भर्खरै :

मोदीको मुसलमानविरोधी जेहाद

हालै टी २० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानबाट भारतको पराजयपछि भारतीय खेलाडी बलर मोहम्मद शामीले सामाजिक सञ्जालमा निकै अपमानपूर्ण ट्रोलिङको सामना गर्नुप¥यो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को शासनमा भारतीय समाजले भोग्दै आएको इस्लामविरोधी कट्टरताको त्यो पछिल्लो प्रदर्शन थियो ।
प्रतियोगितामा शामीले राम्ररी खेल्न सकेनन् । तर, उनीसँगै दस जना अरू भारतीय खेलाडीलाई पनि पाकिस्तानले पछारेको थियो । तथापि, अपमानको शिकार भने शामीलाई मात्र बनाइयो किनभने उनी मुसलमान हुन् । शामीले राम्ररी खेल्न नसक्नुलाई खेलकुदको कोणबाट मात्र हेरिएन । बरु विपक्षी टोलीका आफ्नै धर्मका खेलाडीहरूविरुद्ध उनले राम्ररी नखेलेको आरोप जबरजस्ती लगाइयो ।
विडम्बना, भारतमा इस्लामविरोधी पछिल्ला अन्य घटनाले शामीको अपमानको घटनालाई समेत फितलो बनायो । भारतको उत्तरपूर्वी राज्य आसामको दराङ जिल्लामा सत्तारुढ भाजपा सरकारले मुसलमानहरूलाई धपाउने अभियान नै चलायो । मुसलमानहरू पर्ती जग्गामा ‘गैरकानुनी रूपमा बसोबास गरेको’ भन्दै उनीहरूलाई लखेट्ने प्रयास गरियो । मुसलमानहरूविरुद्ध दमनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो र गाउँलेहरूमाथि कुटपिट भयो । एक जना फोटोग्राफरले मरेतुल्य भइसकेको एक जना मुसलमानको शरीरलाई अझै पनि निर्ममतापूर्वक कुटपिट गरिरहेको थियो । यसरी कुटपिट हुँदै गर्दा त्यो दृश्य धेरै क्यामराले कैद गरेका थिए ।
मरेतुल्य मानिसको निस्साहाय मानिसमाथि फेरि पनि कुटपिट भइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । भाजपाको शासनकालमा व्यापक बनेको मुसलमान अल्पसङ्ख्यकविरुद्ध हिंसात्मक अपराधका घटनाबारे यसअघि त्यत्ति नसुनेका मानिसहरूले त्यो दृश्य देख्दा सबै आत्तिए । पछिल्लो वर्षहरूमा आक्रामक मुसलमानविरोधी जुलुस कहिलेकाहीं हिंसामा रूपान्तरण भएका थिए । सन् २०२० को फेब्रुअरीमा राजधानी नयाँ दिल्लीमा भएको त्यस्तै दङ्गाको क्रममा ५३ जना भन्दा बढी मानिस मारिएका थिए । उनीहरूमध्ये अधिकांश मुसलमानहरू थिए ।
मुसलमानहरूविरुद्धको हिंसा नाटकीय रूपमा बढिरहेको छ । विशेषतः गाईको मासु बेचबिखन वा खाने ‘अपराध’मा मुसमानहरूमाथि हिंसा हुने गरेको छ । हिन्दूहरू गाईलाई पवित्र पशु मान्छन् । अधिकांश राज्यहरूले गाई मार्न निषेध गरिएका कानुन पारित गरेका छन् । मुसलमानहरूलाई न्याय दिनेभन्दा उनीहरूमाथि दमनको लागि प्रहरी र भीड परिचालन हुने गरेको छ । गाई ‘घुसपैठिया’हरूले मुसलमानहरूमाथि कुटपिट भएको छ । मुसलमानहरूलाई जबरजस्ती हिन्दू नारा लगाउन बाध्य बनाइएको छ । त्यस्ता अपराध गर्नेलाई कुनै दण्ड हुने गर्दैन ।
यसैक्रममा प्रहरीले मुसलमान विद्यार्थीहरूविरुद्ध दमनकारी आतङ्कवादी तथा देशद्रोह कानुन लगाएर पाकिस्तानी क्रिकेट खेलाडीको समर्थन गरेको ‘अपराध’ मा कारबाही गरेको छ । इन्डौरको एउटा कलेजको वार्षिक नाचगान कार्यक्रममा सहभागी बनेको अभियोगमा चार जना मुसलमानलाई प्रहरीले पक्राउ ग¥यो । ‘हिन्दूमात्र’ भनिएको त्यो कार्यक्रममा सहभागी बनेको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । मुसलमान पत्रकार सिद्धिकी कप्पनलाई आफ्नो पेशाअनुसारको काम गर्दा प्रहरीले देशद्रोह, आतङ्कवाद र उत्तेजना फैलाएको अभियोगमा एक वर्षभन्दा बढी जेल सजाय तोकियो ।
पाका राजनीतिक नेताहरूले समेत सार्वजनिक घृणा फैलाउने अभिव्यक्ति दिइरहेको अवस्थामा यस्ता घटना हुनु कुनै आश्चर्यको कुरा होइन । एउटा कार्यक्रममा मोदीले सरकारविरोधी प्रदर्शनकारीलाई उसले लगाएको लुगाले चिन्न सकिन्छ भनेका थिए । उनको सङ्केत मुसलमानहरूको पोशाकतिर थियो । सन् २०१९ को आमचुनावअघि भाजपाका तत्कालीन अध्यक्ष अमित शाहले बङ्गलादेशी मुसलमान आप्रवासीहरूलाई ‘धमिरा’ भनेका थिए । उनले भाजपा सरकारलाई ‘घुसपैठिया एक एकलाई समातेर बङ्गालको खाडीमा फाल्न’ आग्रह गरेका थिए । मुसलमानविरोधी भावनालाई सामाजिक सञ्जालमार्फत अझ व्यापक बनाइयो । भाजपाद्वारा निर्देशित ह्वाट्सएप ग्रुपहरूले विगतमा मुसलमान हमलाकारी र शासकहरूले गरेका कति वास्तविक त कति परिकल्पित घटनालाई अघि सारेर सिङ्गो समुदायमाथि दोषारोपण लगाउने गरेको छ ।
यसअघिका सरकारहरूले साम्प्रदायिक भावनालाई चिसो बनाउन, सद्भाव प्रवद्र्धन गर्न र भारतमा बहुलवाद र विविधता प्रवद्र्धन गर्न औपचारिक प्रयास (जस्तै कर मिनाहा) गरेका थिए भने भाजपाले भने निर्लज्ज भएर असहिष्णु बहुमतवादी हिन्दुत्व विचारधारा अँगालेको छ । सत्ताको नजिक रहेकाहरूले सधैँ नै मुसलमान अल्पसङ्ख्यकहरूलाई दमन गर्ने गरेका छन् । अघिका सरकारहरूले मुसलमान अल्पसङ्ख्यकहरूलाई रिझाउँदा भारतको हिन्दू पहिचानमा खतरा भएको उनीहरूको आरोप छ ।
भाजपाको शासनअन्तर्गत हिन्दू धर्मका महिलाहरूलाई प्रेमको नाममा मुसलमान पुरुषले जालमा फसाएर गरेको ‘प्रेम युद्ध’ (लभ जिहाद), धर्म परिवर्तन (जसलाई भारतीय संविधानले स्वीकृति दिएको छ) र विवाह, सम्बन्ध विच्छेद र सम्बन्ध विच्छेद गरेका महिलालाई दिने पैसा वा सम्पत्तिबारे मुसलमानी अभ्यास (जो महिला अधिकारसँग अमिल्दो मानिन्छ) विरुद्ध अभियान नै चलाइयो । हिन्दू चाड दीपावलीको प्रचारसामग्रीमा मुसलमान शब्द प्रयोग गरेको भन्दै एउटा चर्चित लुगा कम्पनीलाई उसको प्रचार सामग्री फिर्ता गर्न बाध्य बनाइएको थियो । मुसलमानहरूको धार्मिक भेलाबाट कोभिड–१९ सरेको दोषारोपण गरियो । तर, त्यही बेला मुसलमानहरूका त्यस्ता कार्यक्रमभन्दा ठूला हिन्दूहरूको कुम्भ मेलामा भने कुनै रोकतोक भएन ।
भाजपा सरकारले मुसलमान बाहुल्य छिमेकी देशहरूबाट आएका गैरमुसलमान शरणार्थीहरूलाई दु्रतमार्गबाट नागरिकता दिने कानुन बनाइयो । परिवार नियोजन कार्यक्रमलाई भारतको ‘जनसाङ्ख्यिक सन्तुलन’ जोगाउन चालिएको कार्यक्रमको रूपमा प्रचार गरियो । मुसलमानहरूले बढी बच्चा जन्माएको भन्दै ८० प्रतिशत हिन्दू भएको देशमा यस्तो निर्णय गरियो ।
मजस्तो उदारवादी विचारका पक्षपातीलाई दुःख यो कुरामा लागेको छ, कि संविधानमा उल्लेख धर्मनिरपेक्षताको आधार आज यति कमजोर प्रमाणित भएको छ । भाजपाको मात्र सात वर्षको शासनमा दशकौँदेखि स्थापित हुँदै आएको सांस्कृतिक बहुलवाद र हिन्दू–मुसलमान एकता धुजाधुजा भयो ।
कुनै बेला सरकारका उच्चपदस्थ पदमा मुसलमानहरू हुँदा सरकारी अधिकारीहरू गौरवको विषय बनाउँथे । पाकिस्तानसँगको विभाजनको तीतो विरासतलाई पराजित गर्न भारतको क्षमताको प्रमाणको रूपमा त्यसलाई लिइन्थ्यो । आज मुसलमानहरू प्रहरी र सरकारको उच्चपदस्थ वृत्तमा मुसलमानहरूको सङ्ख्या नाटकीय रूपमा घटेको छ । उनीहरूको सङ्ख्यामा कारागारमा भने एकाएक बढेको छ । एक पुस्ताअघि बोल्दामात्र पनि अशिष्ट मानिने कुरा अहिले राजनीतिक दबुहरूमा बेरोकतोक फुकिंदै छ । प्रहरीलाई मुसलमानहरूको आक्रोश रोक्नुभन्दा दबाउन सक्षम बनाइएको छ ।
मुसलमानविरोधी भावनाले उत्तरी भारतीय समाजको ठूलो भागलाई कब्जा गरिसकेको छ । दक्षिणले भने अझै पनि आत्मसमर्पण गरिसकेको छैन । सबभन्दा गौरव गरिने भारतको स्वतन्त्र पत्रकारिता आफै पनि लामो समयदेखिको सद्भावपूर्ण सांस्कृतिक परम्परालाई मेटाउन सहयोगी मात्र होइन, सक्रियतापूर्वक लागेको छ ।
भाजपाको शासनअन्तर्गत मुसलमानहरूमाथिको विभेद र कमजोर बनाउने काम, भारतीय समाजलाई ‘हामी’ र ‘उनीहरू’ मा विभाजित गर्नुलाई सामान्यकरण गरिएको छ । मुसलमानविरोधी घृणाका अभिव्यक्ति र व्यवहारले अहिले भारतीय समाज संवेदित पनि हुन छोडेको छ । यस्ता कुरामा औँला उठाउने मुसलमानलाई ‘पाकिस्तानमा जाऊ’ भन्ने गरिएको छ । मजस्तो हिन्दूलाई भने ‘राष्ट्रविरोधी’ को उपमा दिइन्छ ।
सन् २०१५ मा संसद्मा बोल्दा मैले पटक –पटक एकजना मित्रको बुझाइ उद्धृत गरेको थिएँः भाजपाले शासन गरेको भारतमा मुसलमान हुुनुभन्दा गाई बन्नु सुरक्षित छ । दुःखको कुरा यो कुरा दिनानुदिन सत्य भइरहेको छ ।
(लेखक भारतका पूर्वविदेशमन्त्री तथा संयुक्त राष्ट्र सङ्घका पूर्वउपमहासचिव हुनुहुन्छ ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *