अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ब्रह्माण्डमा तारापुञ्जमा आबद्ध लाखौँलाख ताराहरू हुन्छन् । ती सबै ताराहरू चम्किरहेका हुन्छन् । सूर्य पनि एक चम्किरहेको तारा नै हो । यही सूर्यको कारणले मानवजगतले सबैभन्दा बढी ऊर्जा पाउने गर्छन् । वैज्ञानिक अनुसन्धानअनुसार सूर्य एक हाइड्रोजन ग्याँसको गोलाकार वस्तु हो । यसको भित्री भागमा करोडौँ डिग्री फोरेनहाइट तापक्रम हुन्छ । अत्यधिक तापक्रममा सूर्यको आफ्नै जडत्वले गर्दा हाइड्रोजन ग्याँस हिलियम ग्याँसमा परिवर्तन भई सौर्य शक्ति उत्पन्न हुन्छ । यस प्रक्रियालाई न्युलियर फ्युजन भनिन्छ । यस न्युलियर फ्युजन भएकै कारणले गर्दा सूर्य सधैँ चम्किरहन्छ । त्यसैगरी सहकारी संस्थामा पनि समाजमा आबद्ध हजारौँहजार मानिसहरूको समूह मिलेर बनेको हुन्छ । हरेक मानिसहरूका आ–आफ्नै गुण र विशेषताहरू हुन्छन् । जुन गुण र विशेषताहरूलाई सहकारी संस्थाले सूर्यमा जस्तै आफ्नै जडत्वको विशेष बलले फ्युजन गर्न सक्नुपछ । त्यसबेला सहकारी संस्था पनि सूर्य, ताराजस्तै समाजमा चम्किरहन्छ ।
सूर्यबाट एक प्रकारको आँखाले नदेखिने फोटोनका कणहरू विद्युतीय चुम्बकीय तरङ्गको माध्यमबाट पृथ्वीको वायुमण्डलमा तीन लाख किलोमिटर प्रतिसेकेन्डमा आउने गर्छन् । ती फोटोनका कणहरूको विद्युत् चुम्बकीय तरङ्गको लम्बाइअनुसार रातोदेखि प्याजी रङ्गसम्मका आँखाले देखिने प्रकाश सूर्यले दिन्छ । विद्युत् चुम्बकीय तरङ्गको लम्बाइकै कारण हामीले इन्द्रेणीका सात रङ्गहरू स्पष्ट देख्छौँ । सूर्यले आँखाले नदेखिने राप र ताप पनि दिन्छ । यसलाई विज्ञानको भाषाबाट अल्ट्रा भ्वाइलेट, एक्स–रे र गामा–रे विकिरण भनिन्छ । यस्ता विकिरणलाई पृथ्वीको वायुमण्डलको ओजन तहले छेकेर पृथ्वीको सतहमा ल्याउन दिँदैन । त्यसैले, सहकारी संस्थाले पनि समाजमा भएका विकिरणयुक्त राप र तापलाई छुट्याई प्रकाश दिने काम गर्नुपर्छ । त्यसको निम्ति सहकारी संस्थाका प्रत्येक सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक एवं सांस्कृतिक स्तरको अवस्थालाई गम्भीररूपले तथ्याङ्कसहित अध्ययन गर्न सक्नुपर्छ । त्यही अध्ययनको आधारमा सहकारी संस्थाले समाजमा युग सुहाउँदो नीति तथा कार्यक्रम बनाई त्यसको सही ढङ्गबाट कार्यान्वयन गर्नुपर्छ ।
सिग्मण्ड फ्रायडको भनाइअनुसार हरेक सपना देख्ने व्यक्ति कविजस्तै रचनाकार हुन् । जीवनमा आइपर्ने समस्या र अप्ठ्यारासँग जुध्न मानिसहरू सपना देख्छन् । जीवनमा आइपरेका नराम्रा र दुःखपूर्ण कुराहरू हटाउनको निम्ति मानिसहरू सपना देख्छन् । जुन चिजहरूको सपना देख्छ त्यो चिज दिमागमा धेरै समय रहिरहन्छ । सपना एक मनोवैज्ञानिक उपचार पनि हो । जुन व्यक्तिहरू विपनामा पनि सपना देख्छन्, ती व्यक्तिहरू पूर्णताको बाटोमा हिँड्छन् ।
त्यसैले सहकारी संस्थाले पनि सपना देख्नुपर्छ । सहकारी संस्थाले समाजमा रहेका कुरीति, विकृति र विसङ्गतिलाई हटाउने सपना देख्नुपर्छ । सहकारी संस्थाले निम्न आय भएका व्यक्तिहरूको आर्थिक उत्थान गर्ने सपना देख्नुपर्छ । सहकारी संस्थाले व्यक्तिगत हितभन्दा सामूहिक हितको लागि काम गर्ने सपना देख्नुपर्छ । प्रत्येक सपनालाई विपनामा कार्यान्वयन गर्ने विश्वासका साथ सहकारी संस्था अगाडि बढ्नुपर्छ ।
हिरा जति शुद्ध हुन्छ त्यति नै पारदर्शी र कडा पनि हुन्छ । त्यसै कारणले गर्दा धातु र अन्य हिरालाई पनि सजिलै काट्न सक्छ । हिरा करेन्ट प्रवाह रोक्न सक्ने एउटा महत्वपूर्ण वस्तु पनि हो । विज्ञानको दृष्टिले हेर्दा हिरा खरानी अर्थात् कार्वन एटमले बनेको एउटा क्रिष्टल हो । कार्वन एटमको न्युक्लियसभित्र ६ वटा प्रोटोन र ६ वटा न्युट्रोन हुन्छन् भने ६ वटा इलेक्ट्रोनहरू न्युक्लियस बाहिर घुमिरहेका हुन्छन् । हिराको एक युनिटमा पाँचवटा कार्वन एटमहरूका बाहिरी इलेक्ट्रोनहरू आपसमा मिलेर टेट्राहेड्रल आकारमा बसेका हुन्छन् । जसका कारण हिरा शुद्ध, पारदर्शी र कडा हुन्छ । त्यसैले सहकारी संस्था पनि शुद्ध, पारदर्शी एवम् कडा अर्थात् अनुशासित हुनुपर्छ । सहकारी संस्था यसबेलामात्र शुद्ध, पारदर्शी र अनुशासित हुन्छ जुन बेला त्यसले बनाएका नियम र विनियमहरू कडाइका साथ पालना गर्ने र गराउने गर्छन् । कार्वन एटमको न्युक्लियसभित्र थोरैमात्र न्युट्रोनको सङ्ख्या बढी भयो भने कार्वन अस्थिर एटम बन्छ । त्यसैले, सहकारी संस्थाको मुख्य समिति अर्थात् न्युक्लियसमा रहेका व्यक्तिहरूले थोरै मात्र गल्ती गरे पनि सहकारी संस्था अस्थिर बन्न पुग्छ । हिराको एक युनिटमा मिलेर बसेका पाँचवटा कार्वन एटमहरूमध्ये एउटा कार्वन एटममात्र अरू कार्वन एटमसँग मिल्न नचाहने बित्तिकै सो वस्तु हिराको सट्टा सिसाकलममा हुने ग्रेफाइडमा परिणत हुन्छ र एक करेन्टलाई रोक्न सक्ने वस्तुको उल्टो करेन्ट प्रशारण गर्नसक्ने वस्तु बन्छ । त्यसैले, सहकारी संस्थामा बनेका विभिन्न समितिहरूमा एक जना व्यक्तिमात्र समूहमा मिल्न नसके सो समितिले आफ्नो अस्तित्व गुमाउनुपर्ने हुनसक्छ । यस कुरालाई सबै समितिका सदस्यहरूले राम्ररी मनन गर्न आवश्यक छ ।
मानिसको कानभित्र विशेष प्रकारको जाली र त्यसभित्र तीनवटा हाडहरू हुन्छन् । कुनै पनि वस्तुमा कम्पन उत्पन्न हुँदा आउने शक्ति कानको जालीमा ठोकिन्छ । जसबाट जाली थर्की हाडसम्म कम्पन पैदा भई त्यसको तरङ्ग कानको स्नायुबाट दिमागमा पु¥याइन्छ ।
त्यसैअनुरूप के भएको हो सुन्न सकिन्छ । त्यसैलाई आवाज भनिन्छ । आँखा, नाक, जिब्रो र छालाजस्तै कान पनि शरिरको महत्वपूर्ण ज्ञानेन्द्रिय हो । सहकारी संस्थाले सबै सदस्यहरूको सही आवाज सुन्न सक्नुपर्छ भने समाजको निम्ति आवाज बन्न सक्नुपर्छ । जब सहकारी संस्थाले आवाज सुन्ने र बन्ने काम गर्छ, समाजमा सजिलै सकारात्मक परिवर्तन देखापर्दछ ।
सहकारी संस्था कसैको आवाज बनेकोले नै समाजमा यति धेरै असल कामहरू भइरहेको देख्छौँ । सहकारी संस्थाले आवश्यकताअनुसार परोपकारी काममा अघि बढ्नुपर्छ । सही अर्थमा सहकारी संस्था समाजको ज्ञानेन्द्रिय बन्न सक्नुपर्छ । तबमात्र समाजलाई हेर्न, देख्न, सुन्न र चिन्न सकिन्छ ।
बिहान सबेरै उठेर आफ्नो ज्ञानेन्द्रियलाई सक्रिय पार्न फ् को उच्चारण गर्ने गर्नुपर्छ । फ् उच्चारणमा पाँचवटा अक्षर अ, उ, ओ, औ र म् बाट बनेको हुन्छ । अ, उ, ओ, औ र म् लामो समयसम्म छुट्टाछुट्टै उच्चारण गर्दा क्रमशः घाँटीको बायाँ, दायाँ, तल, माथि र शिरसम्म कम्पन उत्पन्न हुने गर्दछ । यसले हाम्रो ज्ञानेन्द्रिय दिनभर सक्रिय हुनुको साथै मानिसको बोलीमा स्पष्टता पनि आउँछ । जसले गर्दा गीत, सङ्गीत सिक्न प्रेरित गर्छ । तसर्थ, आफ्नो शरीरलाई स्वस्थ र सफा राख्न योग विज्ञानमा आधारित कार्यहरू गर्नुपर्छ । नाचगानको सहर भक्तपुरलाई अझ बढी प्रभावकारी बनाउन र संस्कृतिमय बनाउनको लागि सहकारी संस्थाले गीत, सङ्गीत, लोपोन्मुख वाद्यवादनहरूलाई वैज्ञानिक ढङ्गबाट लिपिबद्ध गरी नियमित तालिमहरू सञ्चालन गरी संवद्र्धन गर्नुपर्छ । यसले गीत, सङ्गीत र वाद्यवादन सिकेका व्यक्तिहरू पनि आर्थिकरूपमा सबल हुनसक्छन् ।
हामीले दैनिक तीन–चार लिटर पानी पिउने गछौँ किनकि शरीरमा पानीको अभाव भयो भने तुरून्तै बिरामी हुन्छ ।शरीरभित्र भएको पानीमा विशेष रसायन हुन्छ जसले हाम्रो शरीर वृद्धि गर्ने र शरीरका अङ्गहरू मर्मत सम्भार गर्ने काम गर्छ ।त्यसैले, सहकारी संस्थाले समाजलाई चाहिने महत्वपूर्ण क्षेत्रहरूमा उपर्युतm रसायनको रूपमा कार्य गर्न सक्नुपर्छ । हाम्रो शरीरमा चोटपटक लाग्दा वा शरीरको तन्तु र स्नायुहरू बिग्रिँदा सो बिग्रिएको सूचना विद्युतीय तरङ्गबाट मेरूदण्डमा पठाइन्छ । मेरूदण्डबाट मस्तिष्कमा पठाइन्छ । त्यसपछि मानिसले दुखेको अनुभव गर्छ । औषधि खाइसकेपछि सोही मेरूदण्डको सहायताबाट औषधिको असर भई बिग्रेको तन्तु या स्नायु निको हुन्छ । त्यसैले समाजका मानिसहरू दुःख, पीडा र शोकमा डुबिरहेको बेला सहकारी संस्थाले कुनै न कुनै माध्यमबाट समाजमा हुने चोटपटकलाई औषधि र मेरूदण्डको भूमिका निर्वाह गर्नुपर्छ । जसबाट समाजमा हुने दुःख, पीडा र कष्टहरू मेट्न मद्दत पुग्छ ।
मानिसका छालाका रङ्गहरू फरक फरक हुन्छन् । कसैको सेतो, कसैको कालो, कसैको रातो त कसैको पहेंलो । यसको मुख्य कारण वंशानु, शरीरमा हुने मेलानिन तत्व र घामका किरण हुन् । विज्ञानको दृष्टिले छालाको रङ्ग जति कालो देख्छ त्यति नै राम्रो मानिन्छ किनकि कालो छालाले विकिरण छेक्छ । तर, समाजमा गोरो छालालाई बढी आकर्षणको रूपमा लिइन्छ । जसरी छालाको रङ्ग फरक फरक हुन्छ त्यसरी नै समाजमा हरेक मानिसहरूकोे इच्छा, आकाङ्क्षा र आवश्यकता फरक फरक हुन्छ ।
त्यसैले सहकारी संस्थाले प्रत्येक सदस्यहरूको इच्छा, आकाङ्क्षा र आवश्यकता पूरा गर्नको निम्ति थिङ्क ट्याङ्कको व्यवस्था गरेर भावी कार्य योजनाहरू बनाउँदै जानुपर्छ । अनि, सहकारी संस्था बचत तथा ऋणमा मात्र सीमित नभई हरेक क्षेत्रमा अगाडि बढ्छ । जसरी वनस्पतिमा फूल फुलेपछि त्यसमा फल लाग्न परागसेचन हुन्छ, परागसेचनका कारण फूलमा बास्ना आउँछ ।
त्यसरी नै सहकारी संस्था समाजको निम्ति सुगन्धित फूलजस्तै हुनुपर्दछ । समाजमा रहेका विभिन्न सीपमूलक कार्यहरू जस्तैः वास्तुकला, मूर्तिकला, चित्रकला, हस्तकला, काष्ठकला आदि प्रवद्र्धनका निम्ति नियमित तालिमहरू दिँदै जाँदा सहकारी संस्थाको सुगन्ध थप बढ्र्छ । सहकारी संस्थाले निःस्वार्थरूपमा आर्थिक, सामाजिक एवं अन्य सचेतनामूलक कार्य गर्दै जाँदा सहकारी संस्थाको बास्ना पनि समाजको कुनाकन्दरासम्म फैलिन्छ ।
हरेक चुम्बकमा चुम्बकीय शक्तिका कारण आफूतिर सजिलै तान्ने क्षमता हुन्छ । चुम्बकीय शक्ति हुनुमा चुम्बकले बनाइएका आँखाले नदेखिने लाइन अफ फोर्सहरू हुन्छन् । जसले गर्दा फलामजस्ता सुचालक धातुहरूलाई सजिलै आकषण गर्नसक्छ भने काठजस्ता कुचालक वस्तुहरूलाई विकर्षण गर्छ । सहकारी संस्थामा पनि चुम्बकीय गुण हुनुपर्दछ । समाजमा भए गरेका गतिशील व्यक्तिहरूलाई उहाँहरूको योग्यता र क्षमतालाई मूल्याङ्कन गरेर सहकारी संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका दिनुपर्छ। त्यस्ता व्यक्तिहरू सहकारी संस्थाको आकर्षण बनाउनुपर्छ भने समाजमा विकृत मानसिकता भएका व्यक्तिहरूलाई क्रमशःपहिचान गरी सहकारीसँग टाढा बनाउनुपर्छ । यसले सहकारी संस्थाले भविष्यमा अझ बढी प्रगति गर्नसक्छ ।
जिराफको घाँटी लामो हुन्छ तर पनि जिराफ शाकाहारी हो । बङ्गुरको घाँटी निकै छोटो हुन्छ तर पनि बङ्गुर सवर्हारी हो । गोहीको मुखभन्दा घाँटी निकै छोटो हुन्छ तर पनि गोही मांसाहारी हो । विज्ञानमा कुनै पनि वस्तु निल्नुको अर्थ खाएका वस्तुमा बल प्रयोग गरी शरीरभित्र पठाउनु हो । त्यसैले हामीलाई घाँटी हेरी हाड निल्नुु भनिन्छ । सहकारी संस्थाले पनि घाँटी हेरी हाड निल्नुपर्छ । सहकारीले कुनै पनि कार्यक्रम गर्दा कार्यक्रम गरिएको स्थानको औचित्यता, कार्यक्रममा बनाइएका विषयवस्तुको सान्दर्भिकता, कार्यक्रममा गरिएका खर्चहरूको मितव्ययिता अनिवार्य आवश्यकता हो ।
यद्यपि, केही सहकारी संस्थाहरूले संस्थाका हैसियतभन्दा फरक स्वरूप प्रदर्शन गरेका उदाहरणहरू प्रशस्तै पाइन्छन् । यस विषयमा सहकारी संस्था निकै सचेत र गम्भीर हुनुपर्ने देखिन्छ । मांसाहारी जनावरले जिब्रोबाट पानी पिउँछ र शाकाहारी जनावरले मुखबाट पानी पिउँछ । मानिस मुखबाट पानी पिउने भएकोले शाकाहारी भई कम खर्चमा पनि बाँच्न सकिन्छ ।
सहकारी संस्थाले गर्ने हरेक गतिविधिमा आफ्नै भवनहरूको अधिकतम उपयोग गरी अन्य भौतिक एवं मानवीय श्रोत र साधनको प्रयोग गरी खर्चलाई कम गर्नुपर्छ । असान्दर्भिक र अप्रासङ्गीक कार्यहरू गर्न रोक लगाउनुपर्छ । कुखुराको भालेलाई नेपाली समाजमा चेतनाको प्रतीक ठानिन्छ । उसको शरीरभित्रको आन्तरिक घडी चलिरहँदा भालेलाई समयको ज्ञान हुन्छ । सूर्य उडाउन लागेको बेला प्रकाशको कारणले गर्दा भाले बास्छ । तसर्थ, सहकारी संस्थामा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिले कुखुराको भालेबाट सिक्न सक्ने समाजका चेतनशील व्यक्ति हुनुपर्छ । उसले समाजको यथेष्ठ ज्ञान र समयको गतिलाई बुझ्न आवश्यक हुन्छ । जसले गर्दा समाजलाई अझ बढी सुसंस्कृत र चेतनशील बनाउन मद्दत पुग्छ । सबैभन्दा बढी वजन तान्न र बोक्न सक्ने कमिला एसियाको वेबर नामले चिनिन्छ । सो कमिलाले आफ्नो वजनको १०० गुणा बढी तौल तान्न र बोक्न सक्छ । संसारमा कमिला जति मिलेर कार्य गर्नसक्ने कीरा प्रजातिमा अरू कमै छन् । त्यसैले सहकारी संस्थामा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरूले कमिलाबाट पाठ सिक्न जरूरी छ । सहकार्य र सहकारी संस्थामा आउने असीमित चुनौतीलाई नेतृत्वकर्ताले सहजरूपमा लिएर अगाडि बढ्न सक्नुपर्छ । सहकारी संस्थाको नेतृत्वले समाजसँगै बग्न सिक्नुपर्छ ।
शरद् ऋतुमा दिन छोटो र रात लामो हुन्छ । त्यसबेला रूखको पातले खानेकुरा बनाउन निकै कठिन हुन्छ । जसकाकारण पातमा क्लोरोफिलको मात्रा कम हुँदै जान्छ र क्रमशः रूखका पातहरू हरियोबाट पहेँलो हुँदै सुक्दै जान्छ । त्यसैले नेतृत्वमा बसेका व्यक्तिहरूले जतिसुकै असहज परिस्थिति आइपरे तापनि संस्थालाई बलियो र दिगो बनाउन हरक्षण प्रयासरत हुनुपर्छ ।
जिम्मेवारीबाट पन्छिएर सामाजिक हितविपरीत व्यक्तिगत स्वार्थमा लाग्न थाल्यो भने सहकारी शरद् ऋतुको पातजस्तै क्रमशःओइलिएर जानसक्छ ।
ब्रह्माण्डमा मुख्यतया चार अवस्थाका वस्तुहरू ठोस, तरल, ग्याँस र प्लाज्मा पाइन्छ । साधारणतया प्लाज्मा अवस्था भन्नाले एटमका प्रोटोन र इलेक्ट्रोन छुटिएर आगो बनिसकेको अवस्थालाई बुझिन्छ । वस्तुको अवस्था फरक हुनुमा मुख्यतया त्यसवस्तुमा हुने ताप र चाप नै हो । वस्तुहरूमा जति बढी ताप र चाप बढ्दै जान्छ ती वस्तुहरू क्रमशः ठोसबाट तरल, तरलबाट ग्याँस र ग्याँसबाट प्लाज्मामा परिवर्तन हुन्छन् । पृथ्वीको सतहमुनि पनि मुख्यतया तीन तह क्रेष्ट, मेन्टल र कोर हुन्छन् । ती तीनै तहमा पृथ्वीको ताप र चाप फरक भएकोले वस्तुको अवस्थामा फरक हुन्छ । पृथ्वीको दोस्रो तहमा रहेको ताप र चापले गर्दा जब दोस्रो तह पहिलो तहमा निस्किन्छ त्यसलाई विज्ञानले भोल्क्यानिक इरप्सन अर्थात् ज्वालामुखी विस्फोट भएको भनिन्छ ।
सहकारी संस्था पनि विभिन्न तहहरू मिलेर बनेका हुन्छन् । त्यसमा विभिन्न तहका समिति, उपसमिति र सदस्यहरू हुन्छन् । ती सबै तहहरूको काम, कर्तव्य र अधिकार अनि दायित्वको ताप र चाप फरक फरक हुन्छन् । यदि आ–आफ्नो दायित्व र जिम्मेवारीका कामहरू समयमै गरिएन र लिएको ऋण समयमै तिरिएन भने त्यसमा थप अन्य ताप र चाप उत्पति भई सहकारी नै उथलपुथल हुनसक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । त्यसैले, सहकारी संस्थासँग आबद्ध प्रत्येक व्यक्ति सचेत र सजग भई आफ्नो कार्य समयमै चुस्त र दुरूस्तसँग सम्पन्न गर्नुपर्दछ । सहकारी संस्थाको उद्देश्यअनुरूप समाजमा भएका आवश्यकतालाई पूरा नगरी आ–आफ्नो स्वार्थमा लाग्दा डाइनासोरजस्तै लोप भएका सहकारी संस्थाहरू पनि प्रशस्त देखापरेका छन् । तसर्थ, सहकारी संस्था सधैँभरि सामूहिक नेतृत्वबाट सामूहिक हितको लागि अभिप्रेरित भई कार्य गर्न आवश्यक छ ।
सारमा, प्रकृतिमा रहेका हरेक वस्तुहरूको वैज्ञानिक आधार एवम् प्रक्रियाहरूबाट सिकेर समाजलाई अगाडि बढाउन सहकारी संस्थाका नेतृत्वकर्ता सत्यवादी, बुद्धिमान, साहसिक, उत्प्रेरक, रचनात्मक एवम् जानकार हुन जरूरी छ । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरू
लगनशील, मिलनसार, इमानदार, क्षमतावान र नवीनतम हुन जरूरी छ । सहकारी संस्थाका सदस्यहरू नैतिकवान, आशावादी, परिश्रमी र उत्साही हुन जरूरी छ ।
(भक्तपुर साकोसको रजत जयन्तीको अवसरमा प्रकाशित स्मारिकाबाट)
Leave a Reply