भर्खरै :

“एमसीसीको विरोध गर्नु तमाम देशभक्त नागरिकहरूको कर्तव्य हो”

आयाम प्रकाशन समूहलाई ने.सं ११४२ को नयाँ वर्षको शुभकामना !
पत्रिका प्रकाशन गर्नु सजिलो काम होइन । पञ्चायती कालरात्रीको समयमा त त्यो झन् निकै चुनौतिपूर्ण थियो । जनतालाई राजनैतिक रूपले सचेत पार्ने उद्देश्यले आजभन्दा ४ दशकअगाडि सुरुआतमा ‘आयाम’ हस्तलिखित पत्रिका थियो । यसले अहिलेसम्म निरन्तरता पाउनु नै ठूलो कुरा हो । नयाँ साथीहरूले ‘आयाम’ लाई परिवर्तित राजनीतिक अवस्थाअनुसार जनताको सेवामा नयाँ ढङ्गले अगाडि बढाइरहनुभएको छ । यस अर्थमा हामी खुसी छौँ ।
समयमा लेखहरू उपलब्ध नहुने, आर्थिक, प्रकाशन तथा वितरणमा समस्याहरू पत्रिका प्रकाशनमा लाग्ने साथीहरूले पक्कै भोगेको हुनुपर्छ । कामदार वर्गको पक्ष लिने पत्रिकालाई एमसीसीका समर्थक उद्योगी व्यापारीहरूले सहयोग गर्दैनन् । आयामको १२ औँ अङ्कमा देशघाती एमसीसीको विरोधलाई प्राथमिकता दिइएको छ । उद्योग वाणिज्य सङ्घलगायत ३ वटा व्यापारिक संस्थाहरूले एमसीसीको समर्थन गरेर संसद्बाट अनुमोदन गर्न आग्रह गर्दै वक्तव्य जारी गरेका छन् । यस्ता हरेक चुनौतीको सामना गर्दै पत्रिकालाई आजको अवस्थासम्म ल्याइपुर्याउने सम्पूर्ण साथीहरूलाई धन्यवाद छ । यसको निरन्तरताको कामना गर्दछौँ ।
यहाँ केही साथीहरूले आयाममा प्रकाशित लेखहरूमा राजनीति बढी भयो कि भन्ने विचार पनि व्यक्त गर्नुभयो । हामी स्पष्ट हुनुपर्छ कुनै पनि व्यक्ति वा प्रकाशन राजनीतिबाट अलग हुन सक्दैन । मुख्य कुरा कसको निम्ति राजनीति गर्ने भन्ने हो । हामी कामदार वर्गको पक्षमा राजनीति गर्छौं । हाम्रो प्रकाशन वा साहित्य करोडौँ कामदार जनताको पक्षमा हुनुपर्छ । ‘आयाम’ प्रकाशन समूहले यही काम गर्दै आएको छ । समाज परिवर्तनको निम्ति साहित्य नलेख्नुको अर्थ यथास्थितिलाई समर्थन गर्नु हुनेछ । आयामले प्रगतिशील विचार जनताबीच प्रवाह गरी समाज परिवर्तनको लागि अझ बढी योगदान गर्न सक्नुपर्छ । हामी यही आशा गर्छौँ ।
राम्रो मानिसले राजनीति गरेन भने राजनीति खराब व्यक्तिको हातमा जान्छ । गुण्डा, तस्कर, भ्रष्टाचारीहरू शासक दलमा प्रवेश गर्दै नेता बनेका छन् । तिनीहरू विगतमा लुकीछिपी अपराध गर्थे भने अहिले हाकाहाकी गर्दैछन् । नेताहरूको नजिक भएका तिनीहरूमध्ये कैयौँले प्रदेश र सङ्घको संसद्को टिकट पाएर सांसद्, मन्त्री समेत बनेका छन् र देश लुटिरहेका छन् । तिनीहरू नेताहरूका लागि आवश्यक आर्थिक स्रोत जुटाई दिने, नेताहरूको भ्रमणमा सयौँको मोटरसाइकल र गाडी ¥यालीको बन्दोबस्त गर्ने र नेताहरूको ‘फौज’ लाई खानबस्नको सम्पूर्ण जिम्मा लिने गर्छन् र नेताहरूका विश्वासपात्र बन्न पुग्छन् । प्रहरीको फरार सूचीमा रहेका तिनीहरू नेताहरूसँगै हिँडिरहेका हुन्छन् तर प्रहरीले छुने आँटसम्म गर्दैनन् । आजको स्थितिले देशको राजनीति खराब व्यक्तिहरूको हातमा जाने सम्भावना बढ्दैछ । हाम्रा प्रकाशनहरूले निरन्तर त्यसको विरोध गर्नु आवश्यक छ ।
सानो–ठूलो कुनै पनि विषय या राम्रो व्यवस्थापन महत्वपूर्ण कुरा हो । जल, जडिबुटी, जङ्गल, कृषि, पर्यटन हरेक क्षेत्रमा विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि गतिलो व्यवस्थापन नहुँदा नेपाल विकासको गतिमा अगाडि बढ्न सकेन । शासक दलका नेताहरूमा विदेशभक्ति र दलाल चरित्रको कारण हाम्रा प्राकृतिक स्रोत र साधनहरू एकएक गरी विदेशीको नियन्त्रणमा जाँदैछन् । जलस्रोतको विकासले मात्रै सम्पन्न बन्न, पर्यटन क्षेत्रमा प्रशस्त रोजगारीको सृजना गर्न र कृषिमा आत्मनिर्भर मात्रै होइन विदेश निर्यात गरेर मनग्य आम्दानी गर्न सम्भावना भएको देश हो नेपाल । तर, आज कृषि र अति आवश्यक वस्तुहरू समेतमा परनिर्भता बढ्दैछ । चालु आ.व. तीन महिनामा ६४ प्रतिशत आयात वृद्धि र ४ खर्बभन्दा बढीको व्यापार घाटाले देशको अर्थतन्त्रको भयावह अवस्थालाई देखाउँछ ।
अहिले देशव्यापी रूपमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोध भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिई बेलायत भ्रमणबाट फर्किएपछि पत्रकारहरूसँग “प्रचण्डजी र मैले त यति भित्र पास गर्छौँ भनेर हस्ताक्षर गरेर पठाएका छौँ” (अनलाइन खबर कार्तिक १८) भन्नुभयो । यदि त्यो सत्य हो भने प्रधानमन्त्री देउवा र प्रचण्ड देशघाती र जनविरोधी नेताको रूपमा इतिहासामा दर्ज हुनेछन् ।
संरा अमेरिकाले दिने ५५ अर्ब अनुदानभन्दा अनुदानसँगै अमेरिकी सैनिक नेपाल पस्ने खतराको विरोध भइरहेको हो । अमेरिकी पदाधिकारीहरूले नै पटकपटक एमसीसी अन्तर्गत प्राप्त हुने रकम हिन्द प्रशान्त रणनीति (आइपीएस) अन्तर्गत हो भन्ने स्वीकारेको अवस्थामा अन्यथा व्याख्या विश्लेषणको आवश्यकता पर्दैन । त्यो सम्झौता अनुमोदन गर्नुको अर्थ नेपालले अमेरिकी सेनालाई आमन्त्रण गर्नु हो । अमेरिकी सेनाले विश्वका कैयौँ देशहरूमा विध्वंश मच्चाएकोबारे हामी सबै जानकार छौँ । इराक, लिविया, सिरियाको स्थिति र पछिल्लो चरणमा अफ्गानिस्तानको अवस्थाबाट विश्व परिचित छ । संरा अमेरिकाले भारतमार्फत चीनविरुद्ध लडाइँ गर्ने प्रयास गर्दैछ । शक्तिशाली देशहरूबीच युद्ध भएमा नेपाल रणभूमिमा परिणत हुनेछ । अशान्ति र राजनैतिक अस्थिरताले देशको अस्तित्वमाथि खतरा उत्पन्न हुनेछ । अमेरिकी शासकहरू एमसीसीको माध्यमबाट अमेरिकी सैनिक नेपाल पस्ने बाटो खुला गर्न चाहन्छन् । त्यसैले एमसीसीको विरोध गर्नु तमाम देशभक्त नेपालीको कर्तव्य हो ।
एमसीसी सम्झौतालाई कानुन सरह मान्यता दिलाउनकै लागि संसद्बाट अनुमोदन गराउन अमेरिकी पदाधिकारीहरू र तिनका दलालहरू शासक दलका नेताहरूलाई निरन्तर दबाब दिँदैछन् । देशको सार्वभौमिकता र स्वतन्त्र अस्तित्व गुम्न सक्ने भएकोले एमसीसीलाई कुनै पनि मूल्यमा नेपाली जनताले स्वीकार गर्नु हुँदैन ।
माग्नेहरूको इज्जत हुँदैन भन्ने कुरा हामीले बुझ्नै पर्छ । विदेशी ऋण र अनुदानले कुनै पनि देश समृद्ध हुन सक्दैन । अहिले नेपाल सरकार नगण्य रकम समेत अनुदान सहयोग स्वीकार्छ । फिनल्याण्डले दिएको एमसिटीएफ संस्थामार्फत प्राप्त १ लाख, सेभ द चिल्ड्रेनको ४ लाख, नेडरल्यान्डको एसएनभी नाउँको संस्थाको २४ लाखलगायत अनुदानसमेत अर्थमन्त्रालयले स्वीकार गरेको सार्वजनिक भएको छ । गैर सरकारी र अन्तराष्ट्रिय गैर सरकारी संस्थाको माध्यमबाट प्राप्त सहयोग रकममध्ये ६०–७० प्रतिशत सोही देशमा फिर्ता हुने गरेको बताइन्छ । सहयोग पाउने देशका नागरिकहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने घटनाहरू कैयौँ सार्वजनिक भइसकेका छन् । तापनि, हाम्रा शासकहरू सहयोग भनेपछि आँखा चिम्लेर लिन तम्सिन्छन् । यही नेपाली जनताको विडम्बना हो ।
नेपाललाई असफल राष्ट्र बनाउनका लागि साम्राज्यवादी र बिस्तारवादी शक्तिहरू निरन्तर लागिरहेका छन् । राज्यका तीन प्रमुख अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका भद्रगोल अवस्थामा छन् । न्यायपालिका स्वयम् विवादको उत्कर्षमा छ । हरेक कुरा कानुन बमोजिम हुनुपर्छ भनी वकालत गर्ने कानुन व्यवसायीहरू, कानुनको पाना पल्टाएर न्याय दिने न्यायमूर्तिहरू स्वयम् सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्दैछन् । सर्वोच्चका न्यायाधीशहरूलाई हटाउन सक्ने कानुन बमोजिम अधिकार प्राप्त निकाय संसद् हो तर राजनैतिक दलहरू भने आफ्नो पोल खुल्ने डरले मौन छन् । महाअभियोग लगाउन दलहरू तयार देखिँदैनन् भने शासक दलहरूको मनसाय बुझेर प्रधानन्यायाधीश कुनै पनि मूल्यमा राजीनामा नदिने सोचमा बसिरहेका छन् । उनले राजीनामा दिनु भनेको उनलाई लगाइएको मन्त्रिमण्डलमा भाग लिएको, संवैधानिक नियुक्तिमा हिस्सा प्राप्त गरेकोे स्वीकार गरेको अर्थ लाग्छ ।
प्रतिनिधिसभा पुनःस्थापना र परमादेशको आधारमा प्रधानमन्त्री नियुक्त संविधानको भावना र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत थियो । त्यो गलत काम प्रधानन्यायाधीश एक्लैबाट भएको होइन । त्यस फैसलामा संलग्न अन्य न्यायाधीशहरू कसरी जोगिन सक्छन् ? न्यायालय बदनाम हुनुमा न्यायाधीशहरूलाई समेत सरकार र संवैधानिक नियुक्तिमा भाग दिने शासक दलहरू बढी जिम्मेवार छन् । ती दलहरूकै कारण न्यायपालिकामा विकृति आएको हो । प्रधानन्यायाधीशलाई मात्रै बलीको बोको बनाएर जिम्मेवार दलहरू चोखिन सक्दैनन् । जनअधिकार न्यायाधीशहरूका हातमा सुम्पिने अपराधमा क–कसको भूमिका थियो त्यो सार्वजनिक हुनुपर्छ । जनताले तिनीहरूलाई अपराधअनुसारको दण्ड दिनुपर्छ ।
कार्यपालिकाले झण्डै ४ महिनामा मन्त्रिमण्डल गठनबाहेक केही गर्न सकेन । नाराबाजीबीच प्रतिनिधिसभाको अधिवेशन स्थगित भयो । अख्तियारलाई स्टिङ अपरेसन गरेर कारबाही गर्ने अधिकार नभएको भन्दै अदालतले कैयौँ भ्रष्टाचार मुद्दाहरूमा अभियुक्तहरूलाई सफाइ दिएको छ । यसरी राज्यका अङ्गहरू काम गर्न असफल हुँदै जानु भनेको राज्य असफल हुने सङ्केत हो । सबै जिम्मेवार नागरिकले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
हामी भक्तपुर नगरपालिकामा नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिको रूपमा कार्यरत छौँ । नेमकिपाको नीति र निर्देशनमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खेलकुदलगायतका विभिन्न गतिविधिहरू गर्दैछौँ । शिक्षामा शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म नगरपालिकाले व्यवस्था गरेको छ भने शैक्षिक ऋण र करोडौँ रुपियाँको छात्रवृत्तिको व्यवस्था गर्दै देशभरका ६ हजारभन्दा बढी विद्यार्थीलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसरप्रदान गर्दैछौँ । स्वास्थ्यमा घरघरमा नर्सिङ सेवादेखि ख्वप अस्पतालमा दैनिक पाँच सत्र्न्दा बढी बिरामीलाई सरल र सहज तरिकाबाट उपचार सेवा दिँदैछौँ । कोरोना महामारीबाट बच्न जनताबाट सहयोग लिई जनताकै निःशुल्क सेवा गर्यौँ । अक्सिजन प्लान्ट राख्ने क्रममा ‘आयाम’ परिवार र यहाँका सहकारीले पनि सहयोग गरेका छन् । त्यसको निम्ति यो अवसरमा धन्यवाद दिन्छौँ ।
आयाम प्रकाशन आगामी दिनहरूमा नयाँनयाँ ‘आयाम’ का साथ अझ विकास र विस्तार हुन सकोस् हार्दिक शुभकामना !
(नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्तिक १९ गते ने.सं. ११४२ को नयाँ वर्षको अवसरमा आयाम प्रकाशन परिवारले काभ्रेको बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप—सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *