भर्खरै :

आफूलाई परेपछि असह्य ज्वरो आउँछ

पेशाले म एक स्वास्थ्यकर्मी अनि जनस्वास्थ्य विशेषज्ञताको विद्यार्थी र कुनै प्रतिष्ठित अस्पतालहरूमा केही वर्ष काम गरी हाल एउटा नेपालको अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य संस्थामा कार्यरत छु । पेशाकै दौरानमा धेरै बिरामीहरूको सेवा गर्ने क्रममा ३०–३२ वर्षको अन्तरालमा जन स्वास्थ्य विषयअन्तर्गत सम्बन्धित सबैलाई रोगतर्फ प्रतिकारात्मक, उपचारात्मक, प्रवद्र्धनात्मक तथा पुनस्र्थापनात्मक कुराहरूको ज्ञान, सीप र अवधारणाहरू बुझियो र बुझाइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा आफूले जानेका,े बुझेको अनुभव र ज्ञानका कुराहरू प्रस्तुतीकरण पनि भयो । तर, आफूले आफ्नै परिवारमा व्यवहार सिद्ध गर्न सकिएन । फलतः मेरै श्रीमतीको उच्च रक्तचाप वा अन्य के कारणले हो थाहा भएन लगातारको डाक्टरको औषधि उपचारपश्चात् पनि हृदयघात भयो । मेरो सानो अनुभव र ज्ञानले समयमै गंगालाल राष्ट्रिय मुटुरोग अस्पतालमा पुग्नुभन्दा पहिले केही Prophylactic medicines हरू दिन भ्याएकोले मेरो श्रीमतीको अवस्था नाजुक हुनबाट बच्यो । यसको आकस्मिक कक्षका विशेषज्ञ डाक्टरले पनि तारिफ गरे । यसरी नेपालको गौरवको रूपमा रहेको गंगालाल अस्पतालमा श्रीमतीलाई उचित उपचार र शल्यक्रिया गरिसकेपछि अवस्था स्थिर रह्यो र अहिले राम्रै भइरहेको छ । त्यसकारण, जो कोही कसैलाई पनि बायाँ छाती दुखेर स्वास फेर्न अप्ठयारो भई सो दुखाइ विस्तारै बायाँ गर्दनतिर र पाखुरामा सरेको महसुस भए बिनासङ्कोच तुरुन्तै मुटुको डाक्टर वा गंगालाल मुटु रोग अस्पतालमा जान सल्लाह दिन्छु । किनभने, त्यहाँ अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ डाक्टर अनि श्रोत र साधनको उचित व्यवस्था छ, रामै्र हुन्छ ।
जब मेरी श्रीमतीमा हृदयघातका लक्षण तथा चिह्नहरू देखिएर पसिना पसिना भई अटालिएको थियो तब भक्तपुर नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा सम्पर्क गर्दा एम्बुलेन्स बाहिर गएको छ भनी जानकारी गराइयो । लगत्तै १५ मिनेटपछि फोन फर्काएर अहिले आउनु पर्छ ? भनी सोधियो । जुन बेला मैले रेडक्रसको एम्बुलेन्सलाई खबर गरेकोले एम्बुलेन्स आइसकेको थियो । यहाँहरूलाई थाहा होला, त्यतिबेलाको आकस्मिक समय कति महत्वपूर्ण होला । कुनै चिम्नीभट्टाको इँटा बोकेर जोड तोडका साथ हुइँकिएर कुदेको मिनी ट्रकले मेरै आँखा अगाडि मोटरसाइकललाई हानेर भागिसकेपछि आफ्नो स्तरले भ्याएको प्राथमिक उपचारपश्चात् पाखुराको हड्डी भाँचेको कारण अस्पताल लैजान नगरपालिकाको एम्बुलेन्स सेवाको लागि फोन गर्दा सोही Readyemade जवाफ ‘एम्बुलेन्स बाहिर गएको छ’ भनियो । मलाई लाग्छ, एम्बुलेन्स सेवाका कर्मचारीहरूलाई सेवामा तल्लीन हुन मानवीयताको पाठसम्बन्धी तालिमको आवश्यकता छ । यसबारे नगरपालिकाको ध्यान जानु अत्यावश्यक छ ।
समय चक्रको अन्तरालमा, २०७७ सालको अन्ततिर मेरी श्रीमतीको दायाँ स्तनमा क्यान्सर देखियो । यो रोगको प्रकृति साँच्चीकै अद्भूत भयो । सायद ‘अर्बुद रोग’ भनेर मजस्तै कोही क्यान्सर रोगी आफन्त वा क्यान्सर रोगीले नै राखेको हुनुपर्छ । भनिन्छ, ‘समयमै उपचार गरे क्यान्सर रोग निको हुन्छ’ तर कसरी ? मेरी श्रीमतीले दायाँ स्तनमा १ हप्ता अगाडि कमिलाले टोकेजस्तै भयो भनेर छामेर हेरिन् । केही किसिमको सुनेको, नीलो, रातो छाम्दा केही पनि भेटिएन । तर, १ हप्तापछि छामेर हेर्दा सानो भटमास आकारको गिर्खा भेटियो र लगत्तै भक्तपुर क्यान्सर अस्पतालमा जाँच्न गइयो । झन्डै १ हप्ताको परीक्षणपछि तेस्रो तहको (Right breast ductal carcinoma with triple negative metastatic lymph node) क्यान्सर पत्ता लाग्यो र चिकित्सकहरूको टोलीले शल्यचिकित्साको सल्लाह दियो । यसरी छोटो समयमै यस्तो रोग मजस्तो थोरै भए पनि स्वास्थ्य सम्बन्धमा सचेत भएको व्यक्तिको श्रीमतीलाई लाग्नु मेरै कमजोरी, हेलचेक्राइँ वा समय–समयमा स्वास्थ्य परीक्षण र निदान गर्न नसक्नु, खानपान, दैनिक जीवनयापनका व्यवहार गर्न नसक्नु, शारीरिक कसरतलगायतका कुराहरूलाई ध्यान दिन नसक्नु पो हो कि भन्ने लाग्यो । तसर्थ, वंशानुगतभन्दा स्वस्थ खानपान, स्वस्थ व्यवहार, शारीरिक कसरत र नियमित स्वास्थ्य परीक्षण र निदान नै उपयुक्त क्यान्सर रोगका रोकथामहरू हुनसक्छ जस्तो लाग्छ ।
क्यान्सर रोग साँच्चीकै जटिल रोग रहेछ । यसले रोगीलगायत परिवार र आफन्तजनहरूलाई शारीरिक, मानसिक र आर्थिक एवम् सामाजिक पीडाहरू बोध गराउने रहेछ । यसले गर्दा उचित व्यवस्थापनको अभावमा धन र जन दुबैको क्षति गर्दछ । तापनि, धैर्यता र नियमित उपचारमात्र यसको उत्तम विकल्प रहेको म अनुभव गर्छु । यसरी जब क्यान्सर रोग लागेको सत्य तथ्य पत्ता लाग्दछ तब सम्बन्धित जिम्मेवार व्यक्ति साँचो अर्थमा हरेश खान पुग्दोरहेछ । अनि रोगको शास्वत सत्यता बिरामी आफैलाई र छोराछोरीलाई अवगत गराउन पनि हिच्किचाहत हुँदोरहेछ ।
यो अवस्थाबारे क्यान्सर विजयी महानुभावहरूको अनुभव र परामर्शले अहम् एवम् अपार भूमिका राख्दछ । यसै सन्दर्भमा मैले श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँज्यूलाई जानकारी गराएँ । उहाँकी धर्म पत्नी आदरणीय शोभा बिजुक्छेँ मिसलाई भेटँे । उहाँ अध्यक्ष कमरेड र शोभा मिसबाट क्यान्सर रोगको प्रकृति, उपचारको क्रममा हुनसक्ने पीडा अनि खानपान तथा जीवनयापनका कुरा तथा अनुमानित खर्च व्यवस्थापनको जानकारी प्राप्त भयो । त्यसरी उहाँहरूको अनुभव र परामर्श बुझ्न पाउँदा केही हदसम्म मानसिकरूपले क्यान्सर रोगसँग पौँठाजोरी खेल्ने र क्यान्सर मुक्त गर्ने गराउने मनोबल उच्च बनाइयो ।
उपचारको सुरुवाती क्रममा मलाई भक्तपुर क्यान्सर अस्पताल समग्र भक्तपुर जिल्लाकै गर्व हो भने लाग्थ्यो । उपलब्ध श्रोत र साधन, विशेषज्ञ डाक्टरहरूको उपचार र निदानात्मक शैलीहरूले म प्रभावित भएँ । लगभग ३०–३२ वर्षको अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा काम गरेको अनुभवले भन्नु पर्दा कुनै कुराहरू आँखाले टुलुटुलु हेर्नु र कानले चुपचाप सुन्नुबाहेक विकल्प मैले देखिन्नँ । त्यहाँका सबै विभागीय कर्मचारीहरू होइनन् । वार्डका केही सिस्टरहरू, फार्मेसीको प्रायः ड्युटीमा रहने कर्मचारीहरूको औषधि बिक्री वितरण तरिका अनि उहाँहरूको बोलीवचन रुखो लाग्यो । सिटी स्क्यान गर्ने प्राविधिज्ञ र कर्मचारीहरू अनि रेडियो थेरापी एकाइका कोहीँकोहीँ कर्मचारीहरू, टिकट काउन्टरका नयाँनयाँ कर्मचारीहरू अनि सेक्युरिटी कर्मचारीहरूले क्यान्सर बिरामी र आफन्तहरूलाई गर्ने व्यवहार अपाच्च पाएँ । नबुझेको बुझ्न खोजदा झपारेको देखियो । यसैगरी क्यान्सर अस्पतालको ल्याब र रेडियो थेरापी सेवा लिन धेरै समय कुर्नुपर्छ । सिटी स्क्यान सेवा लिन त अझ ४ घण्टा पनि कुरेको छु । त्यस अस्पतालमा सेवा शुल्क बुझाइसकेको रकम वा बीमा तथा सङ्घीय सरकार र प्रदेश सरकारबाट दिएको सहुलियत प्याकेज÷आर्थिक सहयोग बाँकी रहँदा पनि आफैले तिरी दिएको जस्तै मगन्ते÷माग्नेलाई जस्तो व्यवहार गर्ने र विशेषगरी कोठा नं. २१ र २२ का कर्मचारीहरू व्यक्तिगतरूपमा शेयर पुँजी कारोबारको गफ गरिरहने, कम्प्युटरमा ताँस खेलिरहने, सोही अवस्थामा नबुझेको कुरा सोधपुछ गर्दा कुनै पनि प्रतिक्रिया नजनाई ढोका बन्द गर्ने वा उठेर हिँड्ने गरेको पाउँदा बिरामीको घाउरूपी क्यान्सर पीडामा नुन छर्की दिएर अझ असह्य बनाई बिरामी र आफन्तको आत्मबल कमजोर बनाइदिएको छ । तसर्थ, ती कर्मचारीहरूलाई सम्बन्धित व्यवस्थापनबाट मानवीय सेवाको लागि आवश्यक निरीक्षण, नियन्त्रण र सम्झाइबुझाइ गर्नुपर्ने देख्छु  ।
यतिमात्र नभई क्यान्सर बिरामी र आफन्तहरूलाई सो अस्पतालमा कार्यरत कोहीँकोहीँ परिचित व्यक्तिहरूलगायत टोल र छरछिमेकमा पनि मानिसहरू तर्केर हिँड्ने, आँखा नसोझ्याई सकेसम्म परतिर बाटो लाग्ने गरेको देखदा सामाजिक मानसिकताले पनि म, हामीजस्ता बिरामी र आफन्तहरू मनमा असह्य पीडा बोक्न बाध्य हुन्छौँ ।
अन्तमा, जो उपचाररत छन्, जो रोगको निदान र परीक्षण गर्न गराउन दौडधुपमा लागिपरेको छ, उनीहरूलाई कृपया हेला नगरौँ, सहयोग नगरे पनि सद्भाव देखाऔँ र मानवीयता प्रकट गरौँ । क्यान्सर बिरामी र आफन्तहरूको शारीरिक, मानसिक, आर्थिक र सामाजिक अवस्थालाई मनन गरी आफू र आफन्तजनको हुनसक्ने त्यो अवस्थाप्रति प्रक्षेपण गरी, गराई उपयुक्त तथा उचित उपचार एवं व्यवहारमा सद्भाव प्रकट गरौँ । क्यान्सर बिरामी र उसको आफन्तहरूको लागि आत्मबल तथा मनोबल नै औषधि उपचारभन्दा ठूलो अचुक उपचार हुँदोरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *