भर्खरै :

“तपाईँ पनि भक्तपुरबाट आउनुभएको हो ?”

देशघाती एमसीसी सम्झौता खारेजीको माग राख्दै नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा २०७८ भदौ २१ गतेबाट विरोधका कार्यक्रम सुरु भयो । त्यसपश्चात् पार्टी र जनवर्गीय सङ्गठनहरूले विभिन्न ठाउँमा विरोध जुलुस, सभा तथा कोणसभाहरू आयोजना गरे । धेरैजसो ठाउँमा म पनि सहभागी भएँ । सो क्रममा प्रायः सोधिने प्रश्न थियो – “तपाईँ पनि भक्तपुरबाट आउनुभएको हो ?” म जवाफ दिन्थेँ, “होइन ।” मेरो उत्तर सुन्दा धेरै जनाले अचम्म माने जस्तो गर्नुहुन्थ्यो ।
मङ्गलबजारमा एकजना सुरक्षाकर्मीले सोधे –
“सबैजना भक्तपुरबाट आउनुभएको हो ?”
“सबै भक्तपुरबाट मात्र आउनुपर्छ भन्ने छैन नि,” मैले हाँस्दै भनेँ ।
“त्यो त छैन,” उनले पनि भने ।
“भक्तपुरमा तपाईँहरू धेरै हुनुहुन्छ,” उनले थपे ।
“भक्तपुरभन्दा हामी बाहिर बढी छौँ । अनि हामीले उठाएको मुद्दा भक्तपुरको होइन, देशको सार्वभौमिकता रक्षाको निम्ति हो ।”
“त्यो त हो सर ! तर, के गर्नु, एमसीसी संसद्बाट पास गर्लान् जस्तो छ ।”
“त्यसकारण त नेपाली जनता सचेत हुनुप¥यो ! तपाईँ–हामी सबै मिलेर देश बचाउनुपर्छ ।”
“के गर्ने सर, नेताहरूले पैसा खाएका छन् । तिनलाई केही मतलब छैन ।”
“सधैँ उस्तै अवस्था हुँदैन । दलाल, भ्रष्टाचारी, ठग, विदेशी गुप्तचर को को हुन्, नेपाली जनताले चिन्नेछन् । यी दलाल नेताहरूलाई थुन्नेछन्, कारबाही गर्नेछन् । नेपाली जनताले देशलाई भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको चङ्गुलबाट मुक्त गर्नेछन् ।”
“हुन्छ सर, लामो समय लागे पनि सत्यको पक्षमा लाग्नुभएको छ, सफलताको शुभकामना छ !”
“तपाईँ हामी सबै मिलेर सत्य र न्यायको पक्षमा लड्नुपर्छ ।”
पाँचखालमा अर्का एक सुरक्षाकर्मीले सोधे, “सबै भक्तपुरबाट त होलान् नि, हैन ?” मैले धेरैजसो काभ्रेबाट आउनुभएको जानकारी दिएँ । मान्छे कुन ठाउँको हो, कुन ठाउँको जुलुसमा सहभागी भयो भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा, ऊ कुन विषयको जुलुसमा सहभागी हुन्छ भन्ने हो । उसले कुन विचारको समर्थन गरेको छ, कुन विचारको विरोध गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । भ्रष्टाचार, अन्याय बढ्दा वा असमान र देशघाती सन्धि–सम्झौता हुँदा पनि हामीले आवाज उठाएनौँ र विरोध गरेनौँ भने हामी देशको नागरिक हुनुको कुनै अर्थ रहनेछैन । बरु हामीले पनि तिनको समर्थन गरेसरह हुनेछ । नराम्रो काम जसले गरे पनि विरोध गर्नुपर्छ । सबै कुरालाई हामीले आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । ठूलो नेता, प्रम, मन्त्री, सांसदहरूले भने भन्दैमा विश्वास गर्नुहुन्न । २२ हजारभन्दा बढी सरकारी कर्मचारीले दोहोरो तलब खाने गरेको र सबैै पार्टीको केन्द्रीय समितिमा विदेशी गुप्तचर भएको समाचार प्रकाशित भएकै हो । यसले पनि नेपाली जनता अझ बढी सचेत र सङ्गठित हुनु आवश्यक छ ।
‘नेमकिपा भक्तपुरे पार्टी’ भनेर आरोप लगाउनेमा दुई थरी मानिस देखिन्छन् । पहिलो थरी मानिसले सुनेको, चुनावमा जितेको, भक्तपुरमा सक्रिय र गतिविधि धेरै भएको आधारमा सजिलै यस्तो बुझेको देखिन्छ । दोस्रो थरी मानिसहरू नेमकिपाको विचार र गतिविधिबारे जानकार हुँदाहुँदै पनि नेमकिपाको प्रचार, सङ्गठन विस्तार र गतिविधि बढेको पटक्कै मन पराउन्नन् । विशेषतः शासक दलहरू आफूले गरेका कमजोरी, गल्ती र भ्रष्टाचारको विषयमा नेमकिपाले आवाज नउठाओस् भन्ने चाहन्छन् । नेमकिपा विचार र व्यवहारमा दृढ भएको देखेर सशङ्कित हुन्छन् र चिढिन्छन् । नेमकिपासँग सैद्धान्तिक सङ्घर्ष गर्न नसकेर शासक दलका नेताहरू असैद्धान्तिक कुतर्क र दुष्प्रचार गर्ने प्रयास गर्छन् । एउटा झूट बोल्न हजार झूट बोल्नुपर्छ भन्ने उखान उनीहरूमा चरितार्थ हुन्छ । जति चोटि दोहो¥याए पनि वा जति ठूलो स्वरमा चिच्याए पनि झूट आखिर झूट नै हुन्छ । नेमकिपाको देश र जनताप्रतिको इमानदारी र सेवा शासकहरूले छोप्ने प्रयास गर्नु, हत्केलाले सूर्यलाई छोप्न खोज्नुजस्तै भएको पुष्टि हुँदै छ ।
‘नेमकिपा भक्तपुरे र नेवार पार्टी हो’ भनी शासकहरूले आरोप लगाउनुले उनीहरूमा हिटलरको जस्तो जातिवादी र फासीवादी सोच रहेको प्रस्ट हुन्छ । कुनै दलको नेता वा अध्यक्ष कुनै न कुनै जातिको हुनु स्वाभाविक छ । त्यसकै आधारमा त्यस पार्टीलाई एउटा जातको पार्टी भन्नु ठीक हुन्छ र ? त्यसो हो भने नेपालका धेरै पार्टीहरूलाई ‘बाहुन पार्टी’ भन्नुपर्ने हुन्छ । के त्यस्तो भन्नु ठीक होला ? के राजनीतिक पार्टी कुनै क्षेत्र, जात, भाषा र धर्मको हुन्छ र ? तर, विडम्बना ! नेपालमा जात, धर्म र क्षेत्रका आधारमा पनि पार्टी खोलेर राजनीति गर्दै छन् । जात, धर्म र क्षेत्रका आधारमा पार्टी खोल्न दिनु गलत हो, यसलाई तत्काल रोक्नुपर्छ । राजनीतिक पार्टी भनेको वर्गको आधारमा खोल्नुपर्छ । कुन पार्टीले कुन वर्गको सेवा गर्छ, त्यसका आधारमा त्यो वर्गको पार्टी हुने गर्छ । निमुखा, गरिब, शोषित, पीडित, मजदुर र किसान वर्गको पक्ष लिने पार्टी तल्लो वर्गको पार्टी हुन्छ अर्थात् जनताको पार्टी हुन्छ । धनी, पुँजीपति, शोषक, सामन्त, प्रतिक्रियावादी वर्गको पक्षमा राजनीति गर्ने पार्टी शोषक वर्गको पार्टी हुन्छ । पार्टीले निश्चित विचार र सिद्धान्तको आधारमा काम गर्छ ।
विश्वमा अहिले मूलतः पुँजीवादी र समाजवादी विचारका आधारमा पार्टी बनेका छन् । तर, नामले भन्दा पनि पार्टीको व्यवहारले धेरै कुरा फरक पर्छ । स्यालले बाघको छाला ओढ्दैमा ऊ बाघ बन्दैन, स्याल नै रहन्छ । त्यस्तै, नेपालका धेरैजसो कम्युनिस्ट नामधारी पार्टीको बाहिरी मुखौटो मात्र कम्युनिस्ट छ । समाजवाद त नेपाली काङ्ग्रेसले पनि लेखेको छ, तर उसको व्यवहार समाजवादी छैन । नेकपा एमाले, नेकपा एस, माओवादी, लोकतान्त्रिक समाजवादी, राप्रपा, नेका सबै पुँजीवादी पार्टी हुन् । उनीहरू साँच्चिकै कम्युनिस्ट र समाजवादी भएका भए शिक्षा र स्वास्थ्य, सरकारी र सार्वजनिक संस्थान, उद्योग, कल–कारखाना, निगम र तिनका सम्पत्तिहरू निजीकरण गर्ने थिएनन् । निजीकरण होइन, सामाजिकीकरण र राष्ट्रियकरणलाई जोड दिने थिए । नक्कली कम्युनिस्ट र विदेशी शक्तिका ‘ट्रोजन हर्स’हरूलाई नेपाली जनताले चिन्न जरूरी छ । माओवादीका अहिलेका अर्थमन्त्रीले आर्थिक स्रोत नखुलाई लगानी गर्ने नीति ल्याउनुले दुई नम्बरी गर्ने काला बजारियाहरू, भ्रष्टाचारी र ठगहरूले ठूला पार्टी र सरकारलाई नियन्त्रण गरेको प्रस्ट भएको छ ।
नेमकिपालाई ‘भक्तपुरे पार्टी’ भनी आरोप लगाउनेहरूले नेमकिपाले स्थापनाकालदेखि उठाएका सामाजिक र जनजीविकाका विषयवस्तुहरू अध्ययन गर्नु आवश्यक छ । आरोपमात्र लगाउनु ठूलो कुरा होइन, त्यसलाई प्रमाणित पनि गर्नुपर्छ । निराधार र तथ्यहीन आरोपको कुनै तुक छैन । असत्य र झूटको खेती गर्नेहरूलाई नेपाली जनताले चिन्न जरुरी छ । जनतामा भ्रम फैलाउँदै शासन सत्ता आफ्नो हातमा कायम राख्नेहरू गरिब, मजदुर, किसान र तल्लो वर्गलाई सधैँ आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । तल्लो वर्गलाई माथि उठ्न नदिनु र अधिकार उपयोग गर्न नदिनु सामन्ती सोच हो । सत्ताको नेतृत्व जसले गरे पनि उत्पादनका साधनहरूका मालिककै हितमा उसले काम गर्छ । तसर्थ, उत्पादन साधनहरू सामाजिकीकरण र राष्ट्रियकरण गर्ने पार्टीको पक्षमा हामी लाग्नुपर्छ । हाम्रा मित्रहरू तिनै हुन् । निजीकरणलाई बढावा दिनेहरू हाम्रा शत्रु हुन् । तिनका विरुद्ध हामीले सङ्गठित हुँदै सङ्घर्ष जारी राख्नुपर्छ ।
रूसी समाजवाद सामाजिक साम्राज्यवादमा पतन भयो भनी नेमकिपाले धेरै अघि आवाज उठाएको थियो । के यो भक्तपुरको विषय थियो ? के ठेलीका ठेली माक्र्सवादी किताब पढेको दाबी गर्नेहरूलाई यस विषयमा थाहा नभएको होला ? तर, साँचो कम्युनिस्ट पार्टीको दुष्प्रचार गर्न पश्चिमा पैसा खाएकाहरूले नेपाली जनतामा भ्रम छर्ने प्रयास गरे । सामाजिक साम्राज्यवादको विरोध गर्नु विश्व कम्युनिस्ट आन्दोलनलाई सही बाटोमा हिँडाउन गरिएको सैद्धान्तिक सङ्घर्र्ष थियो । आफ्नो खुट्टामा उभिएर, आफ्नो देश र जनताको अवस्था तथा आवश्यकताअनुसार माक्र्सवाद र लेनिनवादको प्रयोग गरी सङ्घर्ष गर्नुपर्छ भन्नु के गलत थियो ? यस कदमलाई कसैले गलत देख्छ, ठान्छ र दुस्प्रचार गर्छ भने त्यसका विरुद्ध सङ्घर्ष गर्नु हाम्रो कर्तव्य हो ।
भारतले नेपालको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी क्षेत्रमा सीमा अतिक्रमण गरेको छ । त्यसमा भक्तपुर जिल्लाको एक टुक्रा पनि परेको छैन । नेमकिपा भक्तपुरको मात्र पार्टी होइन । एक देशभक्त पार्टी भएकैले नेमकिपाले सीमा अतिक्रमण र सीमामा हुने ज्यादतीविरुद्ध बोल्दै आएको छ । सुस्ता, कालापानी, लिम्पियाधुरा, तिलाठीलगायतका ठाउँमा भूमि अतिक्रमण हुँदा नेमकिपाले विरोध ग¥यो । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपाली युवा गोविन्द गौतमलाई गोली हानी र महाकालीमा तुइन काटी जयसिंह धामीको हत्या गर्दा नेमकिपाले विरोध जनायो । आफूलाई ठूला पार्टी भन्नेहरू संविधान घोषणालगत्तै भारतले अमानवीय नाकाबन्दी लगाउँदा कुन दुलोमा लुकेर बसेका थिए ? त्यसबेला लैनचौरको भारतीय राजदूतावास घेराउ गर्ने नेमकिपामात्र थियो । अन्य दलहरूले किन ‘नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सुरक्षाबल हटाऊ’ भन्ने आँट गर्न सकेनन् ? देउवा सरकारले कुटी, नाभी, गुञ्जीसहितको लिम्पियाधुरा क्षेत्रमा जनगणना गराउन आँट गर्न सकेको छैन । किनकि, २००७ सालयता सरकारमा जाने अधिकांश दलहरू भारतीय विस्तारवाद र एकाधिकार पुँजीका दलाल हुन् । अहिलेको सरकार पनि यसमा अपवाद होइन ।
राजा महेन्द्रले भूमिसुधार लागु गर्दा कम्युनिस्ट नामधारी पार्टी र नेकामा जमिनदारहरू थिए । त्यसैले भूमिसुधारको उपयोग गर्नुको साटो उनीहरूले त्यसको विरोध गरे । भक्तपुरबाहेक अन्य जिल्लाका भूमिहीन किसानहरूले मोहियानी हक पाएनन् । भूमिहीन सधैँ भूमिहीन नै रहे । पहिलेका जमिनदार अहिले पुँजीपति, व्यापारी, कारखाना मालिक, बैङ्कपति बनेका छन् । अहिले पनि नेपाली जनतालाई निरन्तर शोषण गर्दै छन् । अहिले केही कम्युनिस्ट नामधारी पार्टीहरूले पनि म्यानपावर कम्पनी खोलेर आधुनिक दासका रूपमा नेपाली युवालाई विदेशमा बेच्दै छन् । विकास निर्माणका काममा भ्रष्टाचार र दलाली गरेर नेपाली जनता ठग्दै छन् । अब वास्तविक कम्युनिस्ट र देशभक्तहरूलाई नेपाली जनताले चिन्नुपर्छ । हामी जनता सानातिना स्वार्थमा फस्नुहुन्न । देश हित र सार्वभौमिकताको विषयमा सचेत हुन जरुरी छ ।
देशघाती एमसीसी सम्झौताको असर अमेरिकी साम्राज्यवादको विरोध गर्ने नेमकिपा र यसका कार्यकर्तालाई मात्र पर्ने होइन । यसको असर सम्पूर्ण नेपाली जनता र एसियाली जनतामा पर्छ । सर्त राखेर आएको लगानी र सहयोग सम्झौता भएकोले हामीले यसको विरोध गर्न जरुरी छ । पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिका भ्रमण गएको बेला प्रजग कोरियाको नाकाबन्दीको समर्थन गरेका थिए । साथै, नेपालमा प्रजग कोरियाले गरेको लगानी बन्द गराइएको थियो । यसबाट एक सर्त प्रजग कोरियाको अर्थिक नीति पनि रहेको प्रस्ट हुँदै छ । हिन्द प्रशान्त रणनीतिबाट सैनिक शक्तिद्वारा चीन घेर्न खोजिँदै छ । तिब्बत, उईगुर, ताईवानलगायतका क्षेत्रमा पश्चिमाहरूले चीनले मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन् । पश्चिमालाई तिब्बती शारणर्थीको आन्दोलन उठान गर्न नेपाल उपयुक्त स्थान रहेको छ । चीनको मानव अधिकारको विषयवस्तु पनि नेपालसँग सर्त रोखेको स्पष्ट हुँदै छ । देउवा सरकार आएदेखि चीनले सीमा मिचेको दुष्प्रचार गरिनुले नेपाल सरकार ‘एक चीन नीति’ बाट पछाडि हट्न खोजेको प्रस्टिँँदै छ । यसमा अमेरिकी साम्राज्यवादको कूटनीति सफल भएको देखिँदै छ । देउवा अमेरिका र भारतको दलाल भएको अझ प्रस्ट भएको छ । देउवा सरकार र एमसीसीको विरोधमा देशभरि सङ्घर्ष चालु राख्नु नै नेमकिपा यो देशको एउटा सच्चा देशभक्त पार्टी हुनुको प्रमाण हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *