भर्खरै :

कार्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने

ललितपुर, २२ कार्तिक । हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कार्तिक डबली’ मा मञ्चन गरिने ‘कार्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । वि.सं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष हामीले मात्रै आठ दिन यो नृत्य मञ्चन गर्ने भएका छाँै ।” मुलुकमा अझै कोरोना महामारी पूर्णरूपमा न्यूनीकरण भइनसकेकाले बुधबारदेखि अर्काे बुधबारसम्म देखाउने योजना बनाइसकेको उहाँले जानकारी गराउनुभयो ।
सो नृत्य प्रदर्शनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाच संरक्षणका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु. एक करोड सहयोग गर्ने घोषणा गरेबमोजिम रु. ५० लाख दिइसकेको र बाँकी रकम यसैवर्ष प्रदान गर्ने जनाएको छ ।”
सो नाचलाई अझै व्यवस्थित बनाउन आफूहरूले पनि गत वर्ष कोष खडा गर्नका लागि रु. १० लाख सहयोग गरिसकेको १६ नं वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । भगवान् विष्णुको कथामा आधारित सो नाच मञ्चनका लागि एक महिनाअघिदेखि पाटन दरबार सङ्ग्रहालयभित्र तालिम दिइरहेको समितिका सचिव विजय तण्डुकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष हामीले नृत्य मञ्चन गर्नका लागि इच्छुक व्यक्तिलाई उमेरको हदबन्दी लगाएका छैनाँै ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *