भर्खरै :

किसानको दुःख

धानखेतमा लहलह धान फलेको समयमा लगातार वर्षाको कारण किसानहरू मर्कामा परेका छन् । पसिना बगाएर फलाएको फल नष्ट हुँदा कसको पो मन नदुख्ला र ! आज किसानहरूको मन पनि त्यसरी नै दुखेको छ । केही दिनयता परेको वर्षाले अधिकांश स्थानका धानखेतमा क्षति पुगेको छ भने केही स्थानमा धानखेत नष्ट भएको छ । काट्न ठिक्क भएको धानका बाला पानीले चुट्दा बाला झरेको छ । कति स्थानमा हावाहुरीले धानका बोट लड्दा पुरै पानीमा डुबेर नष्ट भएको छ । केही जिल्लामा एकातिर दसैँको चटारो, अर्कोतिर पानीको कारण धान काट्ने हतारोले किसानहरू व्यस्त भएका छन् ।
प्रशस्त वर्षा भएको कारण केही वर्षयता नेपालको धान उत्पादन बढेको तथ्याङ्कले देखाएको छ । तर, सरकारले धान उत्पादन बढ्दा गौरव गरे पनि त्यसको स्थायित्वको निम्ति आवश्यक पूर्वाधार बनाउन ध्यान दिएको देखिएन । अझै पनि आकाशे पानीको भरमा धान रोप्नुपर्ने बाध्यताले किसानहरू समयमै धान रोप्न पाउँदैनन् । समयमा गुणस्तरीय बीउ र रसायनिक मल किसानले नपाउने दसकौँदेखिको समस्यामा सरकारहरू धेरै पटक परिवर्तन हुँदा पनि अझै कुनै अन्तर भएको छैन । न सरकारले नेपालका मौलिक बीउबिजनको संरक्षण र वैज्ञानिक उत्पादनमा कुनै अध्ययन अनुसन्धान गर्न सकेको छ न त किसानलाई समयमै रसायनिक मल उपलब्ध गराउन सकेको छ । किसानहरू अझै पनि परम्परागत कृषि औजारकै भरमा काम गर्न बाध्य छन् । पञ्चायतकालमा बनेको कृषि औजार कारखाना बहुदलीय व्यवस्था आए पनि ध्वस्त भयो । त्यसको फाइदा आज विदेशी पुँजीपतिहरूले उठाइरहेका छन् ।
सरकारले कृषि क्षेत्रमा अनुदान दिने नाममा सत्तारुढ दलका आसेपासेहरूलाई पोस्ने काम भइरहेको छ । सत्तारुढ दल र सरकारी कार्यालयका हाकिमको नजिकका मान्छेहरूको मिलेमत्तोमा अनुदानको रकम लिने र त्यसको दुरुपयोग भइरहेको छ ।
नेपाल कृषिप्रधान देश हो भन्ने वाक्य नेपालका अधिकांश सरकारी दस्तावेजको शीर्षभागमा आउने गरेको धेरै समय व्यतीत भयो । तर, कृषि क्षेत्रमा समयानुसारको परिवर्तन र परिमार्जनको निम्ति शासकहरू कति पनि दूरदर्शी र इमानदार बन्न सकेको परिणामले देखाएन । कम्तीमा तीन दशकअघि कृषि क्षेत्र जस्तो अवस्थामा थियो, त्यसमा आजसम्म कुनै परिवर्तन देखिएको छैन । खेती किसान गर्नु बजार व्यवस्थापनको हिसाबमा समेत घाटा व्यापार हुन जाँदा अधिकांश किसानहरू कृषि पेशा त्यागेर वैकल्पिक आर्थिक स्रोतको खोजीमा लागेको देखिन्छ । युवाहरूलाई वैदेशिक रोजगारीमै आकर्षित गरिंदा कृषिको लागि आवश्यक जनशक्ति अभाव भएको छ । काठमाडौँ उपत्यकाको हकमा सरकारले सहर विकास र बिस्तारको नाममा कृषियोग्य भूमि नष्ट गर्दा कृषि क्रमशः सङ्कटमा पर्दै गएको छ । किसानहरू कृषिप्रति उत्साहित छैनन् । नयाँ पुस्ता कृषिमा भविष्य देखिरहेका छैनन् ।
असारमा रातदिन नभनी रोपेको धान अहिले फसल लिने बेलामा परेको पानीले धान नष्ट हुँदा किसान कसको द्वारमा गुहार माग्न जाने ? किसानहरू लाचार छन् । आफ्नो दुःख आफैभित्र राखेर वर्षभरि भान्छामा के पकाउने भन्नेमा चिन्तित बनेका छन् । किसानको लागि आपत्को बेला राज्य कहीं पनि देखिएन । न धान रोप्दा सुख्खा खेतमा पानी पार्न राज्यले कुलो बनाइदियो, न अहिले पानी पर्दा नष्ट भएको धानको क्षतिपूर्ति वा अनुदान नै सरकारले दिन्छ । नक्कली बीउको कारण धान बिग्रिँदा सरकारले न बीउ ल्याउने कम्पनीलाई कारबाही गर्न सक्यो न किसानलाई क्षतिपूर्ति दिन सक्यो ।
सरकार किसान र श्रमिकको सेवा गर्न इमानदार हो भने किसानको घाउमा मल्हम लगाऊ । सबै नागरिकको पेट भर्ने अपरिहार्य किसानी पेशालाई राज्यले प्रोत्साहित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *