भर्खरै :

अमेरिका आतङ्क मच्चाउने देश

संरा अमेरिका अर्को स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने आक्रामक देश हो । अमेरिका संसारका देशहरू जुधाएर हतियार बेच्ने देश हो । अरू देशमा सेना तैनाथ गरेर आतङ्क मच्चाउने, अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र झगडा गराएर फाटो ल्याउने देश हो अमेरिका । अमेरिका आफ्नो विचारभन्दा फरक देश र देशका राष्ट्र प्रमुखहरूलाई देश निकाला गराउने, फाँसी दिलाउने र हत्या गराउने देश हो । आर्थिक नाकाबन्दी गरेर हाहाकार बनाउने, अरूको हाहाकारमा रमाउने, अन्य देशमा रहेका स्रोत र साधनमा आँखा गाड्ने र आफूले भनेझैँ नमाने जल, थल र हवाई युद्ध गर्ने देश हो । यही कारण अमेरिका आफ्नो देशलाई पहिलो, बलियो र शक्तिशाली र सम्पन्न देश ठान्छ । यही हुङ्कार र अभिमानीले अमेरिका विश्वमा उदाङ्गिएको छ । अमेरिकी साम्राज्यवादको पतन हुँदै छ ।
नाङ्गिँदै गएको अमेरिका आफ्नो कालो धब्बा छोपेर छवि कायम राख्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता भएको समाचार प्रकाशित भएको छ । यो सुरक्षा सम्झौता चीनलाई चुनौती दिन गरिएकोमा आशङ्का छैन । सो सम्झौता हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न भएको बताइन्छ । त्यसो त कुनै देशको राम्रो प्रभाव कसैले रोकेर रोकिन्न, छेकेर छेकिन्न । तर, यो सम्झौताले अमेरिका चीनदेखि हच्केको या डराएको सङ्केत गर्छ । यसले अमेरिका एक्लैले चीनलाई दबाउन नसक्ने, चीनको प्रगतिलाई रोक्न नसक्ने सङ्केत मिल्छ । सुरक्षा–सम्झौताअनुसार अमेरिकाले अष्ट्रेलियालाई परमाणु सहयोग गर्नेछ र अष्ट्रेलियाले परमाणु ऊर्जामार्फत पनडुवी बनाउनेछ । यसअघि यो प्रविधि अमेरिकाले बेलायतलाई मात्र दिएको थियो ।
अमेरिका कतै बेलायत र अष्ट्रेलियासित मिलेर विश्वमा आतङ्क मच्चाउनेतर्फ लागिरहेको छैन भन्ने प्रश्न विश्वका राष्ट्र प्रमुखहरूले गर्न थालेका छन् । अमेरिकाले संसारमा फेरि दादागिरी देखाउन खोजिरहेको छ । दशकौँ अघिदेखि क्युवामा भइरहेको नाकाबन्दी फिर्ता लिन ९९.९९ प्रतिशत राष्ट्र प्रमुखहरूले आग्रह गर्दा पनि, सोको प्रस्ताव पारित गर्दा पनि फिर्ता नलिने अमेरिका कसरी प्रजातान्त्रिक मुलुक हुन्छ ? अरू देशमा आक्रमण गर्ने, नाकाबन्दी गर्ने, देश देश जुधाएर हतियार बेच्ने देश अमेरिका आतङ्ककारी देश होइन कसरी भन्ने ¤ आज संसारका सबै स्वाधीन, सार्वभौम देशहरूसित मिलेर साम्राज्यवादी देश अमेरिकाको विरोधमा एकजुट हुनुपर्छ र एकजुट भएर लड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *