भर्खरै :

भादगाउँका तीन काम

भादगाउँ सहर आज धानबाली थन्काउने चटारोमा सर्वाधिक क्रियाशील छ । हिजोसम्म एकचालीसौँ साहित्य सम्मेलन निर्विघ्नतासाथ सम्पादन गर्ने अनुष्ठानमा असिनपसिन गर्दै थियो । साहित्य सम्मेलनस्थल ख्वप कलेजको प्राङ्गण भएकोले ठाउँको तयारीमा त्यति खट्नु परेन होला । परन्तु, साहित्य सम्मेलनको मञ्चको तयारीमा भने निकै खट्नुपर्ने भो । मञ्चलाई भक्तपुरको विशिष्ट कला र संस्कृति प्रतिबिम्बित हुने गरी निर्माण गरिएको थियो । एकताका मात्र हो र हजारौँ वर्षदेखि निरक्षर हाम्रा अघिल्ला पुस्ताहरूले बडो कष्टपूर्वक निरन्तर अर्को पुस्तामा हस्तान्तरण गरेको वास्तुकलाका नमुनाहरू मञ्चमा प्रकटरूपमा नयाँ पुस्ताले उतारेको देखेर आफ्नो नाक घिरौँलाभन्दा ठूलो बनाएको देखिन्थ्यो । साहित्य सम्मेलनको नामले नै साहित्यप्रधान हुने नै भयो । परन्तु, कला कलामा पनि वास्तुकला नामोच्चारणविना नै प्रितिबिम्बन भएको थियो । यो हिजो सम्पन्न एकचालीसौँ साहित्य सम्मेलन साँच्चै नै साहित्य, कला, नृत्य, वाद्यवादन, उद्घोषण, वाचन आदि धेरै मसिना विधि एवं विधातर्फ भक्तपुरको नयाँ पुस्तालाई सिकाउने शब्द प्रयोग नगरिकनै सीप सिकाइएको छ । हेर्नु भा’थ्यो तपाईंले त्यो मञ्च कति सुन्दर र हेरिरहुँजस्तो लाग्ने थियो । यो मञ्च नै एउटा उत्कृष्ट उपलब्धि हो वास्तुकलातर्फ आकर्षण एवं अभिरूचि भएका नयाँ पुस्ताका किशोर एवं युवा वर्गका निम्ति । सयौँ किशोर–किशोरीलाई कविता, कथा, निबन्ध, हास्यव्यङ्ग्यतर्फ कलम चलाउने सँगसँगै पैदा गरायो । कति नयाँ साहित्यकार यसै वर्ष थपिए, कति भोलिलाई भए ।
तब न भक्तपुर भो नत्र कसरी ?
हिजोसम्म साहित्य, कला, वाद्यवादन, नृत्य एवं मञ्च निर्माणमा खटिएका हात–खुट्टा , दिल र दिमाग आज पाकेर भरेली भएको धान बाली काट्न, चुट्न, निफन्न, बताउन, सुकाउन र भण्डार गर्न लागेका छन् । यही वर्षभर खानुपर्छ । बाँकी भएकै बेच्नुपर्छ र सापटी लिएको ऋण तिर्नुपर्छ । कति जना विद्यार्थीका कलेज र स्कूलको बुझाउन बाँकी रकम चुक्ता गर्नुपर्छ । यही धान हो किसानहरूको गरिखाने । कति जना शिक्षक कृषक पनि छन् । भक्तपुरको एउटा विशेषता नै छ यहाँका धेरै मान्छेको कमाइ खाने बाटो कम्तीमा केही खेती छ । गएको हिउँदसम्म गहुँ खेती नगण्यमात्र हुन्थ्यो । प्रायः धान खेतमा इँट बनाइन्थ्यो, बीच–बीचमा इट पोल्ने भट्टा राखिन्थ्यो । सायद यो खालको हिउँद कस्तो हुन्छ थाहा छैन । इँटा उद्योग नै चल्छन् वा गहुँ खेती गरिन्छ । एक वर्षभित्र नै हिजो इँटा भट्टा भएका खेतमा व्यापक गहुँ खेती कसरी होला र ? यहाँ यो प्रश्न उठाउनुको मेरो उद्देश्य हिजोसम्म बृहद् साहित्य तःमुंज्यामा व्यस्त भक्तपुर आज धान खेतमा ओर्लिएको छ भन्नु हो । भक्तपुरको युवा शक्ति साहित्य सम्मेलन, ब्रह्मायणीमा राँगोको बलि दिन होस् वा बिस्केटको लिँगो उठाउन वा ढाल्न, बासुरी बजाउन, मादल बजाउन, नवदुर्गा नाच नाच्न होस् सबैमा सिपालु हुने विशेषता छ । एउटै भक्तपुर कहिले साहित्यकार, कहिले किसान, कहिले मजदुर, कहिले शिक्षक, कहिले राजनीतिक नेता त कहिले कार्यकर्ता । कहिले जुजु धौ बनाउने त कहिले हाकुपटासी बनाउने । यो विशेषता छ भक्तपुरसँग । तब न भक्तपुर भो । नत्र कसरी ?
वास्तवमा ठूलो कुरो रहेछ
नेपालमा यति धेरै चाडबाड छन् एउटा लामो सूची नै तयार हुन्छ । भक्तपुरको युवा बडा दसैँ, टीका, साहित्य तःमुंज्या, धान खेतीपछि लगत्तै आइलाग्यो तिहार । तिहारमा विशेषतः नेवार जातिले म्हः पूजा गर्छन् । ‘म्ह’ पूजा भनेको आत्मपूजा रे ! आत्मपूजा भनेको आफ्नै पूजा रे ? के हो त आत्मपूजा भनेको ? आत्मपूजा भनेको आफ्नै खोजी हो । म को हुँ ! कहाँबाट आएँ, कहाँ जान्छु जस्ता प्रश्न र तिनको सही उत्तरको खोजी । यतातिर कति खोजी गरिन्छ त्यो छलफलको विषय भो । तर यो म्ह पूजा एउटा विशेषताको प्रतीक भएको छ । भक्तपुर म्ह पूजामा पनि मस्तसँगै व्यस्त हुन्छ । भक्तपुरको विशेषता भनेको जेमा लाग्यो त्यसमा चुर्लुम्म डुब्नु हो । यो कति उत्तम बानी । तर यो सरकार यस्तै शुभेच्छा र शुभकामनालाई विफलताको आवरण ठान्छन् । यो साँच्चै बुद्धिमानी हो र ? भक्तपुर आफ्नो कलाकृति एवं कर्म जोगाउन अति नै जागरूक छ र त जीवन्त छ । तर, यो जागरण आएपछि त आयो तर जागरण हमेसा कहाँ आउँछ र ? जागरण फेरि हराउँछ पनि । जागरण आउनु एउटा कुरा तर जागरणलाई सर्वदा जागृत राख्न कम कठिन छैन । यसैकारण भक्तपुर सामान्यतः चुपो लागेर बस्दैन । अरू कुनै ताजा कुरा नपाए पनि ‘मजदुर’, ‘श्रमिक’ पत्रिकामा प्रकाशित समाचार वा विचारकै भए पनि बाक्लो समीक्षा गरेर पनि सक्रियतालाई सक्रिय राख्छ । वस्तुतः यो ठूलो कुरो रहेछ ।
तीनवटै काम भ्याएका छन् ।
धान बाली नेपालको मुख्य बाली हो । धान खेती सप्रियो भने नेपालको अर्थतन्त्र सप्रन्छ । यद्यपि, संसारका धान खेती चीनको क्वाङचाउमा १४ हजार वर्ष पहिले सुरू भएको हो भन्छन् विशेषज्ञहरू । नेपालमा १३ औँ शताब्दीबाट प्रचलनमा आएको भन्थे नेपालका पहिला कृषि इन्जिनियर हुत्तराम वैद्य । कपिलवस्तुमा वन धानबाट धान खेती चल्तीमा आएको भन्ने सुनेको हुँ मैले । धानविज्ञ नेपालका भोलामान पनि गइसके । जेहोस् नेपालमा सबभन्दा अग्लो हिमाली भेग डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका पहाड साइलो बाडाको ९,२०० फिट उचाइमा राम्रो धान खेती हुन्छ भन्छन् डोल्पाका पाका सन्तराम थकाली । धान खेती गर्दा सारै रमाइलो गरिन्छ । हो, त्यही धान खेती भित्र्याउने चटारो छ भक्तपुरमा । हिजोसम्म साहित्य सम्मेलनमा व्यस्त भक्तपुर मञ्च व्यवस्थापनमा केही मान्छे बसी अरू सबै खेतमा जम्मा भएका छन् । साँच्चै धान भक्तपुरलाई सुखी, सम्पन्न र समृद्ध पार्ने बाली हो । यो असमयको वर्षाद्ले साहित्य सम्मेलनको तयारी एवं सुसञ्चालनमा त प्रभाव पा¥यो पा¥यो धान बाली सुरक्षित किसिमले थन्क्याउन पनि नदेला जस्तो छ । तर, भक्तपुरका किसान विकल्प सोच्न पनि कुशल छन् । भक्तपुर तःमुंज्याप्रति अति आकर्षण छ भक्तपुरमात्र होइन मुलुकभर नै चासो राखिन्छ । भक्तपुर यी तीनवटै काम सुचारूरूपले सम्पन्न गर्न सिपालु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *