भर्खरै :

गृहमन्त्रीको हेलिकप्टर अनुगमन

गृहमन्त्रीले शनिबार बाढी पहिरोबाट पीडित सिन्धुपाल्चोक जिल्लाको हवाई अनुगमन गरे । तर, बाढी पहिरोको कारण महिनौंदेखि पिरोलिएका हेलम्बु, मेलम्चीलगायत सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका सर्वसाधारणको दैनिक जीवन भने अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । अझै पनि बाढी पहिरोको त्रास बोकेर नै रात काटिरहेका छन् । बाढीले बाटो र पुल बगाउँदा कतिपय सर्वसाधारण भने अझै अन्य गाउँ र बजारबाट अलग छन् । मेस चलाएर महिनौँदेखि उनीहरू प्राकृतिक विपद्ले निम्त्याएको कहर मिलेर झेलिरहेका छन् । सरकारको प्रतिनिधि निकै ढिलोमात्र ती क्षेत्रको अनुगमनमा पुगे । जबकि यतिञ्जेल बाढी पहिरो पीडित जनताको निम्ति न्यूनतम पूर्वाधार र जीविकोपार्जनको निम्ति आवश्यक सामग्री पु¥याइसक्नुपथ्र्यो ।
विज्ञहरूले अझै पनि सो क्षेत्रमा प्राकृृतिक विपद् आउन सक्ने बोलिरहेका छन् । अर्थात्, अझै पनि सो क्षेत्रका जनता पूर्णतः जोखिमबाट मुक्त छैनन् । यस्तो परिस्थितिमा प्रथमतः सरकारले जोखिममा रहेका जनताको सुरक्षित व्यवस्थापन गर्नुपर्छ । बाढीले घर बगाइसकेपछि वा डुबाइसकेपछि मात्र हेलिकप्टर उडाएर सर्वसाधारणको उद्धार गर्नु बुद्धिमानी होइन । अहिले नै जोखिमको खतरालाई ध्यानमा राखी उच्च जोखिमका क्षेत्रलाई उचित व्यवस्थापन गर्नुपर्छ ।
दोस्रो, तत्काल अन्यत्र सारिहाल्नुपर्ने अवस्था नभएका सर्वसाधारणलाई उनीहरू बसेको क्षेत्रमा आधारभूत आवश्यकताको आपूर्ति र तत्काल न्यूनतम पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्छ । सडक, पुल, विद्युत् आपूर्ति नहुँदा उनीहरूको जीवन थप कष्टकर बनेको छ । यस्तो अवस्थाको निराकरणको निम्ति सरकारले आफ्नो संयन्त्रको परिचालन गर्न विलम्ब गर्नुहुन्न ।
तेस्रो, सरकारले सिन्धुपाल्चोक जिल्लाको गहन भूगर्भिक अध्ययन गर्नुपर्छ । २०७२ सालको भूकम्पबाट पनि सबभन्दा बढी प्रभावित बनेको जिल्ला सिन्धुपाल्चोक थियो । अहिले बाढी पहिरोको कहरमा पनि सिन्धुपाल्चोक अग्रस्थानमा छ । कतिपय विज्ञहरूले २०७२ सालको भूकम्पले नै अहिले सिन्धुपाल्चोकलाई अहिलेको विपत्तिमा पु¥याएको बताएका छन् । त्यसको अर्थ सिन्धुपाल्चोकमा आगामी दिनमा यस्ता विपद् आउने सम्भावना प्रबल छ । त्यसको रोकथामको निम्ति सरकारले त्यहाँको वैज्ञानिक अध्ययन गरी सम्भावित जोखिमको लेखाजोखा गर्न जरूरी छ ।
यसभन्दा फरक यो वर्ष हिमाली जिल्ला मनाङ पनि बाढी पहिरोबाट बढी प्रभावित बन्यो । मनाङमा पनि बाढी पहिरोको कारण धेरै धनसम्पत्तिको क्षति भएको छ । हिजो र आजका प्राकृतिक विपद्को स्वभावमा आएको यो परिवर्तनको मूल कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको कारण संसारभर नै अनपेक्षित र यसभन्दा फरक खालका विपत्ति सामना गर्नुपरिरहेको छ । त्यसकारण, सरकारले नेपालको सन्दर्भमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको सामना गर्न वैज्ञानिक अध्ययन थालनी गर्नुपर्छ ।
हेलिकप्टरबाट जनताको आँखामा बिझेको कुरा देखिंँदैन । हेलिकप्टरमा सरर फन्को लगाउँदैमा सरकारको दायित्व पूरा हुँदैन । सरकारले तत्कालै बाढी पीडित जनताको आँखामा बिझेको समस्या बुझोस् । अनि, दिगो समाधानको खोजीमा लागोस् । प्राकृतिक विपत्तिलाई नियमित परिघटनाको रूपमा लिएर बेवास्ता गर्ने गल्ती सरकारले नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *