भर्खरै :

विद्युतीय उपकरणको प्रयोगः पूर्वाधार खोइ ?

प्रधानमन्त्री देउवाले मङ्गलबार एउटा कार्यक्रममा विद्युतीय सवारी साधन र अन्य घरेलु उपकरण प्रयोग गर्न नेपाली जनतालाई गरेको आग्रह तब पूरा हुनेछ, जुन दिन सरकारले त्यस्ता उपकरणको प्रयोग गर्न विद्युत्मात्र होइन, अन्य पूर्वाधारको पनि विकास गर्नेछ । संसारलाई थाहा छ, अबको भविष्य नवीकरण र सफा ऊर्जाको हो । जीवाष्म इन्धनको प्रयोगले मानिसको साझा वासस्थान पृथ्वीको स्वास्थ्यमा पारिरहेको खराब असरलाई मध्यनजर गरेर यतिबेला वैज्ञानिक समुदाय नवीकरणीय सफा ऊर्जाको प्रयोगमा जोड दिइरहेका छन् । नेपाल जलस्रोतमा धनी देश भएको हुनाले जलविद्युत्को अथाह सम्भावनामा विवाद छैन । त्यसकारण, नेपालमा विद्युतीय सवारी साधन र उपकरणको प्रयोग गर्दा लागत सस्तोमात्र हुने होइन, त्यसले देशको आर्थिक अवस्था र जनताको जीवनस्तर उकास्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । कदाचित नेपालले विद्युतीय साधन र उपकरणको प्रयोगलाई प्रोत्साहित गर्न सके संसारकै सामु नेपालको छवि उकासिने छ । तर, त्यसको निम्ति विद्युत्मात्र भएर पुग्नेछैन । सरकारले त्यसको निम्ति पूर्वाधार निर्माणमा पनि जोड दिन आवश्यक छ ।
उदाहरणको लागि सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिंदै गर्दा त्यसको निम्ति चाहिने चार्जिङ सेन्टर, मर्मत सम्भार गर्ने ठाउँ, पार्टपुर्जाको व्यवस्था सुनिश्चित गरिन आवश्यक छ । ती आधारभूत पूर्वाधार सुनिश्चित नहुँदासम्म विद्युतीय सवारी साधनको प्रयोग मनको लड्डुबाहेक केही पनि हुनेछैन । त्यस्तै विशेषतः घरेलु तथा कार्यालयमा प्रयोग हुने विभिन्न विद्युतीय उपकरणको प्रयोग बढाउन त्यस्ता उपकरणको आयातमा सहुलियत दिन जरुरी छ ।
लामो समयसम्म विद्युतीय सामग्रीको उपकरण आयात गर्दा दिगो अर्थतन्त्रको चाहना फेरि पनि अपुरो हुनेछ । तसर्थ, त्यस्ता उपकरण उत्पादन गर्ने उद्योग नेपालमै खोल्न राज्यले सक्रियता देखाउन जरुरी छ ।
पञ्चायतकालमा तात्कालीन आवश्यकताअनुसार कृषि औजार कारखाना स्थापना गरिएको थियो । आज आवश्यकता फेरिएको छ । फरक आवश्यकता पूरा गर्न राज्यले तदारुकता नलिने हो भने फेरि पनि सीमित ‘बिग हाउस’ लाई पोस्ने काममात्र हुनेछ । त्यस्ता उपकरण परल मूल्त्न्दा निकै महँगोमा जनताले किन्न बाध्य हुनेछन् । त्यस अवस्थामा विद्युतीय उपकरण प्रयोग गर्ने जनताको चाहना छोटो अवधिमै तुहिन सक्छ ।
सबभन्दा महत्वपूर्ण कुरा त विद्युत् आपूर्ति नियमित हुनेछ र देशमा फेरि पनि लोडसेडिङका अँध्यारो दिन दोहोरिने छैन भन्ने कुरामा सबै शासक दलहरूले ग्यारेन्टी गर्न जरुरी छ । नेतृत्व वा व्यक्तिअनुसार होइन, प्रणालीअनुसार देश र व्यवस्था चल्दामात्र जनता ढुक्कसँग विकल्पमा जान सक्छन् । त्यसको निम्ति राज्यले भरपर्दो र विश्वासको वातावरण बनाउनुपर्छ । बेला मौकामा सस्तो लोकप्रियता कमाउन, दाता रिझाउनमात्र त्यस्ता कुरा गरेर भएन । पेट्रोलियम पदार्थको आपूर्ति न्यूनीकरण गर्न सरकारले दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ । मुखले भन्दैमा मात्र यस्ता कुरा कार्यान्वयनमा ल्याउन सकिन्न । सरकार र देशका सबै पक्ष र जनताको भावनालाई एकाकार गर्दा मात्र त्यो लक्ष्य हासिल गर्न सकिन्छ ।
नवीकरणीय ऊर्जाको प्रयोग बोल्नेभन्दा गरेर देखाउने क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *