भर्खरै :

सीको प्रजग कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका

सीको प्रजग कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका

सियोल, २७ जेठ (एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङको प्योङयाङ भ्रमणपछि प्रजग कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजग कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि ‘दूरगामी खाका’ तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग पेइचिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले सोमबार प्रजग कोरियाको दुर्लभ भ्रमण गर्नुभएको थियो । प्रजग कोरिया र रुसबिच पछिल्लो समय असाधारण रूपमा नजिकिएको सम्बन्धका बिच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
केसीएनएका अनुसार राष्ट्रपति सी चिनफिङ र किम जोङ उनले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा सन्तुष्टि व्यक्त गर्नुभएको छ । दुईदिने भ्रमणका क्रममा दुवै पक्षले क्रान्तिकारी मित्रता, राजनीतिक विश्वास र रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने दृढता दोहो¥याएका छन् ।
भ्रमणको क्रममा सी र किमले कोरियाली मजदुर पार्टीको केन्द्रीय क्याडर प्रशिक्षण विद्यालयको संयुक्त अवलोकन गर्नुभएको थियो । त्यहाँ उहाँहरूले पार्टी नेतृत्व विकास र राजनीतिक प्रशिक्षणबारे छलफल गर्नुभएको केसीएनएले जनाएको छ । त्यसपछि दुवै नेताले कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा निर्माण गरिएको मैत्री स्मारक परिसरमा वृक्षरोपण गर्नुभएको थियो ।
सीलाई प्योङयाङमा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उहाँ आफ्नी पत्नी तथा वरिष्ठ सरकारी प्रतिनिधिमण्डलसहित प्रजग कोरिया पुग्नुभएको थियो । भ्रमण सम्पन्न भएपछि किमलाई पठाएको सन्देशमा सीले दुवै पक्षले साझा चासोका विषयमा गहन विचार आदानप्रदान गरी महत्वपूर्ण समझदारी हासिल गरेको उल्लेख गर्नुभएको छ ।
सीका अनुसार यो सहमतिले परम्परागत मित्रतालाई नयाँ ऊर्जा दिने, साझा विकास र समृद्धिलाई प्रोत्साहन गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षण गर्ने दुवै देशको प्रतिबद्धता झल्काउँछ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि सी र किमबिच नयाँ युगअनुसार चीन– प्रजग कोरिया सम्बन्ध विकास गर्ने विषयमा महत्वपूर्ण सहमति भएको जनाएको छ । पेइचिङका सरकारी सञ्चारमाध्यमका अनुसार सीले कूटनीतिक, सुरक्षा, कानुन कार्यान्वयन तथा सैन्य सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष भने प्रजग कोरियाको आणविक कार्यक्रमबारे सार्वजनिक मौनता रह्यो । गत महिना ट्रम्पसँगको वार्तापछि ह्वाइट हाउसले प्रजग कोरियाको आणविक निःशस्त्रीकरण दुवै पक्षको साझा लक्ष्य भएको जनाएको थियो । तर सी–किम शिखर वार्ताबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेका विवरणमा आणविक निःशस्त्रीकरणको कुनै उल्लेख गरिएको छैन ।
विश्लेषकहरूले यसलाई पेइचिङले उत्तर कोरियाको आणविक हैसियतलाई व्यावहारिक रूपमा स्वीकार गरिरहेको सङ्केतका रूपमा व्याख्या गरेका छन् । किम जोङ उनले पटक–पटक उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम नत्याग्ने बताउँदै आउनुभएको छ । भ्रमणअघि उहाँकी बहिनी किम यो जोङले पनि उक्त कार्यक्रम उत्तर कोरियाको ‘कुनै सम्झौता नहुने सीमा’ भएको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *