भर्खरै :

तिहारको मुखमा देउवा सरकारको उपहार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, १४ कार्तिक । ‘भारतमा इन्धनको मूल्यमा वृद्धि भएको’ सजिलो कारण देखाएर नेपाल आयल निगमले पनि इन्धनमा मूल्यवृद्धि गरेको छ । तिहारको मुखमा भएको मूल्यवृद्धिले बजार मूल्यमा हुने वृद्धिले उपभोक्ताको ढाड भाँचिने पक्का छ । ‘बिरालो बाँधी श्राद्ध’ गरेजस्तै केही विद्यार्थी सङ्गठनहरूले वक्तव्य जारी गरी मूल्यवृद्धिको विरोध गरे पनि त्यसले निगमको निर्णयमा कुनै प्रभाव पार्ने देखिँदैन ।
नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा भारतको एकाधिकार छ । भारतबाहेक अन्य देशबाट तेल ल्याउन नेपाललाई अघोषितरूपमा रोक लगाएको छ । उत्तरी छिमेकी चीनबाट तेल ल्याउने प्रयास पटक–पटक भए पनि भारतीय दुराशयको कारण ती प्रयासहरू असफल भए । आजसम्मका नेपालका शासकहरूले पनि भारतबाहेक अन्य देशबाट तेल आयातको प्रभावकारी प्रयास गर्न सकेको छैन । नयाँ संविधान घोषणा भएपछि भारतले नेपालमाथि थोपरेको नाकाबन्दीताका तेलको विकल्प खोज्ने प्रयास पनि समयान्तरमा फासफुुस भयो । त्यसकारण नेपालको तेलको अर्थतन्त्र भारतमा पूर्णतः निर्भर छ । भारतमा तेलको मूल्य बढ्न नपाउँदै नेपाल आयल निगमले तेलको मूल्य बढाउने गर्छ । तर, अन्तर्राष्ट्रिय मूल्यमा तेलको मूल्य घट्दा भने नेपाल आयल निगमले मूल्य घटाउने घटना निकै विरलै छ । स्वचालित मूल्य प्रणालीको नाममा आयल निगमले मूल्य बढाउने गर्छ । तर, स्वचालित मूल्यको सिद्धान्तअनुसार घटाउनुपर्दा भने यो सिद्धान्तबारे निगम कानमा तेल हालेर बस्छ ।
यसो हुनुको कारण प्रस्टतः आयल निमगभित्रको कमिसनखोरी र भ्रष्टाचार हो । राजतन्त्र छँदासम्म निगमको कमिसनको भाग दरबारमा समेत पुग्ने खुला कुरा थियो । राजतन्त्रको अवसानपछि निगमभित्रको कमिसनको जालो तोडिएन । बरु हिजो एउटा दरबारमा जाने कमिसन अब धेरै दरबारमा जान थाल्यो ।
आयल निगमका कर्मचारीहरूको सुविधामुखी प्रवृत्ति अर्को समस्याको जड हो । आयल निगमको कार्यालयमा पस्न जो कोही पनि त्यहाँ देखिने नयाँ नयाँ चिल्ला गाडीको लस्कर देखेर चकित पर्छन् । निगमका साधारण तहका कर्मचारीले समेत चढ्ने महँगा गाडीको मार भने जनतालाई परिरहेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सबै उपभोग्य वस्तुको मूल्यमा प्रभाव पार्ने गर्छ । लामो समयदेखि भाडा वृद्धि गर्नुपर्ने भन्दै आएका यातायात व्यवसायीहरूलाई इन्धनको मूल्यवृद्धिले भाडादरमा वृद्धि गर्न बहाना दिएको छ । चाडबाडको मुखमा उपभोग्य वस्तुमा मूल्यवृद्धि हुँदा उपभोक्ताको निम्ति खाए खा नभए घिचको अवस्था बनेको छ ।
प्रधानमन्त्री देउवाले कुनै बेला ‘कम्युनिस्ट सरकारले रुन पनि दिँदैन’ भनी कम्युनिस्टहरूमाथि कटाक्ष गरेका थिए । तर, जब जब उनी देशका प्रधानमन्त्री बने, उनले जनतालाई रुन पनि नसक्ने मारमा पारेका छन् । यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा इन्धनको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेका थिए । बजार मूल्यसँग प्रत्यक्ष सम्बन्ध भएको इन्धनको मूल्यमा वृद्धि गरेर देउवाले उसै पनि कहरमा परेका जनतालाई थप मारमा पारेका छन् । लकडाउन, कोभिड–१९ सङ्क्रमण, बेरोजगारी आदि समस्याले पिरोलिएका नेपाली जनतालाई देउवाले तिहारमा मूल्यवृद्धिको पनि उपहार दिएका छन् । जनताको जीवनलाई कसरी सहज बनाउने भन्दा पनि सत्तासुखमा टासिएर बस्न रुचाउने देउवाजस्ता शासकहरूले जनताको अनुहारमा हाँसोको उपहार दिने कुरा आकाशको फल आँखा तरी मरसिवाय केही होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *