भर्खरै :

पृथ्वीको तापमान वृद्धि १.५ मा सीमित राख्ने जी २० को घोषणा

रोम, ३१ कार्तिक । इटालीको रोममा चालु जी–२० शिखर बैठकमा नेताहरू पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्ससमा सीमित राख्नेमा सहमत भएका छन् । बैठकबाट जारी हुने संयुक्त वक्तव्यमा मस्यौदाअनुसार बैठकबाट शुद्ध शून्य उत्सर्जन (नेट जिरो इमिसन) को अपेक्षा भने पूरा भएको छैन ।
जी २० देशहरूले पृथ्वीमा उत्सर्जन हुने कुल कार्बनमध्ये झन्डै ८० प्रतिशत उत्सर्जन गर्ने गरेको छ । आइतबारबाट स्कटल्यान्डको ग्लासगोमा सुरु भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु शिखर सम्मेलन (कोप २६) को कारण जी २० देशहरू जलवायुबारे फराकिलो निर्णय गर्नुपर्ने दबाबमा थिए ।
स्रोतका अनुसार बैठकको अन्तिम निर्णय हुने मस्यौदा वक्तव्यले सन् २०१५ मा पेरिसमा भएको सम्मेलनबाट तय भएको लक्ष्यअनुसार तापमान वृद्धि २ डिग्रीभन्दा मुनि राख्ने र बढीमा औद्योगिक युग सुरु हुनुअघि पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्ससमा झार्नेमा समर्थनलाई निरन्तरता दिएको छ ।
उनीहरूले १.५ डिग्री सेल्ससमा सीमित राख्न सबै देशको अर्थपूर्ण र प्रभावकारी प्रतिबद्धता र सक्रियता आवश्यक भएको बताएका छन् ।
जलवायुका विज्ञहरूअनुसार पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्ससमा सीमित राख्न सन् २०३० भित्र अहिले पृथ्वीमा भएको तापमान वृद्धिमा लगभग आधाले घटाउनुपर्ने र सन् २०५० भित्र ‘शुद्ध शुन्य’मा झार्नुपर्ने बताएका छन् ।
जी २० ले कार्बनको शुद्ध सन्तुलन हासिल गर्ने कुनै समय सीमा भने तय गरेन । यो शताब्दीको मध्य अवधिमा त्यो लक्ष्य हासिल गर्न सकिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *