भर्खरै :

खोपको अन्तर्राष्ट्रिय सहयोग काममा निर्भर रहन्छ बोलीमा होइन

चलचित्र टाइटानिकमा एउटा गहिरो छापलाग्ने दृश्य छ । टाइटानिक जहाज डुबेपछि यात्रुको सङ्ख्याको एक तिहाइलाई मात्र पुग्ने लाइफबोट भएपछि महिला र बालबालिकालाई प्राथमिकतामा राखिन्छ । उद्धार भएका ७०४ जनामध्ये धेरैजसो महिला र बालबालिका छन् । कठिनाइ र जोखिमको समयमा कमजोर समूहलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । अमेरिकालगायत पश्चिमाले निर्माण गरेको छवि पनि हो यो । कोभिड–१९ को यो महामारीमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको गतिविधिले उक्त सन्देशलाई लत्याएको छ ।
खोप अध्ययनको सुरुदेखि अमेरिकाले घमण्ड देखाउँदै गलत निर्णय गरेको थियो । एकातिर खोपमा आधारित कूटनीति गरी प्रभुत्वको सपनालाई व्यवहारमा उतार्ने र अर्कोतिर विश्वव्यापी खोप आपूर्तिमा एकाधिकार कायम गरी सम्पत्ति सङ्कलन गर्ने योजना बनाएको थियो संरा अमेरिकाले । तर, चीन र रूसले खोपको उत्पादन गरी विश्वलाई बाँडेर विनाशबाट बचाएको छ । त्यसपछि अमेरिकाले जबर्जस्ती खोप उद्धारकको नाटक गरी केही मुलुकलाई सहयोग गर्ने वचन दियो तर त्यो व्यवहारमा देखिएको छैन ।
गत जनवरीमा अमेरिकी विदेशमन्त्री मनोनित आन्टोनी ब्लिन्केनले अमेरिकीहरूको खोप आपूर्ति निश्चित गरेसँगै विश्वका अरू खोप लगाउने इच्छा रहेकाहरूलाई प्रदान गर्ने वचन दिएका थिए । गत मे महिनाको मध्यकालमा आएर मात्र अन्तर्राष्ट्रिय समूहको दबाबमा अमेरिकी सरकारले घोषणा गरेको थियो कि जूनको अन्तअघि विश्वलाई ८ करोड खोप वितरण गरिने छ । तर, उक्त कार्यक्रम पटकपटक पछि सारियो र विभिन्न पक्षको बारम्बार पर्यवेक्षणमा बल्ल अमेरिकाले अगस्तमा मात्र सो काम ग¥यो ।
सेप्टेम्बर २२ तारिखमा अमेरिकाको नेतृत्वमा आयोजित कोभिड–१९ महामारीको विश्व शिखर सम्मेलनमा अमेरिकी सरकारले कम आय भएका मुलुकलाई ५० करोड डोज खोप अनुदान गरी एक वर्षपछि विश्वका कम्तिमा ७० प्रतिशतलाई खोप सुनिश्चित गर्न सहयोग गर्ने उल्लेख गरेको थियो । तर, त्यसअघि अमेरिकी राष्ट्रपतिले प्रदान गर्ने वचन दिएको ५८ करोड डोज खोपमध्ये १४ करोड डोज मात्र प्रदान गरिएको छ । त्यसैले अमेरिकाको यस वचन फेरि पालना हुनेमा धेरैको शङ्का छ ।
विश्वमा सबैभन्दा विकसित चिकित्सा प्रविधि र चिकित्सा स्रोत भएको मुलुकको रूपमा रहेको अमेरिकाले खोपको अन्तर्राष्ट्रिय सहयोगको वचनलाई पालना गरिरहेको छैन तर महामारी नियन्त्रणको ‘लाइफ बोट’ को रूपमा मानिने खोपलाई राजनीतिक उपकरण बनाएको छ । यसबाट सबैलाई निराश बनाएको छ । साथै, त्यस्तो जिम्मा नलिने गतिविधिले विश्वको महामारी नियन्त्रण प्रक्रियालाई निकै नकारात्मक प्रभाव पारेको छ ।
महामारी फैलिएयता चीनले खोपको अन्तर्राष्ट्रिय सहयोगलाई बढाएर खोपलाई विश्वको सार्वजनिक उत्पादन वस्तुको रूपमा बनाउन प्रयास गरिरहेको छ । हाल चीनले १०० भन्दा बढी मुलुकलाई खोप अनुदान दिएको छ । चीनले ६० भन्दा बढी मुलुकमा खोप निर्यात गरेको छ । चीनले कुल ७७ करोड डोज खोप विश्वलाई उपलब्ध गराएको छ । यसमा चीन विश्वको अग्रस्थानमा छ ।
हालै आयोजित कोभिड–१९ खोप सहयोगको अन्तर्राष्ट्रिय मञ्चमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले सबै विकासोन्मुख मुलुकलाई महामारी नियन्त्रणमा सहयोग प्रदान गर्ने भन्दै यसै वर्ष चीनले विश्वलाई २ अर्ब डोज खोप प्रदान गर्न प्रयास गर्ने घोषणा गर्नुभएको छ । अक्टोबर १९ तारिखमा चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त विदेशमन्त्री नारायण खड्कासँग टेलिफोन वार्ता गरी नेपाललाई महामारी नियन्त्रण गर्न थप सहयोग गर्नका लागि अर्को खेपको खोप अनुदान सहयोग गर्ने कुरा व्यक्त गर्नुभएको छ ।
यी सबै गतिविधिबाट चीनले महामारी नियन्त्रणको अन्तर्राष्ट्रिय सहयोगमा थप सक्रियता देखाउने र स्वस्थ संसारको रचना गर्ने दृढ अठोट देखिएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव आन्टोनियो गुटेरेसले चीन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरी विकासोन्मुख मुलुकमा खोपको पहुँच पु¥याउन योगदान गरेको बताउनुभयो ।
हाल महामारी फैलिरहेको छ । विकासोन्मुख मुलुकले खोप पाउन अझै गाह्रो छ । त्यसैले, खोपको अन्तर्राष्ट्रिय सहयोगको कुरालाई अझ व्यवहारमा उतार्नु आवश्यक छ । यसरी नै मानवजातिले महामारीलाई पूर्णरूपमा पराजित गर्नसक्छ र विश्वलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *