भर्खरै :

‘पत्तासाफ’ गर्ने भन्दै ठूलो दल बनाउने प्रतिस्पर्धी

ठूला दलका नेताहरू निर्वाचन घोषणा नहुँदै एकले अर्कालाई पत्तासाफ गर्ने र आफ्नो दल सबैभन्दा ठूलो बनाउने सपना बुन्न थालेका छन् । एमालेका अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई पत्तासाफ गरेर ठूलो दल बनाउने व्यक्त विचार सेलाउन नपाउँदै एकीकृतका अध्यक्ष माधवकुमार नेपालले पनि त्यही विचार पोखेका छन् । यसरी नै माओवादीका अध्यक्ष दाहाल र नेकाका सभापति शेरबहादुर देउवाले पनि सोही विचार दोहो¥याएका छन् । एमालेलाई कसैले हराउन नसक्ने दाबी गरिरहेको बेला एमालेलाई हराउन नै नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अबको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने तयारी गरिरहेका छन् । सत्तामा पुगेका अधिकांश दलहरूले आ–आफ्नो दललाई सबभन्दा ठूलो बनाउने उद्घोष गर्दै अरूलाई पत्तासाफ गर्ने बताएका छन् ।
हिलो छ्यापाछ्याप गर्न पछि नपर्ने विशेषगरी माओवादी, एकीकृत र एमालेका नेताहरू अहिले सबभन्दा ठूलो दल बनाउने नाउँमा अरूलाई गिराउन आफू गिरिरहेका छन् । नेताहरूले केटाकेटी पारामा एकले अर्काेलाई हिलो छ्यापाछ्याप गरेर आफ्नो राजनीतिक उचाइ घटाउने काम गरिरहेका छन् । दलका नेताहरूले एकले अर्काेलाई हिलो छ्यापाछ्याप होइन दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ या सुसूचित पार्नुपर्छ । एकले अर्काेलाई गाली गरेर जनताको मत लिने होइन । जनताको विश्वास जित्ने आधार दलको सिद्धान्त र विचार नै हो ।
नेमकिपाले निवार्चनलाई पनि वर्गसङ्घर्षको थलो मानेको छ । निर्वाचन सिद्धान्त र विचारको लडाइँ हो । देशमा आमूल परिवर्तन गर्न जनतालाई सचेत र सङ्गठित गर्नु आवश्यक छ । माओवादीको ‘जनयुद्ध’ असफल हुनुको कारण जनता सचेत नहुनु या आन्तरिक परिस्थिति तयार नहुनु नै हो । नेपाल मजदुर किसान पार्टी अहिले जनजागरण अभियानमा छ । यो दल जनतालाई सुझबुझ बनाउन केन्द्रित छ । नेमकिपाले पुँजीवाद र समाजवादको फरक तथा कम्युनिस्टको सिद्धान्त र विचारबारे जनतामाझ पु¥याउँदै छ । नेमकिपाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरी देशको स्वाधीनता र सार्वभौम रक्षाको निम्ति जनतालाई बुझाउँदै छ । यो प्रत्येक कम्युनिस्ट र देशभक्त दलले गर्नैपर्ने काम हो, जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *