भर्खरै :

पूर्वी युरोपमा मानिसहरू किन खोप लगाउन तयार भएनन् ?

पछिल्ला केही सातायता युरोप फेरि पनि कोभिड–१९ महामारीको केन्द्र बन्दै छ । पूर्वी युरोपका पहिलाका कम्युनिस्ट देशहरूका युरोपेलीहरू खोप लगाउन तयार नहुँदा कोरोना भाइरसका बिरामी, अस्पतालमा भर्ना हुने र मर्ने मानिसको सङ्ख्या फेरि पनि उकालो लागेको छ । युरोपेली सङ्घमा ७५.६ प्रतिशत मानिसले खोप लगाइसकेका छन् । तर, बुल्गेरियाका २६.२ प्रतिशत र रोमानियाका ३९.६ प्रतिशत जनताले मात्र खोप लगाएका छन् । युरोपेली सङ्घमा नरहेका अन्य युरोपेली देशहरूको अवस्था त अझ विकराल छ । युक्रेनका २०.२ प्रतिशत र रुसका ३६.३ प्रतिशत मानिसले मात्र खोप लगाइसकेका छन् ।
पूर्वी युरोपको अवस्था किन यस्तो छ ? एकै शब्दमा उत्तर दिनुपर्दा यसको कारण गलत सूचना हो । समाजवादको विघटनपछि त्यहाँका सरकारी निकायप्रति जनताको विश्वास टुटेको छ । त्यसकारण, कोरोना भाइरसबारे षड्यन्त्र सिद्धान्तमा आधारित व्यापक प्रचारबाजीले पूर्वी एसियाली देशलाई खर्लप्पै निलेको छ ।
युक्रेनका एक जना चिकित्सकले युक्रेनमा आफ्नो अवस्थाबारे हालै लेखेका थिए, “झूट खबरको बिगबिगी छ । मानिसहरूलाई माइक्रोचिप्स र वंशानुगत उत्परिवर्तन आदि कुरामा विश्वास गर्न लगाइएको छ ।… केही परम्परावादी पादरीहरूले खुलमखुला र आक्रामक रूपमा मानिसहरूलाई खोप नलगाउन आग्रह गरिरहेका छन् । सामाजिक सञ्जालहरू पनि त्यस्तै बेतुकका हल्लाले भरिएका छन् । युक्रेनीहरू सरकारका कुनै पनि आग्रहलाई अविश्वासको आँखाले हेर्छन् । खोप लगाउने विषयमात्र त्यसको अपवाद रहेन ।”
अहिले कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या पहिलेभन्दा बढेपछि मानिसहरू डराउन थालेका छन् । त्यसकारण, खोप लगाउनेको दर पनि बढेको छ । तर, सो क्षेत्रका धेरै देशमा नक्कली खोप लगाएको प्रमाणपत्र र नक्कली पीसीआर परीक्षणको रिपोर्ट छ्यापछ्याप्ती पाइन्छ । उदाहरणको लागि बुल्गेरियामा खोप लगाएको प्रमाणपत्र र परीक्षणको परिणाम १७३ देखि ३४७ अमेरिकी डलरमा किन्न पाइन्छ । यस्ता नक्कली प्रमाणपत्र कति सङ्ख्यामा जारी भएका छन्, कसैलाई थाहा छैन । आफ्नै आँखाअघि धेरै जना साथीहरूको निधन भएको देखेका मानिसहरू पनि खोप लगाउनु खतरनाक छ भन्दै हिंडेका छन् । त्यस्ता मानिसहरू कोभिडको खोपमा नानोचिप्स हुन्छ र त्यसले हाम्रो डीएनए पुनर्लेखन गर्छ अथवा औषधि कम्पनीहरूले बनाएका यस्ता खोप सार्वजनिक सुरक्षाको लागि विश्वासयोग्य नभएको जस्ता प्रचार गरिरहेका छन् ।


हल्ला र गलत सूचना त पश्चिम युरोपमा पनि व्यापक नै छ । संरा अमेरिकामा सबभन्दा बढी हेरिने समाचार च्यानल फक्स न्युजले वर्षौँसम्म खोपबारे गलत सूचना प्रसारण गरिरह्यो । तर, अमेरिकाका झन्डै ७० प्रतिशत वयस्कहरूले खोप लगाइसकेका छन् । तर, अझैै पनि किन पूर्वी युरोपका मानिसहरू सशङ्कित छन् ?
पूर्वी युरोपमा सार्वजनिक निकायप्रति जनताको विश्वास कम हुनुको सम्बन्ध त्यहाँको समाजवादी व्यवस्था विघटनसँग छ । ती देशहरूमा लामो समयसम्म सङ्क्रमणकालीन आर्थिक मन्दी गहिरो रह्यो । त्यहाँका कथित कम्युनिस्ट सरकारहरू ती मन्दीका प्रभाव कम गर्न असफल भए । रोयटर्समा प्रकाशित एउटा लोकप्रिय समाचारमा एक जना अज्ञात ‘विज्ञ’ लाई उद्दत गर्दै ‘कम्युनिस्टहरूको दशकौँ लामो शासनमा राज्यका निकायप्रति जनताको विश्वास कम भएको’ लेखिएको छ । तर, खासमा कम्युनिस्टहरूको सरकार छँदा पूर्वी युरोपमा सरकारी निकायप्रति जनताको विश्वास अझ बलियो थियो ।
हाम्रो हालै प्रकाशित पुस्तक ‘टेकिङ स्टक अफ सकः सोसिएल कन्सिक्वेन्सेस अफ द १९८९ रिभोल्युसन’ मा हामीले वल्र्ड भ्यालु सर्भे र युरोपेली पुनःनिर्माण र विकास बैङ्क(ईबीआरडी) ले बनाएको सङ्क्रमणकालीन जीवन सर्भेका तथ्याङ्क प्रयोग गरेका थियौँ ।
केही अपवादबाहेक वल्र्ड भ्यालु सर्भेले पहिलाका कम्युनिस्ट देशहरूमा ‘अधिकांश मानिसलाई विश्वास गर्न सकिन्छ’ भन्ने वाक्यमा सहमत मानिसहरूको प्रतिशत ओरालो लागेको देखाउँछ । कम्युनिस्ट सरकार ढलेपछि गहिरो मन्दीमा फसेका देशहरूमा यस्तो अविश्वासको अवरोह बढी गहिरो देखिन्छ । पछि आर्थिक अवस्थामा सुधार भए पनि जनविश्वासको अवस्थामा कुनै सुधार देखिएन । बरु जनताको विश्वास झन् तल झ¥यो । सन् १९९५ देखि १९९८ को अवधि बुल्गेरियामा सङ्क्रमणकालीन मन्दीका खराब वर्षहरू थिए । त्यत्तिबेलाको तथ्याङ्कअनुसार २३.७ प्रतिशत मानिसले मात्र आफ्नो देशका मानिसलाई विश्वास गर्न सकिने बताएका थिए । तर, सन् २०१७–२०२० को अवधिमा यसरी आफ्नो देशका मानिसलाई विश्वास गर्न सकिने मत व्यक्त गर्ने मानिसको प्रतिशत १७.१ प्रतिशतमा झ¥यो । रोमानियामा त्यही अवधिमा सामाजिक विश्वास १७.९ प्रतिशतबाट १२.१ मा झरेको थियो ।
तुलनात्मकरूपमा सफल मानिएका देशहरू पोल्यान्ड र चेक गणतन्त्रमा पनि कम्युनिस्ट शासन ढलेपछि जनविश्वास ओरालो लागेको थियो । वल्र्ड भ्यालु सर्भेसँग ती देशहरूका पूर्ण तथ्याङ्क छन् । सन् १९८९–९२ को अवधिमा पोल्यान्डका ३१.१ प्रतिशत र चेक गणराज्यका ३०.२ प्रतिशत मानिसले अधिकांश आफ्ना देशका बासिन्दालाई विश्वास गर्न सकिने बताएका थिए । सन् २०१७–२० को अवधिमा त्यो दर निकै ओरालो लाग्यो । पोल्यान्डका २४.१ प्रतिशत र चेक गणराज्यका २१.१ प्रतिशत मानिसले मात्र अधिकांश आफ्नै देशका मानिसलाई विश्वास गर्न सकिने मत व्यक्त गरेका थिए । सन् १९९७ देखि २००७ मा पूर्वी युरोपमा सामाजिक विश्वास ओरालो लाग्दै गर्दा पश्चिम युरोपमा भने त्यस्तो विश्वास बढिरहेको थियो ।
ईबीआरडीले सन् २००६ मा आफ्नो विस्तृत सङ्क्रमणकालीन जीवन सर्भे सार्वजनिक गरेको थियो । २८ वटा कम्युनिस्ट पक्षधर देशहरूका एक हजार नागरिकसँग भेटेरै अन्तर्वार्ता लिएर त्यो सर्भेको नतिजा प्रकाशित गरिएको थियो । सो तथ्याङ्कअनुसार सन् १९८९ अघि सर्भेमा भाग लिएका दुईतिहाइ मानिसले अधिकांश मानिसलाई विश्वास गर्न सकिने बताएका थिए । तर, सत्र वर्षपछि त्यसको एकतिहाइले मात्र अधिकांश मानिसलाई विश्वास गर्न सकिने बताएका थिए । पूर्वी युरोपका सबै देशहरूका उस्तै परिणाम आएको देखिन्छ । त्यहाँ सबै उमेर समूह र आम्दानीका मानिसहरूले कम्युनिस्ट सरकार छँदा मानिसहरू बढी विश्वासिलो भएको प्रतिक्रिया दिएका थिए ।
पहिला कम्युनिस्ट शासन भएको क्षेत्रमा सन् १९९० बाट सन् २०१० दशकसम्म सरकारी निकाय (जस्तै सरकार, संसद्, अदालत, सेना र प्रहरी) प्रति जनताको निराशाको कारण पनि औसत विश्वास घटेको देखिन्छ । सन् १९९० देखि २०१३ को बीचमा मध्य र पूर्वी युरोपका राजनीतिक निकायहरूप्रतिको विश्वास आधाले घटेको देखिन्छ ।
यी तथ्याङ्कबारे ईबीआरडीका त्यत्तिबेलाका प्रमुख अर्थशास्त्री इरिक बेर्गोल्फले भने,“कठिन समयमा भौतिक खुसीमा मात्र होइन, विश्वास र अवस्तुगत खुसीमा पुगेको क्षतिलाई पनि न्यूनाङ्कन गर्न नसकिने कुरा मनमा राख्न जरुरी छ ।”
वास्तवमा यी सर्भेका नतिजाले अहिलेसम्म कमैले मात्र जानेका तथ्य उजागर गरेको छ ः कम्युनिस्ट सरकार ढलेपछिको मन्दी आधुनिक इतिहासकै सबभन्दा खराब खालको थियो । सन् १९३० को ठूलो मन्दी (ग्रेट डिप्रेसन) भन्दा त्यो खराब थियो । तर, त्यो मन्दीबाट सबै देश समान ढङ्गले प्रभावित भने भएनन् । मध्य युरोपका केही देशहरू तुलनात्मकरूपमा चाँडो र युरोपेली सङ्घको मापदण्डअनुसार प्रगति गर्न सफल भए । अरूले भने अकल्पनीय क्षति भोग्नुप¥यो । कम्युनिस्ट सरकार ढलेपछि अधिकांश देशहरू पहिलेकै अवस्थामा फर्किन सत्र वर्ष लाग्यो । तर, मानिसमा सरकारप्रतिको गहिरो अविश्वास भने फर्केन ।
महामारीको क्रममा पूर्वी युरोपका अधिकांश देशहरूले सन् १९८९ पछि सरकारप्रति गुमाएको जनविश्वासमा आएको क्षयीकरण अझै फर्किनसकेको देखाएको छ । महामारीअघि पनि ती देशहरू गलत सूचनाको निम्ति मलिलो क्षेत्र थिए । त्यहाँ हुने अधिकांश गलत प्रचार रुसबाट आएका हुुन्थे । युरोपेली सङ्घ, पश्चिमा देश र आफ्नै देशका सफल विज्ञहरूविरुद्ध जनमत सिर्जना गर्र्ने लक्ष्यले त्यस्ता हल्ला फैलाइन्थ्यो । अहिले खोप लगाउन मानिसहरू तयार नहुनु र कोरोना भाइरसको कारण मर्नेको सङ्ख्या त्यसैको देखिएको परिणाम हो । त्यस्तो अवस्था कम्युनिस्ट शासनको दशकौँ देखिएको थिएन, बरु त्यसको विघटनको दशकौँ लामो सामाजिक प्रभाव स्वरुप देखिएको छ ।
क्रिस्टिन पेन्सालभानिया विश्वविद्यालयमा रुस र पुर्वी युरोप अध्ययनका प्राध्यापक हुनुहुन्छ भने मिटचेल सोही विश्वविद्यालयमा विदेश नीति अध्ययन प्रतिष्ठानका वरिष्ठ अध्येता र रुस तथा पूर्वी युरोप अध्ययनका प्राध्यापक हुनुहुन्छ ।
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुशिला

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *