भर्खरै :

एमसीसी सम्झौताको विरोधमा सिरहा र सप्तरीमा जुलुस तथा सभा

रौतहट, ५ कार्तिक । नेपाल मजदुर किसान पार्टीले सिरहा र सप्तरी जिल्लामा एमसीसी सम्झौताको विरोधमा शुक्रबार जुलुस र सभाको आयोजना ग¥यो ।
सिरहा
एमसीसी सम्झौता खारेजीको माग गर्दै शुक्रबार सिरहाको सहिद चोकमा नेमकिपाले विरोध जुलुस तथा सभाको आयोजना ग¥यो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले अमेरिकाको प्रजातन्त्र कामदार जनताको प्रजातन्त्र नभई साम्राज्यवादी र आतङ्कवादी प्रजातन्त्र हो भन्नुभयो ।
सरकारमा जाने शासक दलहरूले विदेशीको दलाल भई काम गरेको धारणा राख्दै उहाँले नेपालका केही भ्रष्ट बुद्धिजीवीहरूले एमसीसीको पैसा खाएर त्यसको पक्ष लिएको बताउनुभयो ।
केन्द्रीय सदस्य कवांँले भन्नुभयो, “ नेपालमा जलविद्युत्को उत्पादन र खपतको प्रचुर सम्भावना हुँदाहुँदै पनि भारत र अन्य मुलुकहरूलाई नेपालको विद्युत् सस्तोमा बेचेर कमिसन खाने खेलमा शासक दलका नेताहरू लागिरहेका छन् ।”
नेपालको विकास नहुनुको मुख्य कारण भ्रष्टाचार र कमिसनतन्त्र रहेको चर्चा गर्दै उहाँले स्रोत नखुलेको सम्पत्ति र कालो धन जफत गरे देशले काँचुली फेर्न बेर नलाग्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा सिरहा जिल्ला समितिका अध्यक्ष विजय महतोले शासक दलका नेताहरू आफै खाउँ आफै लाउँमा मग्न रहेको हुँदा कामदार जनताले दुःख भोग्नुपरेको बताउनुभयो ।
दलाल पार्टीका नेताहरूबाट देशको उज्ज्वल भविष्यको आशा गर्न नसकिने धारणा राख्दै उहाँले एमसीसीको पक्षमा वकालत गर्ने नेताहरूलाई देशद्रोहविरुद्ध मुद्दा चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले देशको सार्वभौमसत्ता कुनै पनि आर्थिक सहयोगमा साट्न नसकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले एमसीसी सम्झौतामार्फत अमेरिकाले नेपाललाई उपनिवेश बनाउन खोजिरहेको र यसले देशमा अशान्ति निम्तिने आशङ्का व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका सविता त्वानाबासूले पनि एमसीसी सम्झौता देशको अहितमा रहेको विचार व्यक्त गर्नुभएको थियो ।
सप्तरी
एमसीसी सम्झौताको विरोधमा नेमकिपाले शुक्रबार सप्तरीको राजविराजमा जुलुस तथा सभा ग¥यो ।
सभामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले शासक दलहरूले देशलाई बन्धक बनाउन खोजेको बताउनुभयो ।
उहाँले सरकारले खराब ठेकेदारहरूलाई सजाय दिनुको साटो पोस्ने काम गरेको बताउनुभयो । एमसीसी सम्झौताबारे शासक दलहरूले वास्तविक कुरा लुकाएर जनतामाथि भ्रमको खेती गरिरहेको सदस्य गोराको विचार थियो ।
उहाँले धेरै पहिले नै नेपालमा रासायनिक मल कारखाना खोल्नुपर्ने नेमकिपाको प्रस्तावलाई लत्याएर शासक दलका नेताहरूले देशप्रति घात गरिरहेको बताउनुभयो ।
नेमकिपा सप्तरीका दिगम्बर यादवले शासक दलहरूले सधैँ नेपाली जनतालाई झूटो आश्वासन दिएर भोट माग्ने गरेको तर बाचा पूरा नगरेको बताउनुभयो ।
उहाँले देशघाती एमसीसी सम्झौताको विषयमा एक शब्द पनि नबोल्नुले शासक दलहरू विदेशबाट परिचालित रहेको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका आर्थिक संयोजक दिनेश खड्गीले अमेरिका पसेका हरेक देशहरू ध्वस्त बनेको बताउनुभयो । एमसीसी सम्झौता पास भए नेपाल र नेपालीको अवस्था सिरिया, लिविया, इराक, अफगानिस्तानको जस्तो हुने चर्चा गर्दै उहाँले एमसीसीविरोधी आन्दोलन देशभक्त र देशद्रोहीहरूबीचको सङ्घर्ष भएको बताउनुभयो ।
एमसीसीविरोधी नाराजुलुससहित राजविराजको हस्पिटल चोकबाट सुरू भएको जुलुस गजेन्द्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो । सभामा नेक्राविसङ्घका विशालकुमार साहले पनि एमसीसी सम्झौता देशघाती रहेको विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *