भर्खरै :

आतङ्कवादविरोधी युद्धमा संरा अमेरिकाको नमिल्ने हिसाब

सन् २००१ को सेप्टेम्बर ११ को दिन म न्यु योर्कमै थिएँ । त्यो दुःखद दिनको बिहान म तल्लो म्यानहटनमा थिएँ । विश्व व्यापार केन्द्रबाट त्यो ठाउँ केही घरमात्र पर छ । विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवनको उत्तरी भवनमा बोइङ ७६७ गएर ठोकिएको दृश्यको म संयोगवश प्रत्यक्षदर्शी थिएँ । उत्तरी भवनमा विमान ठोकिएको केही मिनेटमै अर्को बोइङ विमान आएर दक्षिणी भवनमा गएर ठोकिएको थियो । दुई विशाल भवन ध्वस्त भएको दृश्य हलिउड चलचित्रको कुनै महाविनाशको दृश्यजस्तै थियो । मानिसहरू चारै दिशामा भागाभाग गरिरहेका थिए । बाक्लो धुलोको मुस्लो चारैतिर फैलिरहेको थियो । सहरका सडकमा भवनका टुक्राहरू खसिरहेको थियो । दमकलको कर्कश आवाज एकनाश बजिरहेको थियो । एम्बुलेन्सको साइरन र कारको हर्नले नराम्ररी घाइते भएको महानगरको बिहानी हावालाई अझ नमीठो बनाइदिएको थियो ।
सुरुमा मलाई जे भयो, त्यसप्रति पत्यार नै लागेको थिएन । त्यसपछि मलाई डर लाग्न थाल्यो र अनि गहिरो दुःख अनुभव भयो । संसारभरका धेरै मानिसहरूले जस्तै मैले पनि आफूलाई न्यु योर्क सहरको बासिन्दा अनुभव गरेँ । अमेरिकी समाजमा उर्र्लिएको आक्रोश र आत्मस्वाभिमानी भावनाले मेरो मन पनि भरियो । यस्तो भयानक आतङ्कवादी हमला गर्ने दोषीलाई सजाय दिनैपर्छ भन्ने मलाई लाग्यो । यो अपराधबापत बदला होइन, प्रतिशोध लिइनुपर्ने मलाई लाग्यो । संरा अमेरिकाले तत्कालै घोषणा गरेको ‘आतङ्कवादविरोधी युद्ध’ प्रति अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नु कुनै आश्चर्यको कुरा पनि थिएन । बरु न्यायपूर्ण विषयमा वाशिङ्टनलाई साथ दिन पनि अन्तर्राष्ट्रिय समुदाय तत्पर बन्यो ।
बीस वर्षपछि आज ‘आतङ्कवादविरोधी युद्ध’ को परिणाम मिश्रित खालको छ । एकातिर सन् २००१ को सेप्टेम्बरयता संरा अमेरिकामा जति आतङ्कवादविरोधी ऐन बन्यो, त्यत्ति विगतमा कहिल्यै बनेको थिएन । अनि तिनै कानुनका आधारमा गरिएका कारबाहीको पीडित पनि अभूतपूर्वरूपमा बढ्यो । त्यसको अर्थ संरा अमेरिकामा आतङ्कवादी हमला पूर्णतः उन्मूलन भएको भने होइन । अमेरिकामा आतङ्कवादी हमलाको खतरा अझै घटेको छैन । तर, मध्यपूर्व, उत्तर अफ्रिका वा दक्षिण एसियाको त कुरा छोडौँ, युरोपको तुलनामा संरा अमेरिकीहरू भने केही सुरक्षित अनुभव गरिरहेका छन् ।
अर्कोतिर आतङ्कवाद सखाप पार्न विदेशी भूमिमा संरा अमेरिकी सैनिक परिचालनबाट सुरुमा गरिएको अपेक्षाको तुलनामा अहिले निकै घटेको छ । इराक, लिविया, लाइबेरिया, पाकिस्तान, यमन र सिरियालगायत देशको लामो शिलशिलाबी अफगानिस्तानको पछिल्लो दृश्य एउटा विस्तृत चित्रण बनेको छ । राष्ट्रपति बाराक ओबामाले आतङ्कवादविरोधी युद्ध सकिएको सन् २०१३ को मे महिनामा नै घोषणा गरे पनि अन्तर्राष्ट्रिय आतङ्कवाद भने अझै पूर्णतः पराजित भएको छैन । आतङ्कवादविरोधी युद्धले पूर्णतः विजय हासिल गर्न सकेको छैन । त्यसका साथै सन् २००१ को सेप्टेम्बरभन्दा फरक आज अन्तर्राष्ट्रिय समुदाय यो विश्वव्यापी चुनौती सामना गर्ने विषयमा वाशिङ्टन वरपर एकगठ बनेको छैन ।
संरा अमेरिकी रणनीतिमा खास समस्या के भयो त ?
संरा अमेरिकी नीतिको पहिलो प्रस्ट कमजोरी भनेको निर्णय प्रक्रियामा देखियो । आतङ्कवादसहित प्रमुख अन्तर्राष्ट्रिय समस्या समाधानको निम्ति वाशिङ्टनले विशुद्ध बहुपक्षीय उपाय प्रयोग कहिल्यै गरेको छैन । सन् २००३ मा संरा अमेरिकाले इराकमाथि कारबाहीको एकपक्षीय निर्णय ग¥यो । उसले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्लाई बेवास्ता ग¥यो । नाटो गठबन्धनको उपयुक्त निकायसँग पनि यो निर्णय गर्न समन्वयको आवश्यकता बोध गरेन । अफगानिस्तानबाट संरा अमेरिका फिर्ता हुने निर्णय र कार्यान्वयन पनि उसले प्रस्टतः एक्लै ग¥यो । यसले बहुपक्षीयताप्रति बाइडेन सरकारको सार्वजनिक प्रतिबद्धताप्रति प्रश्न उठेको छ ।
दोस्रो, संसारका समस्याग्रस्त भागमा संरा अमेरिकी नीतिमा स्थिर र रणनीतिक दृष्टिकोणको अभाव देखिन्छ । ओबामाको कामलाई ट्रम्पले सम्पूर्णतः परिवर्तन गर्ने वा संशोधन गर्ने प्रयास गरे । बाइडेनले पनि अहिले ट्रम्पका काममा त्यसरी नै परिवर्तन र संशोधन गर्न खोजिरहेका छन् । आतङ्कवादको विरोध र विद्रोहको विरोधबीच रहेको सीमा रेखालाई मेट्ने प्रयास भएको छ । त्यस्तै विद्रोहको विरोध र राज्य निर्माणबीचको सीमा रेखालाई पनि मेट्ने प्रयास भइरहेको छ । परिणामतः संरा अमेरिकाले अहिले भरपर्दो साझेदारहरू गुमाइरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उसले विश्वासिला मित्रहरू गुमाइरहेको छ । उदाहरणको लागि, इराक र सिरियामा अमेरिकी सैनिक उपस्थिति, इरानसँग भएको संयुक्त विस्तृत सम्झौतामा संरा अमेरिका पुनः सामेल हुने लगायत मध्यपूर्वमा संरा अमेरिकी रणनीतिको भविष्य पूर्वानुमान गर्न नै निकै कठिन छ ।

आत्मस्वाभिमानी भावनाले मेरो मन पनि भरियो । यस्तो भयानक आतङ्कवादी हमला गर्ने दोषीलाई सजाय दिनैपर्छ भन्ने मलाई लाग्यो । यो अपराधबापत बदला होइन, प्रतिशोध लिइनुपर्ने मलाई लाग्यो । संरा अमेरिकाले तत्कालै घोषणा गरेको ‘आतङ्कवादविरोधी युद्ध’ प्रति अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नु कुनै आश्चर्यको कुरा पनि थिएन । बरु न्यायपूर्ण विषयमा वाशिङ्टनलाई साथ दिन पनि अन्तर्राष्ट्रिय समुदाय तत्पर बन्यो ।

तेस्रो, अरूका संस्कृति र मूल्यमान्यतालाई संरा अमेरिकाले अपूर्ण सामाजिक र राजनीतिक आधुनिकीकरणको प्रारुपको रूपमा लिने गरेको छ । संरा अमेरिकी राजनीतिक सिद्धान्त, आर्थिक ढाँचाको विश्वव्यापीकरण र संरा अमेरिकी जीवनशैलीलाई अझै पनि वाशिङ्टनले आतङ्कवादलगायत सबै अन्तर्राष्ट्रिय समस्याको अन्तिम समाधान मान्ने गरेको छ । आज इस्लामिक विश्व यो अन्त्यहीन प्रवचन र निर्देशनको लागि उपयुक्त स्थान मानिएको छ ।
तर, विश्व समाज आज दिनानुदिन विविधतायुक्त बनेको छ । एकरुपता कमजोर बन्दै गएको छ । यो समाजमा कसैले पनि आधुनिकतामाथि आफ्नो एकाधिकार दाबी गर्नसक्दैन । हामी पुरा विश्वासका साथ के भन्न सक्छौँ भने भविष्यको अन्तर्राष्ट्रिय प्रणालीमा संरा अमेरिकाले तुलनात्मकरूपमा सानो हिस्सेदारीमात्र पाउनेछ । बरु इस्लामिक संसार अझ फराकिलो बन्दै जानेछ । हामी सबैले अब आउने नयाँ विश्व व्यवस्थामा आफू कसरी बाँच्ने भनी सिक्न जरुरी छ ।
लेखक रुसी अन्तर्राष्ट्रिय मामिला परिषद्का महानिर्देशक हुनुहुन्छ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *