भर्खरै :

खोइ ‘नागरिक समाज’ ?

केही समयअघि ‘नागरिक समाज’ सडकमा थियो । रुकुम हत्याकाण्डदेखि रुपा विश्वकर्मालाई कोठा नदिएको विषयमा ‘नागरिक समाज’ माइतीघरमा देखियो । संसद् विघटनदेखि ओली सरकारको विरोधमा ‘नागरिक समाज’ सामाजिक सञ्जालमा कुर्लियो । तर, यतिबेला एमसीसी सम्झौताको विरोधमा देशैभरि लगातार सङ्घर्षका गतिविधि भइरहँदा ‘नागरिक अभियन्ता’हरू कहाँ छन् ? सामान्यतः राजनीतिबाट अलग बस्दै आएका अभिनेता राजेश हमालले बरु जनभावनाविपरीत एमसीसी सम्झौता पारित गर्नु हुन्न भनी आफ्नो अभिमत सार्वजनिक गरे । तर, ‘न्यायको निम्ति बोल्ने, लेख्ने र लड्ने नागरिकहरू’ एमसीसी सम्झौताबारे चुपचाप छन् । न उनीहरू सामाजिक सञ्जालमा बोलेका छन्, न सडकमा उत्रेका छन् ।
‘नागरिक समाज’ का अभियन्ताहरू कमलपोखरीको माटो निधारमा लगाएर बालुवाटारमा ‘ओली स्वेच्छाचारी’ विरुद्ध पानीको फोहोरा सामना गरिरहेको दृश्य नेपाली जनताको मानसपटलमा मेटिसकेको छैन । ब्रोर्डसीट अखबारका ओप एडमा नागरिक अभियन्ताले लेखेका लामा लामा लेख र सामाजिक सञ्जालमा चलेका चर्को बहसको गाढा स्मृति नेपाली जनताले सजिलै बिर्सन सक्दैनन् । निःसन्देह नागरिक समाजको नाममा उठाइएका कतिपय मुद्दा उठाइनुपर्ने विषय हुन् । बलियो लोकतन्त्रको लागि नागरिक समाजको अपरिहार्यताको बहस पनि जायज हो । राजा ज्ञानेन्द्रको प्रतिगामी कदमविरुद्ध जनतालाई सङ्घर्षमा उत्रन नागरिक समाजका नाममा भएका गतिविधिको योगदानलाई न्यूनाङ्कन गर्न मिल्दैन । त्यसयता पनि उठेका विभिन्न राजनीतिक र सामाजिक मुद्दामा नागरिक समाजको नाममा गतिविधि भइरहेका छन् । विशेषतः पछिल्लो समय ओली सरकारविरुद्ध नागरिक समाजको नाममा ‘लोकतन्त्र रक्षा गर्ने’ सङ्घर्ष भयो । राजनीतिक विषयमा फरक मत हुनु स्वाभाविक हो । नागरिक समाजले ओली सरकारविरुद्ध गरेको सङ्घर्षमा पनि मतान्तर हुनु स्वाभाविक थियो ।
यतिबेला देश एमसीसी सम्झौताको विषयमा तातेको छ । एमसीसीका उपाध्यक्षको नेपाल भ्रमणकै क्रममा देउवा सरकारले सम्झौता संसदबाट अनुमोदन गर्न खोजेपछि एमसीसी अझै ‘लाइम लाइट’मा आयो । एमसीसी सम्झौता देश हितविपरीत भएकोले देशभक्त जनता सडकमा आए । यसले देशको सार्वभौमिकता कमजोर बनाउने भएकोले कुनै पनि अवस्थामा यो सम्झौता पारित गर्न नदिने प्रतिबद्धताका साथ जनता सडक सङ्घर्षमा छन् । सरकार प्रदर्शनकारीहरूमाथि दमनमा उत्रेको छ । जनदबाबकै कारण राजनीतिक दलका नेताहरू खुलेर एमसीसी सम्झौताको पक्षमा बोल्न अनकनाइरहेका छन् । तर, यो बहसमा ‘नागरिक समाज’ कहाँ छन् ? ‘नागरिक समाज’ को नाममा सञ्चारमाध्यममा सेलिब्रिटी भनेका ‘नागरिक’ कहाँ छन् ? के देशको सार्वभौमिकतामाथि मडारिएको कालो बादल रूपा विश्वकर्मालाई काठमाडौँमा कोठा नदिएको भन्दा कम मूल्य र महत्वको विषय हो ? अथवा ‘नागरिक अभियन्ता’हरू एमसीसी सम्झौता देशमा ‘पश्चिमबाट सूर्य उदाउने परियोजना’ भएकोमा विश्वास गर्छन् ?
‘नागरिक अभियन्ता’हरू आफू राजनीतिक दलको घेराबन्दीबाट मुक्त भएको बारम्बार दाबी गर्छन् । बरु, राजनीतिक दललाई चेतावनी दिइरहने वाचा गर्छन् । तर, जनता देशको सार्वभौमिकता रक्षाको निम्ति साम्राज्यवादी शक्तिलाई रोक्न सङ्घर्षमा मोर्चा कस्दै गर्दा उनीहरू कहाँ छन् ? खोइ उनीहरूका लामा लामा लेख ? खोइ उनीहरूका उत्तेजनापूर्ण अन्तर्वार्ता ? एमसीसी सम्झौतालाई नागरिक समाजका अभियन्ताले या त देश हितमा भएको भन्न सक्नुप¥यो । नभए नागरिक समाजको प्रतिनिधि गर्न रुचाउने मानिसहरू आज कहाँ छन् ? नेपालमाथि नाकाबन्दी लगाउँदा सीमामा गएर नाकाबन्दीको समर्थनमा बोल्ने वक्ताहरू आज एमसीसीबारे के भन्छन् ? ‘नागरिक अभियन्ताहरूका फ्यानहरू’ जान्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *