भर्खरै :

सोभियत रूसमा रवीन्द्रनाथ टैगोर

कविजी र उहाँका साथीहरूले १९३० सेप्टेम्बर ३० मा राति नौ बजे केन्द्रीय किसान घर, मस्कोको भ्रमण गर्नुभयो । क्लवको रूपमा प्रयोग हुने यस्ता घरहरू देशैभर गाउँ, नगर र सहरहरूमा फैलिएका छन् । यी घरमा किसानहरूमाझ सघन सांस्कृतिक, सामाजिक र शैक्षिक गतिविधिहरू सञ्चालन गरिन्छ । यी घरमा कृषि तथा समाजका विविध पक्षबारे प्रवचनको आयोजना गरिन्छ । निरक्षरता हटाउन समूहहरू बनाइन्छ । किसानहरूलाई खेतीपातीसम्बन्धी प्रभावकारी वैज्ञानिक विधिहरूबारे व्यवहारिक ज्ञान दिन विशेष कक्षाहरू सञ्चालन गरिन्छ । प्रत्येक किसान घरमा प्रकृतिको इतिहास, धर्मको उद्भव र विकास, कृषि र समाज कल्याण झल्काउने सङ्ग्रहालयहरू हुन्छन् । यी किसान घरमा कृषि, कर प्रणालीजस्ता यावत विषयमा परामर्श दिने संयन्त्रको पनि प्रबन्ध गरिएको छ ।
नयाँ ठाउँमा आउने किसानहरूलाई यी घरमा सस्तो शुल्कमा (एक रातको पच्चीस कोपेक) अस्थाई रूपमा (एक रातदेखि तीन हप्तासम्म) बस्न दिइन्छ । उनीहरूलाई गाउँले जीवनमा आइपर्ने समस्या सुल्झाउन परामर्श संयन्त्रहरूले सघाउँछन् । यी किसान घरको माध्यमबाट सोभियत सरकारले अशिक्षित किसानहरूको ठूलो समूहबीच व्यापक गतिविधिहरू सञ्चालन गरिरहेको छ । नयाँ सामाजिक व्यवस्थाको जगको रूपमा उनीहरूलाई जिम्मेवार नागरिक भावनाले ओतप्रोत तुल्याउँदै छ ।

केन्द्रीय किसान घरमा कविजीलाई विभागका निरीक्षक एवम् मस्को वरपरका स्थानलाई प्रतिनिधित्व गर्ने झन्डै डेढ सय किसानहरूद्वारा स्वागत गरियो । छोटो स्वागत सभामा निरीक्षकले कविजी व्यक्तिगतरूपमा किसानहरूसँग भेटघाट गरेर उनीहरूबारे केही बुझ्नका निम्ति यो भ्रमणमा आउनुभएको बताए । उपस्थित किसानहरूको तर्फबाट कविजीलाई स्वागत गर्दै निरीक्षकले महान् भारतीय कवि र सोभियत किसानबीचको यो प्रथम भेटले दुवै देशका किसानहरूबीच अझै गहिरो सम्बन्धको जग हाल्न विश्वास व्यक्त गरे ।
आफ्नो छोटो जवाफमा कविजीले सोभियत गणतन्त्रका मजदुर र किसानहरूले नयाँ जीवन र नयाँ मानवता सिर्जनाका लागि गरेको कठीन कामको महत्वबारे औँल्याउनुभयो । सोभियत जनताबाट बढीभन्दा बढी आत्मत्याग र समर्पणको माग गर्ने यस्ता नौला र महान् प्रयत्नतर्फ उकास्ने गौरवशाली सद्भावको उहाँले प्रशंसा गर्नुभयो ।
कविजीसामु अनेक जिज्ञासाहरू राखिए र उहाँले सहभागीहरू सन्तुष्ट नहुञ्जेल जवाफ दिइरहनुभयो ।
प्रश्न: हाल भारतमा राष्ट्रिय नीति कस्तो छ ? हिन्दू र मुस्लिमबीच द्वेष हुनुको कारण के होला ?
उत्तर: मेरो निजी अनुभवमा यो द्वेष केवल २५ वर्ष अघिदेखि चलिआएको हो । म धेरै वर्ष गाउँमा बसेँ । मैले जानेसम्म त्यसअघि उनीहरूबीच यस्तो शत्रुता थिएन । भारतीय किसानहरूको अचाक्ली अज्ञानता र निरक्षरताले गर्दा यो सम्भव भएको हो भन्नेमा म विश्वस्त छु । मलाई लाग्छ, यो धार्मिक वैरभावलाई केवल जनशिक्षाका माध्यमबाट मत्थर पार्न सकिन्छ । विडम्बना ! आज भारतमा जनतालाई शिक्षित तुल्याउने सम्भावना छैन । उस्तै परिस्थिति भएका देशमध्ये तपाईँहरूको देशमा मात्र यो सम्भव छ ।
प्रश्न: के यहाँले आफ्ना रचनामा किसानहरूबारे लेख्नुभएको छ ? भारतीय किसानहरूको भविष्यबारे यहाँको विचार के होला ?
उत्तर: मैले किसानहरूबारे लेखेको मात्र छैन, म उनीहरूमाझ काम गरिरहेको छु । सकेसम्म उनीहरूलाई शिक्षित बनाउन प्रयासरत छु । म विद्यालयमा बालबालिका र भारतीय युवाहरूलाई मात्र पढाउन्न, बरू वरपरका गाउँमा पनि यो काम सञ्चालन गरिरहेको छु । पक्कै पनि सोभियत सङ्घमा चलिरहेको बृहत् शैक्षिक कार्यभन्दा मेरो काम अति सानो छ ।
प्रश्न: हाम्रो देशमा फैलिरहेको सामूहिकीकरणबारे यहाँको विचार के छ ?
उत्तर: किसानहरूद्वारा सञ्चालित यो सामूहिकीकरणको महत्व ठूलो भएको बोध भयो । विडम्बना, यसबारेमा अति कम जानकारी भएकोले यो प्रश्नको जवाफ दिन सक्दिन । यो समस्यालाई सोभियत सङ्घमा कसरी हल गरिएको रहेछ भन्ने ज्ञान नहुनाले नै खासमा म तपाईँहरूको देश घुम्न आएको हुँ ।
प्रश्न: भारतमा हाम्रो सामूहिक कृषि प्रणाली र कामबारे सामान्यतया के–कति जानकारी छ ?
उत्तर: दुर्भाग्यवश अति कम । किनभने, भारत एवं अन्य देशका छापाहरू तपाईँहरूको देशसम्बन्धी सारा तथ्यहरूबारे कम बोल्छन् वा तिनमा विश्वास गर्दैनन् ।
प्रश्न: के यहाँले किसान घर र यसको कामबारे यसअघि सुन्नुभएको थियो ?
उत्तर: अहँ, मस्को आएपछि मात्रै किसानका निम्ति यी कल्याणकारी केन्द्रहरू सञ्चालनमा रहेको थाहा पाएँ । अब म यो बैठकमा उपस्थित किसानहरूबाटै सामूहिकीकरण र किसानबीच यसको महत्वबारे बुझ्न चाहन्छु ।
रुसी किसान: (बत्तीस वर्षीय एक युक्रेनी किसान, सेमेन्चिको । बसोबास : खेर्सन ।) म दुई वर्षपहिले स्थापित सामूहिक फार्ममा काम गरिरहेको छु । हाम्रो फार्ममा ठूलाठूला बगानहरू छन् । त्यहाँबाट हामी तरकारीलगायत भण्डारण योग्य उपज आपूर्ति गर्छौँ । हाम्रो फार्ममा ठूलाठूला गहुँका खेतहरू पनि छन् । दिनको आठ घण्टा काम हुन्छ र प्रत्येक पाँचौँ दिन बिदा । (हाल देशैभर ‘अविच्छिन्न कार्य सप्ताह’ को नाममा पाँचदिने साता लागू भएको छ ।) हाम्रो सालाखाला बाली छरछिमेकका कुनै पनि एकल किसानको भन्दा दोब्बर छ । हाम्रो सामूहिक फार्म सुरूमा नै डेढ सयजति एकल किसानहरू गाभिएर बनेको हो । १९२९ को वसन्त याममा झन्डै ५० प्रतिशत किसानले फार्म छोडे । कामरेड स्तालिन (रूसी कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव) को निर्देशनात्मक परिपत्रको गलत बुझाइ र गलत पालनले गर्दा यस्तो हुन गयो । उहाँले सामूहिक फार्मका सङ्गठनहरूमा सामुदायिक तवरले स्वयंसेवी सहभागितालाई सामूहिकीकरणको आधारभूत सिद्धान्तको रूपमा इङ्गित गर्नुभएको थियो । यो आधारभूत सिद्धान्तलाई कतिपय ग्रामीण भेगमा बुझ्न सकिएन । यसैको अपुरो एवं गलत परिपालनाका कारण हुन गएका कर्मचारीहरूको गल्तीले गर्दा धेरै किसानहरू सामूहिक फार्मबाट बाहिरिए । अहिले भने पुरक व्याख्या र बाँकी किसानहरूको अति साहसिक प्रयासपछि बाहिरिएका २५ प्रतिशत किसान फर्केका छन् । आज हामी पहिलेभन्दा बलिया छौँ । हाम्रा सदस्यहरूका लागि नयाँ आवासहरू, एक नयाँ भोजनकक्ष र एउटा विद्यालय बनाउँदै छौँ ।
सोही प्रश्नमा साइबेरियाकी एक महिला किसानले थपिन् । उनी दस वर्षदेखि कम्युनकी सदस्य रहिछन् । सामूहिक फार्मबारे लेख्दा कविजीलाई फार्महरू महिला आन्दोलनको मुख्य केन्द्रको रूपमा गहिरोसँग जोडिएको कुरा हेक्का राख्न सुझाइन् । उनले कसरी आफ्नै दस वर्ष जेठी दिदीभन्दा आजका महिलाहरू बढी आत्मविश्वासी र फरासिला छन् भनी व्याख्या गरिन् । तसर्थ, एकल किसानहरूउपर सामूहिकीकरणको विजयको महान् कार्यका निम्ति सामूहिकीकरणको नीति पालनमा अवरोध गर्ने हाम्रा महिलाहरूको पिछडिएको तप्कालाई आकर्षित गर्ने विषयमा उनले सविस्तार बताइन् । उनले भनिन्, “हाल हामीसित सामूहिक फार्मका महिलाहरूको विशेषरूपले सङ्गठित दस्ता छ । यो दस्ता देशको एउटा भागदेखि अर्को भागसम्म जान्छ, महिलाहरूबीच काम गर्छ, उनीहरूलाई जगाउँछ र सामूहिकीकरणका आर्थिक र सांस्कृतिक लाभबारे विस्तारमा बताउँछ । कम्युनको काममा महिलाहरूको कठोर जीवनलाई हलुका बनाउन र सहकर्मी लोग्नेमान्छेकै दाँजोमा महिलाहरूलाई उकास्न हरेक सामूहिक फार्ममा शिशुशाला, बालोद्यान र सामूहिक भान्साघरको बन्दोबस्त छ ।”

विश्व प्रसिद्ध राज्य सञ्चालित फार्म ‘सोभ्खोज’ का खेती मजदुरले रूसमा कसरी सामूहिकीकरणको विचारलाई कार्यान्वयनमा ल्याइएको छ भन्ने कुरा बेलिविस्तार लगाए । उनले भने, “हाम्रो फार्मले एक लाख हेक्टर जमिन ओगटेको छ । पोहोर साल हामीसित ३ हजार कामदार थिए । यो वर्ष केही घट्नेछ । तैपनि प्रतिव्यक्ति उत्पादन भने बढ्नेछ । वैज्ञानिक मल, ट्याक्टर तथा आधुनिक औजारजस्ता उन्नत कृषि विधिहरूको प्रयोगले यो सम्भव भयो । अब हामीसित ३०० भन्दा बढी ट्याक्टर छन् । दैनिक आठ घण्टाको कार्यअवधि छ । ओभर टाइम काम गर्दा चोखो भत्ता पाइन्छ । हिउँदमा सबै कामदारलाई काम नपुगेको खण्डमा उनीहरूमध्ये दुईतिहाइलाई सहरमा भवन निर्माण, बाटोघाटो मर्मतजस्ता काममा जान दिइन्छ । सहरमा काम गर्दागर्दै पनि उनीहरूले फार्मबाट गृष्मकालीन भत्ता पाउँछन् र सपरिवार फार्मले उपलब्ध गराएको कोठामा बस्छन् ।”
टैगोर: अब मैले सामूहिक फार्मलगायतका विषयमा यहाँ उपस्थित कोही एकल किसानको धारणा जान्नुपर्ने हुन्छ । साथै निजी सम्पत्तिको सिद्धान्तबारे कसैको दृष्टिकोण र एकल फार्मको आफ्नो जायजेथा सुम्पनुपर्दा पश्चाताप भयो/भएन, मैले जान्नुपर्ने हुन्छ ।
(एस्कुकोफजीले बैठकमा उपस्थित विभिन्न समूहका सदस्यहरूको सङ्ख्या गन्न सुझाए । फलतः उपस्थितहरूमध्ये धेरैजसो किसान भएको थाहा हुन आयो । अझ त्यसमध्ये आधाजति व्यक्ति सामूहिक फार्मका सदस्य वा राज्य फार्मका मजदुर भएको पाइयो । किसानहरूले जवाफ दिनुपूर्व केही समय लिए । विषयवस्तुको ज्ञान नहुँदा पहिले आफूहरूले यससम्बन्धी परम्परागत दृष्टिकोण राख्ने गरेको धेरैले स्वीकारे । अझै पनि धेरै सहभागीहरू लजाइरहेका र अप्ठ्यारो मानिरहेका देखिन्थे ।)
‘प्रवास’ पत्रिकाको वि.सं. १९३७ पुसको अङ्कमा टेगोरको श्री प्रशान्त महलानोबिसलाई लेखेको पत्र छापियो । त्यसमा टैगोरले के कति कारणले किसानहरू प्रश्नको सीधा र सटिक जवाफ दिन हच्किए होलान् भनी आफ्नो धारणा बताउनुभएको छ । यसै सिलसिलामा कविजीले सम्पत्तिसम्बन्धी आफ्ना केही विचार पनि प्रकट गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “सजिलै बुझिने कुरा हो, उनीहरूले जवाफ नफर्काउनुको कारक मानवीय प्रवृत्ति थियो । निजी सम्पत्तिप्रतिको लगाव मानिसको हकमा एकप्रकारले स्वाभाविक र तर्कभन्दा पर छ । सम्पत्तिको स्वामित्व लिनु स्वअभिव्यक्तिकै प्रयत्नले निम्त्याउने एक कार्य हो । जोसँग स्वअभिव्यक्तिका प्रशस्त साधन छन्, तिनले सम्पत्तिको वास्ता गर्दैनन् । तिनीहरू सारा सम्पत्ति त्याग्न सक्छन् । तर, सर्वसाधारणको निम्ति उसको सम्पत्ति नै उसको आफ्नो व्यक्तित्व हुन्छ । तसर्थ, यसबाट उसलाई वञ्चित गर्नुको अर्थ उसलाई आत्मबोधको साधनबाट अलग्याउनु हो । सम्पत्ति जीविकोपार्जनको माध्यममात्र हुन्थ्यो र स्वअभिव्यक्तिको मार्ग हुँदैनथ्यो भने सम्पत्तिलाई तिलाञ्जली दिएर जीवनचर्या झन् सुनिश्चित गर्न सकिनेमा मानिसहरूलाई मनाउन सजिलो हुने थियो । स्वअभिव्यक्तिका उच्च साधनमध्येमा पर्ने बौद्धिकता र आर्जित सीपहरू बल र छलले एकजना व्यक्तिबाट खोस्न सकिन्न, तर सम्पत्ति खोस्न सकिन्छ । यसकारण, सम्पत्तिको बाँडफाँड र उपभोगका विषयमा मानव समाजमा यतिबिघ्न क्रुरता, कपट र अनन्त द्वन्द्व छ । मध्यम मार्गबाहेक यसबाट पार पाइने कुनै अर्को मार्ग छ भन्ने मलाई लाग्दैन । त्यो मध्यम मार्ग हो – निजी सम्पत्ति राख्न दिनुपर्छ तर व्यक्तिको उपभोगलाई कठोरतापूर्वक सीमित गर्नुपर्छ । सीमाबाहिरको अतिरिक्त सम्पत्ति सार्वजनिक उपयोगका निम्ति प्रदान गर्नुपर्छ । तबमात्र सम्पत्ति प्रेमलाई लालच, क्रुरता वा कपटमा फेरिनबाट जोगाउन सकिन्छ । सोभियत सरकारले यसको अस्तित्वलाई नकारेर समस्याको समाधान गर्न खोजेको छ । सम्पत्तिको प्राप्तिका निम्ति हुने हिंसाको कुनै अन्त्य छैन । तर, मानिसहरूमा विशिष्टता हुनुहुँदैन भन्ने तागत कसैसित छैन । बढीमा स्वार्थीपना हुनुहुँदैन भन्न सकिन्छ । अर्को शब्दमा, सबैजनासँग आफ्नो भन्न सकिने केही न केही हुनुपर्छ । यत्ति हो, बाँकी सबै अरूका निम्ति हुनुपर्छ । समग्रमा व्यक्ति र समाज दुवैलाई मान्यता दिएमा मात्र प्रश्नको हल भेटिनेछ । कुनै एकलाई मात्र नकारेमा यसले हामीलाई मानव प्रकृतिको यथार्थविरुद्ध युद्धमा होम्नेछ । पश्चिममा फगत बलमाथिको विश्वास बढी नै झल्किन्छ । बल आवश्यक पर्ने क्षेत्रमा यसले राम्रै गर्छ । तर, बाँकी जताततै यसले प्रकोप निम्त्याउँछ । भौतिक बलद्वारा दुई विरोधी सत्यलाई नजिक ल्याउने जुनसुकै कोसिसले ढिलो वा चाँडो तिनलाई झन् टाढामात्र लैजान सक्छ ।” (सम्पादक)
अन्ततः बश्किर प्रदेशका एक किसानले मुख खोले । उनले हाल आफू एकल कृषक भएको तर चाँडै नै नजिकैको सामूहिक फार्ममा जोडिने बताए । यसको कारण पनि उनले खोले । सामूहिकरूपमा खेतीपाती गर्दा एकल बन्दोबस्तको भन्दा राम्रो र अधिक फसल उब्जिन्छ । उनले भन्दै गए, “तर जमिनको राम्रो जोतभोगका लागि मेसिनहरू चाहिन्छ । हामी एक्लै यस्ता मेसिन किन्न सक्दैनौँ । मेसिन किनिहाल्यौँ भने पनि हाम्रा साना खेतका गह्राहरूमा के नै पो हुन्छ र ¤ यी स–साना गराहरूलाई विशाल सामूहिक फार्ममा जोडेरमात्रै सामाजिक अस्तित्वको नयाँ ढाँचा निर्माण गर्न सकिन्छ ।”
त्यसपछि मस्कोबाट डेढ सय माइल दक्षिण पर्ने ताम्बोभ भेगकी किसानले भनिन्, “शङ्कै छैन, बाहिरभन्दा सामूहिक फार्ममा जीवन उत्तम छ । यो परिवर्तनबाट कोही पछुताउला भन्ने मलाई लाग्दैन ।” अरू अनेक किसानहरूले यसको पुष्टि गरे । सहभागीहरूमध्येबाट कोही चिच्यायो, “हाम्रा पहिलेका साँघुरा र फोहोरी झुप्राहरूबाट अहिलेका ठूला, सफा र स्वास्थ्यमैत्री सामूहिक फार्मको आवासमा आउँदा हामी किन पछुताउने ?”
केन्द्रीय किसान घर, मस्को
(अनुवाद: सुरेश)

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *