ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
समाज भनेको अनौठो हुनेरहेछ । यो पनि चाहिने त्यो पनि चाहिने, अनि ऊ पनि चाहिने, सबैथोक चाहिने । एउटा आहान नै छ ‘काम गर्नाको गा¥होले जोगी भयो, जोगी भएको भोलिपल्ट भोकै प¥यो’ । जोगी भएपछि सुख हुन्छ भनी जोगी भयो, मस्त सुत्यो । त्यो काम गर्न गा¥हो भएकोले जोगी भएकोले मस्त निदाएछ । घाम माथि पुग्दासम्म पनि सुतेछ । कुटीमा खानेकुरा जगेडा रहेनछ । तब नयाँ जोगी भोकै प¥यो । अब दिउँसो भिक्षाटन गर्न जानु पनि भएन । दिउँसो भिक्षाटन गर्न जाने जोगीलाई भुस्याहा कुकुरले समेत देखि नसहने । अब अर्को दिनदेखि नयाँ जोगी पनि सबेरै उठी भिक्षा माग्न जान थाल्यो । अब ज्वानु, मेथी, हिङ, जिम्बुसम्म पनि जोड्नुप¥यो । त्यसैले नयाँ जोगीले बुझ्यो जोगीलाई पनि समाज चाहिने रहेछ नत्र नून, बेसार, भुटुन, दाउरा वा कुनै इन्धन नभई नहुने रहेछ । त्यसैले समाज भनेपछि अरू अरू जस्तै कवि, कलाकार, लेखक, नर्तक, गायक सबै चाहिने रहेछ सबै थोक । अन्यथा मान्छेको समाज नै नहुने । समाज भनेको त्यसैले समाज नै भो । समाजले भौतिक उपलब्धिमात्र पर्याप्त मान्दो रहेनछ । कला, साहित्य, नृत्य, गीतजस्ता अभौतिक वस्तुजस्ता विषय पनि अपरिहार्य हुनुपर्दो रहेछ । त्यही सामान्य जीवनशास्त्रअनुसार नेपाली समाज पनि क्रमशः साहित्य, कला, संस्कृतितर्फ प्रवेश ग¥यो । भानुभक्तले नेपाली साहित्यको उत्थानको निम्ति नयाँ प्रयास गरे । भानुभक्त रामायण नेपाली भाषामा छापियो । त्यसै क्रममा मोतीरामले अनेकौँ प्रयास गरे, धेरै कुरा छापे, सार्वजनिक गरे ।
संस्मरण उच्चताको सङ्केत
कुनै पनि प्राणी जन्मन्छ, मर्छ । यो सृष्टिको सामान्य प्रक्रिया हो । तर, समाजमा त्यस्ता व्यक्तित्वहरूको मरणोपरान्त स्मृतिसभा, शोकसभा, श्रद्धाञ्जली सभा आदि गरी शोक गरिँदो रहेछ । यस्ता जमघट, त्यस्ता जनसभा मान्छेको मृत्युपश्चात् गरिने कार्य भए । त्यस्ता सार्वजनिक व्यक्तित्वहरूको योगदानको बिटो हेरी केहीको जन्मदिन र निधनको दिन वर्ष वर्ष दिनमा कार्यक्रम गरिन्छ भने कति त्यस्ता दिन एक पल्टमात्र पनि मनाइन्छ । कति जना मरणोपरान्त शोकसभा, स्मृतिसभा पनि गरिन्छ ताकि समाजका निम्ति योगदान गर्ने व्यक्तित्वहरूको सम्मानले समाजमा त्यस्ता कृतिकार, रचनाकार, कलाकार बन्न अरूलाई प्रेरित गर्नेरहेछ । यो हाम्रो समाजमा पनि राणा शासन समाप्तिपछि प्रारम्भ भएको छ । समाजको लागि केही दिएर गएकाहरूको सम्झना सभ्यताको पनि एउटा उपमा हो । यस्ता आयोजनामा अभिरूचि राख्नेहरू नेपाली समाजमा पनि यथेष्ट छन् । तर एक–दुई जना कसका निम्ति आगुवाइ गर्ने मान्छे चाहिन्छ वा संस्था नै चाहिन्छ । यस्ता क्रियाकर्मका निम्ति केही खर्च पनि गर्नुपर्छ । त्यो पनि जुटाउनुप¥यो । त्यसका निम्ति पनि मान्छे त लाग्नुप¥यो । यस्तो लाग्ने भन्नुमा भन्न जति सरल एवं सहज छ गर्न त्यति सजिलो छैन । यथाशक्य गर्ने गरिन्छ । समाजको स्वभाव चुपो लागेर बस्नु हुँदैन क्रियाशील भई नै रहन्छ । वस्तुतः यो प्रवृत्ति अग्रगमनको उपमा हो । नेपाल भारतमा मात्र होइन चीनलगायत संसारका सबैजसो मुलुकमा यस्ता उच्च संस्कृतिको काम गरिँदै छ । यस्ता काम उत्तम लाग्छ धेरैलाई । जनताका निम्ति केही छोडेर जानको सम्झना वस्तुतः सानो पनि हुँदैन ।
यो गाईजात्राको मूल जरो
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा गत शनिबार भक्तपुरमा नेपालका साहित्य एवं भाषाका तीन जना विशिष्ट साधकको सम्मानमा स्मृतिसभा गरियो । सो स्मृतिसभामा भाषा शिरोमणि रमापतिराज शर्मा, प्रगतिशील साहित्यकार तथा उच्च शिक्षा अभियन्ता आनन्ददेव भट्ट एवं नेपालभाषाका आधुनिक कवि पूर्णबहादुर वैद्यको दुःखद देहावसानको भावपूर्ण संस्मरण गरियो । मान्छे भएपछि सधैँ सबै राम्रो काममात्र गर्छ भन्ने हुँदैन । तसर्थ जसको पनि राम्रो कामको पक्षमात्र अनुकरण गर्नु बुद्धिमानी हुने कुरा उल्लेख गरियो । वास्तवमा कुनै पनि विज्ञको ज्ञान, सीप र अनभुव लिपिबद्ध गर्न सके पछिल्लो पुस्ता पनि सम्बद्ध विषयवस्तुसँग परिचित हुन गई समाज लाभान्वित हुनसक्ने विषयबारे पनि चर्चा गरियो । वास्तवमा नेतृत्व गर्ने व्यक्ति नै अयोग्य वा कमजोर भएमा ती व्यक्तिमात्र होइन समाज नै पछि पर्ने हुँदा सिद्धान्त मुख्य कुरा हो भन्ने गरियो । वास्तवमा सिद्धान्तहीन मैत्री किंवा एकता दीर्घकालीन हुन नसकेका दृष्टान्त यसो हे¥यो भने बग्रेल्ती छन् । तसर्थ, एकता राम्रो हो भन्दैमा असैद्धान्तिक एकता चामल नभएको धानको गेडा जस्तोमात्र हुने कुरा समयमै हेक्का राख्नुपर्ने हुन्छ । पद र पैसाका लागि भागबन्डाको बाहुल्य रहेको आजको भयावह वस्तुस्थितिमा गलत सिद्धान्त, विचारधारा र नेपाली जनताको अहितमा कुनै पनि सन्धि–सम्झौता एवं समझदारीको सशक्त विरोध हुनुपर्छ । समयमा नगरिएको आलोचनाको कुनै सार्थकता नहुने वस्तुगत स्थिति समयमा नै बुझ्न सकेन भने त्यसको कुनै सार्थकता नरहने कटु यथार्थ पनि उल्लेख गरियो । ठूला दलभित्र सिद्धान्त र विचार नमिलेरै यो गाईजात्रा भएको हो भनियो ।
प्रमुखपात्र हुने रे आनन्ददेव
यो पापी कोरोनाले यस अघि नै परममित्र सोनाम साथी, राजेन्द्र सुवेदी, जेबी टुहुरेलगायत धेरैलाई लगिसक्यो । अर्का मित्र छत्र खतिवडालाई पनि निर्मम प्रहार ग¥यो र लग्यो । भर्खरैमात्र अक्षरका पुजारीहरू रमापतिराज शर्मा, आनन्ददेव भट्ट र पूर्णबहादुर वैद्यलाई पनि कालले छोडेन, लग्यो । उहाँहरूले नेपाली भाषा–साहित्यमा पु¥याएको अद्वितीय योगदानका निम्ति भक्तपुरमा पनि नेपालभाषा तःमुंज्याको अगुवाइमा स्मृतिसभा गरेर एउटा उत्तम परम्परा कायम राखियो । साहित्य वर्गीय हुन्छ । किसान, मजदुर एवं कामगरी खानेहरूको बारेमा एक अक्षर पनि नलेख्ने साहित्यकारहरू पनि समाजमा धेरै छन् । कतिपय साहित्यिक महारथीहरूका कलम, कुची, रङ र समय जनताका निम्ति जाडोको कठ्याङ्ग्रिने ठण्डी वा गर्मीको उग्र तातोको रतिभर पर्वाह नगरी उज्यालो हुँदादेखि अँध्यारो नहुँदासम्म आफूलाई माटोमा मिलाउने वा कलकारखानाका बिजुलीले चल्ने यन्त्रवत् घुमाउने मजदुरका बारेमा मसीको थोपोसमेत खर्च नगर्ने, मातृजातिको अद्वितीय समर्पण तथा योगदानबारे केही पनि नसोच्ने साहित्यिक युग पनि थियो । तर, त्यो युग आज छैन । मैले थाहा पाएसम्म आनन्ददेव भट्टको भक्तपुरको किसान आन्दोलनलाई शिखरमा पु¥याउन उत्कृष्ट योगदान छ । शर्मा र वैद्यजीहरूको त हुने नै भयो । आनन्ददेव भट्टलाई किसानमाझ काम गर्न नेपाल कम्युनिस्ट पार्टीले भक्तपुर खटाएछ । ज्ञानबहादुर न्याइच्याई भन्नुहुन्थ्यो, किसानहरूमा जागरण ल्याउन नाटक खेलियो । आनन्ददेव भट्ट पनि उक्त नाटकको पात्र बने । त्यस्ता नाटकको पात्रमा आनन्ददेवको भूमिका प्रमुख पात्रकै हुने रे । यसर्थ भक्तपुरको आन्दोलनका एक पात्र थिए आनन्ददेव ।
२८ भदौ २०७८
Leave a Reply