अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
१) बुराँज्याको शाब्दिक र भावनात्मक अर्थ
बुराँज्याको अर्थ केलाउँदा धानको मात्रा बढोस्, जति खर्च गर्दा पनि नसकियोस् र अन्नदाता करुणामयको करुणा रहिरहोस् भनेर खेतमै जम्मा गरिराखेको कालो धानको थुप्रोमा घरको मुली या कुनै थकालीले गरिने पूजाआजालाई ‘बुराँज्या’ शब्दको प्रयोग गरेको पाइन्छ । कसै कसैले बुराँज्या भनेको हाकुवा राख्ने एक मौलिक परम्पराको रूपमा लिइएको छ ।
‘बु’ को अर्थ खेत हो । नेपालभाषामा रातो मच्छिन्द्रनाथलाई ‘बुँग द्यो’ पनि भन्ने गरिन्छ । बुराँज्या शब्द बुँगद्यो शब्दबाट आएको मान्ने जनसमुदाय पनि पाइन्छ । धान रोप्दा, धान काट्दा र बुराँज्यामा मच्छिन्द्रनाथ करुणामयको गीत गाउनुको पछाडि मच्छिन्द्रनाथ करुणामयलाई सहकालको देवता मान्ने भएर नै हुनसक्छ । नरेन्द्र देवको शासन कालमा लामो समयसम्म पानी नपरी खाद्यान्नको हाहाकार भएको थियो । त्यस समयमा तान्त्रिक बन्धुदत्त बज्राचार्य (आचार्य) को सल्लाहबमोजिम कामरूपा कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपालमा ल्याई पाटनमा प्रतिस्थापन गरेदेखि पानी परी प्रशस्त अन्न उत्पादन भई सहकाल आएदेखि मच्छेन्द्रनाथ करुणामयको गीत गाउने प्रचलन आएको देखिन्छ ।
२) वाखास्ये शब्दको भावार्थ
वाखास्ये शब्दको अर्थ विभिन्न जनमानसले आफ्नै तरिकाले अथ्र्याएको पाइन्छ । कसै कसैले वाखास्ये शब्दलाई यसरी अथ्र्याएको छ–‘वा’ शब्दको अर्थ धान हो । ‘खास्ये’ शब्दको अर्थ वा यको दय्क खायेमा (धान धेरै जम्मा होस्) अर्थात् ‘वाखास्ये’ भन्नाले करुणामयको करुणादृष्टि परी धेरै धान सङ्कलन होस् भन्ने हो ।
कसै कसैले अथ्र्याएअनुसार ‘वा’ (धान) को थुप्रोमा, ‘खास्ये’ शब्दलाई खाः स्याय् अर्थात् कालोधानको थुप्रोमा पूजा गर्दा खास्याय्गु (कुखुरा काट्नु) लाई वाखास्येको भावनात्मक अर्थमा लिएको बुझिन्छ ।
वाखास्ये शब्दलाई कसैकसैले साहित्यिक ढङ्गले पनि प्रस्तुत गरेको देखिन्छ । ‘वाखास्ये’ भन्नाले जसरी नवदुर्गा देवीहरूमध्ये कुनै देवीलाई खास्ये आउँदा शारीरिक अङ्गहरू कम्पन भइरहेजस्तै धानको थुप्रोमा चलायमान हुनुलाई वाखास्ये शब्द प्रयोग गरेको पाइन्छ ।
३) कालो धानको ऐतिहासिक पृष्ठभूमि
कालो धानको उत्पादनलाई लिएर बुराँज्या गर्ने चलन चल्दै आएको देखिन्छ । कालो धानबारे बुझ्न यसको ऐतिहासिक पृष्ठभूमिलाई केलाउनु सान्दर्भिक देखिन्छ । यसबारे सबै जनमानसको भनाइ एकै प्रकारको पाइँदैन । मैले सुनेअनुसार एक भनाइ यहाँ प्रस्तुत गर्न चाहन्छु ।
धेरै वर्षपहिले भक्तपुरलाई तिब्बतबाट हमला हुने कुरा चाल पाई पाकिसकेको धानबालीको खेतमा घोडा दौडाई वा अन्य तरिकाबाट धान बाली नष्ट गरिदिने आशङ्काले हमला नहुँदै किसानले धान काटी विभिन्न ठाउँमा थुपार्दै छोपेर राखे । लडाइँको समयपछि उक्त वता (छोपिराखेको धानको बाला) लाई पल्टाई हेर्दा कालो धान भइरहेको रहेछ । उक्त धानको चामल खाई हेर्दा स्वादिलो भएकोले त्यस समयबाट कालो धान बनाउन सुरु गरेको भन्ने सुन्नमा आएको छ ।
त्यस लडाइँको बेला टौथली (हाल तामाङ बस्ती भएको नगरकोट फेदी)बाट तिब्बतीहरूले च्याङगासी भगवान लुटेर लगेको जनबोली सुन्न पाइन्छ ।
४) कालो धान बनाउने प्रक्रिया
कालो धान बनाउने विधि सरलमात्र होइन वैज्ञानिक पनि छ । बुराँज्या संस्कृति साह्रै रमाइलो र रोचक हुन्छ ।
धान काटिसकेपछि नचुटिकन धानको बालालाई मिलाएर चाङ (वता) राखी छोप्दै माटोको डल्लाले टेकाउँदै न्यानो बनाउँछ । त्यो ९, ११ या १३ दिन राख्नाले कालो धान तयार हुने किसानको अनुभव छ । अर्कोे तरिका भनेको भर्खर चुटेको धानलाई नसुकाई धानको थुप्रोलाई तातो हुने गरी भुस, पराल, सुकुलबाट ९, ११ या १३ दिनसम्म छोपी राख्नाले पनि कालो धान बन्ने कुरा अनुभवी किसानबाट सुन्न पाइन्छ ।
५) कालो धान बनिसकेपछिको बुराँज्या कार्यक्रम
खेतमा जम्मा गरिराखेको धानको थुप्रोमा घरको मुलि या थकालीबाट पूजाआजा गरी कसैकसैले कुखुरा काटी नातागोता, साथीभाइ र छरछिमेकलाई बोलाई खेतमै प्रसादको रूपमा सम्येबजी खुवाएको हुन्छ भने कसैकसैले बुराँज्या पूजामा अन्नदाता करुणामयसँग सम्बन्धित हुँदा पूजा गरी खेतमै सम्येबजी खुवाई घरमा भोज खुवाउने चलन छ । बुराँज्याको एक मुख्य आकर्षक कार्यक्रम वाखास्ये मानिन्छ ।

वाखास्ये कार्यक्रम सञ्चालन गर्न विशेष किसिमको खर्पन (गःकोल्हँ) मा धान, केराको बोट, उखुको बोट, फूलहरू, रातो तुलबालाले सिङ्गारिएको हुन्छ । लावालस्कर पङ्क्तिबद्ध भई करुणामयको गीत गाउँदै नाच्दै ठाउँठाउँमा अझ चौबाटोमा वाखास्ये, वाखास्ये, वाखास्ये भन्दै धान सुकाउने ठाउँ खलोसम्म पु¥याइएको हुन्छ । यसरी बुराँज्यालाई रमाइलो वातावरण बनाउन या जोश जाँगर बनाउन सम्येबजीले टेवा पु¥याएको हुन्छ । यस प्रकारको रमाइलो संस्कृति या कालो धान बनाउने प्रविधि आज ¥हास हुँदै छ । बुराँज्या लोप हुने अवस्थामा छ । भोलिको नयाँ पिँढीको लागि यो कतै एकादेशको कथाजस्तै हुने त हैन ?
संस्कृति जोगाउनुपर्ने चेतना हँुदा हुँदै विभिन्न क्रियाकलापहरू भन्झटिलो र खर्चिलो हुँदा बुराँज्या व्यवहारमा नआएको जस्तो देखिन्छ ।
हाकुवा या कालो धान बनाउन ९, ११ या १३ दिनसम्म खेतमै धानको बाला छोपिराख्दा कुर्न नसकेमा के सुरक्षित होला ? बुराँज्याका सबै सहभागीहरूलाई खानपिनको व्यवस्था के कम खर्चिलो होला ? कालो धानको महत्व, पौष्टिकता, स्वस्थकर खाद्यान्नसम्बन्धी के सबैले बुझेका छन् ? यस संस्कृतिलाई जोगाउने हो भने सरल र मितव्ययी तरिका कसरी अपनाउन सकिन्छ ? सोच्नुपर्ने बेला आएको छ ।
६) कालो धानको महल
काँचो हलुवाबेदलाई केही दिन न्यानो वातावरणमा राख्नाले नरम भई पाक्न थाल्छ र स्वादिलो हुन्छ । त्यस्तै कालो धानलाई पनि न्यानो वातावरण दिई एकप्रकारले पकाएको जस्तो हुँदा ज्यादै स्वादिलो र पोषिलो हुन्छ । यो पोषिलो र स्वादिलोको कारण पहिले पहिले सुत्केरी महिलालाई ख्वाउने चलन थियो । यस चामलबाट बनाइएको जाँड पनि एकदम रसिलो र पोषिलो हुने हँुदा सुत्केरी महिलालाई खुवाउनाले शिशुको लागि प्रशस्त पोषिलो दूध आउने विश्वास गरिएको छ । विभिन्न रोगीहरूको लागि पनि यो चामल ज्यादै उपयोगी मानेको छ । यस धानमा पाइने विभिन्न विशेषता, उपयोगिता र महत्वलाई बुझी बुराँज्या संस्कृतिलाई बचाउने चेतना सबैमा नआए के यो संस्कृति जोगिएला ?
अध्ययन श्रोत
१) आदर्श आजाद कलेज र आदर्श आजाद मा.वि.का प्राध्यापक र शिक्षक समूहसँगको छलफल ।
स्रोतः ख्वपको पहिचान भाग–१
तस्बिर ः कृष्णश्वरी दुवाल
Leave a Reply