भर्खरै :

जनगणनामा सहयोग गरौँ

देशभर बिहीबारबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु भएको छ । जनगणना कार्यक्रमअन्तर्गत घरदैलोमा आउने गणकहरूलाई सत्यतथ्य जानकारी भराउनु सबै नागरिकको कर्तव्य हो । गणकहरूले पनि नागरिकले दिएको जानकारी सोहीअनुसार बिनापूर्वाग्रह भर्नु आफ्नो जिम्मेवारी हो । नागरिकलाई प्रस्ट भाषामा प्रश्न राखी प्रस्ट सूचना फारम भर्दा गणकको जिम्मेवारीमात्र पूरा हुने होइन, देशको सही तथ्याङ्क पनि सङ्कलन हुनेछ ।
सही तथ्याङ्क हुनु र नहुनुमा धेरै ठूलो फरक पर्ने गर्छ । तथ्याङ्कको बहुआयामिक प्रभाव हुने गर्छ । सही तथ्याङ्कले देशको विकासको बाटो निर्धारण हुन्छ । राजनीतिक मुद्दादेखि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले जोड दिने विषयसमेत तथ्याङ्कमा भर पर्छ । तथ्याङ्कले देशको खास समस्या पहिचान हुन्छ । जसरी चिकित्सकले विभिन्न स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्याङ्कको आधारमा बिरामीको खास रोग पहिचान गरी उपचार सुरु गर्छ, त्यसरी नै जनगणनाबाट प्राप्त तथ्याङ्कले देशको अवस्था उजागर गरी आगामी दिनको योजना तय गर्न बाटो खोल्छ ।
जनगणनालाई विगतका शासकहरूले राजनीतिकरूपमा दुरुपयोग गरेका दृष्टान्त छन् । विशेषतः पञ्चायतकालमा देशलाई हिन्दू राज्य बनाउने नाममा पञ्चायती शासकहरूले नेपालमा विद्यमान विभिन्न धार्मिक समूहलाई पनि हिन्दूअन्तर्गत राख्दा शासकलाई फाइदा भए पनि देशका सांस्कृतिक सम्पत्ति र विविधता भने नष्ट भयो । त्यस्तै भाषिक दमनको निम्ति पनि जनगणनालाई हतियार बनाइएको इतिहास छ । पञ्चायती शासकले सांस्कृतिक दमनको निम्ति जनगणना र तथ्याङ्कलाई हतियार बनाएको थियो । आजका शासकलाई त्यस्तो झेली काम गर्ने छुट छैन । त्यसले सीमित स्वार्थ समूहलाई लाभ भए पनि सिङ्गो देशलाई दीर्घकालीनरूपमा अहित हुन्छ ।
राष्ट्रिय जनगणनाअन्तर्गत सिङ्गो देशको कोही पनि नागरिक र कुनै पनि घरदैलो र समुदाय छुट्नु हुन्न । भारतले मिचेका नेपाली भूमि कालापानी, लिपिम्याधुरा र लिपुलेकमा जनगणना गर्ने विषयमा सरकार अलमलमा देखिन्छ । त्यसको निम्ति भारतसँग कूटनीतिक कुराकानी भइरहेको सरकारले बताए पनि त्यहाँ स्याटलाइटबाट गणना गर्न सकिने विज्ञहरूले बताएका छन् । भारतले आपत्ति जनाए सरकारले स्याटालाइटबाट पनि गणना नगर्न सक्छ । तर, सार्वभौम राज्यले आफ्नो शरहदको कुनै पनि क्षेत्रमा जनगणना नगर्नुले तथ्याङ्क मिथ्याङ्क बन्न पुग्छ । कालापानी, लिपुलेक, लिपिम्याधुरा र तराईका विभिन्न क्षेत्रमा भारतले सीमा मिचेका भूमिमा सरकारले जनगणना गर्नुपर्छ । यो देशको सार्वभौमिकतासँग जोडिएको विषय हो । सार्वभौमिकतामा कुनै पनि सरकारले सम्झौता गर्नु हुन्न ।
स्थानीय पालिकाको बलियो सहयोगबिना जनगणना सम्भव हुँदैन । जनगणनाबाट सही तथ्याङ्क दिनेमा राजनीतिक, आर्थिक, क्षेत्रीय आदि पूर्वाग्रहबाट मुक्त हुन जरुरी छ । जनगणनाबाट आउने तथ्याङ्क हरेक नेपाली नागरिकको सम्पत्ति हो । त्यो सम्पत्तिले हाम्रो देश, प्रदेश, क्षेत्र, पालिका र वडासमेतको आर्थिक, सामाजिक र भौतिक विकासको निम्ति ठूलो भूमिका खेल्छ । तथ्याङ्कले हाम्रो देशका लागि सम्भावनाका ढोका खुल्न सक्छ । नेपालमा कुल जनसङ्ख्याको आत्मनिर्भर जनसङ्ख्याको प्रतिशतले देशलाई विकासको बाटो कता लाने भन्ने कुराको निक्र्योल गर्नसक्छौँ ।
जनगणना सिङ्गो देशको साझा अभियान हो । यसमा सहयोग गरौँ । आफ्नो घरदैलोमा खटिएर आउने गणकहरूलाई प्रस्ट शब्दमा सत्यतथ्य जानकारी दिएर देशको सही नक्सा निकाल्न योगदान गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *