भर्खरै :

काठमाडौँको प्रतिरोधी हावा छामेर फर्किंदै सुमार

काठमाडौँ, २७ भदौ । एमसीसी सम्झौताविरुद्ध नेपाली जनताको आक्रोश अनुभव गरेर एमसीसीका उपाध्यक्ष फतिमा सुमार सोमबार अमेरिका फर्कंदै छिन् । उनले बिहीबार नेपाल टेक्नुअघि राजधानी काठमाडौँलगायत देशैभरि एमसीसीविरुद्ध जनआक्रोश सडकमा पोखिएको थियो । सुमारको चार दिनको भ्रमणको क्रममा नेपालमा सञ्चारमाध्यममा उनको भेटघाटले भन्दा एमसीसीको विरोधमा आयोजित प्रदर्शनले बढी प्राथमिकता पाएको देखियो । देउवा–प्रचण्ड–माधव–उपेन्द्रको गठबन्धन सरकारले एमसीसीविरोधी प्रदर्शनमा गरेको चर्को दमन सामना गर्दै राजधानीमा लगातार प्रदर्शन र सभा भइरह्यो । संरा अमेरिका राजदूतावास वरपर, बानेश्वरस्थित संसद भवनदेखि सुमार बसेको मेरियट होटलसम्म पनि एमसीसीविरोधी प्रदर्शनहरू भए । नेताहरूको न समर्थन र न विरोधको काइते अभिव्यक्तिसँगै सुमारले काठमाडौँको तातो हावा पनि अनुभव गरेको हुनुपर्छ । त्यसैकारण उनले आइतबारको पत्रकार भेटघाटमा एमसीसीलाई ‘राजनीतीकरण’ नगर्न अनुनय गरिन् । खासमा संरा अमेरिकाले एमसीसी सम्झौतामार्फत नेपालमा खतरनाक राजनीति गर्न खोजिरहेको छ । अमेरिकी अधिकारीहरू कहिले एमसीसी सैनिक गठबन्धनअन्तर्गतको कार्यक्रम हो भन्ने र घरी होइन भन्ने दोधारे तर्कले नेपालमा घिनलाग्दो राजनीति गर्न खोजिरहेको देखिन्छ ।
दुई वर्षअघि नै संसदबाट अनुमोदन हुनुपर्ने भनिएको सम्झौता आजसम्म अनुमोदन नहुनुले नेपाली जनताले सम्झौताको पक्षमा नभएको प्रस्ट हुन्छ । बुझ्नेलाई इसारा काफी छ । तर, एमसीसी नेपालमा लागु गर्नुपछाडि संरा अमेरिकाको लक्ष्य अर्कै भएकोले नेपाली जनताले अनुमोदन नगरे पनि जबरजस्ती सम्झौता थोपर्न खोजिरहेको छ । आइतबारको पत्रकार भेटघाटमा सुमारले एमसीसी सम्झौता लागु भए यता नेपालमा आठ वटा सरकार बनिसकेको र ती सबै सरकारले सम्झौता लागु गर्ने प्रतिबद्धता जनाएको भन्दै नेपालका शासक दलहरूलाई चेतावनी दिएकी छिन् । परोक्षरूपमा उनले नेपालका शासक दलहरूलाई हिजो प्रतिबद्धता व्यक्त गर्ने अहिले जनताको अघि विरोधको अभिनय नगर्न चेतावनी दिएकी छिन् । नेकाका नेता ज्ञानेन्द्रबहादुर कार्कीले त यो सम्झौताको सुरुमै हस्ताक्षर गरेका थिए । एमालेका नेता प्रदीप ज्ञवाली पनि परराष्ट्र मन्त्रीको हैसियतमा वाशिङ्टन पुगेर तत्कालीन विदेश सचिव माइक पम्पेओलाई भेटेर यो सम्झौता कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका हुन् । तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सोही हैसियतमा प्रधानमन्त्री बनेको अवस्थामा एमसीसी सम्झौता अघि बढाएका थिए । त्यसकारण सुमारले अहिलेसम्म सरकारमा गएका सबै दलले एमसीसीलाई समर्थन गरेको खुलासा गरेका छन् । यी दलहरूले अहिले जनताको तीव्र विरोधको रापमा एमसीसीको खुलेर समर्थन गर्न अनकनाए पनि ‘प्रभु’ सामु उनीहरूको मनसाय प्रस्ट भएको छ ।
तर, सुमारको भ्रमणको उपलब्धि भने उनलाई एमसीसीप्रति नेपाली जनताको तीव्र विरोधको प्रत्यक्ष अनुभव गराउनु हो । वाशिङ्टन पुग्न नसकेको काठमाडौँको राप सुमारले राम्ररी नै अनुभव गरेको हुनुपर्छ । साथै उनले नेपालका शासक दलहरूको कमजोर मनस्थिति पनि छाएर फर्कंदै छिन् । एमसीसीको विरोधमा बितेको एक साता भएको जनसङ्घर्षले सुमारले काठमाडौँको हावा चखाएको भए पनि साम्राज्यवादी शक्ति फेरि पनि शक्तिशाली आक्रामकरूपमा फणा फैलाएर फर्किन सक्नेमा नेपाली जनता सचेत बन्न जरुरी छ । एमसीसी सम्झौता खारेजीको अभियानलाई अझ निरन्तरता दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *