भर्खरै :

नवलपरासीमा एसएसबीको अर्को ज्यादती

भारतसँग जोडिएको नेपालका सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेप नयाँ घटना कदापि होइन । दार्चुला जिल्लामा महाकाली नदीमाथि राखिएको तुइन एसएसबी फोर्सले तार काट्दा नदीमा खसेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको अहिलेसम्म अत्तोपत्तो छैन । नेपाल सरकारले बनाएको अनुसन्धान टोलीलाई पनि एसएसबी फोर्सले मद्दत गरेन । फलतः त्यो घटना फासफुस बनाइयो । एसएसबी फोर्सले हत्या गरेका युवाको क्षतिपूर्ति नेपाली जनताको करबाट जम्मा भएको राजस्वबाट नेपाल सरकारले दियो ।
पूर्वी नवलपरासी जिल्लामा सोमबार एसएसबीका जवानहरू नेपाली भूमिमा प्रवेश गरी अन्तर्राष्ट्रिय कानुनविपरीत ड्रोन उडाएको पछिल्लो घटना नेपालप्रति भारतको हेपाहा व्यवहारको अर्को उदाहरण हो । उनीहरूले ड्रोन उडाएर गण्डक ब्यारेज वरपरका दृश्यहरू कैद गरेका थिए । यहाँ स्मरणीय कुरा के हो भने जयसिंह धामीलाई खोज्ने क्रममा नेपालको अनुसन्धान टोलीले भारतीय क्षेत्रबाट ड्रोन उडाउन खोज्दा एसएसबीले अनुमति दिएको थिएन । फलतः धामी अझै पनि बेपत्ता छन् । तर, त्यसको केही समययता भारतीय सुरक्षाकर्मीले नेपालभित्रै प्रवेश गरेर ड्रोन उडाउनु हस्तक्षेपकारी व्यवहारको दृष्टान्त हो ।
एसएसबीले यसअघि सीमा क्षेत्रमा नेपालीमाथि गर्ने दुव्र्यवहार र अपमान तथा सिमानामा चलखेलप्रति नेपाल सरकारले कडा प्रतिक्रिया नजनाउँदा यस्ता व्यवहार महिना दिन बिराएर भइरहेका छन् । फलतः सीमा क्षेत्रमा नेपाली जनता आफै असुरक्षित अनुभव गरिरहेका छन् । हतियारसहित आएका एसएसबी फोर्सले नेपालीहरूमाथि कुटपिट गर्ने, बालीमा आगो लगाउने, पक्राउ गर्ने दुष्कार्यप्रति काठमाडौँको सरकार हात बाँधेर बसेकैले भारतीय सुरक्षाकर्मी यस्ता मनपरी व्यवहार गर्न उत्साहित भएका हुन् ।
नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमामा दुवै देशका सुरक्षाकर्मी बिनाअनुमति एकअर्काको भूमिमा प्रवेश गर्न पाउँदैनन् । कतै बिनाअनुमति प्रवेश गरे त्यसको अर्थ हमला वा हस्तक्षेप हुन्छ । तर, नेपालको हकमा यस्तो अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्न एसएसबी फोर्सले कुनै सङ्कोच नै अनुभव गरेको देखिएन ।
कञ्चनपुरमा गोविन्द गौतमलाई एसएसबी फोर्सले नेपाली भूमिमै गोली हानेर हत्या गरेका थिए । सप्तरीको तिलाठीका किसानहरूमाथिको कुटपिटको घाउ अझै आलै छ । नेपाली जनताले भारतीय सुरक्षाकर्मीको अपमान र दुव्र्यवहार अनि सीमा अतिक्रमण कतिञ्जेल सहने ? जबसम्म सिंहदरबारले यस्ता व्यवहार र सीमा मिच्ने गतिविधिको कडा कूटनीतिक प्रतिवाद गर्दैन तबसम्म उनीहरूले यस्ता व्यवहारलाई निरन्तरता दिनेछन् ।
नवलपरासीमा नेपाली भूमि प्रवेश गरी एसएसबीले गरेको काम निन्दनीय छ । यसको परराष्ट्र मन्त्रालयले तत्काल प्रतिवाद गर्नुपर्छ । अनि जयसिंह धामीका हत्यारालाई कारबाही गर्न भारतसमक्ष माग गर्न जरूरी छ । भूगोल र जनसङ्ख्या ठूलो भएकैले सानो देशलाई हेप्नु आजको सभ्य विश्व व्यवस्थाको आधारभूत मान्यताविपरीत हो । भारतले गर्ने यस्ता लज्जाजनक हस्तक्षेपलाई ढाकछोप गर्नु नेपाली सरकारको निम्ति पनि लज्जाको विषय हो ।
भारतसँग कूटनीतिक व्यवहार गर्न खुट्टा कमाउन पराधीन सोचका शासक वर्गकै कारण सीमा क्षेत्रमा नेपाली जनताले दुःख पाउनुका साथै लगातार नेपाली भूमि गुमाउनुपरेको छ । नेपालका प्रधानसेनापतिको भारत भ्रमण पूर्व एसएसबीको नेपाली सार्वभौमिकताप्रतिको अपमानलाई नेपाल सरकारले धामीको हत्यालाई जस्तै निरीह भएर टुलुटुलु हेरेर बस्नु नेपाली जनताको भावनाको अपमान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *