भर्खरै :

के विवाह भएपछि आफूले पाएको सम्पत्ति छोडेर जानु पर्दैन र ?

एक दिन वडा कार्यालयको काम सकिएपछि नातेदारकहाँ भोज भएकोले परिवारसहित गएका थियौँ । भोज खाने क्रममा टोलकै एक जना दाइले धेरै कल गर्नुभएको रहेछ । तर, भोज खान व्यस्त भएकोले मलाई फोन आएको थाहा भएन । भोज सकिएपछि घर फर्किने क्रममा मैले मोबाइलमा फोन कल आएको छ कि छैन भनी चेक गरेँ । टोलकै गन्यमान्य व्यक्ति भएकाले अलि ढिलो भए पनि मैले कलब्याक गरेको थिएँ । करीब रातको दस बजिसकेको थियो । मैले कल गर्नेबित्तिकै उहाँले फोन रिसिभ गर्नुभयो र भन्न थाल्नुभयो, “वडाध्यक्ष भएर पनि यसरी फोन रिसिभ नगर्ने भन्ने पनि हुन्छ र ? तिमीलाई कति कल गरिसकेँ । तिम्रो घरमा एक जना हाम्रै टोलको बुढी आमा आएर रुन आएको रहेछ । यत्तिबेलासम्म घरमा नआई कहाँ गएको ? परिवारको कोही पनि घरमा छैन जस्तो छ । मैले मेरो घरमा ल्याएर बसाएको छु । तिमी छिटो घर आउनु प¥यो । बुढी आमाको समस्या सुन्नु प¥यो ।”
मैले उहाँको लामो कुरा सुनेपछि फोनमै जवाफ फर्काएँ, “म भोजमा छु । घरबाट अलि टाढा छ । घर आउन अलि समय लाग्छ । बुढी आमालाई नकुराउनुस् । रातको दस बजिसकेको छ । फेरि पानी पनि पर्न थालेको छ । भोलि वडा कार्यालयमा पठाइदिनुस् न । यत्तिबेला के समस्या लिएर आएको होला । धेरै ठुलै समस्या प¥यो कि बुढी आमालाई ?”
दाइले भन्नुभयो, “खोइ तिमीले आज वडा कार्यालयमा उसकी छोरीलाई घर बेच्नलाई सिफारिस दिएर पठाउनुभयो कि नाइ भनी सोधिराख्नुभएको छ । छोरीलाई सिफारिस नदिनु भनी वडामा उजुरी हालेको छु रे ¤ किन तिमीले उसकी छोरीलाई सिफारिस दिएर पठाएको भनी रुँदै छिन् । त्यसरी बुझ्दै नबुझी सिफारिस दिन मिल्छ र ? तिमीलाई बुढी मान्छेको अलिकति पनि माया लागेन ?”
दाइको कुरा सुनेपछि मेरो दिमाग तात्न थाल्यो र अलि रिस पनि उठ्यो । तापनि, रिसलाई नियन्त्रण गर्दै अलि नरम स्वरमा दाइलाई जवाफ दिएँ, “वडामा धेरै काम हुन्छ । अनि कसको मात्र सिफारिस रोक्ने, अनि किन सिफारिस रोक्ने ? सिफारिस रोक्नलाई पनि त केही कारण चाहियो । भोलि म वडामा सचिवसँग छलफल गरेर उहाँकी छोरीलाई सिफारिस दिएको हो कि होइन पत्ता लगाउँछु । आज उहाँलाई घर पठाइदिनुस् । भोलि प्रथम प्रहरमा नै वडामा पठाइदिनुहोस् ।”
मेरो कुरा नुटुङ्गिदै दाइले भन्न थाल्नुभयो, “यसरी जथाभावी सिफारिस पनि दिने हो ? तिमी आफै कुुरा गर भन्दै बुढी आमालाई मोबाइल फोन दिनुभयो । बुढी आमा फोनमै रुन थाल्नुभयो र मलाई भन्न थाल्नुभयो, “बाबुलाई मेरो छोरी आयो भने सिफारिस नदिनु भनी मैले दुई वर्षअगाडि नै उजुरी दिएको थिएँ । आज बाबुले किन सिफारिस दिनुभयो ? मेरो श्रीसम्पत्ति सबै छोरीले खाइदियो । अब यो कुल घर पनि खाने भयो ।” बुढीको रुवाइ सुनेपछि मेरो रीस कम भयो र मनमा चिसो पस्यो । कहीँ आज मैले सिफारिस दिएर ठुलै गल्ती पो गरेछु कि जस्तो अनुभव भयो ।
मैले नरम स्वरमा बुढी आमालाई जवाफ दिएँ, “आमा, तपाईँलाई मैले फोनमा कुरा गरेको भरमा तपाईँँ को भनी ठम्याउन पनि सकिएन र सिफारिस दिए कि दिएन भनी मैले भन्न सक्दिनँ । बरु, भोलि म सचिवसँग बुझेर खबर गर्छु । नभए तपाईँ प्रथम प्रहरमा नै वडा कार्यालयमा आउनुस् । सिफारिस गएको रहेछ भन्ने पनि मालपोतमा गएर सिफारिस रोक्न मिल्छ कि भनेर म आफै गएर बुझिदिउँला । फोनमा धेरै नरुनुस् । अहिले तपाईँ घर जानुस् आमा ।” यत्ति भनेपछि बुढी आमाको रुवाइ अलि कम भयो । त्यसपछि मैले फोन राखिदिएँ । फोनमा कुरा गरेको सुनेर मेरी श्रीमती अलि रिसाउँदै मलाई भन्न थालिन्, “यत्ति राति फोन गर्ने भन्ने पनि हुन्छ र भनेको । यत्ति राति घरमा आएर रुन आउने भनेको पनि हुन्छ । अफिस सधैँ खुलेकै छ । दिउँसो किन वडा कार्यालयमा नआएको होला ? सुत्ने समयमा घरमा आउने पनि तरिका हो र ?” मैले श्रीमतीलाई वडाध्यक्ष भनेको सार्वजनिक व्यक्ति र टोलको अभिभावक भएकोले घर आउनु स्वाभाविक भएको र बुढी आमालाई धेरै ठुलो समस्या आएको भनी सम्झाएँ । त्यसपछि श्रीमती चुप लागिन् र हामी बाइकबाट घर आयौँ ।
आज बिहान पानी परिरहेको थियो । मौसम विभागले लगातार तीनदिन पानी पर्ने पूर्वानुमान गरेअनुसार पानी लगातार परिरहेको थियो । आज दोस्रो दिन पनि वर्षा भइरहेको थियो । म समयमा खाना खाई वडा कार्यालय पुगेँ । हिजो बेलुकाको बुढी आमाको फोन कलले मेरो मनमा अलि ठुलै गल्ती आफूले गरेँ कि भन्ने शङ्का लागिरहेको थियो । मन अलिअलि डराइरहेको थियो । कार्यालय सहायकले वडा कार्यालय पूरा खोल्नै पाएका रहेनछन् । बुढी आमा छाता ओढेर वडामा आइपुगेकी रहिछन् । मैले उहाँको निन्याउरो मुखबाट यो बुढी आमा हिजो कल गर्ने बुढी आमा हो भनी अनुमान लगाएर ‘नमस्कार, आमा’ भनिहालेँ । नभन्दै बुढी आमाले मलाई नमस्कार फर्काउनुभयो ।
वडा कार्यालयभित्र छिरिसकेपछि बुढी आमालाई सोफामा बस्न अनुरोध गर्दै म आफू पनि कुर्सीमा बसेँ । मैले तुरुन्तै वडा सचिवलाई बोलाउन सहायकलाई भनेँ । बुढी आमालाई आफ्नो कुरा राख्न अनुरोध गरेँ । बुढी आमा मेरो कुरा सुनेबित्तिकै रुन थालिन् र गुनासो गर्न थालिन्, “हिजो मेरी छोरी यस कार्यालयमा आएकी रहिछन् । हिजो बेलुकी मलाई छिमेकीले यहाँ छोरी सिफारिस लिन आएको जानकारी दियो । त्यसैले यो खबर पाउनेबित्तिकै बेचैन भएर हिजो राति नै तपाईँको घर सोध्दै भेट्न आएकी हुँ । तपाईँलाई मेरी छोरी आउँदा सिफारिस रोक्न मैले उजुरी पनि दिएकी थिएँ । तर, किन तपाईँले सिफारिस दिनुभयो ? यसरी मसँग एक शब्द नसोधी सिफारिस दिन मिल्छ र ? उजुरी दिएको मतलब नै भाइलाई थाहा छैन कि जस्तो लाग्यो ?”
यत्तिकैमा वडा सचिव अफिसमा आउनुभयो । सचिवलाई बुढी आमाको छोरीलाई हिजो सिफारिस वडाले दिएको नदिएको सम्बन्धमा बोल्न अनुरोध गरेँ । सचिवले त्यसपछि भन्नुभयो, “आमा र उहाँको छोरीलाई म राम्रोसँग चिन्छु । छोरीको डेरा त अझ मेरो घरसँगै हो सर । हामीले बुढी आमाले रोक्का राखेकोले विगत दुई वर्षदेखि छोरीको सिफारिस सबै रोक्का राख्दै आएका छौँ । हिजो पनि उहाँकी छोरी आउनुभएको थियो । तर, हामीले सिफारिस दिएका छैनौँ । छोरी हिजो सिफारिस लिन आएको हो । तपाईँ भनपाको बैठकमा जानुभएकोले तपाईँको छोरीसँग भेट भएन । त्यसैले, मैले छोरीलाई सिफारिस रोक्काको निवेदन भएकोले छलफल नगरी आजै सिफारिस दिन मिल्दैन भनी पठाएको थिएँ सर ।” सचिवको कुरा सुनेबित्तिकै मेरो मनको डर हरायो र शरीरमा अलि शक्ति बढेको अनुभव भयो भने आफूले गल्ती नगरेको आभास भयो । बुढी आमाको पनि अनुहार अलि उज्यालो देखियो ।
त्यसपछि बुढी आमालाई छोरीलाई सिफारिस रोक्नु पर्नाको कारण सोधेँ । बुढी आमाले त्यसपछि बेलिविस्तार लगाइन्, “घरकी सबभन्दा सानी भएकोले हामी बुढाबुढीले धेरै माया गरेर छोरीलाई हुर्कायौँ, पढायौँ र घरजम गरिदियौँ । तीनजना छोरा भए पनि सबै छोराहरू श्रीमती भएपछि घरबाहिर बस्न थालेकाले छोरीलाई घरको सबै जिम्मा दिएर राखेका थियौँ । जेठो छोराले आफ्नो भागको सम्पत्ति चाहियो भनी मुद्दा हालेकोले दुई तीन वर्ष मुद्दा पनि लडेँ । यही छोरीले हाम्रो तर्फबाट मुद्दा लडिन् । पुख्र्यौली सम्पत्ति ६ भाग भनी अदालतले फैसला सुनाएपछि अविवाहित भएकोले छोरीलाई पनि सम्पत्ति गयो । त्यही बेला मलाई क्यान्सर रोग लागेकोले अलिअलि खेत पनि बेच्नु प¥यो । छोरीले नै हाम्रो पनि उपचार र हेरचाह गरेकी थिइन् । बैङ्कमा पैसा निकाल्ने र राख्न जाने काम पनि उसले नै गर्दै आएकी थिइन् । उसले जे कागजमा सही गर भन्यो हामीले त्यहीमा सही ग¥यौँ । आज त्यसैको प्रतिफल भोग्नुपरेको छ । छोरीको विवाह भएपछि ज्वाइँको कुरा सुनेर हो वा अरू मान्छेको कुरा सुनेर हो, मुद्दाबाट पाएको सम्पत्ति पनि लग्यो । खेत बेचेको पैसा पनि लग्यो । अनि मेरो भागमा परेको पुख्र्यौली घर पनि बकसपत्र पास गरिलिएको रहेछ । हामीले छोरीलाई विश्वास गर्दा आज हामीलाई सडकको बास बनाइदियो । त्यसैले, दुई वर्षअघि नै मैले वडामा रोक्का निवेदन हालेको थिएँ । तपाईँलाई पनि धेरै पटक भनेँ । भाइले जसरी भए पनि मेरो घर फिर्ता गराई दिनुप¥यो ।”
सचिवले बुढी आमालाई तुरुन्त जवाफ फर्काए, “तपाईँहरू छोरीलाई धेरै विश्वास गर्ने अनि हामीले तपाईँको घर फिर्ता लिइदिनुपर्ने भन्ने पनि हुन्छ र ? के वडाध्यक्ष भगवान हो र ? तपाईँ चाहि छोरीलाई घर बकस पत्र गरिदिने, छोराहरूलाई सम्पत्ति दिनुपर्ला भनेर छोरीलाई काखी च्यापेर हिँड्ने । अनि छोरीमात्र आफ्नो भयो र ? यसमा त छोरीको भन्दा तपाईँको गल्ती धेरै छ । अब कसरी वडाले तपाईँकी छोरीलाई सिफारिस रोक्का गर्नसक्छ र ? उसलाई त सिफारिस लिने कानुनी हक छ । हामीलाई सिफारिस दिएन भन्ने मुद्दा हाल्छ । छोरीको हातमा सबै चेक पायड दिने अनि सबै पैसा निकालेर आफ्नो नाममा राख्दैन र ? गल्ती छोरीको होइन तपाईँको नै हो ।”
सचिवको कुरा सुनेपछि बुढी आमा फेरि रुन थालिन् र भनिन्, “मैले ठुलै गल्ती गरेँ सचिवज्यू । छोराहरूलाई दिनुपर्ला भनेर छोरीले भनेअनुसार गरेकोले नै यस्तो भएको हो । हामीलाई राम्ररी हेरचाह र उपचार गरेकोले यस्तो गलत ठाउँमा सही गराएर घर बकसपत्र लेला भनी शङ्का नै भएन । अनि बैङ्कबाट चालीस लाख पनि निकालेर लगेको रहेछ । विवाह गर्नुअघि यी सबै कार्य गरेको जस्तो छ । विवाह भएको धेरै पछि मात्र हामीलाई थाहा भयो । जुन बेला धेरै ढिला भइसक्यो । पैसा त लिन सकिएन सकिएन । कमसेकम घर एउटा त सिफारिस रोक्का राखेर भए पनि छाडिदेला कि भनेर आशाले आएको हुँ ।”
बुढी आमाको कुरा सुनेपछि मेरो मनमा धेरै कुरो खेल्यो । के विवाह भएपछि आफूले पाएको सम्पत्ति छोडेर जानु पर्दैन र ? आमाबुबालाई गरेको माया र ममताको बदलामा पुख्र्यौली सम्पत्ति पनि लान मिल्छ र ? कानुनीरूपमा आफ्नो भयो भन्दैमा छोरीले सम्पत्ति लान मिल्छ र ? यसरी सम्पत्ति लिए त लोग्नेसँग पनि झगडा गरेर त्यस्ती आईमाईले फेरि सम्पत्ति नलेला र ? मान्छेलाई परिवार र साथीभाइ भनेर धेरै विश्वास गर्न नहुनेरहेछ । हाम्रो समाज र समाजमा मान्छेहरूको स्तर र संस्कार देखेर मेरो मन अमिलो भयो । आमाबुबाले कुन आधारमा आफ्ना सन्तानलाई विश्वास गर्ने त ?
शुक्रबारको दिन थियो । वडामा निर्वाचित समितिको नियमित बैठक चलिरहेको थियो । सचिवले बुढी आमाको कहानी सम्बन्धमा जनप्रतिनिधिहरूलाई ब्रिफिङ्ग गर्न थाले । सचिवले भन्न सकिएपछि मैले पनि आफूले थाहा पाएको जानकारी अरू जनप्रतिनिधिहरूलाई दिएँ । त्यसपछि भोलिपल्ट नै आमा र छोरीलाई वडामा बोलाएर पाँचैजना जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय भयो । लगत्तै सचिवलाई भोलि प्रथम प्रहरमा नै बैठक बोलाउन अनुरोध गरेँ ।
वडामा सेवाग्राहीको भीड लागिरहेको थियो । तापनि, एकछिन सबैलाई रोकेर हामी सचिवसहित हलमा छलफल चलाउन थाल्यौँ । विशेषगरी छोरीको कुरा सुन्ने प्रयास ग¥यौँ । मैले किन विवाह भएपछि माइतीको घर र पैसा लिएर गएको भनी सीधै प्रश्न गरेँ । अरू जनप्रतिनिधिले पनि विवाह भएपछि माइतीको सम्पत्ति छोडेर जानुपर्ने सल्लाह दिए । तर छोरीले हामीलाई विनम्रतापूर्वक भन्न थालिन्, “हो, मैले सम्पत्ति छोडेर जानुपर्ने हो । तर, मेरो आमाबुबाले ममाथि अन्याय र बेइज्जती गरेकोले सम्पत्ति नछोडेको हुँ । मलाई आमाले आफूखुसीले नै बकसपत्र गरिदिनुभएको हो । उहाँले भनेको केटासँग विवाह गर्छु भनेपछि यो घर मेरो नाममा पास गरिदिनुभएको हो । जग्गा अदालतको फैसलाबाट मेरो नाममा आएको हो । मलाई अदालतअगाडि मेरो बेइज्जत गरेकोले र जबरजस्ती कपाली तमसुकमा सही गराएकोले म अब केही सम्पत्ति दिन्नँ । मैले खेत बेचेको पैसा पनि आमालाई क्यान्सर लाग्दा खर्च गरेको थिएँ । दाइहरूसँग मुद्दा लड्न त्यही पैसा खर्च गरेको थिएँ । घर खर्च गर्न पनि त्यही पैसा खर्च गरेको थिएँ । अनि कसरी पैसा बाँकी रहन्छ ¤ मलाई कपाली तमसुकमा जबरजस्ती सही गराएर त्यो घरको मूल्य मलाई तिराइसक्यो सर । त्यही भएर म त्यो घर फिर्ता गर्दिनँ । फिर्ता गर्ने भए अहिलेको मोल चाहिन्छ । नत्र म फिर्ता दिन्नँ ।”
मैले छोरीलाई पुख्र्यौली सबै सम्पत्ति र रकम फिर्ता गर्न अनुरोध गरेँ । अरू जनप्रतिनिधिले पनि माइतीको सम्पत्ति फिर्ता गर्न अनुरोध गरे । तर, उनी फिर्ता गर्न तयार भइनन् । त्यसपछि मैले माइतीको सम्पत्ति फिर्ता नगरेसम्म वडाबाट कुनै सिफारिस तत्काललाई नदिने बताएँ र बैठकलाई समापन गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *