भर्खरै :

पुँजीवादी चरित्र नङ्ग्याउने ‘प्रतिपक्षी कलम’

यतिबेला हामी दसैँको अन्तमा छौँ । हरेक वर्ष दसैँ बिदा कसरी उपयोग गर्ने भन्ने विषयमा सोच्थेँ र यो वर्ष पनि त्यस्तै भयो । अष्टमीको दिन नयाँ पुस्तक ‘प्रतिपक्षी कलम’ हातमा प¥यो । अल्मलिएको मनले ढाडस पायो ।
स्रस्टा समाज, नेपालद्वारा प्रकाशित ‘प्रतिपक्षी कलम’ का लेखक जोराललाई बधाई र शुभकामना दिन चाहन्छु । भविष्यमा यस्तै कृति नयाँ पाठकहरूबीच पु¥याउन सकून् भनी कामना गर्छु ।
देश र जनतामा समर्पित आस्थाको पत्रिका ‘श्रमिक’ साप्ताहिक पुराना र नयाँ पुस्ताको लागि परिचित पत्रिका हो । कामदार वर्गको हृदयको आवाज बुलन्द गर्ने ‘श्रमिक’ का लेखक तथा स्तम्भकार लक्ष्मणराज जोशी ‘जोराल’ सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । ‘श्रमिक’ साप्ताहिकका नियमित पाठकका प्रिय लेखक जोराल सटिक र विचारमूलक लेखमा सिद्धहस्त हुनुहुन्छ । गलत र जनविरोधी विचारलाई उदाङ्ग्याउन र सिद्धान्तनिष्ठ जनपक्षीय विचारलाई समृद्ध तुल्याउन उहाँको कलम अद्यापि चलिरहेकै छ ।
‘प्रतिपक्षी कलम’ नेपालको इतिहासको एक कालखण्डको बारेमा जानकारी दिने राजनीतिक तथा सैद्धान्तिक दस्तावेज हो । राजनीतिक विकृति र विसङ्गगतिविरूद्धका विचारमूलक लेखहरू यस पुस्तकमा समेटिएका छन् ।
वि.सं २०५० साल माघ १९ गतेदेखि वि.सं २०५५ माघ ५ गतेसम्म अर्थात् करीब ५ वर्षको बीचमा लेखिएका १७८ वटा लेखहरूको सङ्कलन नै ‘प्रतिपक्षी कलम’ हो । ‘श्रमिक’ साप्ताहिकको दोस्रो अङ्कदेखि जोरालको नाममा प्रकाशित लेखहरूले नै पुस्तकाकार लिएको हो । पुस्तकमा वि.सं २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनपश्चात् पुनःस्थापित बहुदलीय प्रजातन्त्रमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको नेपाल मजदुर किसान पार्टीले लिएको नीति, विचार र दृष्टिकोणलाई समेटिएको छ ।
साथै प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन समयमा सरकारमा गएका पुँजीवादी पार्टीहरूले नेमकिपालाई हेर्ने दृष्टिकोण र विभिन्न राजनीतिक पात्रहरूका चरित्रबारेमा चर्चा परिचर्चा गरिएको छ ।
एउटा कथन छ– ‘इतिहास दोहोरिन्छ तर फरक ढङ्गले ।’ करीब २७ वर्षअगाडिको घटनाहरू विगत नभई भर्खरै घटेको घटनाजस्तो लाग्छ तर फरक शैलीमा । यद्यपि, यो समय सान्दर्भिक छ । पुँजीवादी चरित्रलाई उदाङ्ग्याउने, पुँजीवादी सोच र विचारलाई व्यङ्ग्य हान्ने काम यस पुस्तकका लेखहरूले गरेका छन् ।
वि.सं २०४६ सालमा असङ्ख्य नेपालीहरू जीवन र रगत बगाएर प्रजातन्त्र पुनःस्थापित गर्न सफल भएका थिए । तत्कालीन समयको संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएर पञ्चहरूबाट सत्ता हस्तान्तरण गरिलियो । आकर्षक नारा र वचन दिएर सत्तामा पुगेको काङ्ग्रेस सरकारले पञ्चायतका विकृति, भ्रष्टाचार, तानाशाही, अनैतिकता र अराजनैतिक संस्कार पनि दाइजोमा पायो र त्यसलाई ‘प्रजातान्त्रिक समाजवाद’ को मुखौटा लगाएर मलजल दिएर हुर्काइरहेको छ । नेपाली काङ्ग्रेसको शासन शैलीका कारण जनआन्दोलनकारीहरू प्रजातन्त्रलाई अभिशापझैँ मान्न बाध्य भए । जनताले अपेक्षा गरेअनुरूप परिवर्तनको आभाष गर्न पाएनन् ।
केही महिनापछि एमाले सरकारमा प्रवेश भयो । नेमकिपाले एमाले संशोधनवादमा पतन भइसकेको कुरा औँल्याउँदै आएको छ । एमाले कम्युनिस्ट पार्टी होइन, पुँजीवादी पार्टी हो भन्ने कुरा उसको व्यवहार र कार्यशैलीबाट थाहा भइसकेको छ । यद्यपि, लेखक ‘कम्युनिस्ट मास्ने षड्यन्त्र’ शीर्षकको लेखमा लेख्नुहुन्छ, “नेपालमा नेपाली काङ्ग्रेस र एमाले मिलेर जाल र षड्यन्त्रहरू बिछ्याइएका थिए । पञ्चहरूले कम्युनिस्टहरू उन्मूलन गर्न खोजेका थिए । तर, पञ्चायत सफल भएन । त्यस्तै जाल र षड्यन्त्र नेकाले पनि नबिछ्याएको होइन । परन्तु, त्यो पनि असफल भयो । पञ्चायत र नेका असफल भएपछि कम्युनिस्ट मास्ने षड्यन्त्रमा अब एमाले लागेको छ । नेकपा एमालेसँग नाममा बाहेक सिद्धान्त, उद्देश्य, नीति र व्यवहारमा कम्युनिस्टको कुनै चरित्र र गुण बाँकी छैन । त्यसैले एमालेलाई बुर्जुवा पार्टी वा पुँजीवादी पार्टी भनिएको हो । एमालेले अन्य कम्युनिस्ट पार्टीका कार्यकर्र्तालाई षड्यन्त्रमा पार्दै, लोभलालचमा फसाउँदै भ्रमित पार्दै फोड्ने र भाँड्ने काम धेरै समयदेखि गर्दै आएको छ ।” यसबाट नेका र एमाले दुबै कम्युनिस्ट विचारभन्दा पनि पुँजीवादलाई सबल बनाउन चाहन्छन् भन्ने कुरा पुष्टि हुन्छ ।
यसप्रकार निर्दलीय पञ्चायती शासनको अन्त्यपछि सत्तामा जाने नेका र एमालेले बहुदलीय व्यवहारभन्दा एकदलीय र व्यक्तिगत हितलाई प्राथमिकता दिँदा जनताले जुन जोगी आए पनि कानै चिरेका’ भन्नु परेको अवस्थालाई लेखक चित्रण गर्नुहुन्छ ।
‘सांसद–चोर, ठग र लुच्चाको पर्याय ?’ को लेखमा भनिएको छ, “राजनैतिक दलको मान्यता पाउन दलको विधान र नीति जातिगत, धार्मिक र क्षेत्रीय होइन राष्ट्रिय हुनुपर्छ । संविधानमा नै संसद्मा राष्ट्रिय मान्यता पाउन निर्वाचनमा खसेको कुल मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । ३ प्रतिशतको प्रावधान पूरा नगर्ने सिङ्गो एउटा दल व्यक्तिसरह हुन्छ ।” यो वाक्यांश केही वर्ष यता थ्रेसहोल्डको रूपमा आएको विचारको पुरानो स्वरूप हो । जुन ठूला दलहरूले आफ्नो एकलौटी शासनका लागि ल्याइएको षड्यन्त्र हो । यो अप्रजातान्त्रिक र जनताको भावनाविपरीतको निर्दलवादी सोच हो भनी नेमकिपाले विरोध गर्दै आएको छ । हामी पनि यसमा सचेत हुनुपर्ने आवश्यकता छ ।
देश र जनताको निःस्वार्थरूपमा सेवा गर्दै आएको पार्टी नेमकिपालाई सिध्याउन भारतलगायत अन्य राजनीतिक दलहरूले विभिन्न समयमा विभिन्न आरोप तथा षड्यन्त्र गर्ने प्रयास गरेको कुरा पुस्तकका लेखहरूमा उल्लेख छ । एमालेका अभिभावक वासुपासाले ‘भक्तपुरका मान्छे कहिल्यै आफ्नो हुँदैन’ भनी अभिव्यक्ति दिएका थिए तर लेखकले सामन्तका दलाल वासुपासाजस्ता स्वार्थी, पतीत, भ्रष्टले भक्तपुरका जनताले ‘आफ्नो’ बनाउन योग्य नभएको भनी चोटिलो प्रहार गरेका छन् ।
त्यस्तै वि.सं २०३६ सालमा एमाले निकट अखिलका विरोध खतिवडा (हालका स्वास्थ्यमन्त्री) ले ‘भक्तपुरे ज्यापुहरूको मासुको चोक्टा चोक्टा यी भित्तामा टाँस्नेछौँ’ भनी निर्लज्ज अभिव्यक्ति दिएका थिए । झापाको व्यक्तिहत्याको संस्कारले प्रशिक्षित खतिवडा २०५२ सालमै माननीय भएकोमा लेखकले खेद प्रकट गरेका छन् ।
यहाँ एउटा सन्दर्भ जोड्न उपयुक्त ठान्दछु । नेपालका राजा, मन्त्री, उच्चपदस्थ कर्मचारी, वरिष्ठ पत्रकारहरूसमेत उपस्थित भएको भारतीय व्यापार मेलाको उद्घाटन समारोहमा भारतको दिल्लीका मुख्यमन्त्रीले ‘म नेपालीहरूलाई माया गर्छु किनभने मेरो घरमा दुईजना नेपाली नोकरहरू छन्’ भनी अपमानजनक बोलीले स्वाभिमानी नेपालीलाई चोट पुगेकोमा लेखक चिन्ता व्यक्त गर्नुहुन्छ । त्यस्तै राजा महेन्द्र उपस्थित भएको एक समारोहमा नेहरूले ‘नेपालीहरू गधाझैँ हुन्छन्’ भन्ने अभिव्यक्तिबाट त्यसबेला राजा महेन्द्र र भारतबीचको सम्बन्ध चिसिएको थियो । पछि नेहरूले आफ्नो भूल थाहा पाएपछि ‘गधाझैँ सोझा–सीधा हुन्छन्’ भनी सच्याएका थिए । तर, राजा महेन्द्रको मनमा तुस पलाइसकेको थियो । नेपालीहरूले भारतको स्वतन्त्रता आन्दोलनमा धेरै सहयोग गरेका थिए तर उनीहरूको व्यवहार भने न्यायसङ्गत देखिँदैन ।
पुस्तकमा भक्तपुर नगरपालिकामा रहेका पुरातात्विक र सांस्कृतिक सम्पदाको विषयमा उल्लेख छ । प्रतिक्रिया तथा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर देश र जनताको सेवा गर्ने नेमकिपाको नीति तथा सैद्धान्तिक आधारबारे पुस्तकले प्रस्ट्याएको छ । पञ्चायती राज्यस्तरबाट तत्कालीन नेमकिसङ्गठनलाई समूल नष्ट पार्न रचिएको षड्यन्त्र भक्तपुर काण्ड(कालो दिवस) बारे जानकारी प्रदान गर्ने लेखहरू पनि समावेश छन् । एमालेले राष्ट्रघाती महाकाली सन्धि गरेर देश बेचेको सन्दर्भ उल्लेख छ । माओवादी जनयुद्ध सही या गलत भन्ने विषयमा नेमकिपाको आलोचनात्मक दृष्टिकोण समावेश छ ।
पुस्तकमा समेटिएका ५ वर्ष अवधिका विचारमूलक लेखहरू आज पनि त्यति नै सान्दर्भिक छन् । नेपालका अहिलेका शासक राजनीतिक दलहरूको चरित्र बुझ्नको निम्ति पुस्तक पठनीय छ । उनीहरूको विगतको चरित्र बुझेपछि आजभोलि उनीहरूका व्यवहार देख्दा ठूलो आश्चर्य लाग्दैन ।
तत्कालीन परिस्थितिमा सरकारमा गएका पुँजीवादी दलहरूको चरित्र र पुँजीवादी प्रवृत्ति नङ्ग्याउन लिखित रचनाहरूको अध्ययनबाट पुस्तकको शीर्षक ‘प्रतिपक्षी कलम’ उपयुक्त छ । भाषा सरल र स्पस्ट छ । ३७० पृष्ठको पुस्तक जानकारीमूलक छ ।
‘प्रतिपक्षी कलम’ अध्ययन गर्ने मौका दिनुभएकोमा प्रकाशक र लेखकप्रति हार्दिक आभार छ । फेरि अर्को कृतिको आशा राख्नु स्वाभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *