हो चि मिन्हको “जेल डायरी”
- जेष्ठ १२, २०८३
रातको करिब दस बजिसकेको थियो । म डायरी पल्टाएर दिनभरिको कार्यको समीक्षा गर्दै भोलिको वडा कार्यालयको कार्यतालिका डायरीमा लेख्दै थिएँ । यत्तिकैमा मेरो मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो । मैले रात धेरै छिपिसकेकोले फोन उठाउने चासो देखाइनँ । तर उही नम्बरबाट फेरि दोहोरो कल आयो । राति फोन कि त प्रहरीको आउँछ कि त पारिवारिक झगडाको फोन आउँछ । राति फोन आएपछि अलिअलि डर पनि लाग्दछ । दिउँसोको फोनकल जत्ति सहज हुन्छ, रातको फोन त्यत्ति सहजखालको हुने गर्दैन । ‘अनुभवले मानिसलाई परिपक्व बनाउँछ’ भनेको साच्चै हो रहेछ । त्यही भएर हतपत्त रातको कल पहिलो कलमै त्यत्ति उठाउने बानी छैन । त्यस दिन पनि त्यही अनुमान गरेर मैले कल रिसिभ गरिनँ । तर, फोन आइरह्यो । धेरै कल आएपछि यो पक्कै इमर्जेन्सी भयो होला भनी रिसिभ गरेँ । फोनमा एक अपरिचित व्यक्तिको आवाज आयो । त्यस अपरिचित व्यक्तिले फोनमा भन्नुभयो, “नमस्कार वडाध्यक्षज्यू, राति फोन कल गरेर दुःख दिएकोमा माफ पाउँ । तर, विषय नै यस्तै परेर तपाईँलाई राति कल गरेको हुँ । भोलि तपाईँको वडा कार्यालयमा एउटा सुवाल परिवारको नामसारीको सिफारिस लिन फाइल आउँदै छ । त्यसमा तपाईँलाई सिफारिस नदिनको लागि सचेत गराउन फोन कल गरेको हुँ । त्यो फाइल हाम्रै टोलको एक मन्दिरको नाममा रहेको जग्गाको हो । तर, पुर्जामा त्यस्तो केही नलेखिएकोले तपाईँ झुक्किएर सिफारिस दिनुहोला कि भनी राति कल गरेको हुँ । त्यस पुर्जाको फिल्डबुक निकालेर हेर्नुभयो भने कैफियतमा मन्दिरको नाम छ । त्यसैले तपाईँले फिल्डबुक हेरेरमात्र सिफारिस दिनुभयो भने राम्रो होला । मठ मन्दिरको सम्पत्ति जोगाउनु तपाईँको कर्तव्य हो । त्यसैले सिफारिस रोकी मन्दिरको जग्गा हो कि होइन राम्ररी जाँचबुझ गरिदिनुहुन अनुरोध गर्दछु ।”
मैले त्यस अपरिचित व्यक्तिलाई जवाफ फर्काएँ, “तपाईँले यत्ति राति कल गरी मलाई यस्तो महत्वपूर्ण जानकारी गराउनुभएकोमा धन्यवाद छ । तपाईँ को बोल्नुभएको ? कहाँबाट बोल्नुभएको हो ? यत्ति फोन कलको भरमा सिफारिस रोक्न त गाह्रो हुन्छ । तपाईँ भोलि कित्ता र क्षेत्रफल उल्लेख गरी लिखितरूपमा एउटा उजुरी लिएर आउनुस् । नत्र तपाईँको फोन कलको भरमा सिफारिस रोकिँदैन ।”
उहाँले नम्र स्वरमा भन्नुभयो, “म को र कहाँबाट फोन गरेको त्यत्ति महत्वपूर्ण विषय होइन वडाध्यक्षज्यू । महत्वपूर्ण कुरा त मठ मन्दिरको जग्गा बचाउनु आवश्यक छ कि छैन भन्ने हो । मैले तपाईँलाई जानकारी गराएँ । बाँकी कुरा तपाईँ हेरेर गर्नुहोला ।” यत्ति भनेर त्यस व्यक्तिले फोन राख्नुभयो ।
घरायसी कार्यव्यस्तताले आज अलि ढिलो वडा कार्यालय पुगेँ । खाना खाएर वडा कार्यालय पुग्दा सेवाग्राही वडावासीहरू धेरै जम्मा भइसकेका थिए । आफू ढिलो भएकोमा वडावासीसँग क्षमा माग्दै म वडा कार्यालयभित्र छिरेँ । मानिस धेरै भएकाले सोफामा मात्र अटेनन्, ढोका बाहिरको मेचमा पनि बसे । म कुर्सीमा मात्र के बसेको थिएँ एक जना भलाद्मीजस्तो देखिने व्यक्ति मेरो टेबुलसम्म आएर आफूलाई हतार भएकोले छिटो तोक लगाइदिन अनुरोध गर्न थाले । मैले त्यस व्यक्तिको अनुहार हेरेँ र भनेँ, “होइन, तपाईँ कस्तो मान्छे होला । तपाईँको अगाडि कति जना मान्छे कुरिरहेका छन् । कमसेकम आफ्नो पालो त आउन दिनुहोस्न । पछाडिको मान्छे एकैचोटि अगाडि आएर सिफारिस हतार भयो भनी आउन मिल्छ र ? तपाईँ अलि कुर्नुुस् । पहिला म बुढा बाको कुरा सुन्छु ।”
मेरो कुरा नटुङ्गिदै उहाँले भन्न थाल्नुभयो, “मेरो फाइलमा सबै कागज पुग्छ । तपाईँले हेर्नै पर्दैन । तल सचिवले सबै हेरिसकेको फाइल हो । तपाईँको तोक आदेशमात्र भए पुग्छ । त्यही भएर म पछाडि परेको भए पनि अगाडि आएको हुँ । जम्मा तीस सेकेन्डको काम त हो नि ।”
मेरो अगाडि बस्ने बुढा बाले पनि “हुन्छ, गरिदिनुस् बाबु सिफारिसमात्र गर्ने भए कति समय लाग्ने हो नि” भन्नुभयो । बुढा बाको अनुमति पाएपछि मैले त्यस व्यक्तिको फाइल पल्टाएँ र तोक लगाउन सुरु गर्नै लाग्दा अग्रज पार्टी कार्यकर्ताहरूले समय समयमा भनेको कुरा याद आयो । कोही मान्छे वडामा हतार भयो भनी सिफारिस लिन आयो भने त्यस्तो व्यक्तिमा पक्कै कैफियत हुन्छ र त्यही भएर त्यस्ता व्यक्तिदेखि सचेत हुनुपर्छ भनेको सम्झेँ । मैले फाइलको सबै कागज हेरेँ । फाइलमा निवेदन र निवेदनअनुसार नागरिकता, मालपोत रसिद, घर मूल्याङ्कन, नापीनक्सा, पुर्जा सबै रहेछ । फाइलमा त्यस्तो सचेत हुनुपर्ने खालको केही थिएन । सबै कागज पूरा थियो । फेरि अचानक हिजो राति आएको एक अपरिचित व्यक्तिको फोन कल सम्झेँ । अनि तोक नलाइकनै फाइल बन्द गरेर मैले त्यस व्यक्तिलाई सोधेँ, “हिजो राति एक अपरिचित व्यक्तिले मलाई सुवाल परिवारको फाइल आउँछ, तपाईँ जाँचबुझ गरेरमात्र सिफारिस दिनुहोला भन्नुभएको थियो । पक्कै यही फाइल हो यो । त्यसैले तपाईँ यो फाइल छोडेर जानुस् । एक हप्तापछि वडामा सम्पर्क गर्नुहोला । त्यत्ति बेलासम्म यस निवेदनमा उल्लेख भएको जग्गाबारे बुझेर हेर्छु । यो जग्गा त मन्दिरको नामको होे भन्छ तर पुर्जामा त तपाईँको देखिन्छ । म फिल्डबुक झिकाएर हेर्छु । तपाईँ अहिले जानुहोस् ।”
त्यत्ति भनिसकेपछि त्यस व्यक्तिको अनुहार रातोपिरो देखियो र बोली लर्वराएर भन्न थाल्यो, “होइन होइन यो मन्दिरको जग्गा होइन । यो मेरो पुख्र्यौली जग्गा हो ।”
मैले त्यसपछि जवाफ दिएँ, “ठिक्कै छ तपाईँको पुख्र्यौली जग्गा भए पनि वडाध्यक्षलाई एक पटक जाँचबुझ गर्ने मौका त दिनुस् । फिल्डबुकबाट तपाईँको हो होइन भन्ने सबै थाहा भइहाल्छ नि ।”
यत्ति भनेपछि उनी केही नभनी वडा कार्यालयबाट गए । त्यसलगत्तै कार्यालय सहायकलाई बोलाई यस फाइलमा उल्लेखित कित्ताजग्गा सबैको फिल्डबुक लिएर आउन निवेदनका साथ मालपोत कार्यालयमा जान निर्देशन दिएँ ।
शुक्रबारको दिन थियो । वडामा निर्वाचित समितिको नियमित बैठक थियो । बैठकको एजेन्डामा सुवाल परिवारको नामसारीको फाइलमा सिफारिस दिने नदिने पनि थियो । बैठकको सुरुमै मैले त्यस फाइलको विषयमा जनप्रतिनिधिहरूलाई ब्रिफिङ्ग गरेँ । राति फोनकल आएको देखि लिएर त्यस व्यक्तिको रातोपिरो अनुहारको कुरा अनि मालपोत कार्यालयमा फिल्डबुक झिकाउँदा मन्दिरको जग्गा भनी कैफियतमा उल्लेख भएको कुरासम्म मैले सबै भनेँ । साथीहरूले सिफारिस हाललाई रोकी सम्बन्धित मान्छेसँग मन्दिरलाई जग्गा दिनको लागि अनुरोध गर्ने सल्लाह दिए । मैले त्यसअनुसार सम्बन्धित मान्छे आएमा कुरा राख्ने प्रतिबद्धता जनाएँ । साथै अरू विषयहरूमा पनि छलफल गरी बैठक समापन गरेँ ।
समय बित्दै गयो । उक्त मान्छे सिफारिस लिन आएन । मेरो पनि कार्यव्यस्तताले गर्दा त्यस फाइलको विषयमा बिर्सेँ । त्यस बिचमा त्यो मन्दिरको जग्गा हो कि व्यक्तिको हो भन्ने सम्बन्धमा कुरा उठेन । धेरै महिनापछि फेरि राति अपरिचित कल आयो । मैले धेरै पटक कल आएपछि रिसिभ गरेँ । त्यस अपरिचित व्यक्तिले फोनमा भन्नुभयो, “वडाध्यक्षज्यू, नमस्कार । तपाईँलाई धेरै धेरै धन्यवाद छ, मन्दिरको जग्गा बचाई दिनुभएकोमा । तपाईँको काम देखेर हामीलाई गर्व लागेको छ । तर वडाध्यक्षज्यू, त्यस व्यक्तिले तपाईँको सिफारिसविना नै मालपोतका कर्मचारीहरूसँग मिलेमतो गरेर गोरखापत्रमा ३५ दिने सूचना निकालेको छ । यसरी सूचना निकाली आफ्नो नाममा नामसारी गरी त्यही जग्गा बेच्न लागेको छ । फेरि एकचोटि तपाईँले अस्ति सिफारिस रोकेजस्तै वडाबाट पत्र लेखी मालपोतमा गई रोक्का राखिदिनुप¥यो । मेरो कुरा विश्वास लागेन भने आजको गोरखापत्रको पेज नं. ४ मा हेर्नुहोला । ३५ दिने सूचना आएको छ । तपाईँले पत्र लेख्नुभयो भने पक्कै मालपोतको हाकिमले सिफारिस रोक्छ । होइन भने मिलेमतो गरेर सबै जग्गा मन्दिरलाई बाँकी नराखी बेच्लाजस्तो छ । मालपोत र त्यहाँका कर्मचारीहरूको केही भरोसा छैन । भक्तपुर नगरपालिकाजस्तो होइन ।”
यत्ति भनेबित्तिकै फोन काट्यो । मैले फेरि फोन लगाउन प्रयास गरेँ तर लागेन । यो पक्कै पहिले फोन गर्ने अपरिचित व्यक्ति नै हो भन्ने लाग्यो । मैले तुरुन्त अनलाइनमा गोरखापत्रको वेबसाइट खोलेँ र पेज नं. ४ हेरेँ । साँच्चिकै ३५ दिने सार्वजनिक सूचना आएको रहेछ । सूचना पढेपछि मलाई त्यस सिफारिस लिन आउने भलाद्मी व्यक्तिको अनुहार याद आयो । मनमा विभिन्न भावनाहरू तरङ्गित भए । हाम्रो समाज र समाजमा बस्ने मानिसहरूको स्तर र संस्कार कतिसम्म तल झरिसक्यो भने आभास हुनथाल्यो । मठ मन्दिरको जग्गा पनि नामसारी गरी बेच्ने हो र ? पैसाको लागि मानिसहरू कतिसम्म तल गिर्दोरहेछ ? यी सबै विकृतिहरू पुँजीवादी व्यवस्थाका विकृतिहरू हुन् । पुँजीवादी व्यवस्थामा पैसाविना केही नहुने भएकोले मठ मन्दिरको नाममा रहेको जग्गासमेत व्यक्तिले आफ्नो निजी स्वार्थको लागि बेच्न खोज्दोरहेछ । जबसम्म देशमा समाजवादी व्यवस्था आउँदैन, तबसम्म मानिसहरू पैसाको पछाडि दौडिरहन्छन् र यस्ता विकृतिहरू आइरहन्छन् । त्यसैले, यस्ता विकृतिहरूको अन्त्य गर्ने अचुक उपाय भनेको देशमा समाजवादी राजनैतिक प्रणाली ल्याउनु हो ।
भोलिपल्ट जनप्रतिनिधिहरू र स्थानीय दाफाभजनका व्यक्तिहरू लिएर लिखित निवेदनका साथ म मालपोतको हाकिमलाई भेट्न गएँ । मैले गोरखापत्रमा छापिएको विज्ञापनसहितको सिफारिस रोक्का निवेदन दर्ता गराएँ र हाकिमलाई त्यस जग्गा मन्दिरको भएकोले कुनै पनि हालतमा प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेँ । तपाईँले प्रक्रिया अगाडि बढाएमा वडावासी सबै तपाईँको अफिसमा धर्ना बस्न आउन सक्ने चेतावनी पनि दिएँ । दाफा भजनका अग्रजहरूले पनि हाकिमलाई त्यस व्यक्तिको नाममा नामसारी नगरिदिन अनुरोध गरे, कतिले अलि कडा भाषामा नामसारीको सिफारिस नदिन चेतावनी पनि दिए ।
हाकिमले आफ्नो क्षेत्राधिकारको कुरा निकाल्दै भन्नुभयो, “म कुनै पनि हालतमा सिफारिस दिन्न । मन्दिरको जग्गा हो कि व्यक्तिको हो भनी निर्णय दिने आफूलाई अधिकार नभएकोले जिल्ला अदालतमा निर्णयार्थ पठाइदिने उनले बताए । त्यसपछि हामी मालपोतबाट तारिख लिएर वडा कार्यालयमा फर्कियौँ ।
Leave a Reply