भर्खरै :

‘स्तालिनसँग’ : छोटो चर्चा

‘स्तालिनसँग’ स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनको संस्मरण हो । यो संस्मरणलाई उनीसँगै स्तालिनको सुरक्षामा खटिएका अन्य धेरै सहयोगीहरूले पनि सही ठह¥याएका छन् । यस अर्थमा यो संस्मरणले २५ वर्षभन्दा बढी समयसम्म स्तालिनको नजिक रहेर काम गरेका व्यक्तिहरूको अनुभव हो । स्तालिनबारे अनेक झूटा कुरा सुनेर दिक्क भएपछि रेबिनले सोभियत कम्युनिस्ट पार्टी छोडे । उनी आफ्ना अनुभवहरू बाहिर ल्याउने निक्र्योलमा पुगे । पुस्तकको पुछारमा उनी लेख्छन् – आफ्नो जीवनका अति उत्तम वर्षहरू स्तालिनसँग बिताएका हामीहरूले तथाकथित ‘पढेलेखेका’ हरूविरुद्ध लेख्न थालेका छौँ र सङ्घर्ष गरिरहेका छौँ । ती ‘पढेलेखेकाहरू’ आज पुरानै गलत मनस्थिति फर्काउन चाहिरहेका छन् अथवा त्यसो गर्न सम्भव नभए समयबाट निरपेक्ष इतिहासको पुनः लेखन गर्न खोजिरहेका छन् । उनीहरू आजको काँचो वायुलाई सुहाउने खालको इतिहास लेख्न खोजिरहेका छन् । त्यही भएर हामी कपोलकल्पित अतिरञ्जनामा विश्वास गर्नेहरूविरुद्ध प्रदर्शन गरिरहेका छौँ र लडिरहेका छौँ ।
दरबार हत्याकाण्डबारे नेपालीहरूबीच जस्तो भ्रमको प्रचार गर्न खोजियो, त्यस्तै भ्रमको पर्दा स्तालिनको व्यक्तित्वमाथि पनि लगाइएको छ । सर्वसाधारणमात्र होइन, आफूलाई कम्युनिस्ट भन्ने कतिपय बुद्धिजीवीहरूले समेत स्तालिनलाई गाली गर्ने मौका गुमाउँदैनन् । स्तालिनलाई देखाइकन लेनिनमाथि पनि हिलो छ्याप्ने प्रयास उदारवादी बुद्धिजीवीहरूले गर्ने गर्छन् । नेपाली काङ्ग्रेसका ‘वामपन्थी’ नेता प्रदिप गिरीको लेनिनबारे एक अध्ययन सोही दुस्प्रयासको नमुना हो । उनको पुस्तक मूलतः त्रोन्स्कीपन्थी इतिहासकारहरूको विवरणको आधारमा बुनिएको छ । कुनै बेला प्रचण्डलाई स्तालिनसँग तुलना गरेर नेपालका मूलधारे मिडियाहरूले प्रचण्डको होइन, स्तालिनको बदनाम गरेका थिए । स्तालिनबारे यस्तो वातावरणमा उहाँका अङ्गरक्षकको पुस्तक प्रकाशन हुनु स्वागतयोग्य छ । प्रकाशक पत्रकार समाज नेपाललाई धन्यवाद !
पुस्तकमा तीनटा भूमिका छन् । एक, रुसी, दुई, अङ्ग्रेजी र तीन, नेपाली । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको नेपाली भूमिका पुस्तक पढ्दा आइलाग्नसक्ने अड्को फुकाउन विस्तृत बनाइएको प्रतीत हुन्छ । भूमिकामा स्तालिनको सामान्य जीवनी, त्रोत्स्की, कामेनेभ, जिनोभिएभ र बुखारिनजस्ता विरोधीहरूको एकसरो परिचय र उनीहरूसँगको बोल्शेभिकहरूको सैद्धान्तिक सङ्घर्षबारे विस्तारपूर्वक चर्चा गरिएको छ । रेबिनले आफूलाई २३ वर्षको छँदा स्तालिनको अङ्गरक्षक बनाइएको घटनाबाट पुस्तक थालेका छन् । स्तालिनको हत्या र त्यसपछि उहाँबारे गरिएका दुष्प्रचारहरूको खण्डनसँगै पुस्तक टुङ्गिएको छ । पुस्तकमा स्तालिनको स्वभाव, आनीबानी, रुचि र सक्रियताबारे सयौँ उदाहरणहरू दिइएका छन् । गृहयुद्ध र दोस्रो विश्वयुद्धबीच रुसी परिस्थितिबारे आङ सिरिङ पार्ने बयानहरू छन् । स्तालिन र सोभियत सङ्घका मित्र र शत्रुलाई पुस्तकमा राम्ररी निफन्ने प्रयास गरिएको छ । यस अर्थमा पुस्तक अत्यन्त सजीव, कौतुहलकारी र मन छुने खालको छ । जिज्ञासु पाठकले एकै बसाइमा पुस्तक पढिसिध्याउने छन् ।
पुस्तकमा जम्माजम्मी २० अध्याय छन् । कुनै पनि अध्यायलाई नाम दिइएको छैन । पुस्तक सिलसिलेवार छ भनी थाहा पाउन मिहिनेत गर्नुपर्छ । रेबिन लेख्छन्, “स्तालिनको जीवन निकै जटिल र ज्यादै कठिन थियो ।” निश्चय नै स्तालिन उथलपुथलकारी समयमा सोभियत नेता हुनुहुन्थ्यो । तमाम रुसीहरूजस्तै उहाँको जीवन पनि घटनापूर्ण रह्यो । उहाँले रुसको औद्योगिकीकरण र दोस्रो विश्वयुद्धमा रुसी सेना र सरकारको नेतृत्व गर्नुभयो । एक नेताले धेरै कुरामा चासो दिन नभ्याउनु स्वाभाविक छ । यस्तो मान्छे संसारमा आजसम्म जन्मेको छैन । स्तालिन पनि अपवाद हुनुहुन्न । विरोधीहरूले उहाँकी पत्नीलाई समेत आफ्नो पक्षमा तान्न सफल भएको पुस्तकबाट थाहा हुन्छ । उनीहरूले स्तालिनका हित्तचित्त मिल्ने साथी र कम्युनिस्ट पार्टीका भावी नेता किरोभको हत्या गरे । किरोभको हत्या पुस्तकमा दुरुस्त उतारिएको छ । कम्युनिस्ट नेता वा बोल्शेभिकहरू कति असुरक्षित स्थितिमा काम गरिरहेका थिए भन्ने कुरा किरोभको हत्याराले उनको कार्यालयमा घण्टौँ पर्खेको घटनाबाट थाहा हुन्छ । स्तालिन आफै पनि अति असुरक्षित स्थितिमा काम गरिरहेको देखिन्छ । स्तालिनको मात्र नभई लेनिनको पनि हत्याप्रयासहरू भएका थिए । बुद्धिजीवी मानिने बुखारिन र त्रोत्स्कीले नै महान् लेखक गोर्की, नेता लेनिन, प्रशासक जेरझिन्स्कीलगायतको हत्या गर्ने तानाबाना बुनेका थिए । सच्चा कम्युनिस्टहरू उपचारको नाममा एकपछि अर्को गर्दै मारिएका थिए । प्रधानमन्त्री कार्यालय क्रेमलिनकै डाक्टरहरू भरपर्दा थिएनन् । यस्तो स्थितिमा स्तालिन आफ्नै ज्यानका शत्रुहरूको घेरामा हुनुहुन्थ्यो । रेबिन लेख्छन्, “स्तालिनको एउटै दोष भनेको उहाँ सधैँ ‘सामूहिक निर्णय’ को पक्षमा उभिनुभयो । त्यही भएर उहाँलाई सधैँ उहाँका ‘सहयोद्धाहरू’ यगोदा, मालेन्कोभ, ख्रुश्चेभ, बेरिया र अरूले झुक्याइरहे । एझोभको सन्दर्भमा स्तालिन सुरुदेखि नै सजग हुनुहुन्थ्यो । उहाँले उनलाई रोक्न र पन्छाउन बारम्बार प्रयास गर्नुभएको थियो ।”
स्तालिनको शेषपछि पार्टीलाई संशोधनवादी भासमा गाड्ने नेताहरूले नै दोस्रो विश्वयुद्धका क्रममा स्तालिनलाई मस्कोबाट भगाउन प्रयास गरेको पुस्तकमा बताइएको छ । यस्तो स्थितिमा स्तालिनले जनताको कुरा सुनेर मस्को छोड्नुभएन । जनताबीच फैलेको सन्त्रासलाई मत्थर पार्न कलाकारहरूलाई आह्वान गर्नुभएको थियो र सधैँ जनताबीच रहनुभयो । जनताबाट आफूलाई टाढा राख्ने र चाप्लुस गर्नेहरूलाई स्तालिन रुचाउनुहुन्नथ्यो । युद्धमा उहाँले ज्योर्जी झुकोभजस्ता इमानदार अधिकारीको मन बुझेर नेतृत्व गर्नुभएको थियो । स्तालिनको सैन्य प्रविधिको ज्ञान र कौशलबारे पनि पुस्तकमा घतलाग्दो चर्चा छ । उहाँ प्राविधिकहरूलाई पश्चिमा प्रविधिभन्दा अगाडि बढ्न प्रोत्साहन गर्नुहुन्थ्यो । स्तालिनसँग नजिक रहेर काम गरेका कमान्डर ओर्लोभ भन्छन् – “तथ्यपूर्ण तर्कको आधारमा आफ्ना भनाइ नराख्ने मानिसहरूलाई स्तालिन मन पराउनु हुन्नथ्यो । ‘तपाईँ जे भन्नुहुन्छ म त्यसै गर्छु’ भन्ने सोचाइ राख्ने मानिसलाई पनि उहाँ मन पराउनु हुन्नथ्यो । त्यस्ता सल्लाहकार र सल्लाहकारका सल्लाह मलाई चाहिँदैन”, स्तालिन भन्नुहुन्थ्यो ।
स्तालिन कलाप्रेमी हुनुहुन्थ्यो । उहाँले प्रख्यात बोल्शोइ थिएटरका कलाकारहरूको मनोबल बढाउनुभयो । दुखजिलो पर्दा उनीहरूलाई सघाउनुभयो । कतिपय नाटकहरूको निर्माणमा उहाँले रचनात्मक सल्लाह दिनुभएको थियो । उहाँ बाख, बिथोभन, मोजार्ट र चाइकोभ्स्कीजस्ता सङ्गीतकारहरूका शास्त्रीय सङ्गीतभन्दा लोकगीतहरू रुचाउनुहुन्थ्यो । जनताको रुचि नै उहाँको रुचि थियो । यस्तो भन्दैमा उहाँ अन्धराष्ट्रवादी हुनुहुन्नथ्यो । बरु सबै किसिमका जनतासँग मिलनसार र सजिलो व्यवहार गर्नुहुन्थ्यो । उहाँले आफ्ना छोराछोरीलाई पनि अदबमा राख्ने प्रयास गर्नुभयो । युद्धमा प्यारो छोराको निधनको शोक युद्धले क्षतविक्षत जनताबीच मनाउनुभयो । उहाँको चासो महँगी घटाउनेमा हुन्थ्यो । उहाँले अन्य अधिकारीहरूको तलबसँगै आफ्नै तलब पनि घटाउन लगाउनुभएको थियो । उहाँ मितव्ययी हुनुहुन्थ्यो । मृत्यु हुँदा उहाँको बैङ्क खातामा ९ रुबलमात्र थियो । उहाँको चाप्लुसी गर्न केही अधिकारीहरूले चढाएका कोसेलीहरू उहाँले फर्काइदिनुहुन्थ्यो र तिनलाई झपार्नुहुन्थ्यो । उहाँ सादा हुनुहुन्थ्यो । उहाँको स्थिरचित्त, सजगता, तीक्ष्ण बुद्धिजस्ता विशेषता उजिल्याउने अनेकौँ उदाहरणहरू पुस्तकभरि दिइएका छन् ।
‘स्तालिनसँग’ पुस्तकमा स्तालिनका अनन्य मित्र किरोभ, ओर्दझोनिकिद्जे, झुकोभ र मिकोयान, यगोदा, एझोभ, बेरिया, ख्रुश्चेभ, मालेन्कोभजस्ता उच्चपदस्थहरूको रोचक चरित्र चित्रण गरिएको छ । लेखकले बेरियाले नै स्तालिनलाई विष खुवाएर मारिएको बताएका छन् । त्यस्तो निष्कर्षमा पुग्न उनले बेरियाको राक्षसी स्वभावबारे प्रशस्त प्रकाश पारेका छन् । ख्रुश्चेभले सबै दोषजति स्तालिनमाथि थोपर्नुका कारण खोतल्दै लेखकले अनेक प्रमाण दिएका छन् । एक, ख्रुश्चेभ सोभियत जनतालाई घृणा गर्थे । दुई, स्तालिनसँग उनको व्यक्तिगत इबीका घटना थिए । तीन, राजकुमारको जस्तो व्यवहार गर्न खोज्दा ख्रुश्चेभका छोराहरूलाई सोभियत अदालतले प्राणदण्ड दिएको थियो । आफ्ना रहस्यहरू खोल्नसक्ने बोल्शेभिकहरूलाई ख्रुश्चेभले एकपछि अर्को गर्दै घाटमा उतारे । पुस्तकमा रेबिनले स्तालिनमाथि दोषारोपण गरिने प्रशस्त आरोपहरूको खण्डन गरेका छन् । सोभियत सङ्घ छोडेर पश्चिमा देशहरूमा भाग्ने विश्वासघातीहरू र विदेशी पुँजीपतिको स्वामित्वमा गएको प्राभ्दामार्फत प्रजातन्त्रको नाममा चलाइने कुप्रचारलाई रेबिनले नङ्ग्याएका छन् ।
आफूलाई स्तालिनवादी भनिने आशङ्का पोख्दै लेखक रेबिन लेख्छन्, “हामी सबै अन्तिम समयसम्म सत्यवादी बनौँ । स्तालिनसँग काम गरेका हामीहरूको उहाँप्रतिको विचार र समर्पण आज पनि उस्तै छ, जस्तो उहाँ जीवित हुनुहुँदा थियो । वास्तवमा भन्ने हो भने हाम्रो विचार आज अझ बढी मूर्त र बलियो बनेको छ । समयसँगै सत्यप्रति हाम्रो निष्ठा अझ बलियो बनेको छ । तपाईँ आफैले स्तालिनको नम्रता र आजका ‘प्रजातन्त्रवादी’ र पूर्व ‘बोल्शेभिक’ हरूको अवसरवाद, झूट, अतिरञ्जना र गद्दारीको तुलना गर्न सक्नुहुन्छ । स्तालिनको निधन भएको ४३ वर्षपछि पनि उनीहरू अझै स्तालिनको विशिष्टतालाई ढाक्न सकिरहेका छैनन् । त्यसकारण, अझै लेखिरहेका छन् अनि, लेखिरहने छन् ।” जबसम्म शासकहरू स्तालिनको बद्ख्वाइँ गरिरहन्छन्, त्यसबेलासम्म नेपालीहरूले ‘स्तालिनसँग’ को नेपाली अनुवाद पढिरहनेछन् । रेबिनको साहसलाई धन्यवाद !
पुनश्चः केही शब्द प्रकाशक तथा अनुवादकलाई । पुस्तकमा ‘स्टालिन’ लाई ‘स्तालिन’ लेखेपछि अङ्ग्रेजी उच्चारण पछ्याउँदै ‘लेनिनग्राद’ लाई ‘लेनिनग्राड’, दाचालाई ‘डाचा’, ‘अलेक्सेइ’ लाई ‘एलेक्सेइ’, ‘स्तारोस्तिन’ लाई ‘स्टारोस्टिन’ आदि लेखिएको होला ? ‘राइबिन’ किन ‘रेबिन’ बनेका होलान् ? स्तालिनको दाचाको रेखदेख गर्ने महिला यदाकदा पुरुष बनेको भेटिन्छ । व्यक्तिलाई कहिले स्थानको रूपमा सम्बोधन गरिन्छ । एउटै व्यक्ति अनेक रूप लिएर प्रकट हुन्छन् । जस्तो ‘मालेन्कोभ’, ‘मलिन्कोभ’ र ‘मलेन्कोभ’ । ‘झुकोब’ र ‘झुकोभ’, ‘येझोभ’ र ‘एझोभ’ आदि । रुसीमा ‘कलिनिन’ भनिने र नेपाली वामपन्थी साहित्यमा ‘कालिनिन’ भनिने व्यक्ति प्रस्तुत पुस्तकमा ‘कालेनिन’ बनेका छन् । ‘पोट्सड्याम’ सम्मेलनलाई ‘पोस्टड्याम’ सम्मेलन लेखिएको छ । नेपालीपन दिन पुस्तकमा अनुवादकले धेरै मिहिनेत गर्नुभएको देखिन्छ । चर्चिलको भनेर अनुवादकले दिनुभएको उद्धरण तत्कालीन बेलायती परराष्ट्रमन्त्री एन्थोनी इडनको हो । आउँदा संस्करणमा राइबिनसँगको वार्तालापलाई केन्द्रमा राखेर बनाइएको वृत्तचित्र ‘आइ वाज द बडिगार्ड अफ स्तालिन’ हेरेर रुसी नामहरूको उच्चारण मिलाइनेछ भन्ने अपेक्षा छ । अन्त्यमा पुस्तकबाटै स्तालिनको एउटा उद्धरण – ‘कला क्षेत्रमा हतारमा काम गर्नु राम्रो प्रस्तुति र कलात्मक गुणको लागि घातक हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *