भर्खरै :

फलामको भाँडा र चाकु

हाम्रो देशमा त फलामको भाँडामा पकाएको दाल–तरकारी भातसँग मुछेर खाइन्छ । यसरी खाँदा अचारमा रहेको भिटामिन ‘सी’ले दालमा रहेको लौहतत्व शोषण गर्न मद्दत गर्छ । लौहतत्व शरीरमा पुगेपछि रक्तअल्पता कम हुन्छ ।
फलामको भाँडाको यस उपयोगिताबारे अहिले विज्ञानले सिद्ध गरिसकेको छ ।
केही अघि विदेशबाट आएका एक नेपाली जनस्वास्थ विज्ञले ‘नेपालमा रक्तअल्पता कम गर्न फलामको माछा प्रयोग गर्न आवश्यक छ, त्यसको लागि अध्ययन–अनुसन्धान गर्ने विषयमा छलफल गर्न तपाईं आइदिनुप¥यो’ भने ।
पछि छलफलको क्रममा ती नेपाली विज्ञले भने, ‘कम्बोडियामा धेरै महिलालाई रगतको कमी भएको थाहा पाएपछि एक विदेशी डाक्टरले खाना पकाउँदा फलामको माछा खाना पकाउने भाँडामा हाल्ने गर्नू भनेर सिकाए ।
“यसरी खाना पकाउँदा भाँडोमा फलामको माछा राखेको खण्डमा फलामको माछामा रहेको फलामतत्व खाने कुरामा जान्छ र महिलाहरूले पर्याप्त लौहतत्व पाउँछन् भन्ने उद्देश्यले यस किसिमको प्रयोग गरिएको थियो ।” उनले भने, “वास्तवमा यो तरिका अपनाएपछि कम्बोडियाका महिलाको स्वास्थ्यमा सुधार आयो ।”
उनीहरूको रक्तअल्पता घट्यो भनेर बीबीसीमा पनि समाचार आयो । यसको लागि बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले सहयोग पनि दिएको भनेर समाचारमा आएको थियो । उनको कुरा सुनेपछि मैले हाँसेर भनेकी थिएँ, “तर नेपालमा त फलामको भाँडामा खाना पकाउने चलन परम्पराकै रूपमा रहेको छ । त्यसको लागि भिन्नै ‘फलामको माछा’ बनाउनु त पर्दैन होला ।”

फलामको भाँडामा पकाएको खाना स्वस्थकर हुन्छ भन्ने ज्ञान हाम्रा पुर्खाहरूलाई थियो । तर, अहिले त्यो ज्ञानलाई वास्ता गरिन्न । सायद विदेशी भाषामा लेखिएका र विदेशीहरूले आएर नेपालमा त पौष्टिक तत्व स्थानीय खानामा धेरै पाइन्छ, फलामको भाँडामा पकाएको खाना राम्रो हुन्छ भनेपछि मात्र स्वास्थ्य मन्त्रालयले ‘लौ स्थानीय खाना र फलामको भाँडामा पकाएको खाना राम्रो हुनेरहेछ, यसले नै रक्तअल्पता कम गर्न मद्दत गर्छ’ भन्छ होला ।
म पनि त्यसरी नै ‘अङ्ग्रेजी’ भाषामा पढेर चाकुको बारे जाने ।
केही वर्षअघि म अमेरिका जाँदा एक परिचित महिलाले भनिन्, “मोलासेस (molasses) स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ । त्यसैले म हरेक दिन एक चम्चा खाने गर्छु । यसले गर्दा मेरो हड्डी पनि बलियो भएको छ । मेरो शरीरमा रगतको कमी पनि भएको छैन ।” उनको भनाइ सुनेर मैले भनेँ, ‘यो त बडो राम्रो कुरा रहेछ, म पनि किनेर नेपाल लैजान्छु ।”
अनि उनले सिसीमा राखेको मोलासेस देखाइन् । मैले चम्चा लिएर चाखेँ । त्यो त चाकुको जस्तै स्वादको थियो । तर, चाकुमा यस्ता औषधीय गुण त छैनन् होला भन्ने विचार गरेँ । पछि गुगलमा सर्च गरेर हेर्दा मोलासेस भनेको त ‘चाकु’ नै रहेछ ।
अनि मैले चाकुका बारेमा विभिन्न पाठ्यसामग्रीहरू खोजेर अध्ययन गरेँ । अनि मलाई राम्ररी थाहा भयो कि हामीले कहिलेकाहीँविशेष चाडपर्व तथा समयमा खाने चाकु त ‘रगत बढाउने, हड्डी बलियो बनाउने’ तत्व पो रहेछ । चाकु र सखरमा पर्याप्त मात्रामा क्याल्सियम पनि हुन्छ । साथै यसले शरीरमा पर्याप्त मात्रामा ऊर्जा दिन्छ । विभिन्न किसिमका तागत दिने बजारका औषधि होइन कि प्राकृतिक प्रक्रियाबाट बनेको चाकु खाँदा शरीरमा बढी ऊर्जा मिल्छ ।
यसले शरीरमा निकै फाइदा गर्ने
सुत्केरी हुँदा महिलालाई चाकु खुवाउने गरिन्छ । बालबालिकालाई अन्य गुलियो चकलेट, केकको साटो चाकुको सानो सानो टुक्रा, तिलको लड्डु बनाई वा चाकु दूधमा मिश्रण गरिदिनाले बच्चाको स्वास्थ्यमा फाइदा गर्छ ।
हाम्रो स्वास्थ्य राम्रो पार्ने चलनबारे जान्न कहिलेदेखि पुर्खाको ज्ञान प्रयोग गर्ने होला ?
स्रोतः लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *