भर्खरै :

उपनिवेशको जालो

सन् १९४७ को फेब्रुअरी २० को दिन बेलायतका तत्कालीन समाजवादी प्रधानमन्त्री क्लिमेन्ट अटालीले बेलायतको संसदमा घोषणा गरेका थिए – “सन् १९४८ को जुन महिनाभन्दा ढिला नहुने गरी भारत स्वतन्त्र हुनेछ ।” भारतमा लामो समयदेखि हिन्दू र मुसलमान नेताहरू स्वतन्त्रताको लागि लडिरहेका थिए । भारतबाट बेलायतलाई फर्काउन अटाली आतुर थिए । तर, भारत भने हिंसात्मक अस्थिरताको दलदलमा फस्दै गइरहेको थियो । मुसलमानहरू हिन्दूहरूले प्रभुत्व जमाउलान् भनेर डराएका थिए । भारतमा सम्भावित गृहयुद्ध चर्किए बेलायतको नियन्त्रणभन्दा बाहिर जाने भयले अटालीले सकेसम्म चाँडै बेलायती शासन अन्त्य गर्न चाहेका थिए ।
सन् १९४७ को अगस्त १४ मा भारत स्वतन्त्र भयो । पाकिस्तान भारतबाट विभाजित भयो । हिन्दु र मुसलमानबीचको हिंसामा ५ लाख मानिस मारिए । धेरैले घरबार गुमाए । विभाजनको घाउ अझै पनि निको हुन सकेको छैन ।
भारतबाट चाँडै फर्केको र आफ्नो पूर्व उपनिवेशलाई अराजक अवस्थामा छोडेको भन्दै अटालीको व्यापक आलोचना भयो । कम्तीमा प्रभावकारी प्रहरी बल बनाउनुपथ्र्यो, सेनालाई चुस्त दुरुस्त बनाइनुपथ्र्यो । कम्तीमा भारतमा स्थायित्व कायम गरेर मात्र देश छोड्नुपथ्र्यो ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि अहिले यही अवस्थामा छन् । रक्तपातपूर्ण अवस्थामा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भयो । यसरी फर्किनु गलत भएको र अमेरिका अझ बढी समय त्यहाँ बस्नुपथ्र्यो भन्दैछन् बाइडेनको निर्णयका आलोचकहरू । अमेरिकामा बलियो सैनिक नीतिका चर्चित पक्षपाती रोबर्ट कागनको विचारमा अमेरिकी सेना थप बीस वर्ष अफगानिस्तानमा बस्नुपथ्र्यो । अफगानिस्तानमा अमेरिकी सेना न्यूनतम सङ्ख्यामा मात्र भएको र त्यति सेना त्यहाँ राख्न अमेरिकाले सजिलै खर्च गर्न सक्ने उनको विचार हो । यदि त्यसो भए किन बीस वर्ष मात्र ? चालीस वर्ष किन नबस्ने ? किन सधैँ अमेरिकी सेना अफगानिस्तानमा नबस्ने ?
अटाली वा बाइडेनले भारत वा अफगानिस्तानमा स्थायित्व कायम गर्न सक्थे र ? भन्ने प्रश्न उठ्छ । अटालीलाई कम्तीमा भारत र पाकिस्तान पनि जिम्मेवार र मुख्यतः मध्यम मिजासका मानिसले शासन गर्ने कुरा थाहा थियो । जवाहरलाल नेहरू र मोहम्मद अली जिन्हा दुवै जना तालिवानजस्ता कदापि थिएनन् । उनीहरू दुवै जना आधिकारिक नेतृत्व नै मानिन्थे । तैपनि, त्यहाँ गृहयुद्ध भयो । तर, बाइडेनसँग अफगानिस्तानलाई जिम्मेवार व्यक्तिको हातमा छोड्ने सुविधा पनि थिएन ।
उनीहरूको निर्णयको कारण भड्किएको हिंसाको लागि अटाली र बाइडेनलाई दोष लगाउन सजिलो छ । पक्कै पनि उनीहरूले गल्ती गरे । फर्केर हेर्दा केही क्षतिलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विचार गर्न सकिन्छ । तर, दुवै नेता उही साम्राज्यको चङ्गुलमा फसे जसमा धेरै साम्राज्यवादी शक्तिहरू फसेका थिए । जब कुनै देशका शासकलाई विदेशीको शक्ति र पैसामा भर पर्ने बनाइन्छ तब त्यो देशलाई भद्रगोल अवस्थामा बाहेक छोड्न असम्भव हुन्छ । अनि जति समय विदेशी शक्ति बस्छ, अवस्था त्यति नै खराब बन्दै जान्छ ।
अनुदारपन्थी प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनले सन् १९६० को दसकमा अफ्रिकी उपनिवेशभरि ‘परिवर्तनको हुरी’ को पदचाप सुनेर बेलायती शासन अन्त्य गर्ने सोच बनाए । त्यत्तिबेला अर्का अनुदारपन्थी अमेरिकी पत्रकार विलियम एफ बक जुनियरले अफ्रिकीहरू आफै शासन गर्न सक्षम भए र ? भनी प्रश्न सोधेका थिए । म्याकमिलनले त्यस्तो भनेका थिएनन् । तर, उनले त्यही कारणले पनि अफ्रिकीहरूलाई शासनको प्रयासका लागि स्वतन्त्र बनाइनुपर्ने बताए । अफ्रिकी देशहरू अफ्रिकीका हुन् । उनीहरूलाई शासन गरेर शासन गर्ने तरिका सिकाउनुपर्छ । उपनिवेशवादविरोधी राम्राभन्दा राम्रा नेता कार्यकर्तालाई जेलमा कोच्नु वा मार्नुले उनीहरूलाई अझ बढी कडा बनाउँथ्यो ।
कुनै पनि साम्राज्य मुस्किलले मात्र योजनाबद्ध बनेको हुन्छ । अधिकांश युरोपेली साम्राज्य व्यापारको सिलसिलामा बनेका थिए । उपनिवेश देशका शासकहरूलाई या त आफैले तयार गरे अथवा उनीहरूलाई लोभमा फसाइयो । अथवा एकआपसमा लडाइयो । लामो समयसम्म भारतको ठुलो भूभागमा बेलायतको एउटा व्यापार कम्पनीले शासन चलाएको थियो । पछि उपनिवेशवादी सरकारले आफ्नो देशको व्यापारिक हितको रक्षा ग¥यो । उपनिवेशवादी शासनलाई प्रायशः क्रिस्चियन धर्मको सिद्धान्तले उचित ठह¥यायो । धेरैपछि उन्नाइसौँ शताब्दीको अन्त्यताका उपनिवेश देशका शिक्षित शासकहरूलाई पश्चिमको नक्कल गर्ने बनाइयो ।
उपनिवेशवादी संरचनाप्रति संरा अमेरिका आधा मनले लागेको देखिन्छ । अमेरिकीलाई खासमा साम्राज्यवादविरोधी ठानिथ्यो । भियतनाममा कम्युनिस्ट, इराक वा अफगानिस्तानमा तानाशाही शासनविरुद्ध अमेरिकी हमलालाई उसले आफ्ना जनतालाई स्वतन्त्र बजार पुँजीवाद र प्रजातान्त्रिक सरकारको कुरा देखाएर चित्त बुझायो । त्यसको परिणाम अझ घातक निस्कियो ।
वैदेशिक हस्तक्षेपको लागि जेसुकै बहाना बनाइए पनि त्यसको परिणाम एउटै हुने गरेको छ । काबुल र अन्य सहरमा शासन गर्ने अफगानिस्तानका स्थानीय शासकहरूले बरु राम्ररी शासन गर्न सक्छन् । तर, अन्य देशमा मात्र होइन, गैरसरकारी संस्था र सरकारले गर्नुपर्ने काम गर्ने अन्य कुनै पनि संस्थाप्रतिको निर्भरताले भ्रष्टाचारलाई मात्र मलजल गर्छ । पैसा निकै सजिलै खल्ती खल्तीमा पुग्ने रहेछ । आफूले कब्जा गरेको देशमा आफूले के काम गरिरहेको भन्नेबारे निकै कम मात्र जानकारी भएका विदेशी सेना र राजनीतिक सल्लाहकारहरूले स्थानीय जनतालाई आफ्नो देशमा शासन गर्न अझ प्रतिकूल बनाउने गर्छ ।
पैसाको रास बोकेर गएका उपनिवेशवादी शासकहरूले उपनिवेश देशका जनताको कुनै वैधता नभएको सोच्छन् । बरु विद्रोही र क्रान्तिकारी शक्तिलाई आफ्नो देशमा कसरी शासन गर्नुपर्छ भन्नेबारे धेरै जानकारी हुन्छ । अनि त्यहींनेर साम्राज्यवादी शक्तिहरू फस्छन् । उनीहरूले अवस्थालाई अझ खराब बनाएका हुन्छन् । उनीहरू त्यहाँ बस्दा परिस्थिति थप नराम्रो हुन्छ ।
अटाली र बाइडेनले यो कुरा बुझे । त्यही भएर उनीहरू छोडेर आउन हतारिए । बाइडेनलाई सोझो भएको आरोप लगाइन्छ । अनि आफूले के गरिरहेको छु भन्ने विषयमा केही शुद्धबुद्ध नभएको बुढो मान्छेको रूपमा हेरिन्छ । तर, त्यस्तो देखिन्न । मेरो विचारमा उनले ठीक समयमा विलम्ब नगरी फर्किने समय निधो गरे किनभने उनलाई अवस्था अझ खराब बन्ने कुरा थाहा थियो । उपनिवेशको जालोमा थप अल्झिएर बस्नुभन्दा अगाडि नै बाहिरिनु उनले ठीक ठाने ।
अहिले अवस्था घातक देखिएको छ । तर, तालिवानको पुनरोदयको लागि बाइडेनलाई दोष लगाउन मिल्दैन । लामो युद्ध र कब्जा भोगिरहेको अफगानिस्तानको कमजोर अवस्थाको निम्ति पनि उनलाई दोष लगाउन मिल्दैन । संरा अमेरिका त्यहाँ जानु नै हुन्थेन । तर, यो शिक्षा सबै ठुला शक्तिहरूले सिक्न जरुरी छ ।

लेखक विभिन्न पुस्तकका लेखक हुुनुहुन्छ ।
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *