्घर्ष हो । त्यस सङ्घर्षलाई बल प्रदान गर्ने महान् दायित्व कवि–कलाकारको पनि हो भन्नेमा दुईमत नहोला ¤
प्रजातन्त्र र परिवर्तनको निम्ति लडेकाहरूले नाममात्रको प्रजातन्त्र र परिवर्तन आउँदा पनि केही गर्न नसकेको वा आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न नसकेको अनि बलिदान दिनेहरूको बलिदान पनि खेर गइरहेको व्यङ्ग्य कवि धुस्वा सायमी आफ्नो कविता ‘मानिसको टाउको’ मार्फत प्रस्तुत गर्छन् ।
प्रगतिशील साहित्यकार पूर्ण वैद्यको ‘हिउँदको दिन ः समय र बदाम’ शीर्षक कवितामा समय र बदामलाई देशको व्यवस्था र समाजको प्रतीकको रूपमा प्रयोग गरिएको अनुभूत हुन्छ । एउटै देश, एउटै समाज, एउटै जाति, भाषा वा समुदायमा बस्ने सबैको जीवन वा भोगाइ किन एउटै हुन्न ? भनी सोच्न र विचारविमर्श गर्न बाध्य पार्छन् कवि वैद्य । उनी लेख्छन्–
तर, एउटै थलोका मानिसहरूको भागमा पनि
एकै समय यसरी काँचो–पाको,
मीठो वा नमीठो हुन्छ कसरी ?
कसरी, कुन संस्कारमा
भुटेर ल्याइएको यो समय, बदामजस्तो ?
यस कवितामार्फत कवि समाजको वर्गीय असमानताको चित्रण गर्छन् । परिवर्तनको उद्देश्य अनि परिवर्तन गर्छु भन्नेहरूको नियत नै बुझ्नुपर्ने वा सोच्नुपर्नेतर्फ औँल्याउँछन् । प्रत्येक, बस्ती र समयमा परिवर्तनका आशातीत जीवन तयार हुँदै गइरहेको भाव पनि कवि वैद्यको यस कवितामा भेट्न सकिन्छ ।
डा. आनन्द जोशी परिवर्तनको नाममा स्थापित अहिलेसम्मको राज्य व्यवस्थालाई तीखो प्रहार गर्छन् ‘आनन्द जोशीको स्वतन्त्रता’ मार्फत । स्वतन्त्रता नाममात्रको भएको जिकिर गर्छन् कवि । स्वतन्त्रमा न ‘स्व’ न ‘तन्त्र’ भएको दाबी गर्दै अनेक ‘वाद’ को नाममा व्यवस्था चलाउनेहरूप्रति रोष प्रकट गर्छन् । त्यसो त सामूहिक स्वार्थ र स्वतन्त्रताको लागि लडिएमात्र व्यवस्था पनि सही आउने यथार्थ बिर्सनुहुन्न । स्वतन्त्रताको परिभाषामा कवि नदी स्वतन्त्र भएकैले नदीलाई छेके पनि उसले कुनै क्षति नगर्ने तर मानिसको चेतनाले आफूलाई बन्धनमा राख्ने अनेक छेकबारहरू भत्काउँदै अघि बढ्ने भाव व्यक्त गर्छन् –
नदी पनि स्वतन्त्र छ
तर, कहाँ त्यसले किनारहरू भत्काएर हिँडेको छ
आफूलाई छेके पनि ।
यद्यपि, यो वर्षाको समयमा स्वतन्त्र बग्ने नदीलाई हस्तक्षेप गर्दा वा त्यसलाई स्वतन्त्ररूपमा बग्न नदिँदा त्यसले किनारहरूमात्र नभत्काई कति जनधनको क्षति ग¥यो भन्नेमा भुक्तभोगी नेपाली नै छन् । तथापि, वास्तविक स्वतन्त्रताको लागि एउटा अलग्ग युद्ध लड्नुपर्ने कविको आह्वान यस कवितामा पाइन्छ ।
कवि श्यामसुन्दर सँय्जुको ‘चस्काहरू घाउका’ लघु कविताहरूको सङ्गालो हो । मुक्तक वा हाइकू शैलीमा लेखिएको तीन पाउको संरचना रहेका आठ कवितामा कविले फरक–फरक सन्दर्भ उल्लेख गरेका छन् । कवितामा कवि कहीँ आफ्नो गाउँठाउँको सम्झना र मायाले विक्षिप्त देखिन्छन् भने कहीँ आफ्नो मनको कोमलतालाई काँचसँग तुलना गर्दै मनको दुःख आफूलाई बुझ्नेहरूले सजिलै बुझ्न सक्ने भाव व्यक्त गर्छन् ।
कवि सँय्जु एउटा कवितामार्फत क्रान्ति वा परिवर्तनको निम्ति कथित युद्ध लड्नेहरूलाई तीखो प्रहार पनि गर्छन् –
युद्ध त भयो
तर, शत्रु को हुन्
थाहा भएन ।
हिजो सामन्ती र पुँजीवादी व्यवस्था वा वर्ग शत्रुविरुद्ध बन्दुक उठाई लडेको भन्नेहरू आज तिनै शत्रुसँग कुम जोडेर सत्ताको ¥याल चुहाउँदै सरकारमा जाँदा आखिर तिनीहरूको शत्रु चैँ को हुन् भनी चोटिलो व्यङ्ग्य प्रहार गरेको महसुस पाठकलाई हुन्छ । हिजो आफ्नै टाउकाको मूल्य तोक्ने नेपाली काङ्ग्रेससँगै आज सरकारमा गएको माओवादी र उसले लडेको युद्धको वास्तविकता पनि उजागर हुँदै गइरहेको पाठक महसुस गर्नेछन् । तर, समय सँगसँगै यस्ता विषयको निक्र्योलमा भने पुग्न नसकेको भाव कवि सँय्जुको कवितामा भेट्न सकिन्छ । यद्यपि, पानीलाई जति रोक्न वा त्यसको प्रवाह छेक्न पोखरीमा जम्मा गरी राखे पनि आफ्नो गन्तव्य वा नदीमा पुग्न त्यो बाधा छिचोल्दै पानी पुनः बग्ने भाव कवितामा व्यक्त गर्छन् कवि वैद्य । सोझा–सिधा जनताको परिवर्तनप्रतिको चाह एक दिन अवश्य लक्ष्यमा पुग्ने सन्देश भेट्न सकिन्छ ‘चस्काहरू घाउका’ मा ।
सुन्दर मधिकर्मीको ‘हावा जब बोल्छ’ कवितामा हावालाई जनताको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ । जनता पनि सहने हदसम्म सहन्छन् जब अत्याचारले सीमा नाघ्छ अनि आँधीबेहरीझैँ पुराना संरचना, मूल्य–मान्यता, शोषण–अत्याचारी भोगाइ सबै तहसनहस पार्ने गरी उठ्छन् भन्ने भाव कवि मधिकर्मी व्यक्त गर्छन् । जनतालाई सर्कसको जोकर नठान्न शासक र शोषकहरूलाई चेतावनी पनि दिन्छन् उनी ‘जब हावा बोल्छ’ मा ।
कवयित्री प्रतिसरा साय्मीको ‘भिजेका आँखाको आगो म’ शीर्षकमा सामन्ती÷पुँजीवादी समाजको पितृसत्तात्मक बन्दोबस्तको मारमा रहेका महिलालाई प्रतिबिम्बित गरेको महसुस हुन्छ । समाजमा महिलाहरूको विद्रोह र भावनालाई दबाउन खोज्दा पनि आफ्नो स्वाभिमान आत्मसम्मानलाई कमजोर हुन नदिई परिवर्तनको चाह राखेर अगाडि बढ्न खोज्नेहरूको भाव व्यक्त गरेझैँ आभास हुन्छ ।
‘हाट–बजार’ शीर्षकमा कवि डा. केशवमान शाक्य सूर्यलाई एक काम गरी खाने महिलाको प्रतीकको रूपमा उभ्याउँदै जीवन जीउनको निम्ति सूर्योदयदेखि सूर्यास्तसम्म दुःख गर्दा समेत एक अंश पनि सुख हात नलाग्ने समाजको तल्लो तहका मानिसको दिनचर्या र यथार्थ प्रस्तुत गर्छन् ।
डा. पुष्पराज राजकर्णिकार ‘सपना भत्किँदैन’ मा जे जस्तोसुकै अवस्था–परिवेशमा पनि आफ्नो सपनाको अन्त्य नहुने बयान गर्छन् । तर, कहिल्यै नहराउने, नभत्किने, नउड्ने सपना चैँ के थियो भन्ने पनि स्पष्ट भइदिएको भए पाठकले पनि ‘डाक्टर साब’ को सपना हराउन, भत्किन वा उड्न दिँदैनथे कि ¤ समाज परिवर्तनको सपना हो भने त त्यसलाई भत्किन दिनुहुँदैन पनि ।
‘रेमिटेन्सको अन्तिम किस्ता’ शीर्षकको सुरेश किरणको मार्मिक कविता सबै पाठकले सहजै बुझ्न सक्ने सरल भाषा र भावमा लेखिएको छ । परिवारको भोको पेट र रित्तो चुलोको जोहो गर्न बाध्य भई विदेशिने नेपाली युवाको कष्ट र पीडादायी जीवन चित्रण गर्छन् कवि किरण ।
त्यसरी विदेशिने युवाले आफ्नो घर चलाउनमात्र नभई देशै चलाउन रेमिटेन्स पठाएको वास्तविकता कवितामा व्यक्त छ । आफ्नो जीवन दाउमा लगाई विदेशमा जाने युवाले पठाएको रेमिटेन्स स्वदेश (सरकार) लाई र श्रम विदेशलाई भएको यथार्थसँगै त्यस्ता युवाले परिवार र आफ्ना जहानका लागि बचाउन सकेको भनेकै उसको आफ्नो ज्यानमात्रै हो, जो बन्द खाममा होइन, कफिनमा आउँछ भन्ने सत्यतथ्यलाई उजागर गरेका छन् –
मैले पठाउन सकिने
मेरो रेमिटेन्सको अन्तिम किस्ता
मेरो जीवनको अन्तिम कमाइ
आज खाममा होइन
कफिनमा बन्द गरी पठाएको छु ।
नेपाली जनतालाई राम्रै जानकारी छ, बहुदल पुनःस्थापनापछि नेपाली काङ्ग्रेसको सरकारले सरकारको नीति तथा कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट २–२ सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने योजना ल्यायो, पठायो । त्यसपछिका एमाले, माओवादीका सरकारहरूले यसलाई अझ बढ्ता प्राथमिकता दिए । आज देशको ऊर्जाशील झन्डै ७० लाख युवा वैदेशिक रोजगारीको नाममा सस्तो ज्यामीको रूपमा काम गर्दै छन्, त्यसमध्ये कैयौँ दासझैँ जीवन व्यतीत गर्दै छन् भने कैयौँको ‘सपना’ र शरीर कफिनमा बन्द भएर देश भित्रिरहेको छ । यता विदेश जान लिएको ऋण तिर्न नसकेपछि जमिनदारले घरखेत कब्जा गरिरहेका छन् भने परिवारको बिचल्ली भइरहेको छ ।
आफ्नो विरोधमा मोर्चा कस्ने युवा जमातलाई देशको सीमाभित्र नराख्ने सरकार र शासक दलहरूको योजना एक षड्यन्त्रसिवाय केही रहेनछ भनेर आज सचेत नेपालीले बुझ्दै छन् । युवा विदेशमा पठाएर देशले समृद्धि हासिल गर्दैन भन्ने तथ्य पनि प्रमाणित भइसकेको छ । यस्ता विषयमा पनि साहित्यकारहरूले कलम चलाउन आवश्यक छ ।
नारद बज्राचार्यको ‘जनता’ कविता पनि सन्देशमूलक नै लाग्यो । जनता र जनभावनालाई तुच्छ ठान्ने शासक दलका नेताहरूको मनपरीतन्त्र तबसम्म रहन्छ जबसम्म जनताले ती नेतालाई ‘भगवान्’ को रूपमा मानिरहन्छन् । तर, जब नेताले आफूलाई साँच्चिकै ‘भगवान्’ ठान्न थाल्छन् तब जनताले तिनलाई छाड्ने छैनन् भन्ने भाव यस कवितामा पाइन्छ ।
‘मृत्यु–मगन्ते’ कवितामा श्रीराम श्रेष्ठ युद्धलाई ‘वेश्या’ अझ एड्सबाट ग्रसित ‘वेश्या’ सँग तुलना गर्छन् जुन शब्द नै पनि जोकसैका लागि पाच्य हुनसक्दैन । युद्धलाई आपत्तिजनक शब्दको पर्याय बताउँदै जुनसुकै युद्ध पनि औचित्यहीन बताउन खोजेका छन् कविले । तर, ‘वेश्या’ रहित समाजको लागि पनि युद्ध नलडिहुन्न भन्ने यथार्थबाट कवि–साहित्यकारहरू अवगत नहोलान् भन्न सकिन्न । कवि–साहित्यकारले लेख्नको लागि मात्र लेख्ने भन्दा पनि त्यसले पाठक र अझ समाजमै के शिक्षा र सन्देश दिन्छ भन्नेमा पनि घोत्लिन आवश्यक छ कि ¤ हो, सबै युद्ध समाजमा न्याय स्थापित गर्नको लागि लडिन्न तर कामदार वर्गको न्यायोचित युद्धलाई विरोध गर्नुहुन्न ।
सुधीर ख्वबिको ‘शुभकामना’ मा मेलमिलापमै रहेका सबै धर्मका मानिसबीच वैमनश्यता र साम्प्रदायिकताको बिउ रोप्ने प्रपञ्चमा केही तत्वहरू सक्रिय भएको भाव व्यक्त छ । समाजमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने त्यस्ता षड्यन्त्रको पछि नलागी एक–आपसमा सद्भाव कायम गर्नुपर्ने सन्देश कवि ख्वबि यस कवितामार्फत दिन्छन् ।
‘परिवर्तन’ शीर्षकमा कवि भगतदास श्रेष्ठ देशमा राजनीतिक व्यवस्था फेरिए पनि आमूल परिवर्तन हुननसकेको यथार्थ चित्रण गर्दै परिवर्तन ल्याउन नसकिएको मात्र होइन ल्याउनै नदिएको भनी सायद वैदेशिक (भारतीय) हस्तक्षेप र षड्यन्त्रप्रति पनि सचेत र सतर्क गराउँछन् । यद्यपि, निरन्तरको प्रयासले परिवर्तन सम्भव भएको भाव पनि व्यक्त गर्छन् कवि श्रेष्ठ ।
कवयित्री ईश्वरीमैयाँ श्रेष्ठ, रजनी मिला र रश्मि श्रेष्ठका कवितामा आफ्ना भोगाइ, परिधि, व्यक्तिगत र सामाजिक सम्बन्ध तथा समस्याका घेराहरूबाट उम्कने चाह अनि नसकेपछि त्यसैमा समर्पित जीवनका परिदृष्यहरू व्यक्त छन् ।
कवि दामोदर सुवाल ‘गिद्धाह्वान’ कवितामार्फत विभिन्न राजनैतिक व्यवस्थाको नाममा सरकार र शासक दलहरूले पालैपालो जनतालाई शोषण गरिरहेको तर्क प्रस्तुत गर्दै देशको सिमाना, भूगोल, नदीनाला, प्राकृतिक स्रोत एक–एक गरेर लुट्नेहरूलाई गिद्धको संज्ञा दिन्छन् ।
‘समय देखाउन नसक्ने घण्टाघर मेरो’ कवितामा कवि पुष्प मुनकर्मी देशमा समस्याको समाधान गर्न नसक्ने वा निकास दिन नसक्ने राजतन्त्रलाई अन्त्य गर्नेहरू आज पुनः त्यही प्रवृत्ति र समस्यामै रुमल्लिरहेको भावका साथै देशको यस्तो अवस्थाबाट फाइदा उठाउनेहरू रमाइरहेको आशय व्यक्त गर्छन् । यथार्थ के हो भने, देशमा राजतन्त्रको ठाउँमा आएको गणतन्त्र पुँजीवादी गणतन्त्र हो । यो बन्दोबस्त चलाउनेहरूले पनि ‘समय देखाउन नसक्ने घण्टाघर’ नै मन पराउनु स्वाभाविक हो ।
‘हस्ताक्षर’ बाट सुरु कविताको सिलसिला अन्तिम पृष्ठमा यस मासिकका सम्पादक विमल भौकाजीको ‘कैफियत’ सँगै टुङ्गिन्छ । ‘पराधीन’ शीर्षकमा कवि भौकाजी आकाशमा उड्ने चङ्गालाई सायद देशका सरकार र शासक दलहरूको संज्ञा दिन्छन् । हेर्दाखेरि चराजस्तै आकाशमा स्वतन्त्ररूपमा उडेको देखिने चङ्गा वास्तवमा धरती वा मान्छेबाटै सञ्चालित वा नियन्त्रित भइरहेको भन्दै देश चलाउनेहरूले आफूलाई स्वचालित ठाने पनि अरू कसैबाट वा कतैबाट परिचालित नै रहेको तथ्य प्रस्तुत गर्छन् । सरकार र शासक दलहरूले यो यथार्थलाई बिर्से पनि वा लुकाउन खोजे पनि त्यो यथार्थ उजागर हुने र भइरहेको भाव व्यक्त गर्दै कवि भौकाजी चङ्गाको जस्तो जीवनलाई धिक्कार्छन् –
यस्तो पनि जीवन
चङ्गाको जीवन …. उफ्, के जीवन ???
नेपाली भाषामा अनुवाद भए पनि केही कविताहरूको भाव र मिठासमा कमी हुन नदिन ‘लँपख्या’, ‘झ्यालिन्चा’, ‘तानांकिसि’, ‘सलिंचा’ जस्ता नेपालभाषाकै शब्दहरू प्रयोग गरिएका छन् । नेपाली भाषामा जति मेहनत गरे पनि मुद्राराक्षसले दुःख चैँ दिइहाल्ने रहेछ ¤ तथापि, त्यसलाई कम भने गर्न सकिन्छ । ‘नउडाए’, ‘रण्डा’, ‘तरा’, ‘तापे’ ‘साघुँरा’, ‘कलेँटी’, ‘लाश’, ‘रुप’, ‘गरुँ’, ‘हूल’, ‘मुकुण्डो’, ‘एउट’, ‘सङ्ल्प’ लगायत शब्दको वर्णविन्यास मिलाउन सकिन्थ्यो ¤ ‘शून सेपहरू, ‘छ्यालबिछ्याल’ जस्ता शब्दहरूमा पाठकहरू अलमलिन सक्छन् ।
कतिपय कविता छायावादी शैलीमा रचिएका छन् । हिजो प्रतिकूल राजनीतिक बन्दोबस्त हुँदा साहित्यकारहरूले छायावादी शैलीमा साहित्य रचना गर्थे तर जनतालाई सरल भाषामा बुझाउन सकिने अहिलेको अनुकूल समयमा पनि त्यही शैली अपनाइरहनु सान्दर्भिक नहोला भन्ने लाग्छ । कविता अनुवाद गर्नेहरूको नाम भएजस्तै कविता लेखन मिति पनि उल्लेख भएको भए पाठकले कुन कालखण्डको रचना भनी सहजै बुझ्न सक्ने थिए ।
‘शारदा’ मासिकको यो अङ्क पठनीय लाग्यो । पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्छु !
Leave a Reply