भर्खरै :

स्तालिनको वास्तविकता चिनाउने पुस्तक

पत्रकार समाज नेपालले विश्व सर्वहारा वर्गका महान् गुरु जेभी स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘स्तालिसँग’ को नेपाली अनुवाद प्रकाशन गरेकोमा खुशी व्यक्त गर्छु । यस पुस्तकले विश्व कम्युनिस्ट आन्दोलनका एक जाज्वल्यमान् नेता स्तालिनबारे फैलाइएका भ्रम र झूटको पर्दाफास गर्न सहयोग पु¥याउने विश्वास गर्दछु ।
केही दिन अगाडि मात्र मैले पत्रकार समाज यस पुस्तक प्राप्त गरेकी थिएँ । १४४ पृष्ठको सो पुस्तक सरसर्ती पढ्ने अवसर प्राप्त गरेँ । वर्कस् पब्लिकेसन्स् नेपालको प्रकाशन ‘गुप्त दस्तावेजहरू’ पढिसकेपछि जसरी स्तालिनको मृत्यु स्वाभाविक वा हत्या के हो भन्नेबारे यथार्थ जानकारी हासिल हुन्छ त्यस्तै गरी यो पुस्तकले पनि स्तालिनबारे संसारभरका प्रतिगामीहरूले गरेका झूटा प्रचारलाई चिर्न सक्षम तुल्याउने निश्चित छ । पुस्तकमा उल्लेखित तथ्य तथ्याङ्क, फोटो, नक्सा आदिले पाठकहरूलाई पुस्तक बुझ्न सहज तुल्याएको अनुभव हुन्छ ।
स्तालिनसँग लामो समय बिताउनुभएका ए.टी. रेबिनका अनुसार स्तालिन कहिल्यै पनि हावादारी कुरा गर्नुहुन्नथ्यो । उहाँ बिनापरिणामको कुनै पनि हचुवा कुरा गर्नुहुन्नथ्यो । उहाँ सधैँजसो एक निर्माणस्थलबाट अर्को निर्माणस्थलमा जान सडकमा आफै दौडिरहेको भेटिनुहुन्थ्यो । स्तालिनले सवारी चालक मित्रुइखिनसँग व्यक्त गर्नुभएको परिकल्पनाको आधारमा लोमोनोसोभ विश्वविद्यालयको स्थापना भयो । जुन विश्वविद्यालय मस्कोकै सर्वोत्कृष्ट र विख्यात छ ।
स्तालिनको किरोभसँग जस्तो सहकार्य र समझदारी पोलिटब्युरोका अरू कोही पनि सदस्यसँग थिएन । किरोभलाई एक जना समर्पित बोल्शेविकको रूपमा स्तालिन गौरव गर्नुहुन्थ्यो । किरोभले १९२१ देखि नै त्रोत्स्कीको आलोचना गर्नुभएको थियो । स्तालिन फरासिलो, रसिक र निकै सद्गुणी हुनुहुन्थ्यो । आफ्ना अङ्गरक्षकहरूसँग स्तालिनको जति निकट र आत्मीय सम्बन्ध थियो, त्यति त सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिका अरू कोही पनि सदस्यहरूको आफ्ना सुरक्षामा खटिएका मानिसहरूसँग थिएन ।
स्तालिन चलाख, सबै कुरा विस्तारमा बुझ्ने र सही विश्लेषण गर्न सक्ने, व्यक्तिको चरित्र बुझ्न सक्ने सक्षम र उत्कृष्ट क्षमताका मानिसलाई एकै ठाउँमा ल्याएर कुनै ठूलो उपलब्धि हासिल गर्न सक्ने सक्षम व्यक्ति हुनुहुन्थ्यो । थिएटरबारे स्तालिन निकै चासो राख्नुहुन्थ्यो । सङ्गीतकार, नर्तक, कलाकार, सङ्गीत प्रबन्धक र अगुवा प्रस्तोताहरूसँग स्तालिनको आत्मीय सम्बन्ध थियो । स्तालिनलाई कला र नाटक क्षेत्रका प्रमुख घटनाबारे जानकारी भइरहन्थ्यो । थिएटरको संरक्षण र प्रवद्र्धनको लागि स्तालिन निकै उत्सुक हुनुहुन्थ्यो । शत्रुले स्तालिनलाई संस्कार र संस्कृति नजानेको मान्छे भनी दुष्प्रचार गर्न खोज्छन् । स्तालिनले व्यापक जनताको हितमा काम गर्नेबारे, उहाँको असलपना, सहृदयता र समर्पणभावबारे धेरैलाई थाहा छैन । स्तालिनसँग कुनै पनि अप्ठ्यारो अवस्थालाई पार लगाउन सक्ने क्षमता थियो । उहाँ कुनै पनि समस्याको सामना आत्तिएर वा यसो गर र उसो गर भनेर गर्नुहुन्नथ्यो । बरु समस्या समाधान गर्ने वा सहज बनाउने उहाँमा छुट्टै खुबी थियो ।
फासीवादी हमला हुँदा लालसेनाले जर्मन फासीवादलाई कहिले कसरी रोक्ने भनी सोध्दा स्तालिन आफूसँग भएका सबै शब्दहरूको प्रयोग गरी रुसी जनताको मन बलियो पार्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “एक दिन पक्कै खुसीको दिन आउनेछ । हामी सडकमा नाच्दै हिँड्ने दिन अवश्य आउनेछ ।” रूसको राजधानी मस्कोको मुखमै शत्रु आइपुग्दा पनि स्तालिन निकै सौम्य र सन्तुलित रहनुभयो । उहाँ सबैको लागि प्रेरणा बनिरहनुभयो । स्तालिन युद्धको समयमा आफ्नो वरपरका मानिसलाई पढ्न सक्षम हुनुहुन्थ्यो । सन् १९९१ को वसन्तमा पूर्वजनरल डी.भोल्कोगोनोभको दुई घण्टा लामो टीभी अन्तर्वार्ता प्रसारण भएको थियो । ती इतिहासकारले रूस र अमेरिकामा बसेर केही पुस्तक लेखे । ती पुस्तकहरू स्तालिन र समाजवादको विषयमा भ्रम र झूटले भरिपूर्ण रहेको ‘नर्थस्टार कम्पास’ का प्रधानसम्पादक मिखाइल लुकासले बताउनुभयो ।
स्तालिन लडाइँमा विभिन्न मोर्चामा गोप्यरूपमा पुग्नुहुन्थ्यो । शत्रुहरू स्तालिन कहाँ जानुभयो भनी निगरानी गरिरहेका हुन्थे । उहाँ मार्सल भोरोनोभलाई भेटेर हातहतियारको अवस्थाबारे बुझ्नुहुन्थ्यो । स्तालिनले सङ्कटको समयमा घातक निर्णय गरेको र घाइते सिपाहीहरूको बेवास्ता गरेको आरोप लगाइएको छ तर पुस्तकमा उल्लेख सत्यले स्तालिन महान् नेता भएको देखाउँछ । उहाँको रणनीतिक ज्ञान कुनै पनि मार्सल र जनरलभन्दा कम नभएको देखाउँछ ।
बेल्शोइ थिएटर बन्दै गर्दा सांस्कृतिक गतिविधिहरू सबै क्रेमलिनमा गरियो । सांस्कृतिक कार्यक्रमपछि कलाकारहरू स्तालिनलाई भेट्थे, विचार विमर्श गर्थे । कलाकार र संस्कृतिकर्मीप्रति स्तालिनको चासो निकै थियो । सबै कलाकारका नाम उहाँलाई कण्ठस्थ थियो । उहाँ सबै कलाकारहरूको स्वभावगत भावना राम्ररी बुझ्नुहुन्थ्यो । स्तालिन सकेसम्म केही पनि वस्तु बाहिरबाट आयात नहोस् भन्ने चाहनुहुन्थ्यो । उहाँ ज्यादै व्यावहारिक हुनुहुन्थ्यो । उहाँ जनताको लागि पहाड र भीरहरू फोड्नुपनर्,े सबै काम गर्न तयार रहनुपर्ने विचार राख्नुहुन्थ्यो । उहाँ सहयोगी स्वभावको हुनुहुन्थ्यो । आफ्नो पद जतिसुकै उँचो भए पनि मानिसहरूलाई कहिल्यै उपेक्षा गर्नुहुन्नथ्यो । आफ्नी जहानको निधनपछि स्तालिनले महिलाहरूप्रति कुनै आकर्षण देखाउनुभएन । उहाँ बारम्बार विवाह गर्ने कुरोको कडा विरोधी हुनुहुन्थ्यो ।
अन्तमा, यस पुस्तकले कामदार वर्गका नेता स्तालिनबारे अधिकांश बुद्धिजीवीहरूले राखेको भ्रम र सोचाइलाई चिरफार गर्दै वास्तविकता उजागर गर्न थप बल प्रदान गरेको देखिन्छ । यति गहकिलो पुस्तक प्रकाशनको लागि पत्रकार समाज नेपाललाई पुनः धन्यवाद दिन्छु ।
(पत्रकार समाजको आयोजनामा शुक्रबार सम्पन्न ‘स्तालिनसँग’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *