भर्खरै :

सक्वको म राजदास–१०७ / नेपालले चुन उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ

चुन एक बहुउद्देश्यीय पदार्थ हो । विभिन्न निर्माण कार्य, कृषि क्षेत्र, खानेपानी प्रशोधनदेखि चिनी उद्योग, कागज उद्योग र औषधि उद्योगहरूमा पनि प्रयोग हुन्छ । चुन उत्पादनको लागि आवश्यक कच्चा पदार्थ चुनढुङ्गा नेपालको विभिन्न ठाउँमा प्रशस्त पाइन्छ । नेपालमा चुन उद्योगहरू स्थापना गरी प्रशस्त आर्थिक लाभ लिन सकिन्छ । देशमा रोजगारी सृजना हुने हुँदा चुन उद्योगलाई प्रोत्साहन गर्नु आवश्यक छ । नेपालमा पाइने चुनढुङ्गामध्ये कैयौँ स्थानमा उच्चकोटीको ढुङ्गा पाइन्छ । ती ढुङ्गाबाट उत्पादन हुने चुनले स्वदेशमा मात्र होइन विदेशमा पनि बजार प्राप्त गर्न सकिन्छ । जस्तो कि नेपालको पूर्वी भाग उदयपुर जिल्लामा पाइने उच्चकोटीको चुनढुङ्गाबाट प्रेसिपिटेटेड क्याल्सियम कार्बोनेट भन्ने औषधिका ट्याब्लेटहरू बनाउने चुन उत्पादन हुनसक्ने भएकोले हाल उदयपुरमा स्थापित ‘उदयपुर सिमेन्ट उद्योग’ नजिक एक उद्योग स्थापना गर्न सकिन्छ । साधारण कृषि चुन र निर्माण क्षेत्रमा लगाउने चुनभन्दा प्रेसिपिटेटेड क्याल्सियम कार्बोनेट भन्ने चुनको मूल्य पनि धेरै आउँछ ।

नेपालको चितवन जिल्लामा अवस्थित एक चुनढुङ्गा खानी


चुन उद्योगको लागि धेरै ऊर्जा चाहिने र आजसम्म चुनढुङ्गा पोल्न काठ–दाउरा र कोइला नै प्रयोग भइरहेको हुँदा नेपालको लागि चुन उत्पादन गर्न अलि कठिनाइ भएको पक्कै हो । किनकि नेपालमा चुनढुङ्गा पोल्न आफ्नै कोइला छैन । काठ, दाउरा प्रयोग गर्दा धेरै वन विनाश हुने कारणले गर्दा चुन पोल्ने उद्योग नेपालमा फस्टाउन नसकेको हो ।
पहिले–पहिले नेपालमा राणाकालमा ठूलठूला दरबारहरू बनाउँदा चुन र सुर्ती नै प्रयोग गरिन्थ्यो । त्यसको लागि आवश्यक चुन काठमाडौँ पश्चिमतिर पर्ने स्युचाटारमा बनाउँथे । स्वयम्भुको दक्षिणतिर स्युचाटार क्षेत्रमा चुनढुङ्गा पाइन्छ । यद्यपि, त्यो चुनढुङ्गा उच्च कोटीको थिएन । काठमाडौँमा बनेका राणाका दरबारहरू प्रायः सबै त्यहीँ स्युचाटारमा पोलिएका चुनबाट बनेका थिए । स्युचाटारमा त्यसबेला इँटा पोल्ने भट्टाजस्तो ठाडो भट्टामा धेरैजसो काठ–दाउरा बालेर चुन पोल्ने गरिन्थ्यो । त्यसबेला काठमाडौँको जनघनत्व धेरै कम भएको र वातावरण प्रदूषणको कुरा पनि त्यति चासोको विषय नभएको हुँदा त्यस क्षेत्रमा चुन पोल्ने काम भएको थियो । त्यसबेला उपत्यकामा काठ–दाउराको समस्या पनि त्यति थिएन । वरिपरि पहाड जङ्गलमा थुप्रै काठ–दाउरा पाइन्थ्यो ।

चुनढुङ्गा पोलेर कृषि चुन उत्पादन गर्ने एक आधुनिक कारखाना


तर, पछि २० औँ शताब्दीतिर स्युचाटार र स्वयम्भु क्षेत्र वरिपरि बस्ती बढ्दै गएपछि त्यहाँबाट निस्कने चुनको गुणस्तर कमसल भएको र प्रदूषणको कारणले गर्दा चुन पोल्ने काम बन्द भयो ।
स्युचाटारपछि काठमाडौँको दक्षिणतिर पर्ने गोदावरीमा चुन पोल्न थालियो । गोदावरीमा राम्रो गुणस्तरको हल्का रातो गुलावी रङ्ग (पिङ्क) को सिंगमर्मर (मार्बल) पाइन्छ । गोदावरीमा उक्त मार्बल खानीबाट मार्बल उत्खनन एवम् उत्पादन गर्न थालिएपछि मार्बलका स्लाबहरू काटेर फालिएका साना–साना मार्बलका ढुङ्गाहरू पोलेर चुन उत्पादन गर्न थालियो । मार्बल पनि एक प्रकारको उच्चकोटीको चुनढुङ्गा नै हो । साधारण चुनढुङ्गाभन्दा पनि मार्बल उच्चकोटीको चुनढुङ्गा मानिन्छ । किनभने, साधारण चुनढुङ्गामा क्याल्सियमबाहेक म्याग्नेसियम भन्ने रासायनिक तत्व पनि मिसिएको हुन्छ । म्याग्नेसियम र क्याल्सियम उस्तै–उस्तै गुण भएका पदार्थ हुन् । नेपालमा पाइने धेरैजसो चुनढुङ्गामा म्याग्नेसियमको भाग मिसिएको हुन्छ । चुनढुङ्गामा म्याग्नेसियमको भाग धेरै भयो भने चुन उत्पादन र सिमेन्ट उत्पादनको लागि घातक हुन्छ । त्यसकारण, चुनमा भन्दा सिमेन्ट उत्पादनमा म्याग्नेसियम उपस्थिति धेरै घातक हुन्छ र अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्डअनुसार साधारण पोर्टल्यान्ड सिमेन्टमा म्याग्नेसियम तत्वको उपस्थिति तयारी सिमेन्टमा बढीमा ५ प्रतिशत तोकिएको छ ।
योभन्दा बढी मात्रामा सिमेन्टमा म्याग्नेसियम भयो भने त्यो सिमेन्टले निर्माण गरिएका संरचनाहरू धेरै बिग्रने हुन्छन् । नेपालमा र हाम्रा छिमेकी राष्ट्रमा निर्माण गरिएको ठूलठूला पुल, भवन र बाँधहरू निर्माण गर्दा गर्दै ढल्ने, भत्किने भएर धेरै धनजनको नोक्सान हुन्छ । यसको मुख्य कारण त्यस निर्माण कार्यमा प्रयोग गरिएको सिमेन्टमा धेरै मात्रामा म्याग्नेसियम तत्वको उपस्थिति हो । यसकारण, कुनै ठूला संरचनाहरू निर्माण गर्दा राम्रो ठेकेदार कम्पनीहरूले कारखानाबाट ल्याइएको वा बजारमा किनी ल्याएको सिमेन्टको क्वालिटी निर्माण स्थलमै पनि परीक्षण गरिन्छ । यद्यपि, प्रत्येक सिमेन्ट कारखानाको आफ्नै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला (ल्याबोरेटोरी) हुन्छ र हुनुपर्छ । निर्माण भएको प्रत्यक ब्याच (लट) को सिमेन्ट स्टोरमा पठाउनुपूर्व अथवा बिक्री वितरणको लागि बजारमा पठाउनुअघि त्यसको भौतिक र रासायनिक गुणस्तर परीक्षण गरिएको हुनुपर्छ ।
सिमेन्टको भौतिक गुणस्तर भन्नाले त्यसको मसिनोपन अथवा मोटोपन र मूलतः त्यसको भारवहन क्षमता हो । खोला–नदी नालामा बनाइने पुलहरू र ठूल्ठूला भवनहरू बनाउँदा प्रयोग हुने सिमेन्टको भारवहन क्षमता जान्नु अत्यावश्यक हुन्छ । सिमेन्टको भारवहन क्षमता नै कुनै भवन कति तल्लासम्म माथि जान सक्छ र कतिसम्म त्यसले भार थेग्न सक्छ भन्ने कुरा निर्धारण हुन्छ ।
सिमेन्टको भारवहन क्षमता केही मात्रामा त्यसको मसिनोपनले पनि निर्धारण गर्छ भने त्यसको रासायनिक योग अथवा केमिकल कम्पोजिसनले मुख्य भूमिका खेल्छ । केमिकल कम्पोजिसन सिमेन्ट उत्पादन गरिने कच्चा पदार्थहरू चुन ढुङ्गा र माटोमा भरपर्छ । कच्चा पदार्थहरू राम्रो गुणस्तरको भए पनि यदि सिमेन्ट उत्पादनमा प्रयोग भएको प्रविधि राम्रो भएन अथवा सिमेन्ट राम्ररी पोलिएन भने त्यसले पनि गुणस्तरमा धेरै फरक गर्छ ।
कुनै कारखानाबाट उत्पादन गरिएको सिमेन्ट परीक्षण गर्दा भौतिकरूपमा धेरै बलियो देखिए पनि त्यस सिमेन्टमा म्याग्नेसियम तत्वको उपस्थिति निर्धारित मात्राभन्दा बढी भयो भने कालान्तरमा त्यस्तो सिमेन्ट कमजोर हुन्छ । म्याग्नेसियमले गर्ने खराबी भनेको निर्माण भइसकेको कुनै पुल अथवा भवनमा विस्तारै मसिनो चिरा देखापर्नु हो । त्यस मसिनो चिराभित्र पानी अथवा हावा पस्यो भने चिरा झन्झन् ठूलो हुँदै जान्छ र कालान्तरमा त्यो चिराबाट पानी चुहिनुको साथै घरको भित्ता भत्किने, चर्किने, ढलान चर्किने र पुलहरू भत्किने धेरै सम्भावना हुन्छ ।
नेपालमा ठाउँठाउँमा ठूल्ठूला पुलहरू बन्दाबन्दै भत्किने र घरहरू ढल्ने अनि बनेको केही वर्षपछि खोलाले बगाउनुको एक मूल कारण सिमेन्टमा म्याग्नेसियम तत्व धेरै हुनु हो भने अर्काे कारण निर्माण गर्ने ठेकेदार कम्पनीहरूले ढलान गर्दा राख्नुपर्ने बालुवा, सिमेन्ट र रोडा–गिट्टीको मात्रा मिलाउने काममा गडबड गर्नु हुनसक्छ । निर्माण कार्य सस्तोमा सकाउनको लागि आवश्यक सिमेन्टको भाग कम राखेर बालुवा गिट्टीको भाग धेरै राख्दा पनि बनाइएका पुल र भवनहरू भत्किन्छन् । अर्को कुरा ढलान गर्दा प्रयोग हुने फलाम र स्टीलको दण्डीको गुणस्तर र मात्राले गर्दा पनि निर्माण संरचनाहरू कच्चा हुन्छन् ।
नेपालमा पाइने चुन ढुङ्गाहरूमा धेरै ठाउँमा म्याग्नेसियमको मात्रा अधिक हुने भएकोले सिमेन्ट उत्पादकहरू धेरै सजग हुनुपर्छ । सिमेन्टको गुणस्तर उच्च राखेर मापदण्डभित्र रहेर उत्पादन गर्दा देश र जनताको हित हुने हुन्छ । बिक्री बढाउन विभिन्न लोभलालच देखाएर विभिन्न आर्थिक लाभका प्याकेजहरू प्रस्तुत गरेर डीलरहरू हातमा लिनुभन्दा आफ्नो उत्पादनको गुणस्तर कायम राखी देश र जनताको हित सोच्नु सिमेन्ट तथा अन्य उत्पादकहरूको ‘धर्म’ हो ।
सिमेन्टमा जस्तो चुन उत्पादनमा म्याग्नेसियम तत्वको उपस्थितिले त्यत्ति नोक्सान गर्दैन । तापनि, चुन उत्पादनमा पनि अन्तर्राष्ट्रिय गुणस्तरअनुसार चुन उत्पादन गरेर देशमा औद्योगिक वातावरण स्वच्छ राख्दै नेपालमा चुन उद्योग विस्तार गर्न धेरै जरुरी छ । किनभने, विश्व बजारमा खासगरी औषधि तथा कागज उत्पादन छाला कारखाना सञ्चालनमा चुनको आवश्यकता अपरिहार्य भएको हुनाले नेपालले आफ्नो देशमा भएको उच्च गुणस्तरको चुनढुङ्गा प्रयोग गरी चुन उत्पादन गर्ने क्षेत्रमा प्रोत्साहन दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *