भर्खरै :

एमसीसी सम्झौताविरुद्ध देशभक्त जनता उठ्नु आवश्यक

देशभक्त दल र देशभक्त नेताहरूले संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्दैनन्, सम्झौताको समर्थन गर्दैनन् । एमसीसी सम्झौताका सबै सर्तहरू नहेरी या नपढी आर्थिक सहयोगको लोभमा सत्तारुढ दलका नेताहरूले सही गर्नु हुँदैनथ्यो । सर्त नहेरी सम्झौतामा सही गरेकै कारण सत्तारुढ दलका नेताहरू यो सम्झौता पारित गर्न लागेका हुन् । अब सर्त देशघाती छ, जनविरोधी छ भन्ने थाहा हुँदाहुँदै किन सम्झौता अनुमोदन गर्ने ? गल्ती सुधार्ने कि फेरि गल्ती गर्ने ? सम्झौतामा सही गर्ने नेता र मन्त्रीहरूले माफी माग्नुपर्छ । यस्तै यस्ता नेता र मन्त्रीहरूको अदूरदर्शिता, कमजोरी र दास मानसिकताले गर्दा नेपालले विकास गर्न नसकेको हो । नेपाल परनिर्भर भइरहेको हो । सहयोग भनेपछि देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुगे पनि कति पनि ख्याल नगर्ने नेता र मन्त्रीहरूकै कारण नेपालका सत्तारुढ दलहरू कठपुतली बनिरहेका हुन् ।
सङ्घीय संसद्बाट सम्झौता अनुमोदन नभए पनि एमसीसी परियोजनाका कामहरू धमाधम भइरहेको छ । यसले यो परियोजनाको नियत सफा नभएको प्रस्ट पार्छ । योजना अनुमोदन नहुँदै योजनाका कामहरू कसरी थालनी भयो, कसले थालनी गर्यो ? कतै अमेरिकी सरकारको दबाबमा यो काम भइरहेको त होइन ? यो स्वतन्त्र मुलुकमाथिको हस्तक्षेप हो । हिन्द प्रशान्त सैन्य सङ्गठनसित सम्बन्धित उक्त योजनाको समर्थन गर्न र पारित गर्न जुटेका सत्तासीन दलहरूलाई किन देशको स्वाधीनता र सार्वभौमसत्ताको मतलब हुँदैन ?
यो याजना प्रत्यक्ष या अप्रत्यक्षरूपमा अमेरिकी सेना नेपाल छिर्ने एउटा माध्यम हो । वर्षौँ वर्ष अमेरिकी सेना ओहोरदोहर भइरहेपछि यहाँको गोप्य कुरा चुहिन्छ र देशलाई नोक्सान पु¥याउँछ । अमेरिकी सेना नेपाल पस्नेबित्तिकै अरू कुनै छिमेकी देशमा तत्कालै घेरा हाल्ने होइन, आन्तरिक द्वन्द्व चर्काउने होइन । तर, यसले त्यस्तो काम गर्ने अवसर बनाउँछ या पूर्वाधार तयार गर्छ । यस्तो काम जानी जानी नेपालका सत्तारुढ नेताहरू किन गर्छन् ? गर्न किन अघि सर्छन् । नेपालका शासकहरू किन ठूला देशका शासकहरूअघि झुक्छन् या कठपुतली बन्छन् ? कुनै विदेशी कम्पनीको योजना लागू गर्न संसद्ले अनुमोदन गर्नुपर्ने ? नेका, एमाले, माओवादी केन्द्र ठूलो दल भएरै के गर्ने ? देशघाती सर्तहरूमा सही गर्छन् । नेकाका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारका अरू दलहरूको एमसीसी सम्झौता पारित गर्न तयार छन् ? नेकाबाहेक अरू दलहरू देशभक्त छन्, सच्चा कम्युनिस्ट हुन् भने एमसीसी सम्झौता पारित होइन खारेज गर्न अघि सर्नुपर्छ । प्रम देउवाले पारित गर्न खोजे सरकार छोडेर त्यो योजनाविरुद्ध आन्दोलन छेड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *