भर्खरै :

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको रानीपोखरी, सिद्धपोखरी र भाजुपोखरीको स्थलगत निरीक्षण

भक्तपुर, ४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ । त्यसै क्रममा उहाँले सिद्धपोखरी र निर्माणाधीन भाजुपोखरीको पनि स्थलगत निरीक्षण गर्नुभएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अध्यक्ष बिजुक्छेँलाई साथ दिनुभएको थियो ।
निरीक्षणको क्रममा अध्यक्ष बिजुक्छेँले जीर्ण अवस्थामा रहेको भक्तपुरको रानीपोखरीलाई भक्तपुर नगरपालिकाले पुनः निर्माण गर्नु सराहनीय कदम भएको बताउनुभयो ।
प्राचीन सहरहरूमा पोखरीको ठूलो महत्व हुने धारणा राख्दै उहाँले सभ्यताको विकास र महत्वबारे बुझ्न प्राचीन सम्पदाहरूको विशेष स्थान रहने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विदेशी सहयोग र अरूको भरमा गर्ने विकास निर्माण कार्य दीगो हुँदैन । भक्तपुर नपाले आफ्नै पहल र अगुवाइमा सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्य गरिरहेको छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानीपोखरी जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । तीनवटा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणको कार्य अगाडि बढिरहेको जानकारी दिँदै उहाँले पुनःनिर्माणको काम सम्पन्न भएपछि सर्वसाधारण जनताको निम्ति पोखरी खुला हुने विश्वास दिलाउनुभयो ।
निरीक्षणमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी सन्तोष कार्की, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, भनपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, उपभोक्ता समितिका पदाधिकारीहरूलगायतको उपस्थिति थियो ।
नेपाल संवत् १६८७ मा तत्कालीन राजा जगज्र्योति मल्लको पालामा निर्माण भएको रानीपोखरी र त्यसको डिलमा रहेको सत्तल पाटी एवं देवालीस्थल भक्तपुरकै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूमध्ये पर्छन् । भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा चालीस वर्षअघि बनेको इतिहास रहेको र उक्त पोखरी जीर्णोद्धारमा हालसम्म रू. २ करोड ७५ लाख बराबरको रकम खर्च भइसकेको रानीपोखरी उपभोक्ता समितिले जनाएको छ ।
२०७६ जेठ १५ गतेबाट सुरू भएको भक्तपुरको रानीपोखरी जीर्णोद्धार कार्य करिब ३ महिनापश्चात् सम्पन्न हुने भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो ।
भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी उक्त पोखरीको पटक–पटक सरसफाइ गर्दै आएको छ । उक्त पोखरीमा प्राप्त प्रमाणहरूको आधारमा मौलिक स्वरूपमै पोखरीको जीर्णोद्धार र निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । हाल उक्त पोखरी परिसरको दक्षिणतर्फ ह्वाङह्वाङ पाटी, पूर्व र उत्तरतर्फका प्रवेशद्वार र पाटीहरू निर्माण भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *