भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
जनतालाई हिन्द–प्रशान्त रणनीति र एमसीसीको वास्तविकता बुझाउनुपर्नेमा जोड
भक्तपुर, १ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिनको कार्यक्रम सोमबार भव्यताका साथ सम्पन्न भयो । कार्यक्रममा राजनीतिक नेता–कार्यकर्ता, विभिन्न क्षेत्रका विद्वान, लेखक, कवि, कलाकारले विविध विषयमा गहन विचार प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश हितविपरीतको एमसीसी सम्झौताबारे व्यापक नेपाली जनतालाई सचेत बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र संसारका विभिन्न देशका नक्सा देखाएर जनतालाई हिन्द–प्रशान्त रणनीति (एमसीसी) बारे सचेत बनाउनुपर्ने बताउनुभयो ।
बृहत् साहित्य सम्मेलनमा छोटा र गहकिला रचनालाई समावेश गर्र्नु उपयुक्त हुने सल्लाह दिंदै उहाँले निबन्ध र समालोचना विधालाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर जीवित सम्पदा÷सङ्ग्रहालय भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरका हरेक बीस–बाइस घरको अन्तरमा एक जना कलाकार भएको र ती सांस्कृतिक गुरुहरू विश्वविद्यालयका प्राध्यापकसरह भएको बताउनुभयो ।
भक्तपुरलाई खुला विश्वविद्यालयको रूपमा अघि बढाउनुपर्ने विचार राख्दै बिजुक्छेँले सरकारले भक्तपुरमा विश्वविद्यालय स्थापनाको अनुमति नदिए पनि शिक्षालाई उत्पादन श्रमसँग जोड्ने र संस्कृतिको प्राज्ञिक अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयले गर्ने काम अहिलेदेखि नै सुरू गर्नुपर्ने भन्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाले विचारको युद्धलाई निरन्तरता दिने प्रस्ट पार्नुभयो ।
नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले देशभर हालसम्म ५२ स्थानमा विरोध प्रदर्शन र सभा गरिसकेको जानकारी दिँदै एमसीसी संरा अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रकै अङ्ग भएकोमा नेपाली जनता भ्रममा पर्न नहुने बताउनुभयो ।
उहाँले छिमेकी देश चीनलाई घेराबन्दी गर्न संरा अमेरिकाको भारत, अस्टे«लिया, बेलायत, जापानलगायत देशलाई हातमा लिएर क्वाड र अउकसजस्ता बहुदेशीय गठबन्धन बनाएको प्रस्ट पार्नुभयो ।
उहाँले एमसीसी सम्झौताअन्तर्गत नेपाल आउने भनिएको रकम सरकारले नेपालबाट उठाउन सक्ने भन्दै देशभरका देशभक्त र साम्राज्यवादविरोधी जनता एकजुट भएर एमसीसी सम्झौताको लगातार विरोध गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सांसद सृजना सैंजूले संसारका विभिन्न देशले एमसीसीभित्रको साम्राज्यवादी बदनियत बुझेर अस्वीकार गरेको प्रस्ट पार्दै संरा अमेरिकाले डलरलाई आफ्नो रणनीतिक, आर्थिक र राजनीतिक हतियार बनाएको बताउनुभयो ।
एमसीसी सम्झौता पारित भए नेपालको भोलिको नियति पनि इराक, अफगानिस्तान, लिविया र सिरियाको जस्तो हुने सांसद सैंजूले बताउनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ सालमा आफ्नो नेतृत्वमा जनगणना भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अहिले पनि जनगणना गर्नुपर्ने र जनगणना टोली पुग्नुपर्ने बताउनुभयो ।
भारतको पिथौरागढमा नेपाल र भारतका सेनाबीच संयुक्त सैनिक अभ्यास भएको स्मरण गर्दै उहाँले सेना मिल्ने तर जनगणना गर्न सरकार नमिल्नु ठीक नहुने बताउनुभयो ।
उहाँले ४१ वर्षसम्म लगातार नेपालभाषा साहित्य तःमुंज्या हुनु महत्वपूर्ण उपलब्धि भएको भन्दै साहित्य ठूलाबडाले लेख्ने र पढ्ने विषयमात्र होइन, श्रमिक जनताले पनि साहित्य लेख्ने, पढ्ने र सुन्नुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले शासक पार्टीहरूले जनताको सेवा गर्ने भावना नराखेकोले पटक–पटकका राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा दिन नसकेको बताउनुभयो ।
साहित्यकार डा. रामप्रसाद ज्ञवालीले तःमुंज्या नेपालभाषाको साहित्य सम्मेलनमात्र नभई धेरै विषयको बृहत् सम्मेलन भएको अनुभव गरेको बताउँदै मानिसको जीवन पद्धति नै संस्कृति भएको बताउनुभयो ।
उहाँले संस्कृतिले सभ्यताको निर्माण गर्ने र सभ्यताले संस्कृतिको संरक्षण गर्ने बताउनुभयो ।
राजनीति आफै खराब नभई राजनीतिक नेतृत्व गर्ने केही मानिसको प्रवृत्ति खराब हुँदा राजनीति बदनाम भएको उहाँले बताउनुभयो ।
इन्जिनियर एवम् लेखक राजदास श्रेष्ठले कृषि क्षेत्रलाई उपेक्षा गर्न नहुने धारणा राख्दै कृषिमा देश सबल नभए जनता भोकै हुने बताउनुभयो ।
साहित्य र संस्कार नभएको मानिस सभ्य नहुने धारणा राख्दै साहित्य र संस्कृतिलाई व्यापक श्रमिक जनताको हितमा लेखिनुपर्ने विचार उहाँले राख्नुभयो ।
“नेपाल प्राकृतिक स्रोत र अनेक संस्कृति तथा बौद्धिक सम्पदामा धनी भएर पनि देशका शासक दलहरूको असक्षमताको कारण देशले प्रगति गर्न सकेको छैन”, उहाँले भन्नुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाईंले नेपालका सरकारमा गएका वामपन्थी शक्तिले देशभक्तिको खोल ओढेर देशघात गरिरहेको बताउनुभयो ।
उहाँले नेमकिपा देशभक्त र जनवादी राजनीतिक पार्टी भएको भन्दै देशमा लामो समय शासन गरेको नेपाली काङ्ग्रेसमा कोही पनि देशभक्त नदेखेको धारणा राख्नुभयो ।
कवयित्री इन्दिरा प्रसाईले नेपालभाषाको मिठासको कारण आफूले नेपालभाषा सिक्न थाले पनि समय अभावको कारण अपेक्षित सफलता पाउन नसकेको बताउनुभयो ।
उहाँले राजनीति फोहरी खेल भनी प्रचार हुँदा सामान्य जनता राजनीतिबाट अलग बस्ने गरेको र त्यसको फाइदा कुलीन वर्गले उठाइरहेको बताउनुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको निम्ति देशका सबै नागरिक सिपाहीँ बन्नुपर्नेमा जोड दिनुभयो ।
सीमा अध्येता रतन भण्डारीले भारतसँगको सीमा विवादलाई छायामा पार्न केही शक्ति चीनसँग हुँदै नभएको सीमा विवाद उछाल्न खोजिरहेको बताउनुभयो । वि.सं. २०१६ मै नेपाल र चीनबीच सीमा सन्धि र सीमासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको बताउँदै उहाँले नेकाका केही नेताहरूले चीनसँगको सीमाबारे भ्रम र झूट फैलाउने काम गरिरहेको उहाँको भनाइ थियो ।
भण्डारीले महाकाली नदीमा जयसिंह धामीको हत्या भारतीय सीमा सुरक्षा बलले गरेको तर विषयान्तर गर्न नेपाल सरकारले क्षतिपूर्ति दिनु गलत भएको भन्दै यसले आगामी दिनमा पनि भारतीय पक्षले नेपाली जनताको हत्या गर्दै जाने अवस्था आउने बताउनुभयो ।
शिक्षाविद् सर्वज्ञभक्त मल्लले भक्तपुरका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको परिचय समेटेर पुस्तक प्रकाशित गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताउनुभयो ।
समाजसेवी कृष्णलाल प्रधानले भक्तपुरको राजनीतिक नेतृत्व सही भएकोले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको धारणा राख्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्यले बुद्धका शिक्षा उपदेश र तर्कहरू मानव जीवनको लागि अत्यन्त उपयोगीसिद्ध भइरहेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका सर्जन डा. ऋषिकेशनारायण श्रेष्ठले भक्तपुरका जनताको सङ्घर्षकै कारण भक्तपुर क्यान्सर अस्पताल आज सरकारी अस्पताल बनेको भन्दै भक्तपुरमा चाँडै ख्वप विश्वविद्यालय स्थापनाको कामना गर्नुभयो ।
दोस्रो दिनको कार्यक्रममा जनकवि चन्द्रबहादुर उलक, कान्छा बासुकला, दामोदर सुवाल, विष्णुगोपाल कुसी, शम्भुराम प्रजापति, ओम धौभडेल, सूर्यप्रसाद लाकोल, नारायणकुमार आचार्य, रामप्रसाद किसी, धर्मराज कर्णिकार, युसुप दुवाललगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गायक रवि हाडा, लक्ष्मण पलिखेल, सत्यनारायण मानन्धर, राजकुमार मानन्धरलगायतले गीत प्रस्तुत गर्नुभएको थियो ।
सम्पदा सांस्कृतिक समूह, आस्था सांस्कृतिक परिवार, विनाता कला सदन, नेक्रासांसङ्घ काभ्रेलगायतले आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
४१ औँ नेपालभाषा साहित्य तःमुंज्याको साहित्य प्रतियोगिताअन्तर्गत कवितातर्फ विकल प्रजापति प्रथम, सकुन्तला महर्जन द्वितीय, काशीराम विरस तृतीय र अर्चना छुकां सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो । त्यस्तै कथा विधातर्फ श्रीया पहिजू प्रथम, एलके सुन्दर द्वितीय, श्रीभक्त जोशी (सँक्व) तृतीय र कृष्णप्रसाद सुवाल सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो ।
तःमुंज्याको दोस्रो दिनको कार्यक्रमको सभापतित्व स्रष्टा समाज नेपालका सदस्य एवम् शिक्षिका सुशिला कर्माचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवाल, सचिव जग्गनाथ सुजखूले धन्यवाद ज्ञापन, आर्थिक हिसाब कोषाध्यक्ष अनिता जधारीले प्रस्तुत गर्नुभएको थियो भने नेपालभाषा साहित्य तःमुंज्या मू गूथिका सचिव नरेश खत्रीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply