ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
दोस्रो विश्वयुद्ध अन्त्य भएको ६० औँ वर्षको अवसरमा नाजीविरूद्ध लडेका केही सोभियत वीरहरूका बारेमा North Star Compass मा प्रकाशित भयो । प्रस्तुत लेख फासीवादी आक्रमणलाई हराउन लडेकी एक निडर केटीको सङ्क्षिप्त परिचय हो–सं.)
सन् १९४१ अर्थात् दोस्रो विश्वयुद्ध चर्किरहेको समय थियो । डिसेम्बरको प्रारम्भमा रूसको मस्को प्रान्तअन्तर्गत पेट्रोस्चेभो (Petrishchevo) गाउँमा जर्मनी नाजी सेनाले मस्कोकी १८ वर्षीया केटीलाई झुन्ड्याएर हत्या गरे । नाजी सेनालाई उनले आफ्नो नाम तान्या (Tanya) बताइन् । उनको साँचो नाम थियो – जोया कस्मोदिम्यान्स्काया (Zoya Kosmodemyanskaya) ।
युद्धका ती दिनहरू वास्तवमै कठिन थिए । पाइला पाइलामा मृत्युको डर अत्यन्त चर्को थियो । युद्धको गञ्जागोलमा प्रत्येक निर्णय धैर्यतापूर्वक तथा साहसका साथ लिनुपथ्र्यो ।
मस्कोवासीहरू ग्रामीण क्षेत्रमा रहेका आफ्ना गर्मी याममा बस्ने घरहरू (Summer cottages) मा बसेर नाजीहरूविरूद्ध लडिरहेका थिए । जर्मनले कब्जा जमाइसकेका सोभियत भू–भागहरूमा पनि बहादुर स्वयम्सेवी सोभियत जनता नाजीहरूविरूद्ध सङ्घर्षरत थिए । सोभियत गुरिल्लाहरूलाई सहयोग गर्न मस्कोका साहसिला योद्धाहरू छानी छानी शत्रु नियन्त्रित क्षेत्रमा पसेका थिए ।
एक बिहान जर्मन सिपाहीहरूले आफ्नो क्षेत्रभित्र एक गुरिल्ला वा एकाइका एक सदस्यलाई पक्रे । ती सदस्यले पेट्रिस्चेभो (Petrishchevo) मा जर्मनहरूका सबै टेलिफोन संयन्त्र धुजा धुजा पारिसकेका थिए । तिनले जर्मन सेनाको तबेलामा पनि झन्डै आगो लगाइदिएका थिए ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय गाउँलेहरूका अनुसार – भुवादार टोपी, भुवादार ज्याकेट, भुवादार सुरूवाल र उनी जुत्ता लगाई काँधमा एक झोला बोकी एकजना अपरिचित संवेदनशील सैनिक इलाकाभित्र पस्यो । आफूले बोकेको झोलाबाट बेन्जेनी (प्लाष्टिक बनाउन प्रयोग गरिने कोइला खानीबाट निकालिने बल्ने रङ्गविहीन पदार्थ) भरिएको सिसी निकाल्यो । पर्खालमाथि छक्र्यो र आगो लगाउन निहुरेकोमात्र के थियो पछाडिबाट पहरा बसेका एक जर्मन सिपाहीबाट ऊ समातियो ।
त्यो मानिसले जर्मन सैनिकलाई घचेटेर हतार–हतार पिस्तोल निकाल्यो । उनले गर्न सक्ने त्यतिमात्र थियो । जर्मन सेनाले उनको हातबाट पिस्तोल फालिदियो र खतराको घन्टी बजाइहाल्यो ।
तीनलाई सैनिक अधिकारीहरू अस्थाई बास बसिरहेको घरभित्र लगियो । जर्मन सैनिकहरू आफूले नियन्त्रणमा लिएको त्यो मान्छे एउटी केटी पाउँदा तीनछक्क परे । अग्ली, दुब्ली, कालो आँखा र कालो वर्णकी छोटो कपाल भएकी भर्खरकी केटी थिइन् तिनी । सोधपुछ गर्न घर मालिकका सबै मान्छेहरूलाई अर्को कोठामा पठाइयो । सबै भान्छा कोठातिर लागे । सैनिक अधिकारीहरूले केटीलाई थुप्रै प्रश्नहरू सोधे । तर, प्रश्न भुइँमा खस्न नपाउँदै केटीले निडर भएर जवाफ फर्काउँथिन्, “अहँ । मलाई केही पनि थाहा छैन । म केही पनि भन्दिनँ ।” घरमा मानिसहरूले यस्तै निडर उत्तर नसुनून् भनेर नै उनीहरूलाई अर्को कोठामा पठाइएको थियो ।
अधिकारीले केटीको जीउमा छालाको कोर्दा वर्षाएको डरलाग्दो आवाज भान्छा कोठासम्म सुनिन्थ्यो । केही क्षणपछि एक जवान जर्मन सैनिक अधिकारी फुङ्ग उडेको अनुहार लिएर हत्त न पत्त सोधपुछ कक्षबाट भान्छा कोठातिर पस्यो । बेस्सरी आँखा चिम्म गरी कान पनि थुनेर ऊ चुपचाप सोधपुछ नसकिउञ्जेल बसिरह्यो । मानौँ ऊ केही सुन्न र हेर्न चाहँदैन ।

सोधपुछको क्रम चलिरह्यो । जस्तै यातना दिँदा पनि केटीको एउटै जवाफ रहन्थ्यो – “अहँ ¤ म केही पनि भन्दिनँ ।” उही निडरताका साथ पछिल्लोपटक उनको स्वर थकित सुनिन्थ्यो ।
त्यसपछि केटीलाई कुलिक परिवारमा लगियो । उनीसँग मात्र केटीहरूले लगाउने एउटा पातलो लुगा बाँकी थियो । हिउँमा उनलाई नाङ्गो खुट्टा हिँड्न लगाइयो । उनको पिठ्यूँ, खुट्टा, हात र जिउभरि कोर्दाका निलडामै निलडाम थिए । अधिकारीहरूको पिटाइले आफ्नो मुखबाट याचनाको कुनै चिच्याहट ननिस्कोस् भनी बेस्सरी ओठ टोकेकाले उनको ओठ सुन्निएको थियो । कुलिक परिवारलाई पानीको एक थोपा पनि नदिन धम्क्याइएको थियो । उनीहरूलाई समेत पिटेर तर्साइएको थियो । जर्मन सैनिकहरू उनको वरपर बसेर उनको खिल्ली उडाउँथे । कोही उनलाई मुड्की हान्थे, कसैले उनको चिउँडोमुनि सलाई कोरी राखिदिन्थे त कोही भने उनको पिठेयूँमा कराँैतीले रेट्थे ।
यातना दिन मन भरिएपछि अरू सैनिकहरू सुत्न गए । पहरा बसेको सैनिकले उनलाई सङ्गीन तेर्साएर बाहिर हिँड्न भन्यो । बाहिर कठ्याङिग्रदो जाडो थियो । त्यो सैनिकले बाक्लो न्यानो लुगा लगाएको थियो । उसको सङ्गीनको टुप्पाले केटीको पिठ्यूँमा बरोबर घोचिरहन्थ्यो । पातलो लुगाबाहेक केही कपडा नलगाइएको उनलाई हिउँमा खाली खुट्टा त्यसै यता र उता हिँड्न लगाइरह्यो । अन्ततः सैनिक आफैले जाडो थाम्न नसकेपछि उनलाई भित्र लग्यो । अदम्य साहसका धनी तिनै केटीको नाम हो – जोया, जोया कस्मोदिम्यान्स्काया ।
रातको प्रत्येक घण्टाको १५–२० मिनेट जोयालाई बाहिर खाली खुट्टा हिँडाइरहे । कठ्याङ्ग्रिदो चिसोमा रातभर यो क्रम चलिरह्यो । कुलिक परिवारलाई घरबाहिर पठाई बिहान पनि सोधपुछ गरियो ।
नाजी सैनिकहरूले गाउँको माझमा फासी दिने खम्बाहरू गाडे । कलिकले जोयालाई ज्याकेट र सुरूवाल लगाइदिए । जर्मन सेनाहरूले उनको झोलामा बेन्जेनको सिसी उनको घाँटीमा झुन्ड्याइदिए । सँगै ‘भूमिगत दलको सदस्य’ लेखिएको सङ्केत पनि झुन्ड्याइदिए । अनि, उनलाई फाँसी दिने ठाउँतिर लगियो ।
झुन्ड्याउन तयार पारिएको डोरीमुनि दुई ठूलठूला बाकसहरू एक–अर्कासँगै खप्ट्याइएका थिए । जोयालाई माथि चढ्न लगाइयो र पासो उनको घाँटीमा राखियो । एक जना जर्मन सैनिक हतार हतार क्यामरा निकालेर उक्त दृश्यको फोटो खिच्न थाल्यो । नाजीहरू फाँसी र सजाय दिएको यस्ता फोटोहरू खिच्न खुब सोख राख्थे । कमान्डरले फाँसी दिने मान्छेलाई फाँसी दिए बापतको पैसा पछि दिने सर्तमा हस्ताक्षर गराइरहेका थिए ।
यही मौकामा फासी दिएको हेर्न त्यहाँ भेला हुन बाध्य पारिएका गाउँले किसानहरूतिर फर्केर जोयाले ठूलो साहस र उत्साहका साथ भनिन्, “कामरेडहरू ¤ तपाईंहरू किन दुःखी हुनुहुन्छ ? मन सानो नपार्नुहोस् । हामीले त जर्मनहरूसँग लड्नुपर्छ र तिनीहरूलाई सखाप पानुपर्छ । मर्नदेखि डराउन्नँ । मलाई हाम्रो मातृभूमि र तपाईंहरूको रक्षाको लागि मर्न पाएकोमा गौरवको अनुभव हुँदै छ । जर्मन सिपाहीहरू हो, चाँडो आत्मसमर्पण गर । नभए धेरै ढिला भइसक्नेछ । जसरी पनि अन्तिम विजय हाम्रै हुनेछ । मेरो यो फासीको बदला कुनै हालतमा लिइनेछ । तिमीहरू मलाई मार्दैछौ । तर, याद राख म एक्लै छैन । मेरा पछाडि बीस करोड जनता छन् र तिनीहरू सबैलाई तिमीहरू मार्न सक्नेछैनौँ । बिदा कामरेडहरू ¤ डराउनु पर्दैन । लड्दै जाऔँ !”
फासी दिने मान्छेले जोया उभिएको तल्लो बाकसलाई खुट्टाले हिर्कायो हिउँमा चिप्लिएर ऊ आफै तल्तिर हुत्तियो । डरले मान्छेहरू पछाडि हटे । सबै मान्छेहरू चिच्याए त्यो चिच्याहट सारा जङ्गलभरि गुञ्जायमान भयो ।
जोया शत्रु शिविरमा मारिइन्, नाजीहरूले उनलाई फासी दिए । तर, उनले आफ्ना गुरिल्ला कामरेडहरू र भावनालाई कहिल्यै विश्वासघात गरिनन् । कठोर यातनाकाबीच पनि आत्मसमर्पणको एक शब्द बोलिनन् । उनले शहादत प्राप्त गरिन् । उनले एक विभूतिको रूपमा मृत्युलाई बहादुरीपूर्वक अङ्गालिन् । शत्रुमाथि कहिल्यै शीर नझुकाउने महान् जनताकी बहादुर छोरीको रूपमा उनले मृत्युलाई स्वीकारिन् । उनी अर्थात् जोया कस्मोदिम्यान्स्काया ।
स्रोतः विश्वका क्रान्तिकारी महिलाहरू (नेपाल क्रान्तिकारी महिला सङ्घ, केन्द्रीय समिति)
Leave a Reply