भर्खरै :

अफगानिस्तानपछिको युरोप

अफगानिस्तानबाट अमेरिका फर्किएको घटनाप्रति आलोचनात्मक बन्ने धेरै कारण छन् । काबुल विमानस्थलमा देश छोड्न आतुर अफगानीको भीडका तस्बिर कतिलाई डरलाग्दो नलागे पनि विमानस्थलमा जम्मा भएको भिडको बीचमा भएको घातक हमलाको तस्बिर पक्कै पनि अत्यासलाग्दो हुनुपर्छ । भयानक मानवीय क्षतिसहित बदनाम अफगान युद्धको अराजक र अपमानपूर्ण अन्त्य अमेरिकी नेताहरूको शिलशिलाबद्ध गलत राजनीतिक हिसाबकिताबको परिणाम हो ।
अफगानिस्तानमा पश्चिमा शक्तिको आडमा टिकेको सरकार असफल भएपछि युरोपमा भने दोषारोपण र आरोप प्रत्यारोप चलिरहेको छ । तर, अफगानिस्तानको सत्तामा तालिवानको पुनरागमनले नाटोको भविष्य र अन्तर एटलान्टिक सम्बन्धमा असुरक्षाको अवस्था अझ फराकिलो बन्दै गएको छ । यद्यपि, यो हतास मनस्थितिको कारण केही भइहाल्ने अवस्था भने तत्काल देखिन्न ।
युरोपेली सङ्घको लागि भूराजनीतिक आत्मसमीक्षा धेरै पुरानो विषय हो । युरोपको रणनीतिक स्वायत्तता सन् १९९० दशकदेखि नै चर्चामा रहेको विचार हो । युरोपेली रणनीतिक स्वायत्तताको लागि दरिलो घोषणा र आशावादी दृष्टिकोणको खाँचो छ । पछिल्ला वर्षमा यो सोचाइले अझ सान्दर्भिकता प्राप्त गरेको छ ।
यो दृष्टिकोणले मुख्यतः सुधारको माग गर्छ । त्यसमा फ्रान्सले नेतृत्व लिनुपर्छ । तर, त्यस्ता आह्वान चाँडै नै फितलो बन्दै गयो । युरोपेली सङ्घ, अझ विशेषतः नाटोका सदस्य देशहरूबीचको मतभेद अहिले पन्छाउनै नसकिने तगारो बनेको छ । रक्षा क्षेत्रमा खर्च गर्ने विषयमा उनीहरूको भिन्न सांस्कृतिक सोचाइ नै उनीहरूबीच मतभेदको लागि आंशिकरूपमा जिम्मेवार छ ।
युरोपेली सङ्घको लडाइँभूमिको नियति त्यस्तै थियो । युरोपेली सङ्घका विभिन्न सदस्य देशहरूका एकाइहरू सम्मिलित सैनिक बटालियनले सङ्घको साझा सुरक्षा र रक्षा नीतिको पालना गर्छ । यद्यपि, सन् २००७ मा ‘पूर्ण परिचालन क्षमता’ मा पुगेर पनि युरोपेली सङ्घभित्रको आन्तरिक मतभेदको कारण त्यो सैनिक बटालियन कहिल्यै परिचालन गरिएन ।
अहिले पनि अवस्था त्यस्तै छ । काबुलबाट अन्तिम उद्धार विमान उड्नुअघि युरोपेली नेताहरूले रणनीतिक स्वायत्तताको नयाँ अपिल सार्वजनिक गरे । विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली सङ्घका उच्च प्रतिनिधि जोसेफ बोरेलले (अमेरिकी) फिर्ती युरोपेली सङ्घको लागि चेतावनीको घण्टी भएको बताए । त्यसले युरोपेली सङ्घले आफ्नो सुरक्षा क्षमतामा थप लगानी गर्न र रणनीतिक क्षेत्रमा आफ्नो सोचाइ र कामको क्षमता विकास गर्न घचघच्याएको छ ।
अफगानिस्तानको असफलताले पक्कै पनि केही जोड थपेको छ । बोरेलले भनेजस्तै अफगानिस्तानबाट फर्किने समय र ढाँचा सबै कुराको निधो संरा अमेरिकाले नै गरेको हो । अर्को शब्दमा भन्दा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने र आफ्ना साझेदारहरूसँगको सम्बन्ध नवीकरण गर्ने वाचाबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नै देशको हितमात्र हेर्ने मनस्थिति त्याग्न सकेका छैनन् ।
बाइडेनले राष्ट्रपति पद सम्हाल्दै गर्दाको क्षण युरोपेलीहरूको उत्साहभन्दा फरक अहिले उनीहरू अमेरिकी आफ्ना आन्तरिक घाउ निको नभएसम्म विश्व मञ्चमा नेतृत्वदायी भूमिकामा नफर्किने वास्तविकता मनन गर्दै छन् । बाइडेन सरकारले गहिरो विभाजन भएको आन्तरिक अवस्थालाई जोड्दै ‘मध्यम वर्गको लागि विदेश नीति’ लागु गरिरहेको छ । अन्तर्राष्ट्रिय वृत्तमा अमेरिकी संलग्नता बढाउनुपर्ने विषयको वकालत गर्ने पदाधिकारीहरूको सङ्ख्या कम भएको अवस्थामा तत्कालै कुनै फेरबदल हुने देखिँदैन ।
अफगानिस्तानबाट फर्कने बाइडेन सरकारको एक्लो निर्णयले संरा अमेरिकाबाट थप विस्तृत रणनीति विच्छेदको निम्ति भइरहेको आह्वानले नयाँ जीवन पाए पनि त्यसले अफगानिस्तानबाट अराजक फिर्ताको सन्दर्भमा युरोपेली सङ्घप्रति जिम्मेवारी भने समाधान गर्न सकेको छैन । बाइडेन सरकारको अफगानिस्तानबाट फर्किने निर्णयप्रति आपत्ति जनाउने प्रशस्त अवसरहरू थिए । जुन महिनामा सम्पन्न नाटोको शिखर सम्मेलनमा उनीहरूले आपत्ति जनाउन सक्थे । तर, उनीहरूले कुनै आपत्ति जनाएनन् ।
कदाचित युरोपेली सङ्घले अफगानिस्तानबाट फर्किहाल्ने बाइडेन सरकारको निर्णयप्रति आपत्ति जनाए पनि उनीहरू आफ्नो प्रस्ताव पारित गराउन सक्ने अवस्थामा थिएनन् । संरा अमेरिकी समर्थनबिना युरोपेली शक्तिहरूले काबुल विमानस्थल खुला पनि राख्न सक्ने थिएनन् । युरोपेली सङ्घसँग स्वतन्त्र रणनीतिक दृष्टिकोण राख्न सक्ने क्षमता नभएको कुरामा समेत कुनै भ्रम नपाल्दा हुन्छ । त्यसो हुनुका धेरै कारण छन् । तीमध्ये एउटा कारण राजनीतिक इच्छाशक्तिको कमी हो । जसकारण युरोपेली देशहरूले सुरक्षा रणनीतिमा निकै कममात्र आर्थिक लगानी गरेको छ ।
यहाँनेर रणनीतिक स्वतन्त्रताको लागि आवश्यक ठानिएको मूल्य र वास्तविक मूल्यबारे युरोपेली नेता र मतदाताहरूको हिसाबकिताबको कुरा आउँछ । मुख्य कुरा त सोचाइ हो अनि युरोपभरि त्यो सोचाइमा धेरै ठुलो अन्तर छ । रणनीतिक स्वायत्तताको मूल्य ८ खर्ब १८ अर्ब अमेरिकी डलर प्रतिवर्ष हो । यो भनेको नाटोको वार्षिक बजेट १० खर्ब डलर र सन् २०१९ मा युरोपेली सङ्घले रक्षा क्षेत्रमा खर्च गरेको बजेटबीच अन्तर हो ।
अहिले युरोपेली सङ्घले यति पैसा तिर्नसक्ने अवस्था छैन । सन् २०२१–२७ को बजेटमा युरोपेली सङ्घले सुरक्षा र रक्षाको लागि १५ अर्ब ३० करोड अमेरिकी डलर विनियोजन गरेको छ । खास रणनीतिक स्वायत्तता हासिल गर्न युरोपेली सङ्घले आगामी वर्षहरूमा थप राजनीतिक इच्छाशक्ति देखाउन पर्नेछ । बसाइ सराइको अर्को लहर र अफगानिस्तान फेरि पनि आतङ्कवादको अर्को केन्द्र बन्ने अवस्थामा मात्र युरोपेली नेताहरूले यतातिर विचार गर्ने सम्भावना देखिन्छ । बसाइ सराइ र अफगानिस्तानमा आतङ्कवादको पुनरोदय हुने अवस्थामा युरोपको सीमा सुरक्षा, राजनीतिक स्थायित्व र मानवीय प्रयोजनको परीक्षण हुनेछ ।
जुनसुकै अवस्थामा पनि वास्तविक रणनीतिक स्वायत्तता अल्पकालीन सम्भव लक्ष्त्र्न्दा दीर्घकालीन आदर्श बन्ने देखिन्छ । सौभाग्यवश युरोपेली सङ्घले संरा अमेरिकासँग सुरक्षा सहकार्य बढाएरमात्र थप स्वायत्तता हासिल गर्नसक्ने अवस्था छ । अमेरिकाले आफ्नो समस्यालाई मात्र प्राथमिकतामा राख्ने अवस्था भए पनि चीन वा रुसलाई निशाना बनाउने प्रयोजनमा भने दुवै (संरा अमेरिका र युरोपेली सङ्घ)को साझा रणनीतिक चासो छ । युरोपेली सङ्घले संरा अमेरिकालाई यो कुरा राम्ररी सम्झाउनुपर्छ अनि उसलाई एक्लै हिँड्ने बाटोबाट तान्नुपर्छ ।
युरोपेली सङ्घ अहिले ‘रणनीतिक ध्रुव’ नामको सुरक्षा र रक्षा मार्गचित्र कोर्ने क्रममा यो कुरालाई भुल्नु हुन्न । म्याडरिडमा आगामी जून महिनामा हुने नाटो शिखर सम्मेलनअघि र त्यत्तिबेला यही दृष्टिकोणमा आधारित रहेर काम गर्नुपर्छ । नाटोको आगामी सम्मेलनमा नाटोको लक्ष्य र उद्देश्य समाहित हुने ‘रणनीतिक अवधारणा’ संशोधन गर्ने कार्ययोजना छ ।
अन्ततः युुरोपले आफ्नो बजेटको प्राथमिकतामा पुनःसमायोजन नगर्दासम्म आफ्नो आर्थिक शक्तिलाई मिल्दो भूराजनीतिक प्रभाव र वैदेशिक नीतिमा आफ्नो महत्व बढाउन सक्नेछैन । त्यसको निम्ति उसले लोककल्याणकारी कामबाट लगानी निकालेर अन्यत्र खर्च गर्नुपर्नेछ । युरोपेली जनता यसरी लोककल्याणकारी कामबाट खर्च कटौती गर्ने कामलाई स्वीकार्नेछन् वा स्वीकार्ने छैनन्, त्यो भने भविष्यकै गर्भमा छ ।

(लेखक स्पेनका पूर्वपरराष्ट्र मन्त्री हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *