देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्ने
- जेष्ठ १२, २०८३
‘बाह« वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमुनि राख्दा पनि बाङ्गाको बाङ्गै’ भन्ने नेपाली उखान नसुन्ने को होला र ! जति सुधार्न वा बनाउन खोज्दा पनि जस्ताको तस्तै रहने कसैलाई पनि यो उखान लागू हुन्छ । नेपालका शासक दलहरूको सन्दर्भमा पनि यो उखान यतिखेर ठ्याक्कै जचेको छ । पालोमात्र फेरिएको छ । तर, शासक दलहरूको खास चरित्रमा हेरफेर देखिएको छैन । उनीहरू सबै मौका नपाउँदासम्म इमानदार बन्ने गरेका छन् ।
प्रतिपक्षले फरक प्रसङ्गमा गरेको संसद् अवरोधको कारण सरकारलाई ‘बजेट होलिडे’ अर्थात् सरकारले पैसा खर्च गर्न नपाउने भएको छ । अर्थमन्त्रीले प्रस्तुत गरेको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्ष एमालेले एकीकृत समाजवादी दलमा आबद्ध भएका आफ्ना पूर्वसांसदहरूलाई कारबाहीको माग गर्दै संसद् अवरोध गरेपछि पारित हुन सकेन । फलतः सरकार अब सीमित क्षेत्रमा बाहेक कहीँ पनि दैनिक खर्चसमेत चलाउन नसक्ने भएको छ । कानुनविद्हरूका अनुसार अब पेश्की बजेट ल्याएरमात्र सरकार अघि बढ्नसक्ने अवस्था बनेको छ ।
शासक दलहरूले पालैपालो एकअर्कासँग रिस साँध्ने काम गर्दा देश र जनता चेपुवामा पर्दै आएका छन् । नेताहरूको जुँगाको लडाइँको कारण उसै त कोभिड–१९ महामारीको कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्र अझ अक्करको भीरमा फस्दै छ । यो समस्या समाधान गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ । सरकारको हात खुट्टा बाँध्दा जनताको जीवनमा समस्या आउने अवस्था बन्नु हुन्न ।
नेपालको राजनीतिक इतिहासमा सभामुखको भूमिकाबारे पटक – पटक बहस हुने गरेको छ । नेका नेता रामचन्द्र पौडेल, तारानाथ रानाभाट सभामुख रहँदा पदअनुसार निष्पक्ष व्यवहार नगरी आफ्नो दलको पक्षमा निर्णय गर्दा बारम्बार आलोचना भएको थियो । अहिले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विषयमा पनि एमालेले प्रश्न उठाइरहेको छ । सभामुखले संसद् सुरु गर्ने विषयमा आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन । एमाले नेताहरू सापकोटा सभामुख पदको लागि अनुपयुक्त भएको भन्दै निषेधको व्यवहार गर्दै आएको छ । संसद्भित्र छलफल र बहस गर्नुपर्ने धेरै विषय थाँती रहेको अवस्थामा शासक दलका नेताहरूबीचको यस्तो अहम्वादी भूमिकाले घाटा नेपाली जनतालाई भइरहेको छ ।
लोकतन्त्र शब्दभन्दा पनि व्यवहार र राजनीतिक संस्कार हो । लोकतन्त्र स्थापना ग¥याँै, तर हाम्रा शासक दलहरूमा अझै पुरातन चिन्तन कायम हुँदा लोकतन्त्रको खास कार्यान्वयन हुन सकेको छैन । बरु, नेपाली जनताले फाल्न चाहेका पञ्चायतकाल र बहुदलकालका राजनीतिक विकृति फेरि फेरि फरक अनुहार र दलमार्फत व्यक्त हुँदै आएको छ ।
लोकतन्त्र बहस र संवादमा विश्वास गर्ने राजनीतिक प्रणाली हो । तर, हिजो एमाले सत्तामा छँदा माओवादी र काङ्ग्रेसले सदन अवरोध गर्ने र अहिले काङ्ग्रेस–माओवादी सरकारमा हुँदा एमालेले सदन अवरोध गर्नुपर्ने होडबाजीले देशको राजनीति अझ पनि लोकतन्त्रको मूल मर्मबाट निकै पर रहेको छनक देखिंदै छ । यस्तो अवस्थाले वास्तवमै नेपालका शासक दलहरूले समयले सिकाएको पाठ सिक्न सकेका छैनन् भन्ने बोध हुन्छ । सत्ता र पैसाको दुरुपयोग गरी फेरि पनि चुनावमा जित्न विश्वासको कारण शासक दलहरू जे गर्न पनि पछि नपरेका हुन् । ‘चुनावमा आउने हामी नै हौँ’ भन्ने घमण्डको कारण शासक दलहरू राजनीतिको मूल बाटोबाट अन्यत्र दौडिएर देशलाई अराजकताको बाटोमा पु¥याउन खोजिरहेको अनुभव हुन्छ ।
Leave a Reply