भर्खरै :

देशभक्त र दलालहरू चिनौँ !

“हामी अमेरिकीहरू अति लुटाहा, आक्रामक, विध्वंसकारी, आततायी र राक्षसी थियौँ । हामीले एक कुनादेखि अर्को कुनासम्म मान्छे मार्दै (रेड) इन्डियनहरूलाई आतङ्कित पारेका थियौँ ।” – मार्लन ब्रान्डो ।
एमसीसीबारे तीनघन्टे बहस हेर्नुभएको छ ? हेर्नुभएको छ भने त्यसमा उफ्रीउफ्री दुई कौडीको गफ छाँट्ने नेपाल सरकारका पूर्वसचिवलाई देख्नुभएको होला । एमसीसी सम्झौता लेख्नमा सघाएबापत ‘उनीहरू पनि खुसी भएको र आफू पनि सन्तुष्ट भएको’ अथवा आफूले मजाले कमाएको ती कर्मचारीले हाँसीहाँसी स्वीकारेका छन् । एमसीसीका धाराहरू नेपालको सम्प्रभुताविपरीत नभएको दुहाइ दिएर नथाक्ने वकिलको फुर्तीफार्ती पनि कार्यक्रममा कम छैन । उनी विदेशी धन आउने विषय ‘अन्तर्राष्ट्रिय कानुन’ का विद्यार्थी हुन् । बेलाबेला ‘मलाई पनि देशको माया छ’ भन्दा उनलाई लाज लागेको देखिन्न । अमेरिकी लुट, आक्रमण, विध्वंस, यातना र राक्षसराजमा तेस्रो विश्वका यस्ता कर्मचारी र महत्वाकाङ्क्षीहरू चाकर र सुलसुले हुन्, विभीषण हुन् । देशका विभीषण र कुलङ्गारहरू चिनौँ ¤ बेलाले यही भन्दै छ ।
हालैमात्र एमसीसीकी साधारण कर्मचारी फातिमा सुमार नेपाल आइन् । उनलाई खुसी पार्न प्रधानमन्त्री र गृहमन्त्रीले कुनै कसर बाँकी छोडेनन् । नेमकिपाको आयोजनामा भदौ २१ गते रत्नपार्कबाट निस्केको जुलुसमा धेरै सर्वसाधारणले आफ्नो भावना अभिव्यक्त भएको पाए । उनीहरूले प्रदर्शनकारीहरूको हैसेमा होस्टे मिलाउँदा एमसीसीको विरोध गरे । देउवा सरकारलाई आफै कुलङ्गार देखिने यस्तो दृश्य पचेन । जनता आक्रोशित थिए । कबिला समाज हुन्थ्यो भने कुलङ्गार नेतालाई जनताले कालो मोसो दलेर जङ्गलजङ्गल डुलाउने थिए । कथित सभ्ययुगले शक्तिशाली हतियारजति घिनलाग्दा शोषकहरूको हातमा थमाइदिएको छ । शान्तिपूर्ण जुलुस गरिरहेका नेमकिपाका नेता कार्यकर्तालाई कान्ति अस्पतालपछाडि साँघुरो चोकमा घेरेर प्रहरीले अत्याचार ग¥यो । भक्ति थापा र गंगालालहरूमाथि लाठी बजा¥यो, तिनको टाउको फो¥यो । कार्यक्रम सक्किएर घर फर्किने बेला प्रहरीले गुन्डागर्दीको शैलीमा बाटो छेक्यो । बाटो छोड्न अनुरोध गर्दा ‘जुन बाटो आएका हौ, त्यही बाटो फर्क’ भन्यो । नमाने ‘बल प्रयोग गर्ने’ धम्की दियो । जुन जनताको खुनपसिना खाने हो, तिनलाई धम्की दिने ? त्यो धम्की वास्तवमा गृहमन्त्री खाण र प्रम देउवाको धम्की थियो । देशभक्तहरूलाई पिटेर र धम्क्याएर विदेशीलाई खुसी पार्ने ? यो देशभक्ति हो कि दलाली ? भीमसेन र भीमदत्त पन्तको टाउको सेर्ने युगभन्दा देउवा सरकार कति हात अघि बढ्यो ? इतिहासले देउवा र खाणका सन्तान दरसन्तानलाई यो प्रश्न सोधिरहनेछ । एमसीसीको सम्भाव्यता अध्ययन गराउने बाबुराम भट्टराई, त्यसको पक्षमा बाइफाले पैरवी गर्ने ओली, ‘विरोध नगर’ भनी कार्यकर्ता चुप लगाउने प्रचण्डलाई इतिहासले बिर्सिनेछैन ।
कान्ति चोक काण्डको अर्को पाटो पनि छ । हजारौँ जनताले नारा लगाएको एमसीसीविरोधी कार्यक्रमबारे मूलधारे मिडियाले छोटो समाचार पनि छापेनन् । यसमा दुखेसो पोख्दै टिप्पणीकारले सहभागी दाजुहरूसँग गुनासो राख्यो । उहाँहरूले प्रतिप्रश्न गर्नुभयो, “हामीले भक्तपुरबाट काठमाडौँसम्म त्यति ठूलो ¥याली गर्दा त समाचार नछाप्नेले प्रहरी दमन भएको समाचार छाप्छ ?” यो प्रजातन्त्रसँगको खेलबाड हो । एउटी युवतीलाई जातकै कारण घरभाडामा नराख्दा देशभरि रडाको मच्चाउने ‘संवेदनशील’ मिडिया एमसीसीजस्तो देशघाती सम्झौताको विरोध गर्ने जनतामाथि दमन गर्ने सरकारबारे तैँ चुप मै चुप भए । विदेशी सुन्दरीहरूका तिघ्रा नाप्ने र छाप्ने कथित ‘निष्पक्ष’ मिडियाले देशभक्तहरूको रगत छापेनन् । जनताको मुख थुन्ने ? देशभक्तहरूलाई मौनताले मार्ने ? नेपाली जनतामाथि गरिएको युगौँ लामो अन्याय, अत्याचार र शोषण दमनभन्दा कम क्रूर र आततायी छैन यो घटना । राणाहरूले जनतालाई जसरी निरक्षर राखेका थिए, त्यसरी नै जनतालाई असूचित राख्नु अर्को अत्याचार हो । नेपाली मिडिया नेपालीको हो कि विदेशीको ? नेपाली दरिद्रजनको हो कि हुनेखाने कुलङ्गारहरूको ? के नेपाली मिडियाहरूले एमसीसीको जुठोपुरो खाइसकेका हुन् ? के मिडिया मालिकहरू बिकिसकेका हुन् ? बिकिसकेका मिडिया मालिक, मिडियाकर्मीहरू को को हुन् ? चिन्नुपर्ने बेला आएको छ ।
एमसीसी सम्झौताअनुसार नेपाल सरकारले एमसीए नेपाल गठन गरेको छ । यसको सञ्चालक समितिले अमेरिकी कम्पनीको खटनमा काम गर्ने हो । यो समितिमा को को छन् ? यसमा अर्थसचिव मधुकुमार मरासिनी, मधुप्रसाद भेटवाल, केशवकुमार शर्मा, कुलमान घिसिङ, कुमार पाण्डे, गोपाल खनाल र खड्गबहादुर विष्ट छन् । कुमार पाण्डे निजी क्षेत्रका प्रतिनिधि हुन् र गोपाल खनाल नागरिक समाजका प्रतिनिधि हुन् । यी कर्मचारी, विज्ञ र ‘नागरिक’ हरूको चमकधमक आज जति नै तेजिलो भए पनि इतिहासले यिनलाई कठघरामा राख्नेछ । एकथरी वकिल पुरानै कानुन वा प्रचलनअनुसार एमसीसी सम्झौता भएको झ्याली पिट्दै छन् । नेपाली कानुन र सन्धि सम्झौताको इतिहास त्यति गतिलो छैन । सुगौली सन्धिदेखिको अन्तर्राष्ट्रिय प्रचलन मान्दै जाने हो भने देश रसातलमा जाकिनेछ । अर्कोतिर अङ्क खेलाउँदै एमसीसीलाई सुनको चरो देखाउन आज विज्ञहरूले बुद्धि घोटिरहेका छन् । सोझा जनतालाई ‘हो कि’ भन्ने बनाइरहेका छन् । अङ्कहरू आजभोलि इन्द्रजालजस्ता भएका छन् भनी पश्चिमा अङ्कशास्त्रीहरू भन्छन् । कुनै बेला इन्द्रजाल रचेर शासकहरूले जनतालाई कायल पार्थे, आज अङ्कजाल रचेर जनतालाई लठ्याउँछन् ।
अङ्ककै कुरा गर्ने हो भने पनि एमसीसीले नेपालमा सुनैको जलप लगाउने होइन । त्यसो त एमसीसीले दिने ५० करोड डलर अरबौँ र खरबौँको घोटाला हुने नेपालमा त्यति ठूलो रकम होइन । त्यसमाथि नेपाली जनताकै खुनपसिना काटेर त्यसमा १३ करोड लगाइने चर्चा छ । यस्ता विदेशी आयोजनाहरूको ८० प्रतिशत रकम विदेशीहरूले नै लिएर जाने कुरा विज्ञ राजदास श्रेष्ठले एक कार्यक्रममा बताउनुभयो । उहाँले एउटा रोचक घटना बताउनुभयो । एकताक उहाँ कीर्तिपुरमा काम गर्नुहुन्थ्यो । उहाँको कोठानजिकै एउटा ‘भाषा अध्ययन संस्थान’ नामक अमेरिकी संस्था थियो । नेपालको हिमाली भेगमा खम्पा विद्रोहीहरूले डेरा जमाउँदा सो संस्थामा रहस्यमय घटनाहरू देखिए । भाषा अध्येताको नाउँमा अमेरिकी सेनाहरूको चलखेल बढ्यो । तिनको सामानको सुरक्षा जाँच गरिन्नथ्यो । तिनले पछि स्वयम्भूनजिकै एउटा हेलिप्याड बनाए र खम्पाहरूलाई हतियार आपूर्ति गर्न थाले । यो हो अमेरिकी शैली । एउटा अंलग्न देशमा त अमेरिकीहरूले गुप्तचरी र सैन्य चलखेल गर्नसक्छन् भने संसदमार्फत एमसीसी अनुमोदन भयो भने उनीहरूले कुन ताण्डव नाच्ने होलान् । कल्पना गर्दा पनि कहाली लाग्छ ।
तत्कालीन प्रम ओलीको ‘असंंवैधानिक’ कदमपछि नेपालमा ‘सेलिब्रिटी आन्दोलन’ ले ठूलो आकार लियो । नागरिक अगुवाहरूले पूरै उत्साह र उमङ्गसाथ माइतीघर मण्डलामा झन्डा, ब्यानर र प्लेकार्ड बोक्नु दैनिक समाचार बन्यो । उनीहरूले त्यतिबेलै नेपाली समाजमा विभेद देखे, राज्य यन्त्रमा निरङ्कुशता देखे र संविधानमा आस्था प्रकट गरे । तर, नेपाली संविधान नै मिचेर देशको छातीमा अमेरिकी बुट बजार्न एमसीसीका मतियारहरू जुरुकजुरुक गरिरहँदा नागरिक अगुवाहरू कुन दुलामा लुकेर बसेका छन् ? बाह्र–सत्ताइस बक्दै बुरुकबुरुक गर्ने विद्वान बबुराहरूको मुखमा किन बुजो लाग्दै छ ? कतै गोपाल खनाललाई नै उनीहरूले आफ्नो प्रवक्ता र प्रतिनिधि मानेका त होइनन् ? शान्तिप्रेमी सर्वसाधारण र पाठकहरू प्रश्न गर्दै छन् ।
को देशभक्त हो, को दलाल हो ? छुट्याउने सजिलो काइदा छ । सडक र सदनमा एमसीसीविरुद्ध जो छन्, ती देशभक्त हुन् । दलालको हकमा थोरै मिहिनेत गर्नुपर्छ । हिजो देशभक्ति र जनभक्तिबारे ठूलाठूला कुरा गर्ने बुद्धिजीवी, पूर्वसचिव, अधिवक्ता, पत्रकार, सांसद, समाजसेवी, सन्तमहन्त को को चुप छन् ? दैनिक अखबार वा टीभी हेरेर त्यसको लगत राख्ने । तिनले कहाँ पढेका हुन् वा कुन सङ्घसंस्थामा काम गर्छन्, हेर्ने । त्यहाँ कसको लगानी थियो वा छ भनी बुझ्ने । त्यसपछि तिनका जहान, छोराछोरी कहाँ पढ्छन्÷पढे वा जागीर गर्छन् भनी अर्को सूची बनाउने । यति गरेपछि पूरा हिसाब निस्किन्छ । एमसीसी पास गर्न दिनै हुन्न । तर, त्यसअघि जहाजमा प्वाल पार्ने र गुहार नभन्ने को–को हुन् भनी चिन्नैपर्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *